
दाङ । दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी षडयन्त्रको विरुद्धमा विरोध प्रदर्शनसहित कोणसभाहरु सम्पन्न गरेको छ ।
शुक्रबार नेकपाले दाङका स्थानीय पालिकाहरुमा पालिका समितिको आयोजनामा विरोध प्रदर्शन गरेको हो ।
प्रतिगामी षड्यन्त्रका विरुद्ध तुलसीपुरको बिजौरीमा प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य रुद्र सीले जनतामा असन्तुष्टि भएको कुरा साँचो भएको बताए ।
उनले भने– ‘अहिले नेपाली जनतामा व्यापक असन्तुष्टि भएको कुरा साँचो हो । तर असन्तुष्टिको कारण अहिलेको दलाल पुजीवादी व्यवस्था हो । जनताको असन्तुष्टिलाई प्रतिगामीहरुले षड्यन्त्रपूर्ण तरिकाले पछाडि फर्काएर पुरानै सामन्तवादी व्यवस्था लाद्न खोजेका छन् । प्रतिगामीहरुको यो सपना पूरा हुनेछैन । बहुसंख्यक नेपाली जनताले समाजवाद चाहेका छन् । अहिलेको पुजीवादी गणतन्त्रले जनताको आकांक्षा र भावनाको नेतृत्व गर्न नसकेको हो । यो गणतन्त्रलाई समाजवादी गणतन्त्रमा बद्लनुपर्ने आवश्यकता छ । हाम्रो पार्टीले अहिलेको सत्ता संकटको निकास नेपाली विशेषताको समाजवाद भनेको छ । जनताले बुझ्नुपर्ने कुरा राजतन्त्र, संसदीय व्यवस्था संकटको निकास होइन । अब जनताले समाजवादी आन्दोलनको बेगमा आँफुलाई जोड्नुपर्ने आवश्यकता बोध गर्नुपर्ने हुन्छ ।’
यस्तै नेता रुद्र सीले प्रतिगामी तत्वहरुको षड्यन्त्र कुनैपनि हालतमा सफल नहुने भन्दै जनताका विरुद्ध गतिविधि नगर्न चेतावनी दिए ।
उनले जनताले नेकपाको राजनीतिक प्रस्ताव नेपाली विशेषताको समाजवादलाई अनुमोदन गरिसकेकाले अब प्रतिगामी एवम पश्चगामी चलखेलको कुनै तुक नरहेको समेत स्पष्ट पारेका हुन् ।
नेकपाले प्रतिगामी षड्यन्त्र विरुद्ध देशव्यापी संघर्षका कार्यक्रमहरु चलाइरहेको छ जसको प्रभाव दाङमा पनि परेको छ ।