
पोखरा – भ्रष्टाचार, बेथिति र प्रतिगमनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी, कास्कीले शुक्रबार पोखरामा भव्य जनप्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ । ‘एकीकृत जनक्रान्ति – जिन्दावाद !’, ‘नेपाली विशेषताकाे समाजवाद – जिन्दावाद !’ भन्ने नारासहित आयोजित कार्यक्रममा उल्लेख्य जनसहभागिता थियो ।
कार्यक्रमका प्रमुख वक्ता पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला सचिव उमेश सी रहेका थिए । उनले भ्रष्टाचार र प्रतिगमनको विरुद्ध जनताको बलियो एकता आवश्यक रहेको उल्लेख गर्दै वर्गसंघर्षलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए ।
कोण सभामा केन्द्रीय सदस्य कुमार सी, पोखरा महानगर सेक्रेटरी सोममाया सी र अखिल (समाजवादी) कास्कीका अध्यक्ष केश सी लगायतका नेताहरूले आ-आफ्ना धारणा राखेका थिए । उनीहरूले सरकारको जनविरोधी नीति, शासकीय चरम अन्याय र पूँजीवादी हस्तक्षेपको विरुद्ध सचेत रहन जनतालाई आव्हान गरे ।
कार्यक्रममा मजदुर, विद्यार्थी, बुद्धिजीवि र विभिन्न वर्गका प्रतिनिधिको उपस्थिति रहेको थियो । पार्टीले यस्ता आन्दोलनमार्फत आमजनतामा राजनीतिक चेतना अभिवृद्धि गर्दै समाजवाद निर्माणको दिशामा अघि बढिरहेको जनाएको छ ।