
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज प्रेम सीले ग्रीन रिभोलुसन अर्थात कृषि क्रान्ति अघि बढाउनुपर्ने बताएका छन् ।
चम्किलो कृषि सहकारी संस्था लिमिटेड मैनापोखरीकाे कार्यालय उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रेम सीले कृषिमा आत्मनिर्भर र रोजगारीको निम्ति कृषि सहकारीको विकल्प नरहेको बताए । दिगो र भरपर्दो कृषि उत्पादन प्राकृतिक प्रणाली (इकोसिस्टम) अनुसार हुने भएतापनि किसानको लागि राज्य जिम्मेवार नभएको उनले आराेप लगाए । श्रमिक जनताको लागि सचेत र संगठित पहल जरुरी भएकाेसमेत उनले जोड दिए ।
जमिनको उर्वरता र खाद्य सुरक्षाको साथ-साथै पुरानो कृषि प्रणाली कसरी बदल्ने भनेर चर्चा समेत उनले गरे । किसानलाई तालिम, कृषि औजार र प्रविधि त्यसको निम्ति आवश्यक रसायनिक मल र विषादी घटाउने, माटोको उर्वराशक्ति बढाउने, वातावरणीय परिवर्तनको जोखिम र किसानको आम्दानी बढाउन बजारको व्यवस्था, विनियम सन्जाल, उपभोग र वितरण, सरकारको भूमिका, सामाजिक सद्भाव र जिविकाको बारेमा आफ्नाे विचार राखेका थिए ।
उनले भने,’किसानलाई टाट पल्टाउन दलाल पुँजीवाद कृषिमा समेत जरा गाड्न थालेको छ । जमिन र बजार कब्जा गरेपछि किसानहरु प्रतिफल होइन रित्तो हात बस्नु परेको छ । जसलाई ग्रीन रिभोलुसन अर्थात कृषि क्रान्ति जरुरी छ ।’
कार्यक्रमका प्रमुख अतिथि प्रेम सीले श्री चम्किलो कृषि सहकारी संस्था लि. को रिबन काटेर कार्यालय सेवा उद्घाटन गरेका थिए ।
कार्यक्रममा अतिथिहरु नेकपाका केन्द्रीय सदस्य तथा पूर्व संविधान सभा सदस्य एवं अ.ने.म.संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सी, वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी राजकुमार सीले संस्थाको सफलताको निम्ति शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी शुभकामना मन्तव्य दिनेहरुमा सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी सोनाम सी, सिन्धुपाल्चोक कार्यालय सदस्य विकास सी रहेका छन् ।
उद्घाटन कार्यक्रममा संस्थाका कर्मठ कर्मचारीहरु सविना नेपाली, सीता मिजार र रिङ्कु सी साथै नियमित बचत कर्ता, असल ऋणी र महत्वपूर्ण सहयोगदातालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता भक्तराज सीले गरेकाे कार्यक्रममा स्वागत मन्तव्य रामकाजी सी र संचालन देव नेपालीले गरेका थिए ।