गोरखा जेलब्रेक अन्य कैयौं दुलर्भ घटनाहरूजस्तै हावाको तरङ्गझैँ हाम्राबिचमा आइपुगेको थियो । २०५७ साल चैत १७ गते सबैको मुखमा थियो, थाहा पाउनुभयो ? गोरखामा महिला कमरेडहरूले सुरुङ्ग खनेर जेल तोड्नुभयो । त्यहाँ एउटा विजयको उमङ्ग थियो ।
राज्यआतङ्कको दबदबामा जनयुद्धका समाचारहरू कमै सुन्न पाइन्थ्यो तर जति रोक्न खोजे पनि हरेक दिन केही न केही नयाँ घटना बाहिर आइरहेका हुन्थे । घटनाहरू सुन्न माओवादीका कानहरूमा बेरिङ्ग झुण्ड्याइएका हुन्थे । जताबाट जे पाइन्छ, ती समाचारहरू आँधीबेहरीझैं हावामा फैलिन्थ्यो । गोरखा जेलब्रेकको समाचार पनि त्यसरी नै फैलिएको थियो ।
केही दिनमा थाहा भयो, त्यसको नेतृत्व क. उमा भुजेल ‘शिलु’ ले गर्नुभएको रहेछ भने अरू कमरेडहरू कमला, मिना, एन्जिला, सन्जु र रिता हुनुहुन्थ्यो ।
जेलब्रेक साम्यवादी सपना, आदर्श, विचार र साहसद्वारा फलामे काँढेबार, तरबार र बन्दुकको पहरामा सुरक्षित किल्ला भत्काइदिएको अभूतपूर्व परिघटना हो । यो प्रतिक्रियावादी सत्ताको विरुद्ध एउटा विद्रोह र युद्ध थियो । गोरखा जेलब्रेक त्यसकारण झनै अभूतपूर्व थियो कि त्यसको नेतृत्व महिला कमरेडहरूले गरेका थिए ।
क. शिलुको नाम कालिकाटार प्रहरी चौकी कब्जादेखि नै सुनेको थिएँ । जेलब्रेकको घटनाले अझ परिचित तर प्रत्यक्ष परिचित हुने अवस्था भने म आधार इलाकाको जिम्मेवारीमा पुगेपछि भएको हो । त्यही क्रममा क. शिलुले जेलब्रेकको संस्मरण लेख्न चाहेको कुरा सुनाउँदा मेरो सुझाव सकारात्मक रह्यो ।
क. प्रज्वलनसहितको उत्प्रेषणबाट उहाँले यो लेखेपछि मलाई पाण्डुलिपि हेर्ने मौका दिनुभएको थियो । लेखाइ हेरेपछिक्रान्तिकारीहरूका लागि एउटा राम्रो र पठनीय सामाग्री तयार भएको महसुस भयो र उहाँलाई धन्यवाद दिएँ ।
वैज्ञानिक विचार सङ्घर्षमा बदलिन्छ । सङ्घर्ष साहित्य कलामा प्रकट हुन्छ र साहित्यले सामाजिक चेतनामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ । जेलब्रेक एउटा • मालेमावादी विचारद्वारा निर्देशित घटना थियो । गोरखा जेलब्रेक प्रकाशित भएपछि त्यसले नयाँ पुस्तालाई क्रान्तिकारी प्रेरणा दिन सक्छ भन्ने मलाई विश्वास छ ।
समय बदलिएको छ, जनयुद्धको समयमा ‘स्याबास बहादुर छोरीहरू’ लेख्ने बाबुराम भट्टराई क्रान्तिकारी आन्दोलनबाट धेरै टाढा पुगिसकेका छन् । जेलब्रेकलाई ‘विश्वकै विरल घटना र सङ्घर्ष’ भन्ने प्रचण्ड माओवादी जनयुद्ध र क्रान्तिकारी आन्दोलन परित्याग गर्न पुगेका छन् । जेलब्रेक कृतिले उनीहरूलाई गिज्याइरहेको छ ।
इतिहासको प्रवाहबाट को पो टाढा जान सक्ला र ! हामी क्रान्तिमा छौँ । क. शिलुले संस्मरणमा लेख्नुभएजस्तै संशोधनवादका विरुद्धको सङ्घर्ष पनि जेलब्रेकजस्तै हो । यदि हामीले संशोधनवादी घेरा तोड्दैनथ्यौं भने विश्वक्रान्तिको नेपाली मोर्चा सुनसान भइसक्थ्यो । जनक्रान्तिको नेपाली मोर्चा उनीहरूको गद्दारीमाथि परेड खेल्दै अगाडि बढेको छ । दलाल पुँजीवादी, सामाजिक दलाल पुँजीवादीहरूले जनतालाई धोका दिएर पुँजीवादी वैभव शान्तिपूर्वक भोग्न पाउने छैनन् ।
क्रान्तिको इतिहास डाँडाको जूनजस्तै चहकिलो बनेर उभिएको छ । त्यो प्रकाशबाट को पो परजान सक्ला र ! क. शिलुले लेख्नु भएझैँ हामी महासमरमा उडिरह्यौँ, अनन्तसम्म उडिरह्यौँ । क्रान्ति अवश्यम्भावी छ ।
जेठ, २०७५