
बीबीसी /म्यान्मारमा जारी गृहयुद्धमा त्यहाँको सेनाले गरेको सबैभन्दा घातक हवाई आक्रमणमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको दाबी उक्त घटनाका प्रत्यक्षदर्शीहरूले गरेको बीबीसीले जनाएको छ।
मृत्यु हुनेमा कम्तीमा १५ महिला र धेरै बालबालिका रहेको उनीहरूको भनाइ छ। यद्यपि मृतकको सङ्ख्याबारे बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो। उक्त गाउँका मानिसहरूले सैन्य सरकारको विरोध गर्छन्।
सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ।
सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्। उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्।
म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन्।
राष्ट्रसङ्घका अनुसार हाल देशको करिब एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता छ।
विपक्षीहरूको नियन्त्रणमा रहेका गाउँहरूमा बमबारी गर्न सैन्य सरकारले आफूसँग भएका रुसी र चिनियाँ विमानहरूको प्रयोग बढाएको छ।
द्वन्द्वको निगरानी गर्ने समूह एक्लेड (आर्म्ड कन्फ्लिक्ट लोकेशन एन्ड इभेन्ट डेटा प्रोजेक्ट)को तथ्याङ्कलाई बीबीसीले विश्लेषण गरे अनुसार सन् २०२१ को फेब्रुअरी र सन् २०२३ को ज्यानुअरी बीचमा सेनाले कम्तीमा ६०० वटा हवाई आक्रमण गरेको देखिन्छ।