३ बैशाख २०८१, सोमबार

कला र विचारधारा:अभ्नेर जीस

0

अङ्ग्रेज समालोचक केनेथ टाइनानले उनले धेरै मन पराएको फिस्चरको कलाको आवश्यकताको सिंहावलोकनमा मार्क्सवाद धेरै पहिलेदेखि “यसको आफ्नै अरस्तु”को आवश्यकतामा थियो र मार्क्सवादी सिद्धान्तलाई ” सुधार्न” अरूले होइन, फिस्चरले मात्र सक्ने सम्भावना छ भन्ने कुरा औँल्याए । त्यसपछि स्वाभाविक रूपमा प्रश्न उठ्छ, टाइनानले फिस्चरलाई किन यसरी प्रशंसा गरे होलान् ? वा फिस्चरका कुन चाहिँ “गुण” का कारणले गर्दा यस्तो उच्च प्रकारको सम्मान दिने प्रयत्न गर्न टाइनानलाई अग्रसर गरायो ? सामाजिक चेतनाका विविध क्षेत्रको र खास गरेर कला क्षेत्रको आदर्शवाद विरोधी गतिविधिका प्रवक्ताहरुमध्ये सबभन्दा सक्रिय मानिस भएपछि फिस्चरले बुर्जुवा सिद्धान्तकारको सम्मान प्राप्त गरेका छन् ।

१९६४ मा “मार्क्सवाद र विचारधारा” शीर्षकको एउटा रचनामा र पछि सौन्दर्यशास्त्र सम्बन्धी उनको प्रमुख पुस्तक कला र सह-अस्तित्वमा फिस्चरले के सिद्धान्त अगाडि ल्याए भने विचारधारा र विचार जस्ता धारणाहरुलाई एक-अर्काका विरोधी कुराका रूपमा लिइनु पर्छ : उनका अनुसार, विचारहरुले जीवनको यथार्थ गतिलाई अभिव्यक्त गर्छन्, जब कि विचारधाराले निश्चेष्ट बनाइएको, साँचोमा ढालिएको वस्तु वा शासक वर्गको रुचिलाई बढाउने काम गर्ने बौद्धिक रटानलाई प्रदर्शित गर्छन् । फिस्चर के भन्छन् भने मार्क्सवादी हुनका लागि सिद्धान्तमा डुबुल्की मार्नु आवश्यक छैन भन्ने कुरा महत्त्वपूर्ण छ । उनले मार्क्सवादीका लागि कलाका सन्दर्भमा “संशोधनवादी”, “जड सूत्रवादी”, “ह्रासोन्मुख” र “बुर्जवा” जस्ता शब्दहरुको प्रयोग गर्नु अनुमति नभएको कुरा देखे ।

उनले अनुमति दिन सकिने एउटा मात्र विकल्प देखे- त्यो हो- साँचो र झुटोबिचको कुरा । त्यो विचारलाई नै व्यावहारिक रूपमा उतार्ने प्रयत्नस्वरूप विस्तार गर्दा फिस्चर के भन्छन् भने विचारधारा सधैँ झुटो र दिग्भ्रमित गरिएको चेतनाका रूपमा देखा पर्छ जब कि मार्क्सवाद सत्यमा पुग्ने लक्ष्य लिएको विज्ञान हो । “मार्क्सवाद र विचारधारा”लाई जोड्नु फिस्चरको दृष्टिमा “विज्ञान र काल्पनिक समाजवादलाई” एकै ठाउँमा जोड्नु जस्तै हो र यस कारण उनले मार्क्सवादलाई काल्पनिक समाजवादरूपी अवधारणाबाट मुक्त गर्न अथवा सिद्धान्तबाट बाहिर राख्न आवश्यक ठान्छन् । उनले मार्क्सवाद एउटा विज्ञान हो र यो विचारधारा होइन भन्ने कुरामा जोड दिन्छन् । यसरी, माथि उल्लेख गरिएको रचनामा यी दुई धारणाका एकै ठाउँमा मिलेर बस्न नसक्ने प्रकृतिको उल्लेख छ ।

मार्क्स र एङ्गेल्सले विचारधाराको धारणालाई बिलकुल विशिष्ट रूपमा लिएका थिए भन्ने कुरा फिस्चरलाई थाहा हुनु पर्छ भन्नेमा कुनै शङ्का छैन । यस विषयमा उनले वास्तवमा उनका रचनाहरुमा ध्यान केन्द्रित गरेका छन् ।

उनीहरुका रचनामध्ये केहीमा मार्क्स र एङ्गेल्सले चिन्तनशील रचना निर्माण गर्दा निश्चय नै विचारधारालाई असत्य र अस्पष्ट चेतनाका रूपमा लिएका छन् । तैपनि श्रमजीवी वर्गको आधारभूत चाखको वैज्ञानिक अभिव्यक्ति समाजवादी विचारधारासित यसको कुनै सरोकार छैन । बुर्जुवा वर्ग र समाजवादी विचारधारा मिलेर बस्न नसक्ने गुण र तिनीहरुबिचको पूर्ण रूपको फरक पनलाई एउटा विशिष्ट अर्थमा भ्रम र साँचो चेतनाबिचको आधारभूत भिन्नताका रूपमा लिन सकिन्छ । यही कारणले संस्कृतिलाई विचारहीन बनाउने काम, जुन व्यवहारमा आत्म-समर्पण हो, यो मार्क्सवादी-लेनिनवादी | सिद्धान्तको नियतवश गरिएको अस्वीकार र फिस्चरको आफ्नै संशोधनवादी दृष्टि हो ।
यस दृष्टिबाट हेर्दा कला, विज्ञान र दर्शनशास्त्र जस्तै, केही हदमा विचारधाराको प्रभावमा अभिव्यक्त भएको हुन्छ, तर यस्तो प्रभावलाई, फिस्चरले नकारात्मक, खराब र कलात्मक तथा वैज्ञानिक मूल्य मान्यताहरुलाई सङ्कुचित गर्न र नष्ट गर्नका लागि उभिएको रूपमा हेर्छन् ।

फिस्चरले के देख्छन् भने विज्ञान र कलाको वास्तविक महत्त्व तिनीहरुले प्रतिनिधित्व गर्ने विचारधारात्मक रूपमा होइन कि त्यसको विपरीत, मिथ्या चेतनाका विरुद्ध गरिने वास्तविकताको विद्रोह हो । फिस्चरको भनाइ अनुसार, हरेक सच्चा कलाकार विद्यमान यथार्थका विरुद्धमा खडा हुनका लागि प्रतिबद्ध हुन्छ र त्यो वास्तविकताबारे एउटा आलोचनात्मक धारणा बोकेको हुन्छ । फिस्चरका यी सामान्य र एक किसिमले स्पष्ट देखिने अमूर्त तर्कहरु यस बाहेक समाजवाद विरोधी र सोभियत चरित्र विरोधी स्पष्ट धारणा भएका मानिसहरुमा पाइन्छ । कला र सह-अस्तित्व नामक उनको पुस्तकमा फिस्चरले सोभियत भूमि, अक्टोबर क्रान्ति र समग्रतामा विश्व इतिहासमा यसको प्रभावका बारे धेरै उत्साहपूर्ण सन्दर्भहरु दिएका छन् ।

तर त्यसरी नै उनले रूसी क्रान्तिमा ऐतिहासिक अबश्यम्भाविताको कमी जस्ता गलत विचारहरुको जमेर प्रतिरोध गर्छन्, जुन भएरै छाडे, जसलाई उनले ऐतिहासिक वस्तुपरक निष्पक्षताका रूपमा होइन कि बरु विषयगत हिसाबले जथाभाबी कारणले भएको रूपमा लिए । उनका अनुसार, त्यसो भएकै कारणले गर्दा रूसमा भएको समाजवादी क्रान्तिले समाजवादी रूपान्तरणका अत्यावश्यक कामहरु पुरा गर्न सकेन र सबभन्दा ठुलो कुरो त मानिसका समस्याहरु समाधान गर्न सकेन । यसको के अर्थ हुन्छ भने, जहाँसम्म फिस्चरको कुरा छ, कलाको उद्देश्य, समाजवादी मुलुक र पुँजीवादी मुलुकमा एउटै र उही हो : पराई भाव व्याप्त भएको देखाउनु, जीवनको अमानवीय अवस्थाको पकडमा आउनु र सामाजिक सम्बन्धहरुलाई मानवीकरण गर्नु ।

गराउडीका भनाइहरुमा उल्लेख भए जस्तै, फिस्चरका लेखहरुमा हाम्रो समयलाई प्रभाव पार्ने विचारहरुको द्वन्द्वमा कलाको भूमिकाको विषयलाई विशिष्ट स्थान प्रदान गरिएको छ तथापि यी पाण्डित्याइँपूर्ण भनाइहरुको कुनै अर्थ छैन किनभने यी लेखकहरुद्वारा कला विचारधारात्मक अन्तर्वस्तुबाट आफैँ “मुक्त गरिएको” छ । फिस्चरको भनाइ अनुसार व्यक्तिहरु र मानिसहरुलाई अलग गर्ने विचारधारात्मक तत्त्वहरुले जस्तो नभएर, विज्ञानले जस्तै कलाले मानिसमा एक-अर्काप्रति घनिष्ठ समझदारी वृद्धि गर्छ । कला र विज्ञानको लक्ष्य, उनको दृष्टिमा, विविध प्रकारका सामाजिक शक्तिहरुबिच फरक देखाउने होइन बरु तिनीहरुलाई एकत्रित गर्ने हो ।

कला जगत्बाट ठोस उदाहरण लिँदा फिस्चरले के कुरा उल्लेख गरे भने, उदाहरणका लागि बर्तोल्ट बेख्तले कुनै विचारधारावादी भएर होइन कि एउटा विशिष्ट कविका हैसियतमा इतिहासलाई हेरे । फिस्चरले हाम्रो समयका आधारभूत समस्याहरु समाधान गर्न कलाको योगदान सबै वर्गहरु, मानिसहरु र सामाजिक प्राणीहरुबिचको भ्रातृत्वभावको अभिव्यक्तिमा कलाको योगदान देख्छन् । यसबाट के निष्कर्ष निस्कन्छ भने “मार्क्सवादी” पद कुनै पनि किसमले बुर्जवा साहित्य र कला समीक्षाका प्रणालीगत सिद्धान्तहरुको मूल स्वरबाट फरक छैन ।

वर्गीय समाजमा कला विचारधाराको एउटा साधन हो भन्ने विचार मार्क्सवादी-लेनिनवादी कलादृष्टिको आधारस्तम्भ हो । यो दृष्टिकोणले ज्ञान मीमांसासित सम्बद्ध दर्शनशास्त्रको मार्ग र सामाजिक चेतनाको समाजवादी तत्त्वको विश्लेषणलाई सुव्यवस्थित तरिकाले जोड्नका लागि सम्भव बनाउँछ जुन मार्क्सवादको मूलभूत कुरा हो ।

कलाको सामाजिक सारतत्त्वको परिभाषाले प्रतिविम्बनको विषय र यसको प्रणाली (ज्ञान मीमांसासित सम्बद्ध पक्ष) मात्र पत्ता लगाउने होइन कि, सामाजिक जीवनमा कलाको भूमिका र स्थान समेत किटेर औंल्याउनु पर्छ र सामाजिक आवश्यकताको अन्तर्वस्तु र कलासित सम्बद्ध चाखको अस्तित्व र त्यसको विकासको बाटो, उदाहरणका लागि, कलाको सामाजिक र वर्ग सङ्घर्ष, ( समाजशास्त्रीय दृष्टिकोण) समेत देखाउनु पर्छ । कलाको प्रकृतिलाई यसको समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्दा र कलालाई एउटा विशेष विचारधाराको साधनका रूपमा व्यवहार गर्दा कलात्मक सिर्जनशीलताको प्रक्रियामा प्रतिविम्बनको प्रतिनिधिको सक्रिय भूमिकाको प्रमाणीकरणद्वारा सामाजिक अस्तित्वको प्रतिविम्बका रूपमा यसको ज्ञान मीमांसात्मक पक्षमा यसले कलाको सारतत्त्वको परिभाषा यथेष्ट मात्रामा पुरा गर्दछ । यो मेल कलाको नैतिक सिद्धान्त सम्बन्धी विश्लेषणको विचार पद्धतिमा प्रतिविम्बित हुन्छ ।
लेनिनले मार्क्सवादको शक्ति सन्तुलित निष्पक्षता र क्रान्तिकारी उत्सुकताबिचको असाधारण संयोजनमा रहेको हुन्छ भन्ने कुरा देखे ।

उनको यो विचार कलाको नैतिक सिद्धान्त सम्बन्धी धारणाको प्रणालीगत दृष्टिबाट समेत महत्त्वपूर्ण छ जुन ज्ञान मीमांसा सम्बन्धी सिद्धान्तको दृष्टिबाट विरोध नभएको खण्डमा मात्र होइन बरु, यसको विपरीत, ज्ञानमीमांसा र मूल्याङ्कनको सुव्यवस्थित एकताको प्रारम्भबाट समेत उपयोगी हुन सक्छ ।
मार्क्सवाद-लेनिनवादका संस्थापकहरुले कलालाई सधैँ सांस्कृतिक मूल्यका रूपमा हेरे, र तिनीहरुले कला सम्बन्धी तिनीहरुको व्याख्यामा कलामा र सौन्दर्यशास्त्रीय प्रतिविम्बन गरिएका परिघटनाहरुको सैद्धान्तिक मूल्याङ्कनमा ध्यान दिए । “रूसी क्रान्तिका ऐनाका रूपमा लियो टाल्सटाय” शीर्षकको लेनिनको एउटा प्रसिद्ध रचनामा यसको “ऐना” र “रूसी क्रान्ति” शब्दमा नैतिक मूल्यको महत्त्वको उपस्थिति देख्न सकिन्छ ।

ती महान् लेखकको यो भनाइका माध्यमले अभिव्यक्त रूसी जीवनको सबभन्दा विशिष्ट स्वरूपको प्रतिविम्बनको हिसाबमा लेनिनले टाल्सटायको कृतिमा रहेको नैतिक मूल्य मान्यताका तत्त्वहरुमा ध्यान केन्द्रित गर्छन् र उनको आफ्नै मूल्याङ्कनलाई स्पष्ट पार्छन् ।नैतिक मूल्यहरु मानिसका उद्देश्यहरु र विचारहरुमा प्रतिविम्बित भएका हुन्छन्। वर्गीय समाजमा कलाले नैतिक र सौन्दर्यशास्त्रीय मूल्यहरु अभिव्यक्त गर्दछ जसले केही वर्गहरुलाई एकताबद्ध गरेर मानिसको आफ्नो पन र साझा सरोकारहरुको भावनाको सचेततालाई वृद्धि गर्दछ । कलाले वर्ग-स्वार्थको प्रकाशको माध्यमद्वारा यथार्थलाई प्रतिविम्बित गर्दछ, यसले एउटा वर्गको स्वार्थलाई अभिव्यक्त गर्दछ र त्यसैमा यसको विचारधारात्मक कार्य निहीत हुन्छ ।

यसको परिभाषाको तरिकामा जहाँ ऐतिहासिक र वर्गतत्त्वहरुले कलालाई आकार दिन्छन्, मार्क्सवादी-लेनिनवादी सिद्धान्तले यसमा समावेश भएका यी तत्त्वहरुलाई त्यसमा रहेका सार्वभौम मानवीय मूल्यहरुबाट अलग गर्दैनन् । दर्शनशास्त्र, नैतिकता, कला जस्ता चेतनाका विविध रूपमा रहेका यी सार्वभौम मानवीय तत्त्वहरुको विस्तार र प्रकृति एक-अर्कासित मिल्ने किसिमका छैनन् । तिनीहरुले मानिसका सांस्कृतिक र बौद्धिक क्रियाकलापमा भन्दा कलामा विशिष्ट स्थान ओगटेका हुन्छन् तथापि कलामा सर्वव्यापी, मानवीय तत्त्वहरुको उपस्थिति, एउटा असाध्यै सामान्य नियमका लागि अभिव्यक्तिको एउटा विशिष्ट रूप हो ।

उदाहरणका लागि जब, प्रसिद्ध रूसी दार्शनिक र सौन्दर्यशास्त्री जी. प्लेखानोभले स्क्रियबिनको सङ्गीत “आवाजमा २४ रूसी क्रान्तिकारी-जनवादी सौन्दर्यशास्त्रमा नैतिक मूल्यसित सम्बन्धित तत्त्वलाई कलाकारको उसको संसारको तस्बिरको एउटा तत्त्वका रूपमा लिइन्थ्यो । उदाहरणका लागि, निकोलाई चेर्निशेब्स्कीले के भनेका छन् भने कला केवल पुनरुत्पादन र यथार्थ तथ्यलाई व्याख्या गर्ने वस्तु मात्र होइन, बरु जीवनका विविध परिघटनाहरुमाथि आफ्नो मत राख्ने कुरा पनि हो ।

– लेखकअभिव्यक्त उनको युग” थियो भनेर लेखे, साथसाथै उनले के थपे भने, “जब विशिष्ट सर्जकका कृतिमा अस्थायी र अल्पकालीन कुराहरुले अभिव्यक्ति पाउँछन् त्यसपछि त्यसले दीर्घकालीन किसिमको स्थायी अर्थ प्राप्त गर्दछ । २५ यी शब्दहरुमा उनले एक जना विशिष्ट कलाकारको सिर्जनाको मात्र प्रशंसा गरेका छैनन्, बरु सामाजिक-ऐतिहासिक परिघटनाको रूपमा कलालाई बुझ्ने मानिसको समझदारीको लागि अति महत्त्वपूर्ण एकदम सामान्य विचारलाई समेत आवाज दिएका छन् । सामाजिक चेतना केवल एउटा निश्चित समय वा निश्चित सामाजिक निर्माणसित बाँधिएर रहने विचार मात्र होइन; यसको विकास “आन्तरिक” सिद्धान्तहरुसित जोडिएको छ, जसले मानव संस्कृतिको निरन्तरतालाई आकार दिन्छन् ।

यस अर्थमा कलाले सामाजिक चेतनाका अरू रूपहरुले गर्ने जस्तै त्यही प्रकारका काम पुरा गर्दछ । तथापि कलालाई केही तत्त्वहरुका आधारमा तिनीहरुभन्दा बाहिर राखिएको हुन्छ । सौन्दर्यात्मक प्रभावका माध्यमबाट कलाको सौन्दर्यात्मक कार्यहरु सँगसँगै यसका संज्ञानात्मक, विचारधारात्मक र शैक्षिक कार्यहरु पनि अनुभूत गरिएको हुन्छ । कलाले मानिसको सौन्दर्यात्मक धारणा निर्माण गर्ने काममा निर्णायक भूमिका निर्वाह गरेको हुन्छ । जीवनका परिघटनाहरुमा निहित सौन्दर्यलाई बोध गर्न, त्यस सौन्दर्यमा आनन्द लिन, त्यस सौन्दर्यलाई उसको जीवनको एक अङ्ग बनाउन र सुन्दरका नियमहरुसित एकाकार भएर सिर्जना गर्न सिकाउँछ । कलाको सौन्दर्यात्मक कार्य मानिसलाई विविध सामाजिक सौन्दर्यात्मक विचारलाई आत्मसात गर्न मदत गर्नु र तिनीहरुको कलात्मक सम्भाव्यतालाई विकास गर्नुमा निहित छ । लेनिनले के लेखे भने कलाले कलाकारहरुलाई व्यापक जनताबिच लानु पर्छ । कलाले प्रश्नमा रहेको कलाकृतिको सिर्जना गर्ने कलाकारले अनुभूत गरे जस्तै उत्प्रेरणा र भावनात्मक अनुभव पैदा गर्दछ । “म पनि एक जना कलाकार हुँ !” कोरेजियोले हर्षोन्माद भएर राफेलका कृतिहरुबारे उद्घोष गरे ।

प्रत्येक व्यक्तिले, अस्पष्ट वा स्पष्ट रूपमा, कलाको सम्मोहनको प्रभावमा त्यस्तै प्रकारको भावको अनुभव गर्दछ । कलाको महत्त्वले अरू सबै प्रकारका सामाजिक चेतनहरुलाई उछिन्छ जब यो मानिसका जीवनप्रतिको सिर्जनात्मक मनोवृत्तिलाई बढाउन आउँछ, जीवन रूपान्तरण गर्न सक्ने कल्पनालाई प्रेरित गर्न सक्छ, यथार्थ जीवनका परिघटनाहरुको समग्र र ठोस जानकारी र सौन्दर्यात्मक मूल्याङ्कनको उसको सामर्थ्यलाई प्राप्त गर्न सक्छ ।
कलाका विशिष्ट कार्यहरुलाई परिभाषित गर्दा के सम्झिनु पर्छ भने जीवन यसका सबै विविधतामा र ऐतिहासिक विकासका मुख्य प्रवृत्तिहरुमा प्रत्येक युगमा सँगै लिइएका सामाजिक चेतनाका रूपहरुमा प्रतिविम्बित भएको छ ।

सामाजिक चेतनाका रूपहरुले एक्लाएक्लै विकास गरेर होइन, एक-अर्कासित छुट्टिएर होइन, बरु स्पष्ट रूपमा परिभाषित गर्न सकिने किसिमले अन्तर्संबन्धित भएर एक-अर्कालाई सम्मृद्ध बनाउँछन् । कला र विचारधाराका अरू रूपहरुबिच एउटा अर्थपूर्ण सम्बन्ध स्थापित हुनजान्छ । आदर्शवादी सौन्दर्यशास्त्रका विपरीत, जसले कलालाई सामाजिक चेतनाका अरू सबै रूपहरुबाट अलग राख्छ, (विशेष रूपमा राजनीतिक विचारधारा) मार्क्सवादी-लेनिनवादी सौन्दर्यशास्त्रले, यद्यपि यसले कलाका विशेष गुणहरुलाई होसियारीपूर्वक ग्रहण गर्दछ, कला र राजनीति, कला र दर्शनशास्त्र, कला र नैतिकता इत्यादिलाई एकै ठाउँमा ल्याउँछ । कला एक्लैले विचारधाराका अरू रूपहरुबाट अलग रहेर यसको सामाजिक कार्य पुरा गर्न समर्थ हुने छैन ।

यो खण्डको अर्को भागले कला र विचारधाराका अरू रूपहरुबिचको धेरै महत्त्वपूर्ण संपर्क र अन्तर्सम्बन्धबारे अरू विस्तृत रूपमा बताउने छ ।

कला र राजनीति

आदर्शवादी सौन्दर्यशास्त्रमा कला र राजनीतिको अन्तर्सम्बन्धलाई सधैँ एउटै र उस्तै किसिमले हेरिन्छ । कला र राजनीतिलाई चरित्रमा बिलकुलै फरक र बिलकुलै फरक प्रकारका कार्यहरुसित जुझ्नु पर्ने देखाइन्छ । त्यसरी नै, के भनिन्छ भने, राजनीतिको अन्तर्वस्तु कुनै यस्तो चिज हो जो अस्थायी र छोटो अवधिको हुन्छ जब कि कलाको विषय शाश्वत र सार्विक छ। यस आधारमा कला र राजनीतिलाई असङ्गत र वास्तवमा भन्दा एक-अर्काका विरोधीका रूपमा देखाइएका छन् । प्रसिद्ध इटालेली सौन्दर्यशास्त्री बेनेडेटो क्रोच कलालाई एउटा पूर्ण, सार्वभौम किसिमको मुक्त गतिविधि भनेर सबै व्यावहारिक चिजबाट अलग राख्ने प्रयत्न गर्दै, राजनीतिसित जोडिएका सबै कलालाई आंशिक कलाका रूपमा मूल्याङ्कन गर्छन् ।

यो विचार पछि आर. जी. कोलिंङउडले अनुसरण गरे, तथापि उनले कलालाई राजनीतिक उद्देश्य प्राप्तिका लागि प्रयोग गर्न सकिने कुराको विरोध गर्दैनन्, अझ साम्यवाद प्राप्तिको माध्यमका रूपमा पनि यसको विरोध गर्दैनन् र “कम्युनिस्ट विचार “द्वारा प्रशिक्षित गर्ने काममा पनि यसको विरोध गर्दैनन्, तैपनि उनले यस्तो कलालाई एउटा प्रतिभासम्पन्न कलाका रूपमा होइन कि एउटा “जादु”का रूपमा हेर्छन् । कलिङ्उडका विचारमा, कुनै कृतिका लेखकले सार्वजनिक रूपमा निश्चित प्रकारको राजनीतिक उत्तेजनापूर्ण सम्बोधनको प्रयत्न गर्ने कामले राजनीतिको सेवा गर्न सक्छ तर कलाका लागि भने त्यसको विपरीत कुरा हुन जान्छ । समकालीन फिनल्यान्डेली लेखक पेन्टी होलाप्पा के धारणा राख्छन् भने यदि एक जना कलाकारले उसका सिर्जनामा

राजनीतिक हस्तक्षेप गर्न दिन्छ भने ऊ कलाकार रहँदैन । उनी के देख्छन् भने एक जना लेखकले उसलाई वर्गहरुभन्दा माथि उठाउन सकेको खण्डमा र आफुलाई राजनीतिक सङ्घर्षबाट अलग राखेको अवस्थामा मात्र उसले कलाको साँचो सेवा गर्न सक्छ । उनका विचारमा दुई किसिमका लघु उपन्यास हुन्छन् : एक थरी मनोवैज्ञानिक र अर्को सामाजिक । मनोवैज्ञानिक उपन्यास वास्तविक कला हो, जब कि सामाजिक उपन्यास सफल वा असफल प्रचारबाजी ।
यस्ता तर्कहरु आदर्शवादी सौन्दर्यशास्त्रीहरुद्वारा अवलम्बन गरिएका धारणाका नमुना हुन् ।

तथापि आधुनिक युगमा हजारौं लाखौँ मानिसहरु सक्रिय राजनीतिमा लागेका छन् । यस्तो अवस्थामा कला र राजनीतिबिचको सुव्यवस्थित सम्बन्ध विशेष रूपमा स्पष्ट किसिमले देखा पर्ने छ र त्यो सम्बन्धको नकारात्मकताले कलाकारको राजनीतिबाट मुक्त “स्वतन्त्रता”को प्रचारबाजीले प्रतिक्रियावादी राजनीतिक विचारहरुको प्रचारबाजीलाई प्रतिनिधित्व गर्नु बाहेक अरू कुनै काम गर्ने छैन ।
फ्रान्सेली कलाकार एल्. मिटेलबर्गले उनको प्रसिद्ध चित्रकला कलाका लागि कलामा यस्तो “उपदेश” को प्रतिक्रियावादी सारलाई खुबै परि पुऱ्याएर अभिव्यक्त गरेका छन् । यसले रूखमा झुण्डिइ रहेको एउटा लास देखाउँछ र एक जना कलाकार रङपट्टिका लिएर त्यो लासको निरीक्षण गर्दै र केवल “हेर्दै” र एउटा स्थिर जीवनको- फुलदानी र स्याउहरु… को चित्रण गर्दै गरेको देखाइएको छ ।

विश्वको इतिहासभरिबाट लिइएका सबै अनुभवले एकदमै स्तब्ध पार्ने गरी के तथ्यलाई परीक्षण गरेको छ भने “स्वतन्त्र” कला होइन कि बरु त्यसको विपरीत, यथार्थ जीवनबाट अलग गर्न नसकिने प्रकारको जुझारु र प्रतिबद्ध कला र प्रगतिशील राजनीतिक विचारहरुको प्रतिविम्बन गर्ने कला मानव जातिको कलात्मक संस्कृतिको मूल्यवान् भण्डार भएको छ । के कुरा बिलकुलै तर्कसङ्गत छ भने कम्युनिस्ट विचारधाराबाट निक्कै टाढा रहेका पश्चिमी कलाकारहरु पनि बढीभन्दा बढी कस्तो विचार प्रदान गर्न थालेका छन् भने यदि यसका लेखकले प्रत्येक व्यक्तिलाई परिवर्तन गर्ने सामाजिक सम्बन्धका विषयमा विचार गर्दैन भने आजको कलामा विश्वसनीय मनोवैज्ञानिक पात्र सिर्जना गर्न सकिँदैन ।
कला र राजनीतिबिचको सम्बन्ध र कलाको राजनीतिप्रतिको निर्भरता आधुनिक मानिसको चेतनाका सुसङ्गठित भाग र विशेष रूपमा प्रत्येक इमानदार कलाकारको चेतनाका सुव्यवस्थित पक्ष हुन् ।

रूसी कवि अलेक्ज्यान्डर ब्लकले उनको समयमा रूसी बुद्धिजीवीहरुलाई “क्रान्तिलाई सुन्न” आह्वान गरे । र क्युबाली लेखक भर्जिलियो पिनेरा आज उनकाकलाकार साथीहरुलाई तिनीहरुका हातको घडीको सुईलाई क्रान्तिको घडीको सुईसित मिलाउन आह्वान गर्दछन् ।
पोलिस रङगमञ्चका एक जना प्रमुख व्यक्तित्त्व लिओन शिलरले उनको कलात्मक र सामाजिक विश्वासलाई १९२८ मा तपसिलका शब्दहरुमा
परिभाषित गरे ।
“कता जाँदै छौ ?”
“अगाडि र देब्रेतिर ।”
“गन्तव्य ? “
“यसको आवश्यकता र इच्छा-आकाङ्क्षासहितको आजको जीवन । यस्तो जीवन जसले भोलिको नैतिक र सामाजिक परिवेशलाई आकार दिन सघाउँछ ।”

स्पष्ट रूपमा के देख्न सकिन्छ भने उनले कलाकारहरुलाई समकालीन समाजको सन्दर्भमा एउटा उत्तरदायित्वपूर्ण भावनाको विकास गर्न आह्वान गर्दै थिए जसको विस्तारका लागि कलालाई सम्बोधन गरिएको थियो ।

यो खण्डको सुरुको भागले “कलाको विचारधारा विहीनता” सम्बन्धी धारणा सबन्धमा एउटा आलोचनात्मक दृष्टि प्रस्तुत गयो । तैपनि अहिले पश्चिममा ध्यान दिनु पर्ने पहिलोका साथसाथै, दोस्रो प्रकारको एउटा अर्को प्रवृत्ति छ- त्यो हो कलाको राजनीतीकरण र कला र राजनीतिबिचको विशेष सम्बन्धहरुको स्थापना । यसको एउटा विशिष्ट उदाहरण फ्रान्सेली दर्शनशास्त्री तथा सौन्दर्यशास्त्री माइकेल डुफ्रेनेले सौन्दर्यशास्त्रको सातौँ अन्तर्राष्ट्रिय सम्मेलनमा दिएको “कला र राजनीति” विषयक भाषणमा प्रदान गरिएको छ । उनले के भनेका थिए भने कला र राजनीतिबिचको सम्बन्धको समस्या तत्कालीन सरोकार भएका समस्याहरुमध्ये एक थियो र कलाकारहरु कलाको राजनीतीकरण गर्नुपर्छ भनेर आह्वान गर्न, खास गरेर इतिहासका गम्भीर मोडहरुमा त्यसो गर्न प्रवृत्त गराइएका थिए ।

त्यसपछिको क्रममा डुफ्रेन यो समस्या समाधान गर्न एउटा क्रान्तिकारी विचारका आधारमा होइन कि बरु शून्यवादी दृष्टिकोणबाट समाधान गर्न तत्पर भए । तथापि यहाँ महत्त्वपूर्ण कुरा के छ भने यस समस्याको लागि दिइएको उत्तर यहाँ छैन, बरु यस आह्वानको अर्थ एउटा गैर-राजनीतिकद्वारा विरोध गरिएको राजनीतिक पहुँचका लागिको आह्वान हो । यो कुरा आधुनिक मानिसका जीवनमा राजनीतिक विचारको बढ्दो भूमिका र कला र राजनीतिबिचको घनिष्ठ सम्बन्धमा पनि प्रतिविम्बित भएको छ । केही हदमा यो कुराका सम्बन्धमा के लेखाजोखा गर्न सकिन्छ भने राजनीतिले अहिलेको मानिसको जीवनमा यसले विगतमा पाएको भन्दा एउटा अलग्गै स्थान प्राप्त गरेको छ । राजनीतिका प्रमुख समस्याहरुबाट मानिसको सामान्य “व्यक्तिगत” जीवनलाई अलग राख्ने अवसरहरु बढीभन्दा बढी रूपमा साँगुरिँदै गएका छन् । मानिस उसको व्यक्तिगत जीवनमा आउँदा समेत आफैँमा एउटा झन् बढी रूपमा राजनीतिक प्राणी हुँदै गएको छ ।

के कुरा पनि सम्झन महत्त्वपूर्ण छ भने आजको राजनीतिक जीवन नाटकले भरिएको छ, हामीसित जुभने राजनीतिक समस्याहरु तनावपूर्ण छन् र त्यस कारण यी कुराले कलाकारलाई एकदमै राम्रो सामग्री प्रदान गर्दछन् । यस प्रसङ्गमा विशेष राजनीतिक चलचित्र, रङ्गमञ्चीय राजनीतिक नाटक, राजनीतिक गीतहरु आजको कला-जगत्‌का महत्त्वपूर्ण पक्ष हुन् । यहाँ केवल राजनीति र त्यसैको प्रभावबाट विकसित हुने स्थितिप्रति प्रतिबद्ध कलासित मात्र हाम्रो चासो होइन । यस अर्थमा सबै कला, वर्तमान समयका जल्दाबल्दा समस्याहरुबाट टाढा रहेको कलासमेत सधैँ “राजनीतिक” हुन्छ ।

चलचित्र वा साहित्यमा “राजनीतिक” शब्द प्रयोग गर्दा सोभै र तत्कालीन रूपमा नै राजनीतिक मुद्दासित सम्बन्धित चासो चित्रित हुन्छ, एउटा कलाकृतिमा यी समस्याहरु विस्फोटित हुन्छन् । गोर्कीको भनाइलाई प्रयोग गर्दा कला सधैँ “पक्ष” र “विपक्ष” को लडाइँ हो । यसबाट कलालाई राजनीतिबाट मुक्त गर्न नसकिने कुरा कलाको आफ्नै प्रकृतिबाट उत्पन्न हुन्छ भन्ने बुझिन्छ ।

आधुनिक समाजवादी समाजमा कला र राजनीतिको सन्दर्भलाई असाध्यै सविस्तारित रूपमा व्याख्या र विश्लेषण गरिएको छ । यस सम्बन्धमा कम्युनिस्ट पार्टीको नीतिले समाजको चाहनाको एकाग्र रूपको अभिव्यक्तिलाई प्रस्तुत गर्दछ। राजनीतिले सिर्जनात्मक अभ्यासलाई वृद्धि गर्दछ र जनताको जीवनलाई प्रतिविम्बित गर्ने काममा साँचो किसिमले सहयोग गर्दै र कलात्मक शब्दावलीमा समाजका प्रमुख प्रवृत्तिहरुको विश्लेषण गर्दै यसलाई महत्त्वपूर्ण दिशातिर उन्मुख गराउँछ ।

राजनीतिमा कलाको निर्भरतालाई समर्थन गर्दा मार्क्सवादी-लेनिनवादी सौन्दर्यशास्त्र कुनै पनि किसिमको निर्भरताको अति सरलीकरणका विरुद्धमा आउँछ। जब यस प्रश्नमा अति सामान्यीकरण र विकृतिकरणको कुरा आउँछ, कलामा राजनीतिक विचारहरुलाई प्रचार गर्ने र कलालाई राजनीतिक नारा घोषणा गर्ने काममा सीमित गर्ने कुरामा यस विषयले अभिव्यक्ति पाउँछ । अति सामान्यीकरण गरिएका यस किसिमका विचारहरु त्यति वेलाका विकृत समाजवादीहरु र प्रोलेकल्ट अभियानद्वारा अघि सारिएको थियो । यस्ता विचारहरु अतिवादी वामपन्थी विचारधारा र सांस्कृतिक नीतिहरुमा अझसम्म पनि सामान्य मानिन्छन् ।
वर्तमान समयमा सौन्दर्यशास्त्रमा जड सूत्रवादले राजनीति र कलाबिचमा “सोझो रूपको” सम्बन्ध विद्यमान छ भन्ने कुरा प्रदर्शन गर्दछ ।

जड सूत्रवादीहरु के सुझाव दिन्छन् भने कुनै कृतिमा राजनीतिक र कलात्मक दुई भिन्न स्वतन्त्र सिद्धान्तका रूपमा सँगसँगै अस्तित्वमा रहेका हुन्छन् र दोस्रोको मूल्य पहिलोद्वारा निर्धारण गरिएको हुन्छ । तिनीहरुका विचार पद्धतिलाई “राजनीति पहिलो र कला दोस्रो” का रूपमा टुङ्ग्याउन सकिन्छ । यस प्रकारका अति कच्चा किसिमका सामान्यीकरण गरिएका कुरा कलाको प्रकृतिसित शत्रुतापूर्ण रूपमा रहेका हुन्छन् । कला कलात्मक आवरणमा राजनीतिक विचारधारा होइन । कलाकृतिमा राजनीतिक सन्देश यसको सिर्जन प्रक्रियामा नै समाबेश गरिएको रूपमा हुनु पर्छ तर त्यसभन्दा पर जानु वा त्यसैमा आफ्नै जीवन जीउन हुँदैन । प्रसिद्ध सोभियत राजनीतिज्ञ अनास्तास मिकोयानले हेमिङ्ग्वेसितको एउटा वार्तामा के कुरा औंल्याए भने “एक जना लेखकको प्रतिभा, उसको इमानदारीता, उसको सत्यवादी र निष्पक्षताले उसका उत्कृष्ट सिर्जनाहरुमा राजनीतिक महत्त्व प्रदान गर्दछन् ।”

कला र राजनीतिबिचको सम्बन्धका चरित्रहरुका विषयमा विकृतीकरण गरिएका जड सूत्रवादी दृष्टिकोणहरु कलाको मार्क्सवादी-लेनिनवादी समझदारीका एकदम नराम्रो किसिमका प्रतिकुलता हुन् । वास्तविकताको साँचो र विविधीकरण गरिएको प्रतिनिधित्वलाई कुनै पनि किसिमका राजनीतिक नाराहरु घोकाइएका भ्रान्तिहरुले विस्थापित गर्न सक्तैनन् । यस्तो स्थानपूर्तिले अरू कुरा गर्न सक्ने होइन कि कलात्मक सच्चाइलाई न्यून गर्ने र यसरी कलाको सामाजिक मूल्यलाई कमजोर पार्ने काम मात्र गर्ने छन्। प्रगतिशील कलाको सामाजिक राजनीतिक महत्त्व यसको सत्यवादी, यसको विश्वसनीय परावर्तनद्वारा निर्धारण हुन्छ र प्रमुख प्रवृत्तिहरुको उच्च प्रकारको प्रदर्शन समाजको जीवनमा देख्न सकिन्छ ।

कला र आचरण

कला र आचरण दुबैको प्रकृति र उद्देश्यले यी दुबैको आपसी प्रभावको आवश्यकतालाई सरल बनाउँछ । कलालाई राजनीतिबाट छुट्ट्याउन नसकिए जस्तै यसलाई सदाचारबाट पनि छुट्ट्याउन सकिँदैन ।सदाचारको केन्द्रीय महत्त्वका विषयमा, कलाका सम्बन्धमा ती प्रश्नहरुसित जोडिएको छ जसको सार- व्यक्ति र समाज- शीर्षक अन्तर्गत खिच्न सकिन्छ। त्यसपछि के कुरा आउँछ भने कलामा नैतिकताको प्रश्न सधैँ उठ्छ र सौन्दर्यशास्त्रीय समस्याहरुमा सधैं नैतिकता सम्बन्धी समस्याहरु जोडिएर आउँछन्। नैतिकता यस्तो कुनै चिज होइन जो सौन्दर्यशास्त्रसित “जोडिएको” होओस्। यो कलाको एउटा आन्तरिक अङ्ग हो जो आफैं कलामा विद्यमान मानवीय तत्त्वबाट पैदा भएको हुन्छ ।

नैतिकतासित घनिष्ठ रूपमा सम्बद्ध भएको हुनाले, बेलिन्स्कीले उनको समयमा सही किसिमले उल्लेख गरे जस्तै, कलाले अमूर्त गुण र अवगुण चित्रित गर्नु हुन्न । कलाको उद्देश्य सामाजिक प्रारूपहरु चित्रित गर्नु र जीवित मानव चरित्रलाई आकार दिनु हो । तर मानिसलाई समाजको सदस्यका रूपमा चित्रण गर्दा कलाले सम्पूर्ण समाजकै चित्रण गरि रहेको हुन्छ जसको परिणाम स्वरूप त्यसको प्रस्तुतिको माध्यमले मानवीय व्यवहार प्रस्तुत गरेर नैतिकतालाई विकास गरि रहेको हुन्छ र अरू पक्षका विरुद्ध अनुशासित बनाएको हुन्छ ।

जहाँसम्म कलाको मुख्य सम्बन्ध छ, यो सधैँ सामाजिक मानिससित सम्बद्ध हुन्छ। यसका सामाजिक सम्बन्धहरुको प्रतिविम्बनबाट र यसको विशेष माध्यमबाट कलाले यी समस्याहरु कलाकारले नछोएको अवस्थामा पनि नैतिक समस्याहरु सम्बन्धमा जुझि रहेको हुन्छ । कलाको नैतिक तात्पर्य केवल नैतिकताको बाहिरी प्रभावको नतिजा होइन, बरु त्योभन्दा फरक कुरा, सौन्दर्यशास्त्रभन्दा बाहिरको तत्त्वलाई मानिएको छ । त्यसको विपरीत, सौन्दर्यशास्त्रले एउटा नैतिक तत्त्व निर्माण गर्दछ जुन स्वाभाविक र छुट्ट्याउन नसकिने प्रकारको छ ।

कलाले जीवनका विशेष आधारभूत सिद्धान्तहरु ठिक किसिमले निर्माण गर्ने काम गर्दछ। कलामा स्थापित गरिएका प्रगतिशील वा प्रतिक्रियावादी सिद्धान्तहरु सौन्दर्यशास्त्रीय आदर्शका स्वभाव र सत्यवादी, जसमा जीवन प्रतिविम्बित भएको हुन्छ, त्यसमा भर पर्दछ । कलामा सत्यबाट पलायन हुने कुरा र जीवनको साँचो कुराको तोड मरोड, कालान्तरमा नैतिक र अनैतिकबिचको भिन्नतामा ख्याल नराख्ने सिद्धान्तहरुको प्रचार हो र यस्ता क्रियाकलापले कलालाई नाङ्गे भार पार्छन्। आकलन गर्नै नसकिने परिणामका अनैतिक चलचित्रहरुको उत्पादन, अधिकांश राम्रो बिक्रीका चित्रहरुबाट उत्साहित गरिएको जनावर प्रवृत्ति, कुरूप र क्रुद्धताको भव्य प्रदर्शन, र तथाकथित आम संस्कृतिका अरू विविध पक्षहरु कलाकारका सनकका परिणति होइनन्, ती त जीवनको सत्यको अस्वीकृतिका तार्किक अभिव्यक्ति हुन् ।
सोभियत कलाले हामीलाई उच्च नैतिक सिद्धान्तहरुको कलात्मक मूर्त रूप प्रस्तुत गर्दछन् ।

अलेक्ज्यान्डर फादेयेभको पराजय र युवा पहरेदार, सोलोखोबको कुमारी धर्तीको जागरण, निकोलाई ओस्त्रोभ्स्कीको अग्निदीक्षा र ग्रिगोरी चखराईको चलचित्र सिपाहीको सबाई जस्ता प्रसिद्ध कृतिका नायकहरु यस्ता मानिस हुन् जसले विविध पुस्ताको प्रतिनिधित्व गर्दछन् तर एकै प्रकारको नियति भोग्छन् । तिनीहरु हजारौं लाखौँ सोभियत पाठक र चलचित्र दर्शकका हृदयमा वास्तविक मानिसहरुका रूपमा बाँच्छन् । यी विचित्र प्रकारका व्यक्तिहरुका चरित्रमा तिनीहरुका सिर्जनाकर्ताले चरित्रको राम्रो विशेषता, आदर्श, नैतिक मूल्य र समाजवादी युगमा जन्मेको नयाँ मानिसको प्रवृत्ति चित्रण गरे । समाजवादी कला बहुसङ्ख्यक मानिसको नैतिक शिक्षाका लागि एउटा शक्तिशाली ताकत हो ।

कला र दर्शनशास्त्र

दार्शनिक विचारको प्रत्यक्ष अभिव्यक्ति, उदाहरणका लागि गेटेको फाउस्ट, टाल्सटायको युद्ध र शान्ति र बाल्जाकको कमेडी ह्युमेनमा पाउन सकिन्छ । यी कृतिहरुमा हाम्रो वरिपरिको संसारको प्रकृतिसित सम्बन्धित दार्शनिक प्रश्नहरु, बाँच्नुको सारतत्त्व, कलात्मक वर्णनमा बुनिएका छन् । तथापि कलाकारले उसका कृतिमा सधैँ दर्शनशास्त्रका मुद्दा सम्बन्धी कुराहरु गर्दैन । रङ्गमञ्च र पर्दामा, गद्यमा र पद्यमा हामीहरु यस्ता धेरै सुन्दर सिर्जना पाउन सक्छौं जसको दर्शनसित प्रत्यक्ष सम्बन्ध छैन तैपनि कला सधैँ सारभूत रूपमा दर्शनशास्त्रसित बाँधिएको हुन्छ, दर्शनशास्त्रीय महत्त्वलाई आत्मसात् गरेको हुन्छ र एउटा विशेष प्रकारको समाजवादी आदर्शलाई अभिव्यक्ति दिएको हुन्छ ।

कुनै पनि साँचो कलाकृतिमा सधैँ एउटा सन्देश लुकेको हुन्छ । कलाकारले हामीलाई जीवन जे जस्तो छ त्यही रूपमा देखाउने प्रयत्न गर्ने होइन बरु हामीलाई विचारका लागि खाना र जीवन कस्तो हुनु पर्छ त्यसको सङ्केत पनि दिन्छन् । यो लुकेको सन्देशमा सामाजिक आदर्श, चित्रण गरिएको विषयको कुनै वास्ता विना सधैँ कलाकृतिमा अनुभूत गर्न सकिने किसिमिले प्रस्तुत हुन्छ । दर्शनशास्त्रीय पक्ष कलाको कुनै बाहिरी वस्तु होइन जसलाई कलाकृतिमा टाँस्न परोस् । कला यसको स्वभावैले दार्शनिक छ, किनकि यसले सधैँ मानिससित जीवनको अर्थबारे विचार आदान-प्रदान गर्दछ, उसलाई मानिस हुनुको आन्तरिक तत्त्व खोतल्न मदत गर्दछ र उसको विश्व-दृष्टिकोण निर्माणमा प्रभाव पार्दछ ।

कुनै पनि कलाकृतिको दार्शनिक गहिराइ महत्त्वपूर्ण रूपमा त्यसका लेखकको विश्व-दृष्टिकोणमा भर पर्दछ । जतिजति धेरै मात्रामा लेखकमा उसको सामाजिक, दार्शनिक र प्रगतिशील विचारहरु हुन्छन् उसको कलामा त्यतिनै बढी मात्रामा उसका कृतिहरुमा कलात्मक सरलीकरणको आशा गर्न सकिन्छ जुन चरित्र र अन्तर्वस्तु दुबै किसिमले साँचो अर्थमा दार्शनिक हुन्छ । एउटा विशेष विश्व दृष्टिकोणको प्रभावमा मानिसका आदर्शहरुलाई आकार दिने काम गरेर कलाले साँचो अर्थमा युगको दर्शनशास्त्र प्रदान गर्दछ। यहाँ मनमा राख्नु पर्ने मुख्य कुरा के हो भने कलाका माध्यमले प्रत्यक्ष रूपमा होइन कि अप्रत्यक्ष तवरबाट मात्र दर्शनशास्त्रीय पद्धतिले मानिसमा प्रभाव दिने प्रयत्न गर्दछ। खास दार्शनिक क्षेत्रबाट लिइएका विचारहरु कुनै वेला तिनीहरुका अमूर्त रूपमा भन्दा बढी कलामा प्रभावकारी साबित भएका छन् । कुनै विचारहरु र दर्शनशास्त्रका कुनै क्षेत्रहरु कुनै कलाकार वा लेखकसित घनिष्ठ छन् कि छैनन् भन्ने प्रश्नको कुरा होइन, बरु यो त सामान्य स्थिति हो जसमा कलाकारको विश्व दृष्टिकोणले आकार ग्रहण गरि रहेको हुन्छ ।

राजनीति, नैतिकता, दर्शनशास्त्र र कला सामाजिक चेतनाका सबै रूपहरु एक-अर्कासित घनिष्ठ रूपमा जोडिएका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा, यसो किन हुन्छ भने तिनीहरुका विविध प्रकारका रूपहरुका सबन्धमा तिनीहरु सबैले एउटै र त्यही वास्तविक जगत्‌को वा त्यो वास्तविकताको विविध प्रकारका परिघटनाहरु र स्वरूपहरुबारे छानबिन गरि रहेका छन् र यसमाथि प्रभाव पार्ने अभ्यास गर्न प्रयत्न गरि रहेका छन् । कला र दर्शनशास्त्रबिचको सम्बन्धमा र कला र विज्ञानबिचको सम्बन्धमा कलाको संज्ञानजन्य कार्यले अभिव्यक्ति पाउँछ र एकातिर कला र अर्कोतिर राजनीति वा नैतिकताको सम्बन्धले कलाको विचारधारात्मक र शैक्षिक कार्यलाई प्रतिविम्बित गर्दछ । सामाजिक चेतनाका यी रूपहरुसितको यसको सम्बन्धमा कला कलात्मक संज्ञानका रूपमा र वैज्ञानिक, दार्शनिक, नैतिक र राजनीतिक सिद्धान्तहरु र विचारहरुका रूपमा प्रदर्शित हुन्छ । कलाका यी कार्यहरु एक- अर्काबाट अलग गर्न नसकिने प्रकारका छन् र कला सधैँ चेतनाका यी अरू रूपहरुसित घनिष्ठ रूपमा रहने छ ।

कला र धर्म

सामाजिक चेतनाका यी दुबै रूपहरुलाई मार्क्सले आत्मिक एवं व्यावहारिक भनेर सम्बोधन गरे । यसो गर्दा उनले तिनीहरुबिचमा केही निश्चित प्रकारका समानतामा ध्यान केन्द्रित गरे जसले उदाहरणका लागि, तिनीहरुका आन्तरिक भावावेगात्मकतालाई र कल्पनाको भूमिका, जुनचाहिँ यी दुबैको विकासको चरित्र हो, लाई जोड्छ । यो तथ्य आदर्शवादी सौन्दर्यशास्त्रीहरुद्वारा पनि उल्लेख गरिएको छ जसले कलामा जस्तै धर्ममा पनि कल्पनाले मुख्य भूमिका खेलेको हुन्छ भन्ने कुरा सही किसिमले औंल्याएर कला र धर्मका बिचमा समानान्तर रेखाहरु खिचेका छन् । एकातिर कलामा र अर्कोतिर धर्ममा पाइने उत्तेजनात्मकता र कल्पनाको प्रकृति आधारभूत रूपबाटै फरक हुने भएको हुनाले यो समरूपको महत्त्व पनि कम हुन जान्छ। उनको धर्मको दर्शनबारे प्रवचनमा फायरबाखले के लेखे भने धर्मले जस्तो कलाले यसका कामहरुलाई वास्थविकताका रूपमा हेर्नु पर्छ भनेर माग गर्दैन ।

कलाले हाम्रा अगाडि सिर्जनात्मक तरिकाले पुनरुत्पादनगरिएको वास्तविक जगत्को चित्र प्रस्तुत गर्दछ जब कि धार्मिक कल्पनाले हाम्रा अगाडि तोड मरोड गरिएको जगत्‌को स्वरूप प्रस्तुत गर्दछ जसलाई मानिसले वास्तविक, शुद्ध र सरल रूपमा ग्रहण गरेको किसिमले देखाउँछ । यसको अर्थ के हो भने धर्म र कला परस्पर विरोधी छन्, तिनीहरुबिचको भिन्नता केही हदमा धर्म र विज्ञानबिचको भिन्नतासित तुलना योग्य हुन सक्छ ।

कला र धर्म विपरीत दिशातिर हिँड्छन् भन्ने विवाद सुरुमा झलक्क हेर्दा सबैले स्वीकार गरेको तथ्यसित नमिल्ने जस्तो देखिन्छ किनभने सत्रौं शताब्दीसम्म विश्वभरि नै, धर्मका विविध रूपहरूसित यसको विकास सँगसँगै भइ रहेको थियो र यो धार्मिक प्रभावको विषय पनि भएको थियो । सबै शास्त्रीय कला पौराणिक कलामा केन्द्रित थियो, जो प्रतिफलमा प्राक्रित धर्मको आधार थियो । त्यसपछि एकदमै कम मात्राको धर्म निरपेक्ष कलाको अपवादबाहेक, मध्ययुगको लगभग पुरै कला गिर्जाघरको प्रभावको विषय थियो । पुनर्जागरण कालका प्रमुख कृतिहरुसमेत अधिकांश रूपमा धार्मिक विषयमा आधारित थिए । वास्तवमा यस्ता विषय वस्तुहरु अक्सर उत्तरवर्ती कलाकारहरुद्वारा परिवर्तन गरिएका थिए ।

यी सबै तथ्यहरुले कलात्मक र धार्मिक विचारधारा सबै तरहबाट एक- अर्कासित मेल खाँदैनन् र स्वाभाविक रूपमा एक-अर्कासित विपरीत छन् भन्ने देखाउँछन् । तर तिनीहरुलाई सही किसिमले परीक्षण गरिनु पर्छ । कला किन धेरै शताब्दीसम्म धर्मको निकटमा रहेर विकसित भयो ?
पहिलो, क्रिस्चियन धर्मभन्दा पहिलेको धर्मले मिथकशास्त्रको स्वरूप अनुमान गयो । तथापि त्यो आदिकथा प्राकृतिक तत्त्वहरुका अगाडि मानिसको असहाय पनको अभिव्यक्ति मात्र नभएर त्यसले मानिसको कल्पनाको पहिलो कलात्मक अनुभवको कलात्मक निर्माणको समेत प्रतिनिधित्व गयो । मिथकशास्त्र केवल एउटा धर्म मात्र थिएन, बरु त्यो त तिनीहरुको ऐतिहासिक विकासको प्रारम्भिक अवस्थामा आदि मानवहरुको कलात्मक सिर्जनशीलताको अभिव्यक्ति पनि थियो ।

मार्क्सले मिथकलाई शास्त्रीय कलाको भण्डारका रूपमा उल्लेख गरेका छन् । कलाले यसको विषय पुराणका कथाहरुबाट ती कथाहरु त्यो समयको धर्मका आधार थिए भनेर लिएको होइन । बरु त्यसो किन भएको हो भने मिथकले धार्मिक धारणाका अतिरिक्त व्यापक, गैर-धार्मिक असरहरु समेतलाई अङ्गीकार गयो । केही समयावधिसम्म क्रिस्चियन मिथकहरुले कलाको विकासमा त्यही किसिमले भूमिका खेल्ने काम गरे ।

दोस्रो, लामो ऐतिहासिक कालखण्डसम्म धर्मको आवरणमा कलाको विकासलाई गिर्जाघरको राजनीतिक प्रभुत्वद्वारा विश्लेषण गर्न सकिन्थ्यो । मध्ययुगमा गिर्जाघरले नै सबै सामाजिक सम्बन्धलाई आकार दिने र नियन्त्रण गर्ने गर्दथे । यो त्यो धार्मिक विश्व-दृष्टिकोण थियो जसले समाजको समग्र जीवनमा सबभन्दा शक्तिशाली प्रभाव पार्ने काममा प्रयासरत रह्यो । गिर्जाघरको धार्मिक पुरोहितवाद र आधिपत्य विरुद्धमा झन्डा उचाल्ने काम प्रगतिशील लेखकहरुले मात्र गरेनन् बरु त्यो कुरा कलाकारहरुले समेत गरे । तथापि कला गिर्जाघरको प्रभुत्वबाट बाँधिएको थियो र धार्मिक आवरणबाहेक कलाले विकास गर्ने अवसर नगन्य रूपमा थियो । पुनर्जागरणको समयभरि, जति वेला विश्वका नयाँ विचार र दृष्टिकोणले कलामा प्रवेश पाए त्यही नै समयमा एउटा मानवतावादी, पुरोहितवाद विरोधी, धार्मिक दृष्टिकोण विरोधी विचारको उदय भयो ।

कलाको शक्ति, जुन सर्वप्रथम धर्मको छायाँमा विकसित भयो, र यसको सहनशीलता, महानता र चतुरता धर्मको चरित्रभन्दा बाहिर, यसमा पाइने जीवनमुखी गुणहरुका रूपमा अङ्कित गर्न सकिन्छ । गिर्जाघरहरु ईश्वरलाई सम्मान गर्न बनाइएका थिएनन्, बरु भवनको ढाँचा तयार गर्ने कलाको सम्मान गर्न बनाइएका थिए भन्ने फायरबाखको बुद्धिमत्तापूर्ण टिप्पणीलाई पनि समग्रतामा कलामा त्यत्तिकै राम्ररी लागु गर्न सकिन्छ । के कुरा एकदमै स्पष्ट छ भने धेरै “पवित्र पवारहरु”, “अन्तिम भोज”, “क्राइस्टको मृत शरीर लिएको कुमारी म्यारीको चित्र ” र इसाई धर्म सम्बन्धी अरू विषयहरुले पुनर्जागरण युगका चित्रकलाका बाहिरी रूपहरुभन्दा बढी अरू केही देखाउँदैनन्। ती मानव जातिका उल्लास, सुख, दुःखदर्द, प्रफुल्लता र अँध्यारोका गम्भीर अवस्था अभिव्यक्त गर्ने कलाकारका बहाना मात्र हुन् ।

बुर्जुवा युवा क्रान्तिकारीहरुले धार्मिक गिर्जाघर विरुद्धमा सञ्चालन गरेको सङ्घर्ष कलाको विकासमा सकारात्मक प्रभावको प्रयास थियो । सत्रौं शताब्दीको अन्त्यसम्म आइपुग्दा कलाले लगभग पूर्ण रूपमा धार्मिक र पौराणिक कथाहरुको चंगुलबाट आफुलाई मुक्त गरि सकेको थियो र पौराणिक परीकथाहरुको शरण नपरीकन समकालीन विश्वबाट विषय छान्न सुरु गरि सकेको थियो । यसको अर्थ हो, यथार्थ जीवनलाई अँगाल्नका लागि कलाको क्षेत्रमा व्यापक विस्तार भएको थियो ।

कला र धर्मबिचको सम्बन्धमा अझै पनि कलात्मक विकासका खास प्रवृत्तिहरुमा निरीक्षण गर्नु पर्ने भएको थियो भन्ने कुरालाई स्वीकार गर्नु पर्छ । तैपनि यो सम्बन्धले त्यति वेलासम्म एउटा बिलकुलै अलग महत्त्व प्राप्त गरि सकेको थियो । मध्ययुगीन कलाका विपरीत, जसले यसको अस्तित्वको सुरुमा नै धार्मिक चेतनाबाट केवल यसमा पाइने कलात्मक तत्त्वहरु मात्र एकत्रित गरेको थियो र पुनर्जागरण कालको कला विपरीत जसले उत्तेजनाहरु, विगत दिनका दुःखदर्द आदि सांसारिक नीरस विचारहरुलाई अभिव्यक्त गर्न धार्मिक सन्दर्भबाट मुस्किलैले अन्तर्वस्तु लिएको थियो, कलाको कम वा बेसी रूपमा कलात्मक सिर्जनात्मकतामा नकारात्मक प्रभाव थियो ।

टाल्सटाय र दोस्तोयेभस्की जस्ता प्रतिभाशाली लेखकहरुका हकमा समेत तिनीहरुका कृतिको रूप धार्मिक खोजमा बाँधिएको थियो र जीवनको द्वन्द्व र धार्मिक क्षेत्रका दुःख-दर्दहरुबारे निचोड निकाल्ने तिनीहरुका प्रयत्न सबभन्दा कमजोर थिए र खास नैतिक समस्याहरु समाधान गर्न कलाकारहरु असमर्थ थिए। सधैँ नभए पनि धेरैजसो तिनीहरुका सिर्जनाको विचारका यी पक्षहरु हुन् जसले ती लेखकहरुका असफलताहरु औंल्याउँछन् । टाल्सटायका “मानिसहरु केबाट बाँच्छन्” वा “मानिसलाई कति जमिन आवश्यक पर्छ” जस्ता कथाहरु उनका महान् उपन्यासहरु र कथाहरुसित दाँज्नु प्रशस्त हुन्छ ।

यी दुई किसिमका रचनाहरुका बिचको ठुलो दुरीलाई औंल्याउनका लागि र ती महान् लेखकहरुका धार्मिक खोजहरुको फलको प्रतिनिधित्व देखाउनका लागि समेत यी रचनाहरु अरू महान् कृतिका अगाडि बिलकुलै शुद्ध कलात्मक बुझाइमा समेत कमजोर देखिने छन् । टाल्सटायको प्रतिभाले यी कम सफल रचनाहरुमा समेत उजागर हुने अवसर पाएको छ । तर उनका रचना जहाँ कलाकार, धार्मिक गुरुका विपरीत कलाकारकै भूमिकामा रहेका छन्, त्यहाँ तिनले श्रेष्ठता पाएका छन् ।

कलाका प्रमुख उपलब्धीहरुमध्ये एक यथार्थवाद, धर्मसित मिलेर बस्न सक्तैन। वस्तुगत यथार्थमा अत्यावश्यक तत्त्वहरु र प्रवृत्तिहरुको प्रदर्शन र कलात्मक मूर्त रूप कुनै पनि प्रकारका धार्मिक विश्वासहरुसित आधारभूत रूपमा नै नमिल्ने प्रकारका छन् ।

केही असहमतिहरु आवश्यक छन्, यो साँचो हो । यथार्थवादी कलाको बहुरूपी झुकाउ र धार्मिक चेतनाले कुनै मामिलामा मिथक र धार्मिक विम्बहरु र अन्तर्वस्तुलाई यथार्थ जगत्मा पुनरुत्पादन गर्नका लागि, बर्तमान समयसम्म पनि अस्वीकार गर्दैन । उदाहरणका लागि, दिएगो रिभेरा र सिक्वेरो जस्तै उही किसिमका कलाकार, मेक्सिकोका महान् चित्रकार जोसँ ओरोज्कोले यिशुका उपदेशहरुबाट लिइएको एउटा विषयमा “यिशुले उनको क्रस नष्ट गर्छन्” शीर्षकको एउटा चित्र बनाए । यद्यपि उनको चित्रले कुनै यिशु वा ईश्वर देखाउँदैन । यिशुले जुन किसिमले बन्चरो समातेका छन्, कसरी प्रयोग गरेका छन् त्यसलाई हामीले ध्यानपूर्वक हेयौँ भने हामीले हाम्रा अगाडि ईश्वर देख्ने छैनौं, बरु हृष्टपुष्ट, बलियो सुगठित शरीर भएको एउटा मानिस, यो विश्वमा मानिसको एउटा शक्तिको प्रतिविम्बका रूपमा देख्ने छौं ।

यस्ता कामको यो मात्र एउटा उदाहरण होइन । आधा घोडा र आधा मान्छेको शरीर भएको प्राचीन मिथकले अमेरिकी लेखक जोहन अपडाइकको त्यही नामको उपन्यासको शक्तिबाट हामीलाई पर धकेल्ने होइन कि बरु, त्यसका विपरीत, त्यसले लेखकलाई एउटा नैतिक वातावरणको चित्रण गर्न, जीवन पद्धति र आधुनिक बुर्जुवा समाजमा सामाजिक सम्बन्धको रङगचित्र प्रस्तुत गर्न सक्षम बनाएर विषयको पृष्ठभूमिलाई झन् राम्रो तुल्याएको छ । गिर्जाघरको सङ्गीत आज पनि हाम्रा लागि सौन्दर्यात्मक आनन्दको एउटा श्रोत भएको छ । यो आधुनिक युगका धेरै श्रोताका लागि कम महत्त्वको विषय हो, यसमा समाविष्ट भएको धार्मिक वा गिर्जाघर सबन्धी विषयका कारणले भएको होइन, यसले हाम्रो सुन्दर सम्बन्धी धारणालाई गहन बनाउने भएको हुनाले हरेक मानिसको मन र मस्तिष्कमा अत्यावश्यक तत्त्वका रूपमा रहेको हुनाले भएको हो । महान् यथार्थवादी कलाले धर्मलाई मजबुत बनाउने होइन कि बरु त्यसलाई हटाउने काम गर्दछ ।

(अनु: हरिहर खनाल , मार्क्सवादी सौन्दर्यशास्त्रका आधारहरू)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।