
काठमाडौँ । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियानले यही बैशाख २५ गते सोमबार दिउँसो २ बजे प्रज्ञाभवन कमलादी, काठमाडौँमा बिशेष जनसाङ्गीतिक कार्यक्रम गर्ने बताएको छ । उक्त अभियानले श्रमजीवि जनताका गायक तथा सङ्गीतकारहरू, सङ्गीत अभियात्रामार्फत जनता र राष्ट्रका गीत–सङ्गीत लिएर देशव्यापीरुपमा राष्ट्रका लागि सङ्गीत अभियात्रा देशका सबै प्रदेशका राजधानीहरूसहितका १० मुख्य सहरहरूमा जनसाङ्गीतिक कार्यक्रम सम्पन्न गरि सकेको छ ।
२०७९ चैत ४ गते धनगढीको कैलालीवाट शुरु भएको उक्त अभियात्राले सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही, रुपन्देहीको बुटवल, चितवनको भरतपुर, मकवानपुरको हेटौँडा, महोत्तरीको बर्दिवास, इलामको फिक्कल, झापाको विर्तामोड, कास्की पोखरामा बिशेष जनसाङ्गीतिक प्रस्तुति सम्पन्न गरिसकेको हो ।
यसैक्रमा अभियात्राले देशका वरिष्ठ वाद्यवादकसहित यही बैशाख २५ गते सोमबार दिउँसो २ बजे प्रज्ञाभवन कमलादी, काठमाडौँमा बिशेष जनसाङ्गीतिक कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, एमाले अध्यक्ष केपी ओली, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष किरणलगायत बिभिन्न पार्टीका नेतालाई आमन्त्रण गरेको बताइएको छ ।
प्रवेश निःशुल्क गरिएको उक्त कार्यक्रममा जीवन शर्मा, माधब प्रधान, उदय श्रेष्ठ, मणि थापा, ओम श्रेष्ठ, बीरप्रसाद भन्सारी, माईला सी, मोहित श्रेष्ठ, कर्ण बिद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, प्रगति महरा, नारायण शर्मा, केशरी घर्तीमगर, उद्धब रिजाल, काजिबाबु श्रेष्ठ, कुस्मिता दर्लामी, डम्बर भण्डारी, रेश्मी मगर, आरोह सी, नारायण दंगाल, हिमशिखर, आकृति भण्डारी, कबिता पुन, अनु शर्मा, सन्ध्या मगर, लक्ष्मण पाख्रिन र लक्ष्मी केसीलगायतको बिशेष प्रस्तुति रहने बताइएको छ ।