१२ बैशाख २०८१, बुधबार

मुख्य अन्तर्विरोध र अन्तर्विरोधको पनि मुख्य पक्ष

0

अन्तर्विरोधको विशिष्टताको समस्यामा अझै दुई कुरा यस्ता छन्, जसको एक-एक गरी राम्ररी खोतलखातल गर्नैपर्दछ । यी दुई कुरा हुन्- मुख्य अन्तर्विरोध र कुनै खास अन्तर्विरोधको पनि मुख्य पक्ष ।कुनै जटिल वस्तुको विकासको प्रक्रियामा अनेकौं अन्तर्विरोधहरू हुन्छन्, ती मध्येअनिवार्य रूपबाट एउटा मुख्य अन्तर्विरोधहरूको अस्तित्व र विकासलाई निर्धारित वा प्रभावित गर्दछ ।

जस्तै, पूँजीवादी समाजमा अन्तर्विरोधका दुई विरोधी शक्तिहरू, सर्वहारावर्ग र पूँजीवादीवर्गले मुख्य अन्तर्विरोधलाई जन्माइदिन्छ । अरू अन्तर्विरोधहरू जस्तै उत्रेपावेका सामन्तीवर्ग र पूंजीवादीवर्गका माझको अन्तर्विरोध, गाउँले तल्ला पूँजीवादीवर्ग र पूंजीवादीवर्गका माझको अन्तर्विरोध, सर्वहारावर्ग र गाउँले तल्ला पूँजीवादको अन्तर्विरोध, उदारवादी पूँजीपतिहरू र एकलौटी पूँजीपतिहरूका माझको अन्तर्विरोध, पूँजीवादी प्रजातन्त्र र पूँजीवादी फासिस्टवादका माझको अन्तर्विरोध, पूँजीवादी मुलुकहरूका माझ आपसकै अन्तर्विरोधहरू, साम्राज्यवाद र उपनिवेशहरूका माझका अन्तर्विरोधहरू आदि यसै मुख्य अन्तर्विरोधबाट निर्धारित र प्रभावित हुन्छन् ।
चीन जस्तो अर्ध औपनिवेशिक मुलुकमा मुख्य अन्तर्विरोध र अ-मुख्य अन्तर्विरोधका माझको सम्बन्धले एउटा जटिल परिस्थिति उभ्याइदिन्छ ।

यस्तो मुलुकमाथि साम्राज्यवादले धावा गर्दा औलामा गन्न सकिने केही देशद्रोहीबाहेक त्यस मुलुकका अरू सबै विभिन्न वर्गहरू, साम्राज्यवादको विरोधमा एउटा राष्ट्रिय युद्धमा, अस्थायी रूपबाट एकगठ हुनसक्छन् । यस्तो वेलामा साम्राज्यवाद र त्यस मुलुकका माझको अन्तर्विरोध मुख्य अन्तर्विरोध हुन जान्छ तर उता भने मुलुकभित्रका विभिन्न वर्गहरूका माझ रहेका जम्मै अन्तर्विरोधहरू (जसभित्र सामन्ती अर्थ-व्यवस्था र विशाल जनसमुदायका माझ रहने मुख्य अन्तर्विरोध पनि पर्दछ) । अस्थायी किसिमबाट कम महत्त्वका र मुख्य अन्तर्विरोध मातहत हुन जान्छन् । चीनमा १८४० को अफिम युद्धमा, १८९४ को चीन जापान युद्धमा ४ र १९०० को यो हो थ्वान युद्धमा यस्तै भएथ्यो र हाल चीन-जापान युद्धमा पनि यही नै भैरहेछ ।

तर अर्को अवस्थामा अन्तर्विरोधहरूले ठाउँ फेर्दछन् । जुन बखत साम्राज्यवादले युद्धको करकाप नगरी आफ्नो चिथोमिचोलाई जोगाइराख्नका निम्ति त्यसभन्दा नरम जुक्तिहरू- राजनैतिक, आर्थिक र सांस्कृतिक जुक्तिहरू लगाउन थाल्छ, त्यसबेला अर्ध- औपनिवेशिक मुलुकहरूका शासकवर्ग साम्राज्यवादका सामु घुँडा टेकिदिन्छन् र ती दुवै नै विशाल जनसमुदायलाई सँगै मिलेर चुस्न र सास्ती दिनका लागि आपसमा मित लगाउँछन् । यस्ता बेला साम्राज्य र सामन्तीवर्गको यस मिलोमतोको विरोध गर्नाका लागि विशाल जनसमुदायले प्रायः घरेलुयुद्धको बाटो समात्छन् र उता साम्राज्यवाद अर्ध औपनिवेशिक मुलुकहरूमा हाक्काहाक्की अघिल्तिरबाट आफ्ना पाइला सार्नुभन्दा विशाल जनसमुदायलाई चुस्नका लागि प्रतिक्रियावादीहरूलाई पछिल्तिरबाट टेकोपुंडो दिन्छ र यसरी भित्रिया अन्तर्विरोध खासगरी चर्को हुन जान्छन् । चीनमा १९९१ को क्रान्त्रिकारी युद्धमा,१९२४-२७ को क्रान्तिकारी युद्धमा र १९२७ देखि थालिएको दश वर्षे भूमि क्रान्तिकारी युद्धमा त्यसै भएथ्यो ।अर्ध औपनिवेशिक मुलुकहरूमा अनेकन् प्रतिक्रियावादी शासक डफ्फाहरूका माझ हुने मारकाट पनि, जस्तै चीनमा युद्ध सर्दारहरूका आपसका मारकाट यसै खालभित्र पर्छन् ।

साम्राज्यवाद र त्यसका पछि पछि दगुर्ने कुकुरहरूका रूपमा रहेका ती देशभित्रकै प्रतिक्रियावादीहरूको बसोवास नै सखाप हुने जोखिम ल्याइदिने सीमामा जुन बखत घरेलु युद्ध पुग्न जान्छ, त्यसबखत आफ्नो हैकम र रजाइँ जोगाइराख्ने प्रयासमा साम्राज्यवादले धेरैजसो बेला माथि भनिएका जुक्तिहरूभन्दा अरू बेग्लै झिक्छ, कि त ऊ क्रान्तिकारी मोर्चामा भित्रबाट फाटो पार्ने प्रयत्न गर्छ कि त देशभित्रका प्रतिक्रियावादीहरूलाई हाक्काहाक्की नै सघाउ पुऱ्याउन ऊ पल्टनहरू पठाउँछ । यस्तो बेलामा विदेशी साम्राज्यवादीहरू र देशभित्रका प्रतिक्रियावादीहरू खुला रूपमा एउटा छेउमा उभिन्छन् भने विशाल जनसमुदाय अर्को छेउमा । यसरी यो एउटा मुख्य अन्तर्विरोध हुन पुग्छ, जसले अरू अन्तर्विरोधहरूको विकासलाई निर्धारित वा प्रभावित गर्दछ । विभिन्न पूँजीवादी मुलुकहरूले अक्टोवर क्रान्तिपछि रसियाली प्रतिक्रियावादीहरूलाई जुन मद्दत गरे, त्यो जङ्गी हस्तक्षेपको एउटा उदाहरण थियो । १९२७ मा च्याङ काइ-शेकले गरेको विश्वासघात क्रान्तिकारी मोर्चामा फाटो पार्ने कामको एउटा उदाहरण हो ।

तर जे भए पनि के कुरामा अलिकति पनि शंका छैन भने विकासको प्रक्रियाको हरेक अवस्थामा एउटा मात्रै अन्तर्विरोध मुख्य अन्तर्विरोध हुन्छ, जसले सबभन्दा प्रमुख काम गरिहेको हुन्छ ।यसरी कुनै प्रक्रियामा निकै संख्यामा अन्तर्विरोधहरू छन् भने त्यसमा पक्कै पनि एउटा मात्रै यस्तो अन्तर्विरोध हुन्छ, जसले सबभन्दा प्रमुख र निर्णयात्मक काम गरिरहेको हुन्छ र अरू सबै अन्तर्विरोधहरू त्यसभन्दा कम महत्त्वका हुन्छन् र त्यसका मातहतमा पर्दछन् । त्यसै हुनाले कुनै जटिल प्रक्रियाको जाँचबुझ गर्दा जसमा दुई वा दुईभन्दा बढी अन्तर्विरोधहरू छन्, हामीले त्यसको मुख्य अन्तर्विरोध नै पत्ता लगाइछाड्ने सकभर कोसिस गर्नुपर्दछ । हामीले त्यसको मुख्य अन्तर्विरोधको पत्तो पाउनासाथ सारा समस्याहरूलाई सजिलैसित फर्स्याउन सकिने छ । पूँजीवादी समाजसम्बन्धी आफ्ना अध्ययनबाट मार्क्सले यही जुक्ति हामीलाई सिकाउनुभएको थियो । लेनिन र स्टालिनने पनि साम्राज्यवाद र पूँजीवादमा आइपरेका सामान्य संकटको जाँचबुझ गर्दा र सोभियत अर्थव्यवस्थाको अध्ययन गर्दा हामीलाई यिनै कुरा सिकाउनुभयो । हजारौं पण्डितहरू र कार्यक्षेत्रमा ओर्लेका मानिसहरू यस पद्धतिलाई बुझ्दैनन्, जसले गर्दा उनीहरू टम्म कुइरोमा अल्मलिएझैँ हुन्छन् र कुनै समस्याको गुदी भेट्टाउन सक्दैनन् । त्यसैले यस्तो स्थितिमा त्यस समस्याभित्रका अन्तर्विरोधहरूलाई फर्स्याउने बाटो पाउन उनीहरू असमर्थ हुन जानु स्वाभाविकै हुनजान्छ ।

माथि भनिसकिएकै छ, कुनै प्रक्रियाका सबै अन्तर्विरोधहरूलाई हामी एउटै ठान्न सक्दैनौँ, बरू हामीले मुख्य र त्यसभन्दा कम महत्त्वका अन्तर्विरोधहरूलाई छुट्याउनु पर्दछ र मुख्य अन्तर्विरोधलाई पक्रन र चिन्नतर्फ विशेष ध्याउन्न पुऱ्याउनु पर्दछ । तर कुनै पनि अन्तर्विरोधभित्र त्यो प्रमुख पक्ष होस् वा त्यसभन्दा कम महत्त्वको पक्ष होस्, के हामी त्यस अन्तर्विरोधभित्रका ती दुवै परस्पर विरोधी पक्षहरूलाई एउटै र उही ठान्न सक्छौं त ? अ हैं, हामी त्यसो ठान्न सक्दैनौं । कनै पनि अन्तर्विरोधमा परस्पर विरोधी पक्षहरूको विकास असमान हुन्छ । हो, कहिले-कहिले कस्तो लाग्छ भने तिनको विकास सन्तुलित किसिमबाट नै भइरहेछ तर यो त एउटा अस्थायी र सापेक्ष स्थिति मात्र हुन्छ, मूल स्थिति त असमानताको स्थिति नै हुन्छ । दुवै परस्पर विरोधी पक्षहरूमध्ये एउटाले मुख्य हुनु र अर्काले त्यसभन्दा कम महत्त्वको हुनु अनिवार्य हुन्छ । अन्तर्विरोधहरूमा प्रमुख काम जसले गर्छ, त्यो मुख्य अन्तर्विरोधमा प्रमुख ठाउँ पाउने त्यस मुख्य पक्षले नै कनै वस्तुको पक्ष हुन्छ स्वरूपलाई निर्धारित गर्दछ ।

तर यस्तो स्थिति स्थिर हुँदैन, अन्तर्विरोधका मुख्य र अ-मुख्य पक्षहरू एकअर्कामा फेरिन्छन् र त्यसैबमोजिम वस्तुको स्वरूप पनि फेरिन जान्छ । कुनै एउटा प्रक्रियामा वा कुनै अन्तर्विरोधको विकासको एउटा अवस्थामा अ-मुख्य पक्ष छ र आ-चाहिँ अ-मुख्य पक्ष छ तर विकासको अर्को अवस्थामा वा अर्को प्रक्रियामा अ र आ का कामहरू आपसमा फेरिन जान्छन् र कुनै वस्तुको विकासक्रममा एक पक्षको अर्को पक्षसित हुने तानातानमा प्रत्येक पक्षको शक्तिमा कति थप वा घटी भएको छ भन्ने कुराबाट यो फेराइ निर्धारित हुन्छ । वेलाबेलामा हामी “पुरानोलाई नौलोले उछिन्ने” कुरा गछौं । पुरानोलाई नौलोले उछिन्ने कुरा विश्वको सार्वभौमिक, सनातन र उल्लङ्घन गर्न नसकिने नियम हो । कुनै वस्तु आफ्नो स्वत्व र बाहिरिया परिस्थितिहरू अनुसार अनेकन खालका फडकोहरूमार्फत् एउटा अर्कै वस्तुमा फेरिन्छ; नौलोले पुरानोलाई उछिन्ने प्रक्रिया यही नै हो ।

हरेक वस्तुमा त्यसको नौलो पक्ष र पुरानो पक्षका माझ अन्तर्विरोध रहन्छ र यस अन्तर्विरोधले एकपछि अर्का बाङ्गाटिङ्गा असजिला सङ्घर्षहरूलाई जन्माउन थाल्छ । यी सङ्घर्षहरूले गर्दा नौलो पक्ष चाहिँ कम महत्त्वको ठाउँबाट मुख्य ठाउँमा पुग्छ र आफ्नो हैकम चलाउन थाल्छ र उता पुरानो पक्ष चाहिँ मुख्य ठाउँबाट कम महत्त्वको ठाउँमा झर्दछ र अलिअलि गरी त्यो मासिएर जान्छ । पुरानो माथि नौलो पक्षले हैकम चलाउन थालेपछि पुरानो वस्तु गुणात्मक रूपबाट एउटा नौलो वस्तुमा फेरिन जान्छ । यसरी के कुरा प्रस्ट छ भने विशेषगरी अन्तर्विरोधको मुख्य पक्षबाट नै कुनै वस्तुको स्वरूप निर्धारित हुन्छ वा भनूँ त्यस पक्षबाट नै निर्धारित हुन्छ, जसले त्यहाँ आफ्नो हैकम स्थापित गरिसकेका छन् । आफ्नो हैकम स्थापित गरिसकेको त्यस मुख्य पक्षमा हेरफेर भएपछि त्यसै अनुकूल त्यस वस्तुको स्वरूप पनि फेरिन जान्छ ।

पूँजीवादी समाजमा पूँजीवादले पुरानो सामन्ती युगमा रहेको आफ्नो कम महत्त्वको स्थितिलाई हैकमको स्थितिमा फेरिदिएको छ र त्यसै बमोजिम समाजको स्वरूप पनि सामन्तीबाट पूँजीवादी भइसकेको छ । नौलो, पूँजीवादी युगमा पहिले हैकमको स्थितिमा रहेका सामन्ती शक्तिहरू हाल कम महत्त्वका भइसकेका छन् र ती अलि-अलि गरी बिलाउँदै जाँदैछन् । दृष्टान्तका निम्ति, बेलायत र फ्रान्समा त्यस्तै भयो । उत्पादक शक्तिहरूको विकाससितै, पूँजीवादीवर्ग प्रगतिशील काम गर्ने एउटा नौलो वर्गको स्थितिबाट बेग्लिएर प्रतिक्रियावादी काम गर्ने एउटा पुरानो वर्गमा फेरिन गएको हुन्छ र (आखिरमा सर्वहारावर्गको हातबाट नहुत्याइन्जेल, उसलाई उत्पादनका साधनहरूमाथि रहेको उसको निजी स्वामित्व जफत गरिएको र शक्ति खोसिएको वर्ग नतुल्याइन्जेल र त्यसपछि विस्तारै-विस्तारै नास्सिदै अस्ताएर नगएसम्म यसले त्यही भूमिका खेलिरहेको हुन्छ ।)

सर्वहारावर्ग, जुन पूँजीपतिवर्गभन्दा गन्तीमा निकै बढी छ र जुन पूँजीपतिवर्ग सँगसँगै पूँजीपतिवर्गकै शासनमुनि हुकिंदै जान्छ । एउटा नौलो शक्ति हो, पूँजीपतिवर्गको हैकममा रहेको आफ्नो थालनीको स्थितिबाट विस्तारै-बिस्तारै वलियो भएर त्यो एउटा स्वतन्त्र वर्ग हुन पुग्छ र इतिहासमा यसले एउटा अगुवा भूमिका खेल्दछ र अन्तमा शासकवर्गबाट राजकाजकै शक्ति खोसेर आफ्नो हातमा लिई यो खदै शासकवर्ग हुन पुग्छ । त्यसले गर्दा समाजको अनुहार नै फेरिन जान्छ र पुरानो पूँजीवादी समाज नौलो समाजवादी समाजमा फेरिन पुग्छ । यो नै त्यो वाटो हो, जसलाई सोभियत संघले समातेको छ र अरू बाँकी जम्मै मुलुकहरूले पनि अनिवार्य रूपमा यसलाई पर्ने छ ।दृष्टान्तका निम्ति, चीनलाई नै हेर्नुहोस् न । चीनलाई जुन अन्तर्विरोधले एउटा अर्ध-उपनिवेश तुल्याइदिएको छ, त्यसमा त्यस साम्राज्यवादको प्रमुख ठाउँ छ, जसले चिनियाँ जनतालाई दुःख, सास्ती दिन्छ र एउटा स्वतन्त्र मुलुकवाट फेरिएर चीन एउटा अर्ध- उपनिवेश हुन पुगेको छ ।

तर यस स्थितिमा हेरफेर हुनेछ भन्ने कुरा अनिवार्य छ । दुवै पक्षहरूका माझको तानातानमा सर्वहारावर्गको नेतृत्वमा अघि लम्कदै गैरहेको चिनियाँ जनताको शक्तिले चीनलाई एउटा अर्ध-उपनिवेशबाट एउटा स्वतन्त्र मुलुकमा फेरिदिनेछ भन्ने कुरा अनिवार्य छ । तर उता साम्राज्यवादतर्फ भने त्यसको टाट पल्टाइनेछ र पुरानो चीन नौलो चीनमा फेरिनेछ भन्ने कुरा पनि अनिवार्य छ ।

पुरानो चीन नौलो चीनमा फेरिनुका साथै चीनका पुराना सामन्ती शक्तिहरू र चीनका नौला जनशक्तिहरू माझका सम्बन्धहरूमा पनि यताउता हेरफेर हुनेछ । पुरानो सामन्ती जमिनदारवर्गलाई हुत्याइनेछ र त्यो हैकम चलाउने वर्गको ठाउँबाट तल सरेर हैकम मान्नुपर्ने वर्गको ठाउँमा पुग्नेछ र त्यो वर्ग पनि अलिअलि गरी चिहानतर्फ पाइला सार्नेछ । सर्वहारावर्गबाट डोऱ्याइएर सारा शोषित जनताहरू शासितको अवस्थावाट शासकहरूको अवस्थामा पुग्नेछन् । त्यसपछि चिनियाँ समाजको अनुहारमा पनि हेरफेर हुनेछ र पुरानो अर्ध-औपचारिक र अर्ध-सामन्ती समाज एउटा नौलो जनवादी समाजमा फेरिन जानेछ ।

यस्ता खालका आपसका हेरफेरका दृष्टान्तहरू हाम्रा अघि-अघिका अनुभवहरूमा पनि भेट्टाइन्छन् । चीनमा करिब तीन सय वर्षसम्म रजाइँ गर्ने छिङ खलक १९११ को क्रान्तिमा उखेलिएर मिल्काइयो र केही कालका निम्ति सन यात सेनको नेतृत्वमा क्रान्तिकारी थुङ मङ व्ही जितुवा भयो । १९२४-२७ को क्रान्तिकारी युद्धमा कम्युनिष्ट-कोमिन्ताङ एकताका क्रान्तिकारी शक्तिहरू दक्षिणमा निर्धाबाट बलिया हुँदै गए । उत्तरी अभियानमा जितुवा भए तर उतातिर एकताका निकै बलिया भएका उत्तरी युद्धसरदारहरू भने पल्टाइए । कम्युनिष्ट पार्टीबाट डोऱ्याएका शक्तिशाली जनसमूहहरू १९२७ मा कोमिन्ताङका प्रतिक्रियावादी शक्तिहरूको मारबाट सङ्ख्यामा निकै निर्बल भए तर आफ्नो लङवाट मौकावादलाई उखेलेर मिल्काएपछि ती एकपल्ट फेरि बिस्तार-बिस्तार हुर्किन थाले ।

कम्युनिष्टहरूबाट डोऱ्याएर क्रान्तिकारी आधारक्षेत्रका किसानहरू, जुन पहिले शासित थिए र अहिले शासक भइसकेका छन्, तर जिमिन्दारहरूको रूपान्तर भने यसको उल्टो दिशातर्फ भएको छ । यसरी संसारमा सधैं नै नौलोले पुरानोको ठाउँ ओगट्छ । पुरानो नौलोबाट उछिनिन्छ, नौलोलाई ठाउँ दिनाका लागि पुरानो मासिन्छ र पुरानो भित्रबाट नौलोको उदय हुन्छ ।

क्रान्तिकारी सङ्घर्ष हुँदाताक कहिलेकाहीँ अप्ठेरा स्थितिहरू सजिला परिस्थितिहरूको दाँजोमा हेर्दा वढी र गह्रौं हुन जान्छन् र त्यसैले ती अन्तर्विरोधको मुख्य पक्ष हुन पुग्छन्
र सजिला स्थितिहरू अन्तर्विरोधका गौण पक्ष हुन पुग्छन् । तर क्रान्तिकारीहरू आफ्ना प्रयत्नहरूबाट ती अप्ठेरा र असुहाउँदा परिस्थितिहरू माथि विस्तारै-विस्तारै विजय पाउँछन र एउटा नौलो अनुकुल स्थितिलाई जन्माउँछन् र यसरी अप्ठ्यारो स्थितिको ठाउँमा सजिलो स्थितिको जन्म हुन्छ । १९२७ मा चीनमा क्रान्ति विफल भएपछिका अवधिहरूमा र चिनियाँ लालपल्टनको लामो हिंडाइताक यस्तै भएको थियो । हाल चीन-जापान युद्धमा चीन फेरि एउटा अप्ठ्यारो स्थितिमा आइपुगेको छ तर हामी यस स्थितिलाई फेरिदिन सक्छौं । चीन र जापान दुवैका माझको स्थितिमा जरैदेखि हेरफेर गर्न सक्छौं ।

यसको उल्टो, क्रान्तिकारीहरूले भूलचुक गरे भने आफ्ना लागि सुहाउँदा स्थितिहरू पनि असजिला स्थितिहरूमा फेरिन सक्छन् । यसरी १९२४-२७ को क्रान्तिको विजय पराजयमा फेरिएको थियो । १९२७ पछि दक्षिण प्रान्तहरूमा विकसित भइसकेका आधारक्षेत्रहरू जति जम्मैले १९३४ मा पराजयको मुख देख्नुपर्यो ।

कुनै अध्ययन गर्ने काममा लाग्दा, अज्ञानताबाट ज्ञानतर्फ लम्कने क्रियामा पाइने अन्तर्विरोधमा पनि यिनै कुरा लागू हुन्छ । मार्क्सवादको अध्ययन गर्दा एकदमै थालनीको अवस्थामा मार्क्सवादबारे रहेको हाम्रो थोरै ज्ञान वा थोरै चिनारी मार्क्सवादको पूर्णज्ञानसित अन्तर्विरोधको स्थितिमा उभिएको हुन्छ । तर घुँडाधसी अध्ययन गर्ने काममा अज्ञानतालाई ज्ञानमा, थोरै ज्ञानलाई निकै ज्ञानमा र मार्क्सवादलाई आँखा चिम्ली लागू गर्ने वानीलाई सिपालु भएर मार्क्सवादलाई लागू गर्ने वानीमा फेर्न सकिनेछ ।

केही मानिसहरूको के विचार छ भने यो कुरा केही अन्तर्विरोधहरूका विषयमा साँचो देखिन्न । दृष्टान्तका लागि, उत्पादक शक्तिहरू र उत्पादन सम्बन्धहरूका माझको अन्तर्विरोधमा उत्पादक शक्तिहरू मुख्य पक्ष हुन्, सिद्धान्त र व्यवहारका माझको अन्तर्विरोधमा व्यवहार मुख्य पक्ष हो, आर्थिक आधार र माथिल्लो बनौटका माझको अन्तर्विरोधमा आर्थिक आधार मुख्य पक्ष हो र यिनका आ-आफ्ना स्थितिहरूको हकमा कुनै पनि हेरफेर हुँदै हुँदैन । यो धारणा यान्त्रिक भौतिकवादी धारणा हो, द्वन्द्वात्मक भौतिकवादी हैन । हो, उत्पादक शक्तिहरू, व्यवहार र आर्थिक आधार सामान्य रूपमा मुख्य र निर्णयात्मक काम गर्छन् । यस कुरालाई नमान्ने मानिस भौतिकवादी हैन ।

तर यहाँनिर के कुरा पनि मान्नुपर्ने छ भने कहिलेकाहीँ केही परिस्थितिहरूमा उत्पादन-सम्बन्ध, सिद्धान्त, माथिल्ला बनौट जस्ता पक्षहरू पनि मुख्य र निर्णयात्मक काम गर्ने गर्छन् । जुन बखत उत्पादन सम्बन्धहरूलाई नफेरि उत्पादक शक्तिहरूको विकास साध्य हुँदैन, त्यस बखत अनि त उत्पादन-सम्बन्धहरूमा हुने हेरफेरले नै मुख्य र निर्णयात्मक काम पूरा गर्दछ । लेनिनले भन्नुभएझैँ “क्रान्तिकारी सिद्धान्त नभई कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन ।” र, यस्तो बेलामा क्रान्तिकारी सिद्धान्तको सिर्जना र त्यसको प्रतिपादनकै काम मुख्य र निर्णायक हुने गर्दछ ।

कुनै काम गर्नु छ तर त्यसलाई कसरी गर्ने भन्ने कुरा बारे चाहिँ अझसम्म कुनै निर्देशन, पद्धति, योजना वा नीतिको निधो भइसकेको छैन भने यस्तो स्थितिमा निर्देशन, पद्धति, योजना वा नीति नै मुख्य र निर्णायक कुरा हुन पुग्छन् । माथिल्लो बनौटले (राजनीति, संस्कृति र यस्तै अरू अरू कुराहरू) आर्थिक आधारको विकासमा तगारो तेर्स्याएको बेला, राजनीतिक र सांस्कृतिक सुधार मुख्य र निर्णयात्मक कुरा हुन पुग्छन् । यसो भन्दा के हामी भौतिकवादको उल्टो त
जदिछैनौं ? अहँ जाँदैछैनौ ? किनभने इतिहासको सामान्य विकासमा एकातिर भौतिक स्थितिले नै मानसिक स्थितिको निर्णय गर्छ र सामाजिक अस्तित्वले नै सामाजिक चेतनालाई निर्धारित गर्छ र सामाजिक अस्तित्वले नै सामाजिक चेतनालाई निर्धारित गर्छ भन्ने कुरा हामी ठान्छौं त अर्कोतिर हामी के कुरा पनि मान्छौ र मान्नै पनि पर्छ भने मानसिक स्थितिको भौतिक स्थितिमा, सामाजिक चेतनाको सामाजिक अस्तित्वमा र माथिल्लो बनौटको आर्थिक आधारमा पनि प्रतिक्रिया पर्दछ । यस्तो कुरा मान्नु भौतिकवादको उल्टो जानु हैन । यस कुराले त झन यान्त्रिक भौतिकवादलाई बदर गर्दछ र द्वन्द्वात्मक भौतिकवादलाई नै दरिलो किसिमबाट समर्थन गर्दछ ।

अन्तर्विरोधको विशिष्टताको जाँचबुझ गर्दा, हामी यी दुई पक्षहरूको कुनै प्रक्रियामा रहेको मुख्य अन्तर्विरोध र अमुख्य अन्तर्विरोधको र यससितै अन्तर्विरोधको मुख्य पक्ष र अमुख्य पक्षको जाँचवुझ गर्दैनौं भने अर्को शब्दमा, अन्तर्विरोधका यी दुई पक्षहरूका खास स्वरूपहरूको जाँचबुझ गर्दैनौं भने हामी फोस्रा कुराहरूको धापमा भास्सिनेछौं, अन्तर्विरोधलाई खँदिलो किसिमबाट बुझ्न सक्नेछैनौं र त्यसको फल के हुन्छ भने त्यसलाई फर्स्याउनका लागि सही जुक्तिहरू झिक्न हामी समर्थ हुनेछैनौँ अन्तर्विरोधका यी दुई पक्षहरूको विशेष स्वरूप वा तिनको विशिष्टताले अन्तर्विरोधभित्र रहेका शक्तिहरू असमान हुन्छन् भन्ने कुराको प्रतिनिधित्व गर्छन् ।

विश्वमा एकदमै बराबरी गरेर कुनै पनि वस्तुको विकास हुँदैन र हामीले समान विकास वा सन्तुलन सिद्धान्तको विरोधमा जानैपर्छ । यसका साथै अन्तर्विरोधका यिनै ठोस विशेषताहरूबाट र आफ्नो विकासको प्रक्रियामा अन्तर्विरोधका मुख्य र अमुख्य पक्षहरूमा हुने हेरफेरहरूबाट पुराना शक्तिहरूलाई कसरी नौला शक्तिले उछिनेर अघि लम्कन्छन् भन्ने तथ्य छर्लङ्गिन्छ । अन्तर्विरोधभित्र रहेका असमानताको विभिन्न अवस्थाहरूको, मुख्य अन्तर्विरोध र अमुख्य अन्तर्विरोधहरूको र कुनै अन्तर्विरोधका मुख्य पक्ष र अमुख्य पक्षहरूको जाँचबुझ गर्नु नै एउटा यस्तो खँदिलो जुक्ति हो, जसबाट कुनै क्रान्तिकारी राजनैतिक पार्टीले राजनैतिक र जङ्गी मामिलाहरू, यी दुवैमा आफ्नो रणनीति र कार्यनीतिलाई सही ढाँचाबाट निर्धारित गर्दछ । सबै कम्युनिष्टहरूले यस कुरातर्फ ध्यान दिनैपर्छ ।
( अगस्त, १९३७- अन्तरबिरोधबारे रचनाबाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।