७ जेष्ठ २०८१, सोमबार

झापामा तीन बिघा जग्गा भाडामा लिएर धान रोप्दै नेकपाका नेताकार्यकर्ता 

0

झापा: नेपाल कम्युनिस्ट पार्टीले झापाको गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय नीति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको पार्टीका जिल्ला सेक्रेटरी सञ्जय सीले बताए ।

यसअघि भुगोलमा जनताका विभिन्न समस्या लिएर कहिले संघर्ष त कहिले छलफलमा दौडिने विप्लवका कार्यकर्ता यतिबेला गौरीगन्जमा रहेको खेतीमा हिलाम्मे भएर धान रोपिरहेका भेटिन्छन् । झापा जिल्ला पार्टी अन्तर्गतका सम्पूर्ण नेताकार्यकर्ता असार १० गते पश्चात्  निरन्तर श्रम गरिरहेको पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले बताए ।

यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशैभर सयौं बिघा भन्दा बढी क्षेत्रमा धान लगाइरहेको र पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता श्रमसँग जोडिएको पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले बताए । कार्यकर्तासँगै धान रोपिरहेका उनले इलाम र पाँचथरमा चिया, अदुवा, अलैंची लगायतको खेती भैरहेको र झापामा धान रोपाइँ भएको बताउँदै अबको केही वर्षभित्रै आफ्नै उत्पादनमा पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने नीतिका साथ पार्टी अगाडि बढिरहेको र धान खेती मात्रै नभएर कृषि तथा  पशुपालन लगायतका क्षेत्रमा पनि काम शुरु भैसकेको  बताए ।

यतिबेला नेपाल कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउने  तथा सम्पूर्ण पार्टीका नेताकार्यकर्ता  अनिवार्य श्रम र उत्पादनसँग जोडिनुपर्छ भन्ने उद्देश्यका साथ देशैभर धान रोपाइँ अभियान चलाएको छ । उत्पादित चामल पार्टीलाई चलायमान बनाउन र नेता/कार्यकर्ताको भरणपोषणका लागि प्रयोग गरिने बताइएको छ । नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भुगोलबाट विदा दिएको छ। 

आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता नारा दिएर मुलुकैभरि यो अभियान चलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।