८ पुष २०८१, सोमबार

नेकपाको नवौं महाधिवेशनका दार्शनिक संश्लेषणहरू

0

राष्ट्रिय र अन्तर्राष्ट्रिय वस्तुस्थितिको समग्र विश्लेषण गर्दा विश्व गति र विकासमा छ । अर्थराजनीतिक सम्बन्ध, समाज, वर्गसङ्घर्ष, स्वाधीनताका सङ्घर्ष र कम्युनिस्ट आन्दोलन नयाँ ठाउँमा पुगिरहेका छन् । मानव जातिले नयाँ खालका राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय समस्याहरूसँग सङ्घर्ष गरिरहेको छ । सिङ्गै मानव जातिसामु केही चुनौति र संभावनाहरू उपस्थित छन् । विषयहरूको अध्ययन, गर्दा हामीले दर्शन, अर्थशास्त्र, राजनीति, सङ्गठन, अन्तर्राष्ट्रका क्षेत्रमा केही महत्वपूर्ण संश्लेषणहरू गर्नु परेको छ ।

निश्चय नै नयाँ संश्लेषणहरू सहज र निर्विवाद हुन सक्दैनन् । जसरी रहेक सिद्धान्त, संश्लेषण र नियमहरूले अनेकौ विवाद, बहस, आलोचना सामाना गर्नु परेको थियो र छ, हाम्रा संश्लेषणहरूले पनि ती सबै बाधा, अवरोधहरूको सामाना गर्नु पर्नेछ । तर हामीलाई पूर्ण विश्वास छ कि आज कम्युनिस्ट आन्दोलन र क्रान्तिले जस्ता समस्याहरू भोग्नु परिरहेको छ र तिनको समाधान निकाल्नु परेको छ, यिनको समाधानका लागि जुनसुकै अवरोधहरू झेल्नु परे पनि नयाँ संश्लेषण गर्नु, तिनका पुष्टिका लागि आवश्यक तथ्य-प्रमाणहरू प्रस्तुत गर्नु र तिनलाई प्रयोगद्वारा सिद्ध गर्न अगाडि बढ्नु अनिवार्य छ ।

कम्युनिस्ट आन्दोलन किन विकेन्द्रीत, विभाजित र गोलचक्करमा फसिरहेको छ ? किन माओपछि वैज्ञानिक समाजवादी क्रान्तिहरू सफल हुन सकेका छैनन् ? पहिलो समाजवादी देश सोभियत संघदेखि पूर्वी युरोपसम्मका समाजवाद किन असफल भए ? चीन, कोरिया, क्युवा, भियतनामहरूले किन आ-आफ्ना विशेषताका समाजवाद भन्नु परेको छ ? साम्राज्यवादी, दलाल पुँजीवादीहरूले कसरी क्रान्तिकारीहरूलाई तोडफोड गर्न सफल हुन्छन् ? किन कम्युनिस्ट नेताहरू निजी स्वार्थमा विचलन हुन पुग्छन् ?

यस्ता समस्याहरूको समाधान हामीले दैनिक जीवन-व्यवहारका टुक्रामा खोजेर संभव छैन ।यसका लागि हामीले दर्शन, अर्थसम्बन्ध, राजनीतिक प्रणाली,सङ्गठनात्मक नीति र सांस्कृतिक सम्बन्धमा खोज्नै पर्दछ । हाम्रा संश्लेषणहरू यही मर्मसङ्ग जोडिएका छन।

अनिश्चय, रक्षा र रुपान्तरण

मार्क्सले दर्शनको संश्लेषण गर्दै भन्नुभयो, “प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो।” लेनिनले मार्क्सवादी दर्शनबारे प्रष्ट पार्दै भन्नु भयो, “मार्क्सवादी दर्शन भौतिकवाद हो । यूरोपको पुरै आधुनिक इतिहासमा साथै विशेषरुपबाट अठाह्रौं । शताब्दीको अन्तमा फ्रान्सभित्र जहाँ हरप्रकारको मध्ययुगीन कचराका विरुद्ध संस्थाहरू तथा विचारहरूमा भूदासताका विरुद्ध निर्णायक सङ्घर्ष चलायो एकमात्र यस्तो सुसंगत दर्शन सिद्ध भयो, जो प्राकृतिक विज्ञानको समस्त शिक्षाहरूको कसौंटीमाथि खरो उत्रियो साथै अन्धविश्वास, पाखण्ड, आदिको विरोधी निस्कियो ।

यसकारण जनवादका शत्रुहरूले भौतिकवादको खण्डन गर्ने, त्यसको जरा खन्ने र त्यसलाई कलंकित गर्ने पूरा चेष्टा गन्यो, साथै भौतिकवादी दर्शनका विविध रुपहरूको वकालत, जसको अर्थ हमेशा कुनै न कुनै रुपमा धर्मको वकालतमा उसको समर्थन हुन्छ ।” (लेनिन, खण्ड ४, हिन्दी, मार्क्सवादका तीन स्रोत, तीन संघटक अंग पृष्ठ १९४) दर्शनबारे माओले सरल तरिकाले भन्नुभयो, “दर्शनशास्त्र प्रकृति सम्बन्धी ज्ञान र समाज सम्बन्धी ज्ञानको सामान्यीकरण र एकत्रीकरण हो ।” (माओ, संकलित रचना भाग ३, पार्टीको कार्यशैलीमा सुधारा गर) । “दर्शन त्यतिबेला मात्र जन्मिन्छ, जब वर्गसङ्घर्ष चर्किन्छ ।

व्यवहारिक अभ्यासविनाको दर्शनको कुरा गर्नु समय बर्बाद गर्नु मात्र हो।” (माओका दुर्लभ रचनाहरू, दर्शनको प्रश्न, पृष्ठ ८९) यी सबै भनाइले बुझाउँछ कि दर्शन भनेको प्रकृति, वस्तु, मानव समाज, र राजनीतिक परिघटनाहरूलाई बुझ्ने आँखा हो । यो वस्तुकै प्रतिबिम्व तर सुसङ्गठित प्रतिबिम्व हो । यो वर्गसङ्घर्ष, क्रान्ति र समाजको विकाससँगै विकास हुँदै जान्छ । अर्थात् दर्शन पनि समाज जस्तै विकासशील चरित्रको हुन्छ ।

सन् १८४८ अगाडि पनि दुनियाँलाई बुझ्ने दार्शनिक र दर्शनहरू थिए । उनीहरूले जगतको व्याख्या विश्लेषण गरिरहेकै थिए । तर प्रायः दार्शनिकहरू दुनियाँको विश्लेषणमा उल्टो दिशातिर हिडिरहेका थिए या आधा सत्य बोकेर मात्रै हिंडदै थिए । जब मार्क्सले द्वन्द्वात्मक भौतिकवादको अनुसन्धान गर्नुभयो, मानव जातिले सापेक्षितरुपले पूर्ण वैज्ञानिक दर्शन प्राप्त गयो ।

द्वन्द्वात्मक भौतिकवादी दर्शनले मानव जातिलाई विशेषतः श्रमिक वर्गलाई प्रकृतिलाई बुझ्न मात्र होइन समाज, वर्ग, वर्गसत्ता र वर्गसङ्घर्षलाई बुझ्नेमा दिएका वैज्ञानिक एवम् क्रान्तिकारी दृष्टिकोणले संसारलाई उलटपुलट पायो । उन्नीसाँ शताब्दीको मध्यपछि वैचारिक लडाइँमा रहेको दर्शनले बीसौं शताब्दीको मध्यसम्म आउँदा सामन्ती र पुँजीवादी सत्ताहरूमा पहिरो ल्याइदियो । मानव जातिमा नयाँ युगको आरम्भ भयो । त्यो वैज्ञानिक समाजवादी युग थियो ।

मार्क्सवादी दर्शन र राजनीतिक विचार वैज्ञानिक समाजवादी सत्तामा बदलिएपछि सर्वहारा वर्गले सिङ्गै मानव जातिका लागि नयाँ सभ्यता निर्माण गर्ने आधारा प्राप्त गयो । रुसमा समाजवादी क्रान्ति सफल भएपछि समाजवादी सत्ताको पक्षमा अभूतपूर्व लहर देखा पर्यो । जब स्तालिनको निधन र गद्दार खुश्चोभको आगमन भयो, तब वर्गसत्ता सम्बन्धी दर्शनमा नयाँ विवाद र बहस देखा पर्यो । विशेषतः खुश्चोभले सत्ताबारे तीन सको संशोधनवादी विचार अघि सारेर मार्क्सवादी दर्शनलाई पुँजीवादी सत्ता रक्षाको साधनमा झारेपछि महाबहस अगाडि आयो । कमरेड माओले त्यसका विरुद्ध दार्शनिक सङ्घर्ष चलाउनु भयो । उहाँले निरन्तर क्रान्तिको सिद्धान्त प्रस्तुत गर्नुभयो । आज हामी २१औं शताब्दीमा छौं । द्वन्द्वात्मक भौतिकवादले दुई पौने दुई सयवर्ष बिताएको छ । यसको प्रयोग र परिणामहरूलाई साङ्गोपाङ्गोरुपले अध्ययन गर्दा हाम्रा अगाडि दुईवटा क्षेत्रमा एकदमै नौला वस्तुस्थिति देखिएका छन् । पहिलो, समाजको विकास र यसका नयाँ विशेषताहरू; दोस्रो, प्रकृति विज्ञानहरूमा गरिएका नयाँ अनुसन्धानहरू |

समाज विकासको नयाँ विशेषता

राजनीतिक विज्ञानको कुरा गर्दा मार्क्सको समयमा पूँजीवादको चरित्र प्रारम्भिक संसदीय अभ्यासमा थियो । त्यसभित्र नागरिकहरूका राजनीतिक अधिकार निकै सीमित थिए । शासक र जनताको बिचमा अतुलनीय असमानता थिए । सत्तामा जनताको खासै प्रतिनिधित्व थिएन । निर्वाचनमा अभिजात वर्गबाहेक श्रमिक नागरिकहरू किसान, मजदुर, महिलाहरूले भाग लिन पाउँदैनथे । तर आज पुँजीवादको विकास साम्राज्यवाद हुँदै भूमण्डलीकृत पुँजीवादमा भएको छ । रुपमै भए पनि अधिकांश देशहरूमा आम नागरिकहरूले राजनीतिक कार्य र निर्वाचनमा सहभागि हुन पाउँछन् । राज्यको चरित्र पुरानो खालको चरम फासिवाद र निरङ्कुसताबाट परिवर्तन भएर रुपगत दृष्टिले मात्र भए पनि जनताको मतद्वारा चुनिने चरित्रमा आएको छ ।

अर्को विषय मार्क्स-एङ्गेल्सको जीवनमा प्रत्यक्ष विचारसँग नभए पनि पहिलो सर्वहारा वर्गीय सत्ता पेरिस कम्युनको मात्र अनुभव थियो । तर आज मार्क्सका विचार अनुरूप रुसमा वैज्ञानिक समाजादी सत्ता स्थापना भयो । पूर्वी युरोप, चीन, भियतनाम, क्युवा, कोरियालगायत लगभग विश्वको आधा भूभागमा वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना भए । ती सत्तामध्ये पनि रुसको पहिलो समाजवादी सत्ता र पूर्वी युरोपका समाजवादी सत्ताहरू पराजित भएका छन् । ती कुनै बाह्य हमलाद्वारा नभएर कम्युनिस्ट पार्टी र समाजवादी सत्ताभित्रैबाट पैदा भएका समस्याहरूका कारणले ढल्न पुगेका छन् । त्यसैगरी चीन, भियतनाम, कोरिया, क्युवाहरूले पनि आ-आफ्ना विशेषताका समाजवाद भन्नु पर्ने ठाउँमा पुगेका छन् । विश्वका कैयौं देशहरू- भारत, फिलिपिन्स, पेरु, टर्की आदिमा कम्युनिस्ट विद्रोहहरू चलिरहेका छन् । तर ती एक आपसमा घनिष्ट ढंगले जोडिएका छैनन । हामीले विश्वमा कम्युनिस्टहरूको संख्या नियाल्यौं भने उनीहरू करोडौंको संख्यामा छन, नेपालमै पनि दुई तिहाईको संख्यामा छन् । तर किन यिनको बिचमा सामान्य पक्षधरता पनि छैन । किन कम्युनिस्टहरूको बिचमा भन्दा बुर्जुवाहरू बिचको सहकार्य सहज देखिन्छ ?

मार्क्सको समयमा समाजमा शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, सूचना- सञ्चारको अवस्था पनि सामान्य थियो । आज शिक्षामा गुणात्मक विकास भएको छ । त्यसबेला साक्षरता दर जम्मा २३ प्रतिशत थियो भने अहिले ९० प्रतिशत पुगेको छ । त्यसबेला ९० प्रतिशत मान्छेहरू गाउँमा बस्थे भने अहिले अत्याधिक जनता सहरमा बस्छन् । त्यसबेला यातायात र सूचना-सञ्चार पनि सामान्य थियो तर यसबेला जीवनको अपरिहार्य आवश्यकता बन्न पुगेका छन् । यी सारा विषयमा त्यसबेला थोरै अभिजात वर्गको मात्र पहुँच थियो तर आज विविध समस्याका बाबजुद सबै नागरिकका लागि उपलब्ध छन् ।

प्रकृति विज्ञानमा भएका नयाँ अनुसन्धानहरू

मार्क्सको समयदेखि २१औं शताब्दीसम्म पुग्दा भौतिक विज्ञानमा नवीन अनुसन्धान भएका छन् । मार्क्सको समयमा न्युटनले अनुसन्धान गरेको भौतिक विज्ञान र डार्विनले अनुसन्धान गरेको जीव विज्ञान बढी चर्चा र प्रयोगमा थिए । तिनको विकास आज भौतिक विज्ञानमा आइन्स्टाइनको सापेक्षतावाद, म्याक्स प्लङकको अनिश्चयको सिद्धान्त हुँदै हकिङसको एकीकृत भौतिकीको सिद्धान्तसम्म पुगेको छ । जीव विज्ञानमा जेनेटिक्स, खासगरी डीएनए (Deoxyribonucleic Acid) को अनुसन्धान, स्नायु विज्ञानको अनुसन्धानमा पुगेको छ । यान्त्रिक विज्ञानमा अत्याधुनिक विद्युतीय प्रविधिको विकास, सूचना-सञ्चारमा सामाजिक सञ्चार माध्यमको अनुसन्धान, थ्रिडी प्रिन्टिङ, यातायातमा आधुनिक हवाइ जहाज र बुलेट ट्रेनहरूको विकास, सैन्य विज्ञानमा सुपर सोनिक मिसाइलको विकास र परिवर्तनहरू हाम्रा सामु खडा छन् ।

गणितमा भएको विकासलाई पनि दर्शनसँग जोड्नु पर्ने सकारात्मक सोचहरू आइरहेका छन् । भौतिक तथा जीव विज्ञान, गणितलगायतमा भएका नयाँ र अपूर्व अनुसन्धानहरूले कैयौ मान्यताहरूलाई नयाँ ठाउँमा पुऱ्याइदिएका छन् ।राजनीतिक एवम् सामाजिक विज्ञानका क्षेत्रमा पुँजीवादले भोगेका सङ्कट, असफलता, नयाँ प्रयोग, भूमण्डलीकृत अवस्थासम्मको विकास, वैज्ञानिक समाजवादको विकास, सफलता र असफलतासाथै भौतिक विज्ञानमा गरिएका नयाँ अनुसन्धान र विकासले मार्क्सवादी दर्शनमा पनि नयाँ संश्लेषणको आवश्यकता बोध गराउँछ ।

दर्शनमा नयाँ संश्लेषणको चर्चा गर्दा मार्क्सले भन्नु भएको थियो, “मानिसको चेतनाले उसको सत्ता निर्धारण गर्दैन, बरु यसको विपरित, सामाजिक सत्ताले उसको चेतना निर्धारण गर्छ ।” एङ्गेल्सले भन्नुभयो, “द्वन्द्वात्मक दर्शनका लागि कुनै पनि वस्तु, अन्तिम, निरपेक्ष र पुर्ण छैन । यसले हर चीजमा र हर चीजको परिवर्तनशील गुण प्रदर्शित गर्दछ ।” (फ्रेडरिक एंगेल्स, लुडविग फायरबाख र शास्त्रीय जर्मन दर्शनको अन्त्य । पृष्ठ ८) माओले भन्नु भएको छ, “दर्शनमा निरन्तर सङ्घर्ष रहेको छ । केही मान्छेहरू एकलकाँटे दर्शनबारे मात्र कुरा गर्छन् ।” (दार्शनिक रचनाहरू मार्क्सदेखि माओसम्म, माओ, दार्शनिक समस्याहरू, पृष्ठ १६१) ।

अग्रजहरूका भनाइबाट बुझ्न सकिन्छ कि हरवस्तुलाई गतिमा बुझेजस्तै दर्शनलाई पनि गतिमा बुझ्नु पर्छ । हरेक वस्तु परिर्वनशील र विकासशील छ, त्यसैले दर्शन पनि गतिशील र परिवर्तनशील हुन्छ । कुनै एक समयमा वस्तुलाई जति बुझिएको हुन्छ, सधैं त्यही बुझाई सत्य भइरहँदैन । वस्तुको विकास अगाडि बढ्दा या वस्तुलाई बुझ्ने क्षेत्र र गहिराई बदलिँदा दर्शनको क्षेत्र पनि फैलिएर जान्छ । अन्यथा यसको गतिशील सारतत्व नै समाप्त हुनेछ ।

दर्शनको संश्लेषणको चर्चा गर्दा हामी एउटा गलत सोचबाट सचेत रहनु पर्ने देखिन्छ । खासगरी म्याक्स प्लंकको अनिश्चयको सिद्धान्तको उदाहरण दिंदै वस्तुको लोप भयो या द्वन्द्वात्मक भौतिकवादको अन्त्य भयो भन्ने जस्तो हास्यास्पद तर्कहरूसहित वितण्डतावाद र सून्यवादी दर्शन देखापरेको छ । दर्शनलाई यसरी प्रस्तुत गर्नेमा मुख्यतः पुँजीवादी प्रजातन्त्रवादी र वैज्ञानिक समाजवाद-साम्यवादी आन्दोलनबाट विचलित भएका लेखक विश्लेषकहरू देखापरेका छन् । उनीहरूको जोड राजनीतिक सिद्धान्तमा अब वैज्ञानिक समाजवाद-साम्यवादभन्दा नयाँ चाहियो भन्ने रहेको छ ।

हामीले के कुरालाई बुझ्नु आवश्यक छ भने क्वाण्टम मेकानिक्स अर्थात अनिश्चयको सिद्धान्त (Uncertainity Principle) ले भौतिक वस्तुको अन्त्यलाई कतैबाट पनि सावित गर्दैन । बरु वस्तुलाई निकै परसम्म खण्डित गर्न सकिन्छ भन्ने भौतिकवादलाई पुष्टि गर्दछ । यदि वस्तुलाई टुक्राउँदै जाँदा मसिनो इकाई तरङ्गमय नै भएछ भने पनि त्यसले भौतिक वस्तुको गुणलाई जीवितै राख्छ । अन्यथा वस्तुको जन्म शून्य र निराकारबाट भयो भन्ने तिर जान्छ जसको सार आदर्शवादसँग जोडिन्छ । आदर्शवाद सारभूत रुपले नै गलत छ भन्ने सावित भइसकेको विषय भयो ।
यहाँनेर दर्शनबारे अर्को गलत सोच पनि छ, जसले द्वन्द्वात्मक भौतिकवादभन्दा अर्को दर्शन संभव छैन या मार्क्सवादी दर्शनमा विकास जरुरी छैन भनेजसरी व्याख्या गर्दछ । अर्थात् मार्क्स-लेनिन-माओसम्म भएको दर्शनको विकास नै अन्तिम हो भनेजसरी व्याख्या गर्दछ ।

यसको सम्बन्ध दर्शनमा जडसूत्रवाद-रुढीवादसँग छ । यसले दर्शनलाई परम्परारगत रुढिका रुपमा थन्काइदिने खतरा हुन्छ । यसले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई वस्तु, समाज, गति र विकासमा नलिएर स्थिर सत्यका रुपमा व्याख्या गर्दछ । यसले दर्शनको द्वन्द्वात्मक एवम् गतिशील आत्मालाई झिकेर जड वस्तुमा बदलिदिन्छ । यसर्थ हामीले दर्शनलाई आदर्शवाद र शून्यवादमा विसर्जन गर्न खोज्ने आदर्शवादी दर्शन र दर्शनलाई गति र विकासबाट अलग गरेर जड वस्तुमा बदल्न खोज्ने जडसूत्रवादका विरुद्ध सङ्घर्ष गर्नुपर्छ । साथै, आज प्रकृति विज्ञानका विभिन्न शाखाहरूमा देखिएको अभूतपूर्व अनुसन्धान र विकास अनुरुप वैज्ञानिक दर्शनको विकास गर्न आवश्यक छ । यसलाई यसरी पनि भन्न सकिन्छ- प्रकृति विज्ञानमा अनुसन्धान गरिएको अनिश्चयको सिद्धान्तलाई समाज विज्ञानसँग जोडेर समाजवादी सत्तामा देखा परेका विफलता र क्रान्तिमा भोग्नु परेका कठिनाइहरूको समाधान गर्नु पर्दछ । अर्थात् अनिश्चयको सिद्धान्त केवल भौतिक विज्ञानमा मात्र होइन समाज विज्ञानमा पनि लागु हुन्छ ।

जस्तो कि समाजको विकास कुन दिशामा जान्छ भन्ने निस्कर्ष तत् समयका मानकहरूद्वारा निर्धारण गरिन्छ र हुन्छ जब विकासक्रममा नयाँ सम्बन्ध, नयाँ अनुसन्धान र नयाँ मानकहरू आगाडि आउँछन्, पहिलेको दिशा अनिश्चय बन्न पुग्छ । त्यसैगरी नयाँ बन्ने समाजको अस्तित्व जुन आधाराहरूमा खडा हुन्छ र गरिन्छ ती आधाराहरूमा परिवर्तन हुँदै जाँदा त्यो समाजको अस्तित्व अनिश्चय बन्न पुग्छ । यदि हामीले चाहेको समाजको अस्तित्व र त्यसको दिशा सुरक्षित गर्न चाहन्छौं भने बदलिएको वस्तु या समाजलाई निरन्तर रुपान्तरण गर्ने क्षमता राख्नै पर्छ । यसलाई अनिश्चय, रक्षा र रूपान्तरणको नियममा संश्लेषण गर्नु सही हुन्छ ।

यो संश्लेषणले मुख्यतः क्रान्तिपछि बैज्ञानिक समाजवाद आएपछि युग नै परिवर्तन भएको हो, पुँजीवाद सदाका लागि गयो, वैज्ञानिक समाजवाद चलिहाल्छ भन्ने अधिभूतवादी सोचबाट मुक्त गर्दछ । एक समयको अर्थराजनीतिक क्षेत्रमा गरिने क्रान्तिले वैज्ञानिक समाजवाद जन्माए पनि नयाँ बन्ने आर्थिक, राजनीतिक, सांस्कृतिक आधाराहरूमा समाजवाद पुँजीवादमा पल्टाखाने अनिश्चय कायमै हुन्छ, यदि समाजवादलाई साम्यवादतिर प्रवेश गराउने हो भने वैज्ञानिक समाजवादमा निरन्तर रुपान्तरण जरुरी परिरन्छ ।

आजसम्मका विविध पक्ष र सम्बन्धहरूलाई हेर्दा पनि सामाजिक रुपान्तरणका क्षेत्र यति व्यापक छन् कि कम्युनिस्टहरू सबै विकल्प (साम्यवादका प्रतिकूल नहुने) का लागि तयार हुनु पर्दछ । जो पुँजीवादीका भन्दा अग्रगामी, सरल, व्यवहारिक, वैज्ञानिक, उच्च हुन सकुन् । त्यहाँ थोरै मात्र संकिर्णता, अनुभववाद, जडसूत्रवाद, गतिहिनता देखा पर्यो भने पनि मामिला चौपट बन्न पुग्छ ।

हामीले समाजवादी दर्शनमा अनिश्चयको सिद्धान्तलाई आत्मसात गर्यो भने क्रान्तिलाई जडसूत्रवादी तरिकाले हेर्ने, गतिविहीन बन्ने र आफैं विसर्जित भएर जाने समस्या र केही प्रतिकूलता हुने बित्तिकै क्रान्तिकारी विचार र आन्दोलनबाट विचलित भएर आत्मसमर्पण गर्ने प्रवृत्तिबाट बचाउने छ । साथै हरेक समय समाज र राजनीतिक आन्दोलनको नयाँ चरित्र र विकास अनुरूप दर्शनमा पनि नयाँ अनुसन्धानका लागि प्रेरित गर्नेछ ।

( नवौं महाधिवेशनद्वारा पारित दस्तावेजबाट)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।