५ जेष्ठ २०८१, शनिबार

“अन्धो सरकार यता हेर ! आरती शाहलाई न्याय दे” भन्दै काठमाडौँमा प्रदर्शन

0

काठमाडाैँ: दाइजो नदिएको निहुमा हत्या गरिएकी आरती शाहको हत्या भएको ७५ दिन बित्दा पनि न्याय नपाएको भन्दै पीडित परिवारले अन्धो सरकार यता हेर ! आरती शाहलाई न्याय दे ! भन्दै काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् । पीडित परिवारले आरती शाहको न्यायको लागि धर्ना बसेको पनि शुक्रबार ५० दिन पूरा भएको छ ।
उनीहरुले प्रधानमन्त्री र गृहमन्त्री यता हेर ! पीडित परिवारलाई न्याय देउ ! प्रहरी उपरिक्षक विश्वराज खड्का र प्रहरी नायव उपरिक्षक वेदप्रकाश गौतम लगायतका प्रहरी अधिकृतलाई कार्वाही गर ! लगायतका नाराहरु माइतीघरमा लगाउने गरेका छन् ।
धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर– ९ थापागाउँ घर भएकी आरती शाहको गत जेठ ७ गते दाइजो नल्याएको निहुमा श्रीमानसहित घर परिवारका सदस्यहरुले मिलेर हत्या गरेको आरतीका भाई धिरज शाहले बताएका छन् ।
धिरजका अनुसार दिदी आरतीको श्रीमान मोतिबाबु शाह, ससुरा मदनमोहन शाह, सासु रेतुदेवी शाह र देवर रवी शाहले मिलेर हत्या गरेका थिए ।
पीडित परिवारले हत्या गर्ने हत्याराहरु विरुद्ध किटानी जाहेरी दिएपनि प्रहरीले षड्यन्त्र गरी चारै जनाको नामको जाहेरी नलिएको गुनासो गरेका छन् । पीडितपक्षको धेरै ठुलो प्रेसरपछि प्रहरीले श्रीमान मोतिबाबु र ससुरा मदनमोहनको नाममा मात्र किटानी जाहेरी दर्ता गरेको अहिले जिल्ला अदालत धनुषामा मुद्दा विचाराधीन छ ।
पीडित परिवारका सदस्यहरुले मुद्दा २ जनाको नाममा अगाडि बढेपनि प्रहरी र सरकारी वकिलले आफै लेखिएको वकपत्रमा जवर्जस्ती हस्ताक्षर गराएर मुद्दा कमजोर बनाउने खेल खेलिरहेको भन्दै आपत्ति जनाएका छन् ।
५० दिनदेखि काठमाडौँमा धर्नामा बसेका आरतीका माइतिपक्षहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै मिशन नेपालकी महिला प्रमुख जेनिशा बाेहोरा र युथ एशोसियसन अफ नेपालका प्रवक्ता राजकुमार महत्तो पनि सहभागी छन् ।
मिशन नेपालकी महिला प्रमुख बोहोराले पीडित परिवारको मागलाई सरकारले समेत सुनुवाई नगर्नु अन्याय भएको बताइन् ।
उनले भने, “पीडितले न्याय नपाउँदा गाह्रो भयो । यत्तिका लामो समयसम्म काठमाडौँ बस्दा खान बस्न गाह्रो छ । सरकारले कान सुनेको छैन । हामीले गृहमन्त्रालयसम्म कुरा पुर्यायौँ कुनै सुनुवाई भएन ।”
पीडित परिवारले घटनालाई कमजोर बनाउने र ढाकछोप गर्न खोज्ने प्रहरी अधिकारी, पोष्टमार्टम रिपोर्ट तयार गर्ने चिकित्सक, जाहेरी दर्ता नगरी हप्काउने न्यायधिवक्ता धर्मअवतार कोइराला र सहायक न्यायधिवक्ता अजित कर्णलाई समेत कार्वाही गरिनुपर्ने माग गरेका छन् ।
पीडित परिवारले आरतीको सासु रेनुदेवी र देवर रवी आरतीकोे हत्या प्रकरणमा संलग्न भएको यथेष्ट प्रमाणपत्र प्राप्त हुँदा पनि पक्राउ नगरिएकोमा असन्तुष्ट व्यक्त गर्दै उनीहरुलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गरेका छन् ।
प्रहरीले उल्टै आरतीको माइतीपक्षलाई कुटपिट गरेको घटना आपत्तिजनक भएको भन्दै घटना सिआइबीबाटै गहिरो अनुसन्धान गरिनुपर्ने माइति पक्षको माग छ ।
आरतीका माइतीपक्षले भनेका छन्, “आरतीको हत्या हुँदा उनी दुई महिनाकी गर्भवती थिइन्,सो गर्भवती अवस्थाको कुरा पोष्टमार्टमले समेत देखाएको र पुष्टि गर्नका लागि नमूना परिक्षण गर्न पठाईको तर हालसम्म पनि परिक्षण नगरिएको र गर्न नसकिने कुरा गरेकोले त्यस सम्वन्धि जाँच गराईपाउँ ।”
पीडित परिवारले आरतीको शिघ्र न्यायको माग गर्दै आफुहरुले सुरक्षाको ग्यारेण्टी सहित क्षतिपूर्ति पाँउनु पर्ने माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।