१ मंसिर २०८१, शनिबार

माक्र्सवाद र पार्टी सङ्गठन

0

दुई वा सोभन्दा धेरै मान्छेहरु निश्चित उद्देश्यको लागि एकसूत्रमा बाँधिन्छन् भने त्यसलाई सङ्गठन भन्न सकिन्छ । बृहत् नेपाली शब्दकोश (नेपाल प्रज्ञा प्रतिष्ठान)का अनुसार ‘आवश्यक व्यक्तिहरु वा विभिन्न तत्वलाई एकत्रित गरी समान उद्देश्य, हकहित आदिमा प्रवृत्त र संलग्न गराउने काम’ भनिएको छ । माक्र्सवादको उदय भएपछि त्यसको फरक स्वरुप र अवधारणा विकसित भएको छ । यो आलेखमा माक्र्सवादले सङ्गठनात्मक प्रश्नलाई कसरी हेर्छ वा हेर्नुपर्छ भन्ने विषयमा चर्चा गरिने छ ।

ऐतिहासिक पृष्ठभूमि
वर्गसत्ताको उदयपूर्व नै सङ्गठन उदय भएको थियो । सत्ता आफैमा सङ्गठन हो । जसको समान उद्देश्य र हकहितार्थ प्रवृत्त र संलग्न भएका मान्छेहरुको सङ्लग्नता रहन्छ । प्राचीन चिन्तक प्लेटो (४२८÷४२७–३४८÷३४७, विसीई, एथेन्स)ले दासहरुलाई नागरिक मान्दैनथे । अनागरिकहरुलाई सङ्गठित हुने अधिकार थिएन । उनीहरु दास मालिकका सम्पत्ति (वस्तुसरह) हुन्थे । नीजि सम्पत्ति सम्बन्ध र निजी सम्पत्ति नभएका बुद्धिजीवीले देशको नेतृत्व गर्नुपर्ने धारणा राख्दथे । उनले शासक वर्गको लागि मात्र जनवादको कल्पना गर्थे । समाज सञ्चालनको सन्दर्भमा प्लेटोको विचारले बौद्धिक जगतमा लामो समयसम्म प्रभाव पा¥यो ।
दुई वा सोभन्दा धेरै मान्छेहरु निश्चित उद्देश्य पूर्तिको लागि (प्रकृतिसँगको सङ्घर्ष र वर्ग सङ्घर्ष) गर्ने प्रयास नै सङ्गठन हो भन्ने विषय यहाँ उल्लेख भइसकेको छ । सरकारी, गैरसरकारी, व्यापारिक, धार्मिक, औद्योगिक, राजनीतिक अनेक प्रकारका सङ्गठनहरु हुन्छन् । प्राचीन आर्य समाजमा ऋषि–ऋषिका (तत्कालीन बुद्धिजीवी) शास्त्रार्थ (विमर्श) गर्थे । श्रेष्ठ विचारको आधारमा समाज व्यवस्था सञ्चालन गरिन्थ्यो । त्यसलाई ‘जनपरिषद्’ भन्ने गरिएको छ । ग्रीक सभ्यताका चिन्तक प्लेटोले इन्द्रियजन्य होइन, बुद्धिसङ्गत ज्ञानको आधारमा समाज व्यवस्था चलाउनु पर्ने धारणा राख्थे ।
चीनका दासप्रथा समर्थक चिन्तक कन्फ्युशियसले बौद्धिक व्यक्तिहरु ठिक र बेठिक बुझेर काम गर्छन् भने तल्लो तहका मानिसहरु भौतिक प्रोत्साहनद्वारा परिचालित हुन्छन् भन्थे । उनको धारणा पनि प्लेटोको भन्दा भिन्न थिएन । त्यसपछि काल्पनिक समाजवादीहरु चाल्स फूरिये, रबर्ट ओवेनहरु आए । बल प्रयोग नगरी, सदाचार र भातृत्वद्वारा रामराज्यको स्थापना गर्न सकिन्छ भन्ने उनीहरुको धारणा थियो । कैयौं सन्त र उदार राजाहरुको त्यसको प्रयोग पनि गरे । तर त्यसले समाजको नेतृत्व गर्न सकेन । अठारौं शताब्दीसम्म पुग्दा युरोपमा औद्योगिक क्रान्ति भयो । पुँजीवादी व्यवस्था आयो तर पनि श्रम र पुँजीबिचको अन्तरविरोध झन बढेर गयो । निजी सम्पत्ति सम्बन्धको आधारमा समाज परिचालित गरियो । तर त्यो समाधान थिएन । पुँजीवादको युद्ध, अशान्ति, भोकमरी र उत्पीडनको विकल्पमा माक्र्सवादको उदय भयो ।

माक्र्सवादको उषा–काल
कार्ल हेनरिक माक्र्स (१८१८–१८८३, जर्मन)ले इतिहासको गहन अध्ययन गर्नुभयो । मानव इतिहासका हजारौं वर्षका मानवहितार्थ भएका प्रयासहरु, विद्रोहहरु, सङ्गठित पहलहरु किन सफल भएनन् ? त्यसको एकमात्र कारण निजी स्वामित्वसम्बन्धमा देख्नुभयो । निजी स्वामित्वको कारण जनपरिषद वा सङ्घ समाजको पतन र राज्यसत्ताको जन्म भएको निष्कर्षमा पुग्नुभयो । २५ सय वर्ष अगाडि गौतम बुद्धले पनि सङ्घ समाजको कल्पना (प्रयोगसमेत) गरेका थिए । माक्र्सले सामूहिक स्वामित्व प्रणालीको पैरवी गर्नुभयो ।
माक्र्सवादले सङ्गठनलाई वर्गीय दृष्टिले हे¥यो । श्रमजीवी पक्षधरताको वकालत ग¥यो । राज्यसत्ता आफै दमन गर्ने सङ्गठन हो भन्ने मान्यता स्थापित ग¥यो । त्यसैले सङ्गठनको प्रश्न ऐतिहासिक भौतिकवादी दृष्टिले हेर्नुपर्ने विषय हो । जसलाई समाज विकासको स्तरले निर्धारण गर्दछ । माक्र्सवादको उदयसँगै सङ्गठनात्मक सन्दर्भमा नयाँ धारणाहरु विकास भए ।
आफूसमेत सहभागी भएर सामूहिक निर्णय गर्ने र त्यसप्रकारको निर्णय स्वयम्को लागि बाध्यकारी (स्वतः केन्द्रीयता) हुने वा हुनुपर्ने धारणा पेरिस कम्युनको वरपर नै उठ्यो । पूर्वीय समाजमा जनपरिषद (आर्य समाज) र सङ्घ समाज (गौतम बुद्ध) लोकप्रिय थिए । बौद्ध समाजमा त ‘सङ्घम् शरणम् गच्छामी’ मूलमन्त्र नै थियो । सन् १८७१मा फ्रान्सका कवि युजेन पोत्तर (Eugene Potter)ले फ्रेञ्च भाषामा एउटा कविता लेखे । जसलाई प्येर द गेइतेले सङ्गित दिएका थिए । एउटा मुठ्ठी पारेको हातले हावामा अभिवादन (Red Salute) गर्दै गाइने सो ‘अन्तर्राष्ट्रिय गीत’को गीतांश–
‘लुटाहाबाट आफ्नो धन खोस्न, शोषणबाट मुक्त हुन
आफ्नो कर्तव्य आफैले निर्णय गरी पुरा गर्न’
मान्छे आफ्नो मालिक आफै हो । ऊ स्वविवेकले चल्छ र समाजको हितमा आफ्नो पनि हित देख्छ । आफ्नो कर्तव्य र अधिकार बुझेर स्वपरिचालन हुन्छ । माथिको कवितांशमा सङ्गठनसम्बन्धी माक्र्सवादको चूरो (गुदी) निहित छ । पेरिस कम्युनका कम्युनार्डहरुले यो भावना र विचारलाई मानव जातिको इतिहासमा नै पहिलो पटक आत्मसात गरेका थिए । पुँजीपति वर्गले सत्तामा एकाधिकार कायम गर्दछ । तर कम्युनिस्टहरु सत्ता–विलोपीकरणको¥लागि सत्तामा जान्छन् । त्यसैले पुँजीवादी केन्द्रीयता र कम्युनिस्ट केन्द्रीयतामा गुणात्मक भिन्नता छ । कम्युनिस्टहरु सङ्क्रमणकालको रुपमा आत्मालोचक बन्दै, राजकीय सत्तालाई सामाजिक सत्तामा झार्दै, सत्तालाई जननियन्त्रित सम्यन्त्रमा झार्दै जान्छन् । पुँजीवादी केन्द्रीयता मुठ्ठीभर पुँजीपति वर्गमा केन्द्रित रहन्छ ।

लेनिनवादी सङ्गठनात्मक सिद्धान्त
यहाँ लेनिनवादी सङ्ठनात्मक नियमहरुको सन्दर्भमा चर्चा नगरी लेनिनले गर्नुभएका यससम्बन्धी योगदानमा केन्द्रित गरिनेछ ।
पार्टी भनेको विचार (चेतन पक्ष) र सङ्गठन (भौतिक पक्ष)को एकीकृत अभिव्यक्ति हो । पार्टीलाई विचार मात्र ठान्नु द्वन्द्ववाद नभएर अधिभूतवाद हो । विचारको सहीपना व्यवहारमा जाँचिन्छ । व्यवहार सङ्गठन मार्फत अभिव्यक्त हुन्छ । बोल्सेभिकहरुको अध्ययन कार्यशाला निर्देशिकामा भनिएको छ, “व्यवहार भनेको मानिसहरुको विश्वलाई रुपान्तरण गर्ने भौतिक क्रियाकलाप हो ।” (माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्र, पृष्ठ ८५, प्रशिक्षणविधि) विचार र व्यवहारलाई पृथक गर्नु, कुनै बिचको पथगामी हुनु माक्र्सवाद होइन । लेनिनले ‘एक पाइलो अगाडि, दुई पाइला पछाडि’ लेखमा भन्नुभएको छ, “अवसरवादको स्वभाव यस्तो हुन्छ कि ऊ हमेशा कुनै पनि प्रश्नलाई स्पष्ट र निर्णायक रुपमा पेश गर्ने कामबाट पन्छने गर्दछ । ऊ हमेशा कुनै बिचको बाटो खोजी गर्ने धुनमा लाग्दछ । ऊ एकदमै विरोधी दृष्टिकोणहरुबिच सधैं सर्प झैं यता र उता लरखराउने प्रयत्न गर्दछ र दुवै कुरासँग सहमत हुने कोशिस गर्दछ ।” (भी. आई. लेनिन, सङ्कलित रचना, भाग ५ (खण्ड १–८) ; पृष्ठ १०७, प्रगति प्रकाशन, मास्को, अनुवाद– राजेन्द्र मास्के) पार्टीमा विचारधारात्मक एकता कायम भएपछि सङ्गठनात्मक एकतामा ढालेर अजय शक्ति निर्माण गर्न सकिन्छ । विचार र राजनीतिमा एकता कायम भएन भने सङ्गठनमा पनि एकता हुँदैन । पार्टीमा विभिन्न गैरसर्वहारा प्रवृत्तिले छलछाम र षड्यन्त्र गरिरहन्छन् । कञ्चन–सुदर्शन प्रवृत्तिले आफ्नो लम्पट सर्वहारा प्रवृत्तिलाई ढाकछोप गर्न त्यसै गरे । आफ्ना समकालीन आर्कीमोभको सन्दर्भमा लेनिन भन्नुहुन्छ, “कमरेड आर्कीमोभ र उनका साथीहरुको प्रशंसा नगरी बस्न सकिन्न । उनीहरुले आनाकानी गर्ने र लुकिलुकी हिंड्ने कार्य गरेनन् । खुल्लमखुल्ला आफ्नो दृष्टिकोण प्रस्तुत गरे । हाकाहाकी नै के चाहन्छन् भन्ने कुरा गरे ।” –उही
लेनिनको जस्तै धारणा माओ त्सेतुङको पनि रहेको छ । गुटबन्दी र छलछामले सङ्घर्षको क्षेत्रमा आवश्यक एकता र वैचारिक एकरुपता ल्याउन कठिन हुने निष्कर्ष माओको थियो । त्यही कारण उहाँले भन्नुभयो :
१) माक्र्सवाद लागू गर; संसोधनवाद होइन ।
२) एकतावद्ध होऊ, नफूट ।
३) खुल्ला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर
(विश्व सर्वहारा वर्गका महान् गुरुहरुका उद्धरणहरु, पृष्ठ १२६, सङ्कलन नारायण गिरी, पैरवी प्रकाशन, २०६५)
माक्र्सले सङ्गठनमा समूहको भूमिकालाई स्थापित गर्नुभयो । तर समूहमा नै फरक मतहरुको उदय भएमा कसरी समाधान हुन्छ त ? उदाहरणको लागि २५ जनाको समितिमा १२ जना एकातिर र १३ जना अर्कोतिर भएमा निर्णय प्रक्रियामा कसरी पुगिन्छ ? तल्लो र माथिल्लो समितिबिचको मतभेदको समाधान कसरी हुन्छ ? फरक मत र मत कार्यान्वयन वा नयाँ विचारको अन्वेषणलाई कसरी प्रोत्साहित गरिन्छ ? दुई महाधिवेशनबिचमा नयाँ निर्णय गर्नुपर्ने भएमा कसरी गरिन्छ ? यस्ता अनेक सङ्गठनात्मक समस्याहरुको समाधान लेनिनले गर्नुभयो । जसलाई ‘जनवादी केन्द्रीयताको सिद्धान्त’ (हेर्नुहोस्, जनक्रान्ति–६, पृष्ठ ६५) भनिन्छ । निर्णय प्रक्रियामा आफू स्वयम् सहभागी भएर वा आफूसमेतबाट निर्वाचित समितिद्वारा गरिने निर्णयहरु जनवादी केन्द्रीयताभित्र पर्दछन् । सहागिता प्रत्यक्ष र अप्रत्यक्ष दुई प्रकारको हुन्छ ।
सङ्गठनात्मक क्षेत्रमा लेनिनका उत्तराधिकारी स्तालिनको पनि महत्वपूर्ण योगदान रहेको छ । तल्लो समिति, जनता र नेतृत्वको बिचमा द्वन्द्वात्मक र परिपूरक सम्बन्ध हुनुपर्नेमा स्तालिनको विशेष जोड थियो । उहाँले ‘सङ्गठनको बारेमा’ लेखमा भन्नुभयो, “हामी नेताहरु चिज, घटना र मानिसहरुलाई एकपक्षबाट मात्र अर्थात् माथिबाट मात्र देख्दछौं । त्यसैले हाम्रो दृष्टिकोण धेरथोर सीमित हुन्छ । यसको उल्टो आम जनताले चिज, घटना र मानिसहरुलाई अर्को पक्षबाट अर्थात् तलबाट देख्छन् । त्यसैले तिनीहरुको दृष्टिक्षेत्र पनि केही मात्रामा सीमित रहन्छ । प्रश्नबारे सही समाधान प्राप्त गर्नका लागि उपर्युक्त दुई वटा अनुभवहरुलाई मिलाउनु पर्दछ । यस्तो भएमा मात्र नेतृत्व सही हुनेछ ।” (उही)
सही नेतृत्व (कार्यकर्ता पनि नेतृत्व नै हो) निर्माण भएपछि उसको विकास र संरक्षण महत्वपूर्ण हुन्छ । स्तालिनले कार्यकर्ताहरु पार्टीको लागि सबैभन्दा बहुमूल्य पुँजी, सबैभन्दा निर्णायक र निर्णायक औजार बताउनु भएको छ । माओले पनि त्यससम्बन्धमा थप योगदान गर्नुभएको छ । कार्यकर्ताको संरक्षण वा रेखदेख कसरी गर्ने ? ‘कार्यकर्तासम्बन्धी नीति’ नामक लेखमा माओले भन्नुभएको छ –
१) उनीहरुलाई मार्ग–दर्शन गर्नु
२) उनीहरुको स्तर उठाउनु
३) कामको जाँचबुझ गरिरहनु
४) गल्ती सच्याउन मद्धत गर्नु
५) कठिनाई हटाउन मद्धत गर्नु (माओ त्सेतुङ, सङ्कलित रचनाहरु, भाग २, पृष्ठ १७९, अनुवाद– खगेन्द्र संग्रौला, प्रकाशक– विश्वनेपाली पुस्तक सदन, काठमाडौं)
त्यसैगरी माओले १९६०मा जनमुक्ति सेनाको काम गर्ने तरिका’ लेखमा तीन बुँदामा संश्लेषण गर्नुभएको छ । माओ भन्नुहुन्छ–
१) सही राजनीतिक प्रशिक्षण
२) परिश्रमी र मितव्ययी कार्यशैली
३) लचिलो, चलायमान रणनीति र कौशल (माओका दूर्लभ रचनाहरु, पृष्ठ ५७, सम्पादन– भोगिराज चाम्लिङ, खोजी प्रकाशन गृह, २०६४)
कम्युनिस्टको व्यवहार र पुँजीपतिको व्यवहार आधारभूत रुपले फरक हुनुपर्ने र कोरा विचारको मात्र अर्थ पूर्ण नहुने विषयमा समकालीन नेताहरुको सन्दर्भमा लेनिन भन्नुहुन्छ, “तिमी कोसँग सङ्गत गर्दछौ भन; अनि तिमी को रहेछौ भन्ने कुरा म तिमीलाई बताउँला । तिम्रो पक्षमा कसले मत प्रदान गर्दछ भन; अनि तिम्रो राजनीतिक अनुहार कस्तो रहेछ भन्ने कुरा म तिमीलाई बताउँला ।” (लेनिन, एकपाइलो अघि, दुई पाइला पछि, पृष्ठ १४९, प्यासिफिक पब्लिकेशन, अनुवाद– राजेन्द्र मास्के) उहाँले “सत्ताको लागि हुने सङ्घर्षमा सर्वहारा वर्गसित सङ्गठनबाहेक अर्को कुनै पनि हतियार छैन” भन्नुभयो । लेनिनले सङ्गठनात्मक प्रश्नलाई न्यूनिकरण गर्ने प्रवृत्तिको प्रतिवाद गर्नुभयो ।

माओ र पार्टी सङ्गठन
लेनिनको सङ्गठनात्मक सिद्धान्तले कम्युनिस्ट पार्टी र सङ्गठन परिचालनमा ऐतिहासिक भूमिका निर्वाह ग¥यो । तर त्यो नै अन्तिम समाधान थिएन र विकसित परिस्थिति अनुसार पैदा भएका समस्यालाई पुरानै उपचार विधि मात्र पर्याप्त थिएन । फरक मतहरुलाई प्रशासनिक विधि (सङ्गठनात्मक नियम) मात्रै उपयुक्त थिएन । माओले ‘आलोचना र आत्मालोचना’ नयाँ विधि थपेर सङ्गठनात्मक विधिमा थप योगदान गर्नुभयो । सन् १९६२ मा माओले ‘जनवादी केन्द्रीयताको विषयमा’ लेख लेख्नुभयो । उहाँले पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतालाई कायम राखेर ‘गोप्य र षड्यन्त्रमूलक गतिविधि’ रोक्न सकिने बताउनु भयो । चिनियाँ कम्युनिस्ट पार्टीको दस्तावेजमा भनिएको छ, “ पार्टीका हरेक नेतृत्वकारी सदस्यले जनवादलाई प्रोत्साहित गर्नुपर्छ र जनताको अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्नुपर्छ ।” (बव अभाकिएन, जनवाद : योभन्दा राम्रो व्यवस्था हामी दिनसक्छौं र हामीले दिनैपर्छ, पृष्ठ ८५, प्रकाशक– नेकपा (मसाल), १९९२)
सङ्गठनात्मक क्षेत्रका तात्कालीक गाँठाहरु पुकाउन बहुमतको विचार र निर्णय लागू गर्नु बाध्यात्मक हुन्छ । जसलाई लेनिनले सूत्रबद्ध गर्नुभयो । अल्पमतमाथिको आक्रमणले पार्टीमा अविष्कार र अन्वेषणलाई बन्ध्याकरण गर्दछ भन्नेमा भने माओ सचेत हुनुहुन्थ्यो । त्यसकारण पनि अभिव्यक्ति स्वतन्त्रता र काम–कारवाहीमा एकरुपतामा माओ सचेत हुनुहुन्थ्यो । उहाँले ‘सामान्यतया अल्पमतको विचार सही हुनेगर्छ । इतिहास यस्तै उदाहरणहरुले भरिएको छ । प्रारम्भमा सत्य जनताको बहुसंख्यासँग हुँदैन; बरु अल्पमतसँग हुनेगर्छ” भन्नुभएको छ । (उही) तर गुटबन्दी, अस्वस्थ शैलीले सत्यको अन्वेषण प्रक्रिया पनि अवरुद्ध हुनजान्छ । काम–कारवाहीमा एकरुपता भएसम्म गलत विचार नै भएपनि आलोचना गर्ने, तथ्य र सबल तर्कद्वारा सहमतिमा ल्याउने कोशिस गर्नुपर्छ भन्ने उहाँको मत थियो । माओ भन्नुहुन्छ, “जबसम्म उनीहरुले अनुशासन उलङ्घन गर्दैनन्, जबसम्म उनीहरुले गोप्य गुटबन्दीका गतिविधिहरु गर्दैनन्, तबसम्म हामीले उनीहरुलाई बोल्ने अवसर दिनुपर्छ । यदि उनीहरुले बेठिक नै बोले भने पनि कारवाही गर्नु हुँदैन । यदि मान्छेहरुले गलत बोले भने आलोचना गर्न सकिन्छ । तर हामीले उनीहरुलाई तर्कद्वारा सहमतिमा ल्याउने कोशिस गरिरहनु पर्छ ।” (उही) माओले जनवाद र केन्द्रीयता, अनुशासन र केन्द्रीयता, सङ्कल्पगत एकता र व्यक्तिगत चित्त–प्रशन्नता होस्, जीवनन्त र स्फूर्तिलो हुनुपर्ने बताउनुभयो । पार्टीको विचार जनतासम्म पुगेपछि त्यो भौतिक शक्तिमा बदलिन्छ । जनसभा, छलफल, साहित्य, सञ्चार माध्यम त्यसका अनेक उपाय छन् । सञ्चार प्रविधिमा आएको विकासले अझ सजिलो भएको छ तर माक्र्सवादी साहित्यको पहुँच कार्यकर्तासम्म पनि अपर्याप्त छ । माओले २ अप्रिल १९४८मा ‘शान्सी सुइयुआन’ दैनिकका सम्वाददातासँगको भेटमा भन्नुभएको थियो, “ हाम्रा नेतृत्वदायी सङ्गठनहरुका केही ठाउँमा यस्ता मानिसहरु छन्, जो पार्टीका नीतिरुबारे नेताहरुले मात्र थाहा पाए पुग्छ र जनसमूहलाई थाहा दिइरहनु पर्ने खाँचो छैन भन्ने ठान्छन् । हाम्रा केही काम राम्ररी हुन नसक्नाका मुख्य कारणहरुमध्ये यो पनि एउटा हो ।” पार्टीमा समस्याहरु आइरहन्छन् । त्यसलाई निरन्तर प्रक्रियाको रुपमा समाधान गर्दै जानुपर्छ । समस्याले अप्ठ्यारो नपारुन्जेल पर्खेर बस्ने कार्यशैलीलाई माओले ‘आन्दोलनभन्दा पछि परेको’ कार्यशैली भन्नुभयो । त्यसको लागि नेताहरु तलसम्म पुग्नुपर्छ । अन्यथा समस्याको गहिराईबोध गर्नमा नै समस्या हुन्छ । माओ पार्टी कार्यालय (केन्द्र र स्थानीय)को सन्दर्भमा भन्नुहुन्छ, “कार्यालय जति माथिल्लो तहको छ, त्यहाँ ज्ञान त्यति नै कम हुन्छ । समस्याहरुलाई समाधान गर्नको लागि तपाई कि त तल जानुपर्छ कि तलका कार्यकर्ताहरुलाई माथि ल्याउनु पर्दछ । तपाई तल पनि जानुहुन्न र तलका मानिसहरुलाई माथि बोलाउने काम पनि गर्नुहुन्न भने तपाईले समस्या समाधान गर्न सक्नुहुन्न ।” त्यसो नगरी जनवादी केन्द्रीयता लागू गर्न सकिन्न । केन्द्रीयताको अर्थ नीतिगत समझदारी, योजना, नेतृत्व र कार्वाहीको एकताको आधारमा प्राप्त हुने सही वा क्रान्तिकारी विचारहरुको केन्द्रीकरण हो ।
हामी सङ्गठनात्मक क्षेत्रमा पनि नयाँ खोजको प्रक्रियामा छौं । तर लेनिन र माओकै अनुभवहरु लागू भइरहेका छन् कि छैनन् ? प्रश्न उठ्ने गर्छ । समितिहरुमा एकातिर नोकरशाही केन्द्रीयता (जसको नाभी सामन्तवादसँग जोडिन्छ) र अर्कोतिर अराजकतावाद (जसको साइनो पुँजीवादसँग हुन्छ)का समस्याहरु चुनौती बनेर आउँछन् । त्यसको समाधान सङ्गठनात्मक प्रणालीमा खोज्नुपर्छ । सामूहिक नेतृत्वलाई सुनिश्चित गर्न र कार्य सञ्चालनमा कुनै व्यक्ति विशेषको एकाधिकारलाई रोक्न पार्टी समिति प्रणाली एउटा महत्वपूर्ण विधि हो ।
पार्टी सङ्गठनमा उदारवाद अर्को समस्याको रुपमा रहेको हुन्छ । यसले पार्टी एकतालाई कमजोर बनाउँछ र जुझारु पार्टीलाई ढिलाढाला र सुधारवादी स्वरुपमा पतन गराउँछ । माओले १९३८ अक्टोबरमा ‘राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका’ शिर्षकमा लेख लेख्नुभयो । उहाँले त्यही आलेखमा भन्नुभएको छ, “क्रान्तिकारी पार्टीको लागि उदारवाद ज्यादै नै हानिकारक छ । यो एक किसिमको खियाउने चिज हो, जसले एकतालाई नष्ट गरिदिन्छ । सम्बन्धहरुलाई खुकुलो पार्छ । कामलाई निस्क्रिय तुल्याउँछ र मतभेद उत्पन्न गरिदिन्छ । यसले क्रान्तिकारी पङ्तिको ठोस सङ्गठन र दृढ अनुशासनलाई भङ्ग गरिदिन्छ । नीतिहरुलाई पूर्ण कार्यान्वयनबाट रोक्छ र पार्टीले नेतृत्व गर्ने जनसमुदायबाट पार्टी सङ्गठनलाई पृथक गर्छ ।” (विश्व सर्वहारा वर्गका महान् गुरुहरुका उद्धरणहरु, पृष्ठ १५७, सङ्कलन– नारायण गिरी, पैरवी प्रकाशन, २०६५) माओले उदारवादको विरोध गर, अन्तरविरोधबारे, रुढिवादी लेखन शैलीको विरोध गर, जनताको सेवा गर, तीन गर र तीन नगर, ध्यान दिनुपर्ने ८ कुराहरुजस्ता रचनामा सङ्गठनसम्बन्धी अनुकरणीय विचार प्रवाह गर्नुभएको छ ।

पछिल्ला बहसहरु
माओले आलोचना, आत्मालोचना विधि, संसोधनवादलाई देख्न सूक्ष्मदर्शक यन्त्र र दूरदर्शक यन्त्र दुवैको प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । लेनिनको ‘निरन्तर क्रान्तिको सिद्धान्त’लाई माओले ‘सर्वहारा साँस्कृतिक क्रान्ति’सम्म उठाउनुभयो । तर यी प्रयासहरु पनि पर्याप्त भएनन् । जसमा थप विकास र परिवर्तन आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टीले ‘तथ्यहरुद्वारा सत्य पत्ता लगाउने र अनुसन्धानद्वारा नयाँ तथ्यहरुको खोजी गर्ने’ भनेको छ ।
पार्टी संरचना कसरी निर्माण गर्ने ? यो बहसको विषय छ । हामीले कार्यकर्ता आधारित (Cader Base) र जन आधारित (Mass Base) दुवैलाई आधार बनाउने भनेका छौं । कार्यकर्ता आधारित भनेको जनताबाट कटेको भन्ने होइन र जन आधारित भन्नसाथ जनतामा भिजेको (झाङ्गिएको) भइहाल्छ भन्ने छैन । यो विधि नभएर विचार र शैलीको विषय हो । कार्यकर्ता आधारित भनेको समय र प्रक्रियागत विषय नभएर विचार, अनुशासन, क्षमता र आवश्यकताको विषय हो । यो सङ्घर्ष र जनसेवामा परीक्षा उत्तीर्ण गर्नुपर्छ कि पर्दैन भन्ने विषय हो । जनआधारित भनेको जनसमुदायको मनोविज्ञान, सीमा, समस्या र गैरसर्वहारा प्रवृत्तिको प्रतिनिधित्व पनि हो । लेनिनले मजदुर वर्गका् पार्टीलाई ‘जनताका अग्रगामी तत्वहरु’ भन्नुभएको छ । आज विश्व विद्रोहात्मक दिशामा गएको, प्रविधि (सञ्चार)मा व्यापक विकास भएको कारण कार्यकर्ता आधारित (Cader Base) र जन आधारित (Mass Base) दुवैका चरित्रको प्रतिनिधित्व गर्ने गरी युवा तथा बुद्धिजीवीलाई छोटो अवधिमा नै नेतृत्वमा ल्याउने विधि बनाउनु पर्छ भने उनीहरुलाई विचार, अनुशासन र जनसेवामा लगाउनु पर्दछ ।
माओले पछिल्लो समयमा ‘सयौं फूलहरुलाई फूल्न देऊ, हजारौं विचारहरुलाई प्रतिस्पर्धा गर्न देऊ’ भन्नुभको थियो । यस क्षेत्रमा बहसहरु छन् । भेनेजुयलाकी कम्युनिस्ट नेता तथा लेखक मार्ता हार्नेकर भन्छिन्, “जब कुनै पनि व्यक्तिसँग सम्पूर्ण सत्य हुँदैन, अरुसँग पनि केही सत्य हुन्छ र त्यसैकारण उनीहरुका विचारहरु वैध हुन्छन् भन्ने कुरालाई स्वीकार गरेर आरम्भ गरिन्छ । यदि सम्वाद र बहसहरु बुझाईमा, सहमतिमा पु¥याउन असफल हुन्छन् भने भिन्नताहरुको समाधान मतदानबाट गर्नु पर्दछ ।” (मार्ता हार्नेकर, एक्काइसौं शताब्दीको समाजवाद, पृष्ठ १४७, माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान, २०७२ असार, अनुवाद– रमेश सुनुवार, नन्दनहरी दाहाल) आज नेपालको कम्युनिस्ट आन्दोलनमा माओवादी धार न सहमति न त मतदानको अकर्मण्यताको शिकार भइरहेको छ भने संसदीय धार पुँजीवादी शैलीको मतदान प्रक्रियामार्फत दलालीकरण, पुँजीवादीकरण भइरहेको छ । हामीले सहमतीय प्रणालीलाई आत्मसात गरेका छौं । जसमा माओका पछिल्ला योगदानहरुले प्रेरणा दिइरहेका छन् भन्ने हाम्रो आफ्नै अनुभव छ । हामीले जनआधारित पार्टी र कार्यकर्ता भनेका छौं । पार्टी र नेता–कार्यकर्ता सीमित नेताको प्रियपात्र बन्न खोजेर पुग्दैन । उसले जनताको सेवा गर्नुपर्छ र जनतामा आधारित हुनुपर्छ । मार्ता होर्नेकर भन्छिन्, “सदस्यहरुको मूल्याङ्कन पार्टी बाहिर गरिने कार्यद्वारा निर्धारित हुनुपर्छ, पार्टीभित्र गरिने कार्यद्वारा होइन ।” (उही, पृष्ठ ११४)
कार्यशैलीको विषयमा पनि समस्याहरु छन् । बैठकहरु लामा र झार्को लाग्दा हुन्छन् । कार्य विवरण (प्रतिवेदन) विधि व्यवस्थित र संश्लेषित छैनन् । प्रतिवेदन र अन्य पार्टी कामको शैलीबारे अन्तोनियो ग्राम्सी (१८९१–१९३७, इटालीयन) भन्नुहुन्छ, “कामहरु विशेष गरेर लिखित पद्धतिद्वारा गरिनु पर्दछ र आलोचनाहरु पनि लिखित पद्धतिद्वारा नै गरिनु पर्दछ ।” (साँस्कृतिक और राजनीतिक चिन्तन के बुनियादी सरोकार, पृष्ठ १२६, अनुवादक– कृष्णकान्त मिश्र, ग्रन्थ शिल्पी प्रकाशन, नयाँ दिल्ली)

निष्कर्ष
मानव जातिले सभ्यताको उषाकालदेखि नै सङ्गठित श्रम गर्दै आयो । सङ्गठित श्रम–कार्यकै कारण उसले प्रकृतिसँगको सङ्घर्षमा विजय प्राप्त ग¥यो । प्रकृतिलाई श्रमसमेत मिसाएर ‘दोस्रो प्रकृति’ (मेक्सिम गोर्कीको भनाई)को निर्माण ग¥यो । अरु प्राणीहरुले सोदेश्य र सङ्गठित श्रम–कार्य गर्न नसकेको कारण मस्तिष्कसहित भाषाको विकास गर्न सकेनन् । विचारहरुलाई भौतिक शक्तिमा बदल्ने एकमात्र साधन सङ्गठन हो । यो क्षेत्रमा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओसम्मले महत्वपूर्ण योगदान गरेका छन् । तर ती अनुभवहरु पर्याप्त छैनन् । आजको पुस्ताले त्यसलाई समृद्ध गर्नुपर्छ । कतिपय सन्दर्भहरुलाई निषेध होइन कि प्रतिस्थापन गर्नुपर्ने देखिन्छ । यो क्षेत्रमा ठोस परिश्रम गर्नु हाम्रो दायित्व हो ।
२०८० असार

स्राेत: जनक्रान्ति साताैँ अङ्कमा प्रकाशित 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।