२२ बैशाख २०८१, शनिबार

सामाजवादी क्रान्तिको अनिवार्य सर्त भनेको मोर्चाबन्दी हो : सुशील सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले सामाजवादी क्रान्ति पूरा गर्न मोर्चाबन्दी अनिवार्य भएको बताएका छन् । नेकपा काठमाडौं उपत्यका व्युरोसहित तीनवटा व्युरोले संयुक्त रुपमा आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सुशीलले समाजवादी क्रान्तिका लागि मोर्चाबन्दी अनिवार्य सर्त भएको बताएका हुन् ।

सामाजवादी मोर्चाको बारेमा आफ्नो धारणा राख्दै उनले साम्राज्यवादका विरुद्ध लड्ने बलियो हतियार मोर्चाबन्दी भएको तर्क गरे । समाजवादी मोर्चा बन्दा माओवादीसँगको पार्टी एकता गर्न लागेको भनेर दुस्मनहरुले हल्ला चलाएको भन्दै उनले त्यसका लागि नेकपाले पहलकदमी लिनुपर्नेमा जोड दिए ।

‘हामीले माओवादीसँग पार्टी एकता हुँदैन भनेर किन भन्ने ? हामी त क्रान्तिकारी हो । क्रान्तिकारीहरुले एकताको पहल लिनुपर्छ ।’, उनले भने, ‘तर त्यो एकता एमाले र माओवादी जस्तो हुनुहुन्न । माओवादी घटकलाई एकतावद्ध गर्नुपर्छ र त्यसको नेतृत्व महासचिव विप्लवले लिनुपर्छ ।’

अमेरिकाले एमसीसीमार्फत दिएको पैसा नेपालका लागि केही पनि नभएको बताउँदै एमसीसी कुनै पनि हालतका कार्यान्वयन गर्न दिन नहुने ठोकुवा गरे । ‘अमेरिकाले दिने बजेट भनेको हाम्रो बजेटको १ सय ३७ प्रतिशत भन्दा कम हो । हाम्रो बजेटको ०.७३ प्रतिशत मात्र हो ।’, उनले भने, ‘यो अमेरिकी दलालहरुले नेपालका लागि ठूलो सहयोग हो भनेका छन् । त्यो केही पनि होइन । त्यसको केही प्रतिशत त नेपालले पनि लगानी गरेको छ । भ्रमको पछि लाग्नुहुन्न, यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्न दिनुहुन्न ।’

कार्यक्रममा नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा उपत्यका व्युरो इन्चार्ज तथा पार्टीका पोलिटव्युरो सदस्य कृति सीको अध्यक्षतामा भएको कार्यक्रममा उपत्यका व्युरोसहित पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र जवस मोर्चामा कार्यरत जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य विकल्प सीले गरेका थिए भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज तथा पार्टीका पोलिटब्युरो सदस्य आजाद सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य विषम सी, शिलु सी, सुशील सीले प्रशिक्षण मन्तव्य राखेका थिए ।

अतिथिको रुपमा नेकपाका पोलिटव्युरो सदस्यहरु माइला सी, चिरन सी, आस्था सीलगायत थुप्रै केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।