३ आश्विन २०८१, बिहीबार

धुलिखेल हिरासतबाट अग्रजको खोजी !

0

                    अनिल शर्मा ‘विरही’

दलाल पूँजीवादको राइँदाइँ छ देशमा । तिनीहUरु समाजवादतिर जाँदै छन् कि चाउचेस्कुवादतिर ! ती कसको निर्देशनमा के गर्दैछन् ? ती कसको काखमा नाच्दै छन् । नखरा आफै बोल्दैछन् । कुख्यात गुप्तचर संस्था ‘रअ’ को नाम सुन्दै ऐठन हुन्छ । सिक्किम सम्झन्छु । इन्दिरा गान्धिीद्वारा दक्षिण एशियामा दादागिरी गर्न गठित ‘रअ’ को तानाबाना सुनेपछि वि. पि. कोइरालाले सुपर्णखाको आँगन त्यागेर सुन्दरीजल जेल रोजेका थिए । गान्तोकलाई दिल्लीको कोठी बनाएको ‘रअ’लाई नराधमहरुले बालुवाटारमा रातो गलैंचा बिछ्याएर स्वागत गरेका छन् । यो संकटको बेला । यो दुःखको बेला । अग्रजहरुको खोजी हुन्छ । धरान हिरासतमा रहँदा कमरेड अम्बिका मार्फत जगत बा ‘कोमा’ मा गएको र त्यसको ९ दिनपछि निधन भएको दुःखद खबर पाएको थिएँ । माघ ४ गते ‘स्वनाम दाइसँग बुद्ध दर्शन सम्बन्धी पुस्तक छ कि सोध्नु’ शोभालाई भनेको थिएँ । तर स्वनाम दाइको निधन भएको पनि १० दिन भइसकेको रहेछ । यस्तो बेखबर, अन्धकार हुन्छ हिरासतको समय !
स्वनाम दाइसँग ठ्याक्कै कहिले भेट भएथ्यो सम्झन्न । तर पहिलो भेट नै रोचक, स्मरणीय थियो । २०३९–४० साल तिरको कुरा हो । झुवानी गाउँको हर्नफिला फाँटमा हाम्रो जग्गा र त्यहीं गोठ थियो । घर थियो थारु गाउँमा । नापी विभागले आवास क्षेत्र भनेर छुट्याएको क्षेत्रमा गुरुप्प परेर बस्छन् थारु आदिवासी । पराल, घाँस र खेत–बारी भएकै स्थानमा गोठ राख्दा मल खेतसम्म पु¥याउन सजिलो हुन्थ्यो । लेक–बेसीजस्तो अवस्था थियो । भाइ, दिदी र म गोठमा थियौं । विद्यालय बिदाको दिन थियो । बेलुकी पख, घर फर्किने बेला । खेतमा भर्खरै खेसरी उखेलेको थियो । सायद चैतको महिना हुँदो हो । साँझपख उस्तो गर्मी थिएन । हर्नफिला फाँटमा हाम्रो बाहेक अरु कसैको गोठ थिएन । झुवानी र दोरङ्गी गाउँ बीचमा मानव वस्ती नै नभएको जमाना थियो । पूर्वी चितवनमा खैरहनी बाहेक अन्यत्र कतै प्रहरी चौकी पनि थिएन होला । एक दिन रातो वर्णको, कुप्रो परेर विस्तारै हिंड्दै, हात पाछाडि बाँधेर एकजना गोठमा आए । “याँ किन बसेको ? दाइ कहाँ हुनुहुन्छ ?” तिनले दुई ओटा प्रश्न गरे । प्रश्न रुखो, अनुहारमा रिसाहापन थियो । दाइ कहाँ हुनुहुन्छ थाहा छैन भनेर म चुप लागें । “मलाई सुमन भन्छन् । दाइको साथी हो । दाइ कता हुनुहुन्छ भन्ने थाहा छैन भन्ने जवाफ राम्रो भयो । आफ्नो गोठमा पराई आएर थर्काउँदा चुप लाग्ने ? गाली गर्नु पर्दथ्यो नि,” अनुहारको भङ्गिमा परिवर्तन गर्दै बुढाले भनिहाले । दाइले नचिनेको मान्छेले सोधे ‘थाहा छैन भन्नु’ भन्नुभएको थियो । दाइ प्रहरीको निगरानीमा भएको थाहा थियो । त्यसपछि स्वनाम दाइले बट्टाई समातेर ल्याउनुभयो । पोलेर खुवाउनु भयो । हामीले कहिल्यै समात्न नसक्ने बट्टाई स्वनाम दाइले समातेको देखेर हामी दङ्ग प¥यौं । साँझ परेपछि हामी घरतिर लाग्यौं । स्याल कराउन थालिसकेका थिए । चैत लागिसकेको कारण गैंडाको डर थिएन । स्वनाम दाइले ‘म अलिबेरपछि आउँछु’ भन्नुभएथ्यो । उहाँहरु रात परेपछि मात्र साथीहरुको घरमा पस्नुहुन्थ्यो । उहाँलाई उसैबेला ढाड दुख्ने रोग थियो । त्यसैले कुप्रेर हिंड्नुहुन्थ्यो ।
झमक्क साँझ प¥यो । नौला–नौला मान्छेहरु घरमा भित्रिए । २०३६ सालको जर्ना खुलेपछि बयलगाडामा ल्याएको काठबाट बनेको काठे झुपडी थियो । भ¥याङको तल भुइँमा पराले गुन्द्री ओछ्याइएर लालटिनको मधुरो प्रकाशमा गुरुप्प बसेका पाका मान्छेहरु, युवाहरु बैठक शुरु गरे । त्यसबेला मैले कसैलाई चिनिन । धेरैपछि थाहा भयो, सो बैठकमा रुपलाल विश्वकर्मा, शशी शेरचन, हरि तिमल्सिना, रेणु राजभण्डारी, बैदार काका (डिगा महत्तो) धेरै रहेछन् । रुपलाल अर्को पटक ७ दिनसम्म बसेका थिए । तर हामीसँग बोल्दैनथे । बाहिर ननिस्किकन बस्थे । दिन–रात पढिरहन्थे । लेखिरहन्थे । स्वनाम दाइ भने पटक–पटक आउजाउ गरिरहनुहुन्थ्यो । उहाँका कुराले हामी लठ्ठिन्थ्यौं । तर २०४२ साल बाट हामी कहाँ आउनु भएन । कहिले काहीं भरतपुर, नारायणगढ आएर फर्केको सुनिन्थ्यो ।
२०४२ सालमा मैले प्रवेशिका परीक्षा दिएँ । २०४३ सालबाट उच्च शिक्षा अध्ययन शुरु गरें । कक्षा ९ मा पढ्दा नै झुवानी मा. वि. मा मैले नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको इकाई गठन गरेको थिएँ । क्याम्पस प्रवेशपछि राजनीतिक ज्ञान फराकिलो हुँदै गयो । तर उसबेला सामाजिक चेतना आजको तुलनामा धेरै पछाडि थियो । कमजोर थियो । हामी रेडियोसम्म सुन्न पाउँदैनथ्यौं । एफ. एम. त जन्मेकै थिएन । नेपाल टेलिभिजन राजधानीमा भर्खर–भर्खर खुलेको जमाना थियो । अहिलेजस्तो पुस्ता अन्तर गहिरो थिएन । २०४७ सालको जेठतिर हुनुपर्छ मेरो कार्यक्षेत्र काठमाडौं भयो । त्यसअघि २०४५ र २०४६ सालको अन्तिमतिर दुई पटक मात्र काठमाडौं टेकेको थिएँ । काठमाडौं टेकेपछि भने स्वनाम दाइसँगको भेट बाक्लियो । स्वनाम दाइ र अरु नेताहरु बीचको छलफल कल्पनै गर्न नसकिने भिन्न हुन्थ्यो ।
अध्यक्ष माओको नेतृत्वमा २०२३ सालमा शुरु भएको सर्वहारा साँस्कृतिक क्रान्तिको विश्वव्यापी प्रभाव थियो । कम्युनिष्ट पार्टीभित्र घुसेको पुँजीवाद नै संशोधनवाद हो भनिन्छ । संशोधनवादसँग लड्न, जनताको सेवा गर्न र सामाजिक चेतना उठाउन माओले युवा विद्यार्थीलाई गाउँमा, कारखानामा जान अपिल गर्नुभयो । त्यही अपिलबाट नेपालका कैयौं युवा विद्यार्थीहरु उच्च शिक्षाको औपचारिक शिक्षा छोडेर जनताको सेवा गर्न गाउँ पसे । स्वनाम दाइ तिनै युवाहरु मध्ये एक जना हुनुहुन्थ्यो । स्वनाम दाइले व्यक्तिगत कुरा कहिल्यै गर्नुभएन । सोध्नेलाई टार्नुहुन्थ्यो । स–साना विषयले पनि उहाँलाई उद्वेलित गर्दथ्यो । २०५० सालतिरको कुरा हो । कुश्मामा एउटा छलफल थियो । मेरो फाटेको जुत्ता–मोजा देखेर भावुक बन्दै नयाँ लिन पठाउनुभयो । मैले टार्न आलटाल गरें । ‘म यस्तो हेर्न सक्दिन’ भनेको अहिले जस्तै लाग्दछ । यस्ता धेरैतिरका थुप्रै प्रसङ्गहरु छन् । “मेरो कोही पनि दाइ, भाइ, दिदी बहिनी छैनन् । कामरेडहरु मात्र छन्” भनेको सम्झन्छु म । त्यही भनाई माथि एउटा पुस्तक तयार गर्न सकिन्छ । जसको पछाडि वर्गीय र वैचारिक भावना र अर्थ छ । कम्युनिष्ट र चिन्तन शैलीको विषयमा उहाँको बुझाई औसत मान्छेको भन्दा फरक थियो । तर जटिल दार्शनिक विषय पनि उहाँ सरल तरिकाले राख्न सक्नुहुन्थ्यो । अन्तर्राष्ट्रिय गीतको ‘आफ्नो कर्तव्य आफैले निर्णय गरी पुरा गर्न’ पङ्तिको मर्मलाई बुझ्ने र लागू गर्ने उहाँ बाहेक अरु नेता मैले देखेको, भोगेको छैन, स्वनाम दाइले त्यसलाई लागू गर्नुहुन्थ्यो । आदेश गर्ने र आदेश शिरोपर गर्ने परिस्थिति कम्युनिष्ट परिस्थिति होइन भन्ने उहाँको बुझाई थियो । यद्यपि यो बहसको विषय बन्ला । अर्काले ल्याइदिने स्वतन्त्रता कसरी स्वतन्त्रता हुन्छ ? अर्काले स्वतन्त्रता ल्याइदिने भएपछि त भाग्यविधाताप्रति आराधना गर्नुप¥यो । अलौकिकता, चाकरी शुरु हुनेभयो । कम्युनिष्ट नेताहरुलाई त्यतातिर सोच्ने फूर्सदै छैन । अर्काले ल्याइदिने स्वतन्त्रता झुटो हो । तिम्रो लागि तिमी नै लड्नुपर्छ भन्नुहुन्थ्यो । तत्कालीन नेकपा (चौथो महाधिवेशन)मा मोहनविक्रम र निर्मल लामालाई क्रमशः माओ र चाओ भनिन्थ्यो । ‘दाइको दिमाग, मेरो गोडा भनेर क्रान्ति हुँदैन है सोच !’ भनिरहनुहुन्थ्यो । माओ र चाओ चिन्तनप्रति उहाँको धारणा यस्तो हुन्थ्यो । नेताले पोल्टाबाट झिकेर दिने, टोपी थापेर खाने स्वतन्त्रता प्रति उहाँको विश्वास थिएन । नेताहरुलाई यस्तो बहस अराजक चिन्तन लाग्दछ होला । कार्यकर्तालाई झ्याउलाग्दो लाग्दो होला । ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्दै तिनै कान फट्टा जोगीलाई मतदान गर्दा गर्दै बुढो भएको छ समय । कम्युनिष्ट आन्दोलन पनि त्यही रोगले थलिएको छ ।
प्रचण्ड र नारायणकाजीको एकता भएपछि स्वनाम साथी दोस्रो पटक प्रचण्डको नेतृत्वमा रहनु भयो । त्यसैबेला प्रदिप नेपालले दृष्टि साप्ताहिकमा ‘दार्शनिक स्वनाम, उपभोक्तावादी प्रचण्डको नेतृत्वमा’ भावको लेख लेखेका थिए । स्वनामको भावना र चिन्तन बुझ्ने नेता उनले कहिल्यै पाएनन् । प्रदिप गिरीको नेता शेरबहादुर ! इतिहासको मजाक अनेक देखिन्छन् ।
कमरेड सुमनको नेतृत्वमा ‘सर्वहारावादी कम्युनिष्ट लिग’ गठन गर्नु अघि उहाँ श्याम शर्माको नेतृत्वको पार्टीमा रहनु भएको थियो । तर उहाँले अलग पार्टी गठन गर्नुभयो । श्याम शर्मासँग वैचारिक मतभेद थियो । तर उहाँहरु गाली गर्दै, भण्डाफोर गर्दै हिंड्नु भएन । गण्डकी र वाग्मती अञ्चलमा केन्द्रित सो समूहले कम्युनिष्ट पार्टी निर्माणको पूर्व–अवस्थाको रुपमा आफूलाई बुझ्दथ्यो । वर्ग संघर्षकै क्रममा कम्युनिष्ट पार्टी बन्दछ र बनाउनु पर्दछ भन्ने उहाँको धारणा थियो । स्युचाटारको मोही संघर्ष त्यसको उदाहरण हो । प्रकाशनमा विशेष जोड देखिन्थ्यो । मजदूर, किसान र क्रान्तिकारी बुद्धिजीवी केन्द्रित भएर सो समूहले वर्ग संघर्ष र जनसंघर्ष सञ्चालन गर्दथ्यो ।
वि. सं. २०३८ सालमा क. सुमन नेतृत्वको ‘सर्वाहारावादी कम्यनिष्ट लिग’ र रुपलाल विश्वकर्मा नेतृत्वको ‘मजदूर किसान संगठन’ बीचमा पार्टी एकता भएर ‘सर्वहारावादी श्रमिक संगठन’ बनेको थियो । २०३८ सालदेखि रुपलाल र स्वनाम साथी बीच रुपलाल पलायन नहुँदासम्म सहकार्य थियो । पार्टी एकता भएपछि कमरेड सुमन पार्टी प्रमुख भएका थिए । तर ६ महिना नपुग्दै रुपलाल मूल नेतृत्वमा आए । त्यो कसरी भयो त ? भन्ने प्रश्नमा “रुपलालले मलाई प्रस्ताव गरे । मैले हुन्छ भनें । तर कचकच गर्न थाले । आफैलाई चाहिएको रहेछ । मलाई प्रस्ताव गरेझैं गरेका र मैले उनैलाई प्रस्ताव गर्छ भन्ने रहेछ । ल खाऊ भनेर छोडिदिएँ ।” हाँस्दै भन्नुभएको थियो । त्यसप्रकारको आलोचना, टिप्पणी, गुनासो उहाँले विरलै गर्नुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनमा नयाँ पात्रको घोडा चढेर पुरानै प्रवृत्तिले फन्को मारिरहेको छ । त्यस सन्दर्भमा छलफल हुँदा ‘व्यथा पुरानै हो साथी’ हाँस्दै भन्नुहुन्थ्यो । राजनीतिक विषयमा सल्लाह माग्दा ‘तिम्रो मालिक म हो र ! तिमीलाई जे ठीक लाग्दछ त्यही गर’ भन्नुहुन्थ्यो । नेपाली भाषामा उखानै छ, ‘अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेश’ । यो उखानले स्वतन्त्रता र आत्मनिर्णयलाई महत्व दिन्छ । दास मनोवृत्तिबाट प्राप्त सुख यथार्थमा सुख होइन । त्यसप्रकारको यात्राले परतन्त्र बनाउँछ नै ।
२०३४ सालमा चितवनको जुगेडीमा किसान विद्रोह भएको थियो । चितवन र आसपासमा भएका सयौं वर्ग संघर्ष र जनसंघर्षको उत्कर्ष थियो त्यो । प्रारम्भमा ‘जुगेडीको बाटो जनताको बाटो’ नारा देखिन्छ । २०३८ सालपछि क. सुमनको वैचारिक आलोकमा सो नारा परिवर्तन भएर ‘जुगेडीको बाटो, जनता जगाउने बाटो !’ बनाइयो । स. क. ली. र म. कि. संगठन दुवैले आफूलाई कम्युनिष्ट पार्टी दावि गरेका थिएनन् । वर्ग संघर्ष कै क्रममा कम्युनिष्ट पार्टी बन्दछ भनिन्थ्यो । त्यसैले आफ्नो संगठनलाई कम्युनिष्ट पार्टी निर्माणको ‘पूर्व–अवस्था’ भनिन्थ्यो । तर कम्युनिष्ट पार्टी र पूर्व–पार्टी अवस्था बीचको तार्किक अर्थमा बाहेक भिन्नता देखिन्नथ्यो । २०४२ सालमा सर्वहारावादी श्रमिक संगठनले पर्वत जिल्लाको पूर्तिघाट बैंक कब्जा ग¥यो । क. सुमन त्यो संघर्षको पक्षमा हुनुहुन्थेन । तर औपचारिक रुपले फरक मत राख्नुभएको देखिन्न । पछिल्लो समयसम्म पनि सो सम्बन्धी उहाँको पूर्व अडान कायमै थियो । इतिहासको खास चरणमा पहलकदमी लिनु नेतृत्वको अर्थ र औचित्य सावित गर्ने विषय हुन्छ । पार्टी एकता लगत्तै उहाँमा निराशा बढ्न थाल्यो । काम गर्ने नेतृत्वदायी भूमिका अरुलाई नै छोडेर दार्शनिक चिन्तनमा डुब्न थाल्नुभयो ।
२०४८ चैत्र २५/२६ गते वीर अस्पतालको शवगृह हेर्न स्वनाम दाइ केही साथीहरुसहित जानुभयो । चैत्र २४ गते संयुक्त जनमोर्चाले आयोजना गरेको नेपाल बन्दको अघिल्लो दिन साँझ दर्जनौं व्यक्ति मारिएका थिए । हत्याको क्रम २४ गते पनि जारी थियो । काँग्रेसको सरकार थियो । ती शवहरु वीर अस्पतालमा राखिएका थिए । शवहरु स्थान अभावको कारण खप्टिएका थिए । “यो ज्यादतीको बदला कसले लिन्छ …. ?” भन्दै गर्दा उहाँको गला अवरुद्ध भएको थियो । आँखामा आँशु टिलपिल भएको थियो । ती शवहरु हेर्न, श्रद्धाञ्जली दिन अरु कुनै नेता वीर अस्पताल पुगेको मेरो सम्झनामा छैन । २०४६ सालपछि सत्तारुढ भएको काँग्रेसले देश भरी ज्यादती गरेको थियो । त्यसको प्रतिरोध जनयुद्धले ग¥यो । काँग्रेस राजनीतिक रुपले मिति गुज्रेको औषधि सरह भएको छ र सांगठनिक रुपले थला परेको छ ।
साम्यवाद अध्यात्मवाद होइन । आजै, अहिल्यै साम्यवाद भोग्न सकिन्छ । स्वर्ग, नर्कको कामना गरेर कम्युनिष्ट बस्दैन । आपसी सम्बन्धमा, उठबसमा, सँस्कृतिमा आजै साम्यवाद भोग्न सकिन्छ । साम्यवाद अलौकिक विषय होइन भन्ने उहाँको सोचाई हुन्थ्यो । महिलाको पहिरन, गहना, श्रृंगार हेरेर घगडान नेता नै अनेक टिप्पणी गर्दछन् । ‘तिमीलाई जे गर्दा खुशी लाग्छ त्यही गर’ भन्नुहुन्थ्यो । दिमागमा सामन्तवाद भरिभराउ पारेर पोतेचुरा लगाए पनि, नलगाए पनि के अर्थ छ र ! जीवन र जगतको विषयमा स्वनाम दाइको सोच्ने तरिका नै फरक थियो ।
विज्ञान र प्रविधिको ज्ञान र अध्ययन औसत कम्युनिष्ट नेताहरुको तुलनामा उहाँको सवल थियो । प्रविधिका क्षेत्रका पछिल्ला विकासको अध्ययन पनि उहाँको रुचीको विषय थियो । सायद विज्ञानको विद्यार्थी हुनुको कारण बचपनदेखि अन्तरनिहित थियो । पूर्वीय दर्शनप्रति उहाँको विशेष अभिरुची देखिन्थ्यो । योगले शरीर र ध्यानले मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्दछ । योग र ध्यान धर्मको विषय होइनन् भन्ने उहाँको धारणा हुन्थ्यो ।
२०६३ साल भदौतिर म र शोभा स्वनाम दाइलाई भेट्न गएका थियौं । जनयुद्धकालमा भेट्न सकिएको थिएन । जनक, रमेश, प्रतिक, शशी लगायत पुराना साथीहरुको प्रसङ्ग उठ्दा भावुक बन्नुभयो । उहाँको राजनीतिक, वैचारिक छहारीमा हुर्केका ती होनहार योद्धाहरु सहिद भइसकेका थिए । उनीहरुकै लहरको म एकजना मात्र संयोगले जिवित थिएँ । टाउकाको मूल्य तोकिएको म भारतमा गिरफ्तार भएको थिएँ । दिल्ली र काठमाडौं बीचको अन्तरविरोधको कारण हामी मारिएका थिएनौं । “युद्धको नाता बलियो हुन्छ” उहाँ पटक–पटक भन्नुहुन्थ्यो । स्वनाम दाइलाई आत्मकथा लेख्न हामीले अनुरोध गर्दा ‘स्वनाम वायुमण्डलका अनगिन्ति धुलोका कणहरु मध्ये एउटा हो । तिनै धुलोका कणबीच त्यसरी नै हराउँछ’ भन्नुहुन्थ्यो । कालापानी क्षेत्र, अक्टोबर क्रान्ति दिवस, माओ दिवस, जेष्ठ नागरिकको हेरचाह, अध्ययन मण्डली, पुस्तकालय जस्ता विषयहरुमा पर्दा पछाडि वा पृष्ठ भागमा बसेर नेतृत्व गर्नुहुन्थ्यो । अक्टोबर शतवार्षिकी र चुच्चे नक्शा प्रकरणको आन्दोलनको वास्तविक नायक स्वनाम दाइ हुनुहुन्थ्यो । तर दृश्यमा अरु नै हुन्थे ।
स्वनाम दाइले २०६४ देखि २०६९ सम्म विभिन्न बैठक र अन्तरङ्ग छलफलमा बोलेका विषयको टिपोट मसँग सुरक्षित थियो । तर हिरासतमा त्यो प्राप्त भएन । त्यो हेरेर फेरि मिलेछ भने लेखौंला । काभ्रे प्रहरी प्रमुखले बिदाई भेटमा भनेथे, “बाँच्न पाए, नाच्न पाइन्छ” बाँच्न पाए, डायरी भेटिए, लेखौंला । अहिलेलाई हिरासत कक्षबाटै श्रद्धा सुमन !

धुलिखेल । २०७७ माघ ५

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।