८ मंसिर २०८१, शनिबार

अखिल (क्रान्तिकारी)को कार्यभार

0

राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनको भूमिका

विद्यार्थीहरू पेसागत दृष्टिले अध्ययन, अनुसन्धान र प्रयोगमा संलग्न हुन्छन् । ज्ञान आर्जन गर्न पाउनु विद्यार्थीको मौलिक र जन्मसिद्ध अधिकार हो । समाज वर्गहरूमा विभाजित भएपछि समाज विकासको ऐतिहासिक कालक्रममा अस्तित्वमा आएका शासन व्यवस्था, राज्यसत्ता र त्यसको नेतृत्वकर्ताको चिन्तन, राजनीतिक चरित्र र आचरणले विद्यार्थीको शैक्षिक अधिकार र त्यसको अभ्यासलाई निर्धारण गर्ने गर्यो । नेपालको राजनीतिक र सामाजिक विकासको प्रक्रियामा नेपाली भूभागलाई टुक्रा–टुक्रा पारेर शासन गर्ने बाईसे/चौबीसे सामन्ती शासकहरूले जनताका छोराछोरीले शिक्षा आर्जन गर्नु भनेको आफ्नो शासनका निम्ति दुस्मन जन्माउनु हो भन्ने दृष्टिकोण राखे । शिक्षा भुरेटाकुरे राजाहरू र उनका शाखा–सन्तानहरूको बपौती बनाइयो । जनताका निम्ति शिक्षा कुन चरीको नाम हो भन्ने अवस्थामा राखियो ।

कोत पर्वबाट श्री ३ महाराज बन्न पुगेका जङ्गबहादुर राणाले त जनताको शैक्षिक अधिकार र शिक्षा आर्जनलाई निरङ््कुश जहानियाँ राणा शासनमा क्रूरतापूर्वक बन्देज र दमनमा राखे । शिक्षाको ‘श’ पनि जनताले उच्चारण गर्दा फाँसीको फन्दामा चढ्नुपर्ने र गोली खानुपर्ने हुन्थ्यो । २००० सालवरिपरि आउँदा राणाशासनका विरुद्ध नेपाली जनतामा पैदा भएको राजनीतिक जागरण, काङ्ग्रेस र कम्युनिस्ट पार्टीको नेतृत्वमा चेलेको राणा शासनविरोधी आन्दोलन २००६ र २००७ सालसम्म पुग्दा सशक्त र निर्णायक बन्न पुग्यो । राणाहरूको १०४ बर्से बर्बर शासनको अन्त्य भयो । स्मरण होस्, जहानियाँ राणाशासनविरुद्धको २००७ सालको निर्णायक आन्दोलनको नेतृत्व गर्ने काङ्ग्रेस र कम्युनिस्ट पार्टीका नेताहरू पनि शिक्षा आर्जनको सिलसिलामा विदेश गएका विद्यार्थी पनि थिए । राणा शासनको अन्त्य गर्ने राजनीतिक आन्दोलन त्यस बेलाका विद्यार्थीले चलाएको शैक्षिक आन्दोलन पनि थियो ।

२००७ सालको राजनीतिक परिवर्तनपछि जनताका छोराछोरीहरूको शैक्षिक अधिकार र त्यसको उपभोगसम्बन्धी बहस एवम् प्रयासहरू आरम्भ भए । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ मार्फत निरङ्कुश पञ्चायती शासन नेपाली जनतामाथि लादेपछि नेपालका विद्यार्थीहरूको शैक्षिक अधिकार सामन्ती दरबारमा कैद हुन पुग्यो । राजतन्त्रात्मक सामन्ती व्यवस्थाको शैक्षिक सामन्तवादका विरुद्ध नेपालका जनवादी एवम् समाजवादी, लोकतन्त्र पक्षधर विद्यार्थी सङ्गठन, नेतृत्व र आमविद्यार्थीले ठूलाठूला राजनीतिक र शैक्षिक आन्दोलनहरू चलाए । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलन, जनमतसङ्ग्रहमा विद्यार्थीहरूको क्रान्तिकारी एवम् अग्रगामी भूमिका तथा २०४६ सालको जनआन्दोलनमा विद्यार्थी आन्दोलनको भूमिका यसका विशिष्ट उदाहरणहरू हुन् । अफसोच ! २०४६ सालको राजनीतिक आन्दोलनले राष्ट्र र जनताका मुद्दाहरूमा पञ्चायती शासकवर्गसँग सम्झौताहीन सङ्घर्ष गर्नुको सट्टा नेपाली काङ्ग्रेस र वाममोर्चाले पश्चगामी सम्झौता गरेपछि नेपालको शैक्षिक आन्दोलनले पनि धोका खानुपर्यो । नेपाली विद्यार्थीहरूले फेरि राजतन्त्रात्मक संसदीय प्रतिक्रियावादी व्यवस्थाको जनविरोधी शैक्षिक चरित्रका विरुद्ध पुनः सङ्घर्ष गर्नुपर्यो । २०५२ सालमा आउँदा नेपालको विद्यार्थी आन्दोलनले सङ्घर्षको स्वरूपलाई नेपाली जनयुद्धको पूरकको तहसम्म उठाउनुपर्ने वस्तुगत आवश्यकता पैदा भयो । नेपालको शैक्षिक आन्दोलनमा आमूल परिवर्तनको नारालाई अगाडि सारेर नेपाली विद्यार्थीहरू महान् नेपाली जनयुद्धमा सहाभागी हुन पुगे । १० वर्षको जनयुद्धमा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनले त्याग, तपस्या, वीरता र बलिदानको कीर्तिमान कायम गर्यो । नेपाली जनताको जनवादी शिक्षा नीति, कार्यक्रम र जनयुद्धका आधारइलाकाहरूमा जनसरकारद्वारा त्यसको प्रयोगले नेपालको शैक्षिक आन्दोलन र नेपाली विद्यार्थीले जनवादी शिक्षाको अभ्यास गर्ने दृष्टिले अभूतपूर्व र ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । आफ्नो गन्तव्यको नजिक पुगेको नेपाली जनयुद्ध र क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई जनयुद्धको नेतृत्व गरिराखेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता प्रचण्ड र बाबुरामले २०६२/०६३ पछि वार्ता र शान्तिका नाममा संसदीय प्रतिक्रियावादलाई बुझाएपछि क्रान्तिकारी विद्यार्थी आन्दोलन र यसको नेतृत्व गरिराखेको अखिल (क्रान्तिकारी) ले ठूलो धक्का बेहोर्नुपर्यो । धक्का, प्रतिवाद र विद्रोहको प्रक्रिया पार गरेर वर्तमान नेपालको विद्यार्थी आन्दोलन विगत साढे ७ वर्षदेखि एकीकृत जनक्रान्तिको अङ्ग बन्दै अगाडि बढिराखेको छ ।

कुनै पनि देशको क्रान्तिकारी राजनीतिक आन्दोलनको महत्त्वपूर्ण अङ्ग शैक्षिक आन्दोलन वा विद्यार्थी आन्दोलन हो । राजनीतिक आन्दोलन वा जनक्रान्ति र विद्यार्थी आन्दोलनबीच अन्योन्याश्रित सम्बन्ध छ । २००७ सालको राणाविरोधी आन्दोलन, २०३६ सालको सामन्ती निरङ्कुश राजतन्त्रविरोधी आन्दोलन, २०४६ सालको पञ्चायती शासनविरुद्धको जनआन्दोलन, १० वर्षको जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन र वर्तमान एकीकृत जनक्रान्तिमा विद्यार्थी आन्दोलनले निर्वाह गरेका भूमिकाहरू त्यसैका उत्कृष्ट नमुना हुन् ।

साम्राज्यवाद र दलाल पुँजीवादको गठजोडमा शिक्षाको निजीकरण, व्यापारीकरण र माफियाकरण गर्ने दलाल पुँजीवादी शिक्षा नीतिको अन्त्य जरुरी छ । शैक्षिक क्षेत्रका उपर्युक्त समस्याको सर्जक विद्यमान दलाल पुँजीपतिवर्गको संसदीय राज्यव्यवस्था हो । एकीकृत जनक्रान्तिमार्फत दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नु नेपाली विद्यार्थी आन्दोलनको पहिलो लक्ष्य हो ।

राजनीति र शैक्षिक आन्दोलनको अन्तरसम्बन्ध

सामान्यतया राजनीतिक आन्दोलन भनेको तत् देशको विद्यमान राज्यसत्ता र शासन व्यवस्था बदल्ने आन्दोलन हो । क्रान्तिकारी राजनीतिक आन्दोलन समाजलाई आमूल परिवर्तन गर्ने आन्दोलन हो । आमूल परिवर्तनको अन्तर्य भनेको राष्ट्रिय मुक्ति र जनमुक्ति हो । यसर्थ राजनीतिक आन्दोलन समग्र आन्दोलन हो । यसले समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विकासको गति र दिशामा क्रान्तिकारी परिवर्तन ल्याउँछ । राजनीतिक आन्दोलनको उच्चतम् स्वरूप जनक्रान्ति हो जसले उपर्युक्त परिवर्तनलाई सुनिश्चितता प्रदान गर्दछ ।

शैक्षिक आन्दोलन राजनीतिक आन्दोलन वा जनक्रान्तिको महत्त्वपूर्ण अङ्ग हो । यो राजनीतिक आन्दोलनको पूरक आन्दोलन पनि हो । पुँजीवादी, हाम्रो सन्दर्भमा दलाल पुँजीवादी राज्यव्यवस्थाद्वारा शैक्षिक अधिकारबाट वञ्चित बनाइएका आमविद्यार्थीहरूको साझा आन्दोलन हो । यसको उद्देश्य हाम्रो देशका सन्दर्भमा दलाल पुँजीवादी संसदीय राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु हो । वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र नेपालका विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित हुने भएकाले शैक्षिक आन्दोलनलाई नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिमा समाहित गर्नुपर्दछ । जनक्रान्तिले क्रान्तिकारी विद्यार्थी आन्दोलनको विशेषतालाई दृष्टिगत गरी संरक्षण, विकास र नेतृत्व प्रदान गर्ने कुरालाई विशेष ध्यान दिनुपर्दछ ।

नेपालको समग्र रूपान्तरणमा युवा विद्यार्थीको भूमिका

युवा विद्यार्थी परिवर्तनको वाहक शक्ति हो । नेपालको विद्यार्थी आन्दोलनको काँधमा पनि नेपाली समाज रूपमान्तरणको गहन जिम्मेवारी आइपुगेको छ । अहिले देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता एकपछि अर्को खतरामा पर्दै गएको छ । एमसीसी सम्झौता यसको पछिल्लो ज्वलन्त उदाहरण हो । देशको अर्थतन्त्र साम्राज्यवादी निगम पुँजीको अतिक्रमण र दलाल पुँजीको आक्रमणले तहस–नहस भएको छ । सामाजिक क्षेत्र असुरक्षा, मानव तस्करी, लागूपदार्थ दुर्व्यसनी, जाँडरक्सी, जुवातासजस्ता विकृति र विसङ्गतिले ग्रस्त छ । साम्राज्यवादी सांस्कृतिक अतिक्रमण र हस्तक्षेप बेलगाम छ । जनजीविका कहालीलाग्दो छ । देशमा विद्यमान यी तमामखालका विकृति र विसङ्गतिहरूको समाधान र रूपान्तरणका लागि चेतनायुक्त विद्यार्थी आन्दोलनको विशेष र ऐतिहासिक भूमिका हुनेछ ।

पार्टी कार्यदिशा र युवा विद्यार्थीबीच सम्बन्ध

हाम्रो पार्टीले दलाल पुँजीपति वर्गको प्रभुत्व भएको वर्तमान नेपाली समाजलाई बदल्नुपर्ने राष्ट्रिय आवश्यकता, नेपाली श्रमजीवी जनताको चाहना र नेपाल कम्युनिस्ट पार्टीको जिम्मेवारी ठानेर नेपाली क्रान्तिको कार्यदिशाका रूपमा एकीकृत जनक्रान्ति संश्लेषण गरेर प्रयोगमा छ । एकीकृत जनक्रान्तिको लक्ष्य नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । त्यसका निम्ति विगत ७ वर्षदेखि हाम्रो पार्टी सङ्घर्षरत छ । चेतना, जोश र भौतिक सामथ्र्यको पर्याय युवा विद्यार्थीले पार्टी लाइनलाई दह्रो गरी पक्रिनुपर्दछ । कार्यदिशाको प्रयोग र विकासका दृष्टिले युवा विद्यार्थीको भूमिका अहम् हुनेछ । एकीकृत जनक्रान्तिको कार्यदिशा नेपाली श्रमजीवी जनताले विकास गरेको नेपाली क्रान्तिको कार्यदिशा हो । एकीकृत जनक्रान्तिको कार्यदिशाले यसको सैद्धान्तिक पक्षमा आधारभूत स्पष्टता, विद्यार्थी आन्दोलनमा लागू गर्ने रचनात्मकता, क्रियाशीलता र बलिदानी भाव युवा विद्यार्थीबाट मागेको छ । देश र जनताप्रतिको दायित्व र विद्यार्थीको शैक्षिक मुद्दाको समाधानका निम्ति युवा विद्यार्थीले जनक्रान्तिको मागलाई सहर्ष पूरा गर्नुपर्छ ।

संयुक्त विद्यार्थी आन्दोलन

विद्यार्थी आन्दोलनको सफलताका निम्ति क्रान्तिकारी विद्यार्थी सङ्गठनको नेतृत्वमा संयुक्त आन्दोलनको विशेष महत्त्व रहेको छ र यो आजको ऐतिहासिक आवश्यकता पनि हो । राष्ट्रिय स्वाधीनताका निम्ति राष्ट्रघातका विरुद्ध सङ्घर्ष, पूर्ण जनअधिकारका निम्ति सङ्घर्ष, शैक्षिक मुद्दामा सङ्घर्ष र जनताका जनजीविकाका सवालमा सङ्घर्षलगायत विषयहरू संयुक्त विद्यार्थी आन्दोलनका साझा एजेन्डाहरू हुन् । यसको नेतृत्व आमविद्यार्थी सङ्गठनको राजनीतिक चरित्र र नीतिलाई दृष्टिगत गरी कार्यगत एकता कायम गर्न निपुण हुनुपर्दछ । अखिल (क्रान्तिकारी) ले विगतमा गरेको अभ्यासले पनि एउटा अनुभव प्राप्त भएको छ । कार्यगत एकताका निम्ति आधार पनि तयार गरेको छ । विद्यार्थी आन्दोलनको साझा नाराका रूपमा दलाल तथा भ्रष्ट संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न जनमत सङ्ग्रहको नीति प्रभावकारी बन्नेछ र बनाउनुपर्दछ । यो विद्यार्थी आन्दोलनभित्र क्रान्तिकारी धु्रवीकरण ल्याउन शक्तिशाली हतियार बन्नेछ । देशको सङ्कटग्रस्त राजनीतिक र शैक्षिक परिस्थितिमा अखिल (क्रान्तिकारी) र यसको नेतृत्वले दृढता र लचकताको उचाइमा संयुक्त विद्यार्थी आन्दोलन सङ्गठिन गर्नु र त्यसलाई नेतृत्व प्रदान गर्नु एकीकृत जनक्रान्ति र विद्यार्थी आन्दोलनको कोणबाट ऐतिहासिक आवश्यकता र जिम्मेवारी दुवै हो ।

नेपालमा शैक्षिक आन्दोलनको दिशा

शिक्षा नेपाली जनताको मौलिक हक हो । विद्यार्थीहरूले शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार हो । साम्राज्यवाद र दलाल पुँजीवादको गठजोडमा शिक्षाको निजीकरण, व्यापारीकरण र माफियाकरण गर्ने दलाल पुँजीवादी शिक्षा नीतिको अन्त्य जरुरी छ । शैक्षिक क्षेत्रका उपर्युक्त समस्याको सर्जक विद्यमान दलाल पुँजीपतिवर्गको संसदीय राज्यव्यवस्था हो । एकीकृत जनक्रान्तिमार्फत दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्नु नेपाली विद्यार्थी आन्दोलनको पहिलो लक्ष्य हो । वैज्ञानिक समाजवाद स्थापना गरी नेपाली जनताको मौलिक हकको रूपमा शिक्षालाई स्थापित गरी जनताका छोराछोरीलाई वैज्ञानिक र व्यावहारिक शिक्षा निःशुल्क रूपमा अनिवार्य दिने व्यवस्था गर्नुपर्दछ । शैक्षिक क्षेत्रमा रहेको निजीकरण, दलालीकरण र माफियाकरणको अन्त्य गर्नुपर्दछ । वैज्ञानिक शिक्षा प्रणालीअन्तर्गत देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने, देश निर्माणको महान् कार्यमा समर्पित हुने, देश एवम् जनताको सेवा गर्ने जनशक्ति तयार गर्नुपर्दछ । गाउँ र सहरको भेद अन्त्य गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने विद्यार्थी शक्ति तयार गर्नुपर्छ । जनताको सेवा र सम्मान गर्ने, राष्ट्रिय सम्पत्तिको माया र संरक्षण गर्ने, श्रमको सम्मान गर्ने र श्रमशील रहने, वृद्धहरूको सम्मान गर्ने विद्यार्थी तयार गर्नुपर्दछ । विद्यार्थीले देश, जनता र समाजको भलो चिताउने संस्कृतिको विकास गर्नुपर्छ । देश र जनताका पक्षमा निरन्तर सङ्घर्ष गर्ने संस्कृति विकास गर्नुपर्छ ।

अतः एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने, दक्षतापूर्वक समाजवादी व्यवस्था सञ्चालन गर्ने र विश्व–साम्यवादी समाज निर्माणको यात्री तयार गर्ने क्रान्तिकारी विद्यार्थी आन्दोलनको दिशा हुनुपर्दछ । नेपाली युवा विद्यार्थीलाई आफू बदलिने र विश्व–मानव समुदायको सेवा गर्ने ऐतिहासिक दायित्व र महान् अवसर पैदा भएको छ । यस महान् कार्यका निम्ति नेपाली युवा विद्यार्थीहरू तयार हुनुपर्दछ । विजय र सफलता अवश्यभावी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।