११ कार्तिक २०८१, आईतवार

मानव जातिको हित विपरितका चाडपर्वलाई छोड्दै नयाँ संस्कृतिको निर्माण गर्नुपर्छ : सन्देश सी

0

चितवन: नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य सन्देश सीले मानव जातिको हित विपरितका चाडपर्वलाई छोड्दै नयाँ संस्कृतिको निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी चितवन पश्चिम जिल्ला अन्तरगत भरतपुर इलाका समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मानवहित विपरितका चाडवार्डलाई विस्तारै छोडेर नयाँ संस्कृति अनुसारका चाडपर्वको विकास गर्नुपर्ने बताएका हुन् ।

नजिक आइरहेको विभिन्न चाडपर्व, वर्तमान राजनीतिक संकट र यसको निकास, पार्टीले अगाडि सारेको सी संस्कृति, राष्ट्रघाती एमसीसी परियोजना, पार्टीले लिएको उत्पादनको नीति लगायतका विषयमा धारणा राख्दै सन्देशले विज्ञान र मानवजातिको हितमा रहेको संस्कार र संस्कृतिको रक्षा र मानव जातिको हितमा नरहेको चाडपर्वलाई बिस्तारै छोड्दै नयाँ संस्कृतिको निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले अहिले देश भूमण्डलिकृत पुँजीवाद, साम्राज्यवादी हस्तक्षेप र  उदार अर्थतन्त्रको चङ्गुलमा फस्दै गएको भन्दै त्यसलाई मुक्त गर्न नेकपाले संघर्ष गरिरहेको बताए । साथै भूमण्डलिकृत पुँजीवाद र साम्राज्यवादका कारण राजनीतिक हिसाबले देशभक्त कम्युनिस्ट, समाजवादीहरु सत्ताको किनारामा र पुजीवादी, विदेशी आडभरोसमा नियतवस आएका शक्तिहरु सत्ताको केन्द्रतिर पुगिरहेकाले देश संकटमा परेको उनको भनाई थियो ।

आर्थिक हिसाबले उद्योगी, राष्ट्रिय पुँजीपति, नयाँ श्रमिक वर्गहरुको जीवन धारासायी बन्दै गएको र दलाल,सत्ता र शक्तिलाई परिचालन गरि नाफा कुम्ल्याउने मुठ्ठिभर लुटेराहरुसँग मात्र अर्थतन्त्रको चाबी पुगेको जिकिर गरे । संसदवादी पार्टीहरु यो समस्याको हल गर्ने तिर भन्दापनि शक्ति केन्द्रसँग लम्पसार परेर आत्मसमर्पण गरिरहेको समेत बताए ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा भएको भ्रष्टाचार, वैदेशिक ठगी , वित्तीय संस्था र बैंकहरुको चर्को ब्याजदर र लुट, मिटरव्याजी, लघुवित्त सस्था र खराब नियतवस संचालन गरिएका ठुला स्तरका सहकारीहरुको ठगी, महंगी, बेरोजगारी, कालोबजारी, सामाजिक असुरक्षा, कु–शासन जस्ता तमाम समस्याका कारण उद्योगी, व्यवसायी, इमानदार कर्मचारी र जनताको जीवन  चिन्ताजनक र संकटग्रस्त बन्दै गएको अवस्थामा यो संकटको समाधान दलाल पुजीवादी सत्ता, संसदवादी पार्टी र यिनका नेताहरुबाट सम्भव नभएको भन्दै यो सबै संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादबाट मात्र सम्भव रहेको बताए ।

स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति भएको कार्यक्रममा सबै संस्थाको प्रतिनिधिहरुले यो व्यवस्थाले जनताको सेवा नगरेको र राष्ट्रिय संकटको बेलामा सबै स्थानीय राजनीतिक पार्टीहरु एक ठाउँमा आउनुपर्ने भन्दै नेकपाले आयोजना गरेको कार्यक्रम यसको सुरुवात भएको बताएका थिए । इलाका इन्चार्ज तिलकुमार सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो समितिका सदस्य तथा केन्द्रीय उत्पादन विभागका माडी शाखा इन्चार्ज सन्देश सी रहेका थिए ।

त्यस्तै अतिथिहरुमा पश्चिम जिल्ला इन्चार्ज दिनेश सी, सेक्रेटरी अटल सी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत स्थानीय नेताहरु रहेका थिए । साथै, विभिन्न संघसस्थाका प्रतिनिधि, जेष्ठ नागरिक मन्च, सुरक्षा निकायका इलाका प्रमुख र स्थानीय पत्रकारको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन इलाका सेक्रेटरी हिमाल सीले गरेको थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य राम सीले राखेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।