२ मंसिर २०८१, आईतवार

जनस्वास्थ्य र प्राकृतिक चिकित्सा

0

आम नागरिकको स्वास्थ्य सुधारको निम्ति प्राकृतिक चिकित्सा पद्धति सस्तो, भरपर्दो र कू–प्रभाव (Side-eff ect) नहुने उपचार पद्धति हो । यो पूर्वीय दर्शन र सभ्यताको मौलिक र प्राचीन पद्धति हो । भारतमा ‘देशी दवा’ भनिने पश्चिमी चिकित्सा पद्धति (Allopathy) राणाकालमा नेपाल भित्रियो र वीर शमशेरले वीर अस्पताल स्थापना गरेपछि प्राकृतिक चिकित्सा निरूत्साहित भयो । २०४६ सालपछि शिक्षा र स्वास्थ्य क्षेत्रको माफियाकरण भएपछि जनधनको दूर्गति भयो ।
प्राकृतिक चिकित्साको पृष्ठभूमि
प्रकृतिक चिकित्सा पद्धतिलाई जर्मन नागरिक लुइकुनेले युरोपमा विकास गरेर प्रचारमा ल्याएका हुन् । पश्चिमी पद्धति (Allopathy)को कू–प्रभावबाट चिन्तित उनले प्राकृतिक चिकित्सा पद्धतिको खोजी गरेका थिए । यद्यपि प्राकृतिक चिकित्साको प्रथम प्रयोगकर्ता भगवान शिवलाई मानिन्छ । यसको विकास भने साङ्ख्य दर्शनका ऋषि (जसको आश्रम रोहिणी खोला, रूपन्देही आसपास मानिन्छ) कपिल र धन्वन्तरी पतञ्जली चरकले गरेका हुन् ।


पूर्वीय दर्शनमा प्राकृतिक चिकित्सा, योग, आयुर्वेद र रसायन विधि (Homeopathy) चारवटा पद्धतिहरू प्रयोगमा छन् । योगको प्रथम वन्दना हेर्दा यो गणसमाजको योगदान भन्ने बुझिन्छ । योग शरीरको प्रतिरोधी क्षमता बढाउन र मानसिक तनाव घटाउनमा केन्द्रित छ । होमियोप्याथीका जन्मदाता जर्मन चिकित्सक फ्रेडरिक श्यामुएल हनिम्यान हुन् । यो पद्धति ‘समरूपता सिद्धान्त’मा आधारित छ । यसले रोग उत्पन्न गर्ने कारणको खोजी र निदान (मिल्दो कारणको निदान) गर्दछ । त्यसैगरी आयुर्वेद जडिबुटी प्रयोगद्वारा गरिन्छ । अम्लको निदान क्षारीय पदार्थ हो । जनावर र पक्षीले सहज ज्ञानको आधारमा यो पद्धति अपनाएका हुन्छन् । त्यसैगरी प्रकृति प्रदत्त पञ्चमहाभूत (माटो, पानी, वायु, आगो, उपवास–योग) प्रयोग गरेर उपचार गर्दछ ।
उपचार विधि
यसले शरीरमा भएको विजातीय द्रव्य (Toxin)लाई बाहिर निकाल्ने, विजातीय द्रव्य पैदा गर्ने वस्तु सेवन नगर्ने र प्रतिरोधात्मक प्रणाली (Anti body) वृद्धि गरेर शारीरिक सन्तुलन कायम राख्ने नीति अवलम्बन गर्छ । जबकि पश्चिमी पद्धतिले प्रकट भएको रोगलाई दबाउने गर्दछ । जबकि प्रकृतिक चिकित्सामा पाश्र्व–प्रभाव (Side eff ect) हुँदैन । प्रतिकारात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक स्वास्थ्य सेवा उपलब्ध गराउने पद्धतिलाई प्राकृतिक चिकित्सा भनिएको छ । वरिष्ठ प्राकृतिक चिकित्सक डा. विनोद पौडेल “प्राकृतिक चिकित्सा भनेको उपचार पद्धतिभन्दा पनि जीवनशैली हो वा जीवन जीउने कला हो” भन्दछन् ।
आज चिरफार र औषधी प्रयोग नगरी उपचार गर्ने आधुनिक पद्धतिहरू फिजियोथेरापी, अकुपन्चर र काइरो प्राक्टिस विधि आएका छन् । नवलपुर जिल्ला, देवचुली–१६ (साविक रजहर–१)मा रहेको प्राकृतिक चिकित्सालयले यी ३ वटै विधिलाई समावेश गरेको छ । विहान दुबो, लौका, फलको रस, मह खुवाइन्छ । यसलाई आयुर्वेदको संलग्नता मान्न सकिन्छ । रसपानभन्दा अगाडि योग अभ्यास गराइन्छ । आधुनिक प्रयोगशाला र पश्चिमा चिकित्साको समेत अध्ययन गरेका चिकित्सकको सेवाले बढी विश्वासनीयता प्रदान गर्दछ ।
अस्पतालको स्थिति र अवस्था
२०६४ सालमा धन–धान्याचल महायज्ञबाट १ करोड ७३ लाख जम्मा गरी रजहरस्थित ‘सामुदायिक प्राकृतिक चिकित्सालय’ स्थापना गरिएको हो । वि. सं. १९४५मा वीर शमशेरले काठमाडौंमा वीर अस्पताल र ३४ वटा जिल्लामा थप शाखा खोलेका थिए । त्यसपछि नेपालको प्राकृतिक चिकित्सा र आयुर्वेद चिकित्सा विधि अवरूद्ध हुँदै आएको थियो । यो अस्पताल नारायणगढ, चितवनदेखि ३० किमी पश्चिम र महेन्द्र राजमार्गबाट १.५ किमी दक्षिण पर्दछ । यसको उत्तरमा देवचुली पर्वत, दक्षिणमा नारायणी नदी, पूर्वमा रजहर गाउँ तथा पश्चिममा कालिका सामुदायिक वन रहेको छ । यसको मातृसंस्था ‘योग एवम् प्राकृतिक चिकित्सा समाज, नेपाल–२०६७’ रहेको छ । २०६७ साल पुस २७को मन्त्री परिषद्को बैठकले १० बिगाहा, १ कठ्ठा, ८.४५ धुर कालिका सामुदायिक वनको जग्गा भोकाधिकार अनुमति दिएपछि अस्पताल सुचारू भएको हो ।


वैधानिक रूपले २०५३ सालबाट नेपालमा प्राकृतिक चिकित्सालाई कानुनी मान्यता दिइएको हो । तर २०२४ सालदेखि नै यो पद्धति प्रयोगमा थियो ।
अस्पतालका समस्या
भौतिक पूर्वाधार निर्माणमा सरकारी उदासिनता मुख्य समस्या हो । स्वास्थ्य क्षेत्र माफियाकरणको पञ्जामा कैद छ र जनस्वास्थ्यको विषयमा सरकारी नीति, विधि र दृष्टिकोण नै त्रुटिपूर्ण रहेको छ । रोगको उपचार गर्न विज्ञापन गर्ने सरकार र स्वास्थ्यकर्मीले रोग लाग्नुको कारण, रोग लाग्नै नदिने प्रयास र माटो–पानी–हावा र खाना सफा राख्न गर्नुपर्ने काम र सचेतनाबारे सिन्को भाँचेको छैन । ‘विरामी बन, स्वास्थ्य माफियाको दुहुनो गाई बन’ उनीहरूको मन्त्र रहेझैं देखिन्छ । किनकि आज भूमण्डलीय ताप र जलवायु परिवर्तन (Global
Warming)को कारण पञ्चतत्व (माटो, पानी, हावा, आगो र अकाश) सबै सङ्कटग्रस्त भएका छन् । जनताको स्वास्थ्य र माटो प्रदुषित–विषाक्त पारेर नाफा कुम्ल्याउने होड चलेको छ । प्राकृतिक बीऊ नष्ट गरेर पोलियो, अर्बुद्ध, नपुङ्शकता, अपाङ्गता जस्ता विभिन्न रोगहरू पैदा गराउने वर्णशङ्कर (Hybrid) खाद्यान्नले ढाकेको छ । पृथ्वीले ८.५ अर्ब जनसङ्ख्या धान्नसक्ने अनुमान छ । हाल विश्वको जनसङ्ख्या ७.५ अर्ब छ । सन् २०५०सम्म पृथ्वीको जनसङ्ख्या ९.५ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।


अस्पतालले ३ सय शैयाको शिक्षण अस्पताल बनाउने प्रस्ताव गरेको छ । गुरू योजना लागू गर्न सरकारको मद्धत आवश्यक छ । अस्पतालका व्यवस्थापक (प्रमुख) हरि सापकोटा “धेरै सके धेरै गरौं, थोरै सके थोरै गरौं, जति सक्यो त्यति गरौं, केही न केही अवश्य गरौं” भन्छन् । निजी अस्पतालमा गएर प्रशस्त कमाउन सक्ने अवसर भएका डाक्टर विनोद पौडेलको योगदान सम्मानयोग्य छ । स्थानीय थारू, दराई र महिलालाई रोजगार दिएर अस्पतालले माटोप्रतिको प्रेमभाव र वास्तविक लोकतन्त्रको अभ्यास गरेको देखिन्छ ।
छायाँमा परेका तथ्यहरू
एउटा रोगको उपचार गर्दा अरू घातक रोगहरूको जन्म गराउने समस्या जनस्वास्थ्यको क्षेत्रमा देखापरेको छ । ‘बिरामी बनाउने, औषधी बेच्ने’ खेल चलिरहेको छ । तसर्थ व्यक्तिगत जीवनशैली परिवर्तन (Theraputic lifestyle change) आवश्यक भइसकेको छ । एक अध्ययनका अनुसार १२ वर्षभन्दा माथिकाहरूले प्रतिमिनेट १७–१८ पटक स्वास फेर्छन् । नवजात शिशुले प्रतिमिनेट ६० पटक स्वास फेर्छन् । स्वास नफेरेमा ३ देखि ४ मिनेटमा मृत्यु हुन्छ । खरायोले प्रतिमिनेट १५० पटक स्वास फेर्छ । कछुवाले प्रतिमिनेट ६ पटक मात्र स्वास फेर्छ । त्यसैले खरायोको आयु ६–७ वर्ष र कछुवाको आयु २००–२५० वर्ष रहन्छ । लामो–लामो स्वास लिने अभ्यास गरेर मान्छेले प्रतिमिनेट १०–१२ पटकसम्म स्वास फेर्न सक्छ । त्यसोगर्दा शरीरमा प्राणवायु (अक्सिजन) बढाउन र लामो आयु बनाउन सकिन्छ । प्राचीन योगीहरू १ सय वर्षभन्दा बढी बाँच्नुको कारण त्यही हो । मान्छेको आयु १ सय वर्ष हो । तर पूरा आयु बाँच्नेको सङ्ख्या घट्दै गएको छ । डा. हरिप्रसाद पोखरेल प्राकृतिक चिकित्साको सन्दर्भमा भन्छन्, “वैदिककाल र उत्तरवैदिक कालमा मानसिक रोगमा योग चिकित्सा, नसर्ने जीर्ण वा रूग्ण रोगमा प्राकृतिक चिकित्सा र आकस्मिक उपचार, औषधोपचार र शल्यक्रियामा आयुर्वेदले यथेष्ट उन्नती गरेका थिए ।” भनिन्छ ईसापूर्व सातौं शताब्दीमा हिमालय क्षेत्रमा ऋषि भारद्वाजको संयोजकत्वमा विश्व सम्मेलन भएको थियो । त्यसबेला पूर्वीय सभ्यतामा स्वास्थ्य विज्ञानको ठूलो प्रतिष्ठा रहेको थियो भन्ने बुझ्न सकिन्छ । जसमा आज पुनरजागरणको आवश्यकता छ ।
निष्कर्ष
प्राकृतिक चिकित्सा नेपालसहित पूर्वीय सभ्यताको ठूलो उपलब्धी हो । यसको व्यापक प्रयोगले जनस्वास्थ्यमा ठूलो सुधार ल्याउन सकिन्छ । सञ्चार र सरकारी संयन्त्रले जनचेतना ल्याउन भूमिका खेल्नुपर्छ । यो क्षेत्रमा सरकारले मन खोलेर लगानी गर्नुपर्छ । त्यसो भएमा सामुदायिक चिकित्सालय, रजहरजस्ता संस्थाले बजेट अभावमा निर्माणाधिन भवन बेवारिसे पारेर बस्नुपर्ने बाध्यता हुनेछैन । नागरिकको लगनशीलतामा राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्छ । त्यसको लागि सबै पक्षको रचनात्मक भूमिका अपेक्षित छ ।
२०८० भदौ ३


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।