१७ बैशाख २०८१, सोमबार

मोदीलाई भुटानको जस्तो कठपुतली राजा चाहिएको छः पूर्वमन्त्री खगेन्द्रजङ्ग गुरुङ

0

(डा.इन्द्रजीत सिंह कुवँर (के.आई.सिंह) नेतृत्वमा गठित २०१३ सालको मन्त्री मण्डलका स्वास्थ्य मन्त्री ९२ बर्षका खगेन्द्रजङ्ग गुरुङ २०१७ सालमा गठित तुलसी गिरी मन्त्री मण्डलमा खाद्य तथा आपूर्ति,कृषि,वन,उद्योग तथा वाणिज्य मन्त्री थिए । राजा महेन्द्रसंग दूरी बढेपछि २०२५ सालमा गिरफ्तार भएर २ बर्ष ६ महिना पोखरा जेलमा पनि बसे । चाउ एनलाई र माओत्सेतुङसंग भेटेका गुरुङको उतार चढावपूर्ण जीवन र वर्तमान राजनीतिको विषयमा उनै पूर्वमन्त्री गुरुङसंग काठमाडौं लाजिम्पाट गैरीधारा स्थित ‘होप हर्मिटेज एल्डर्ली केयर’ निवासमा गरेको वार्तालापको सार संक्षेप –बसन्त विश्वकर्मा )

मन्त्री ज्यू,दिन कसरी बिताईरहनु भएको छ ? स्वास्थ्य अवस्था कसतो छ ? बताईदिनु होस् न ।

मेरो अबस्था देखि हाल्नु भयो । चर्पीमा नै एक घण्टा बढी लाग्छ । दुई घण्टा त तपाईहरुलाई कुराएँ चर्पी जान दुईवटै हातले लठ्ठी टेकेर जान्छु । घाँटीमा समस्या छ । माथि पट्टीको दाँतको कारण स्वर लरबरिन्छ । तर खाना राम्रै खान्छु । पढ्न,छलफल गर्न,टेलिभिजन हेर्न समस्या छैन । हिड्न सक्दिन । भेट्न आउनेसंग छलफल हुन्छ । यस्तै छ मेरो हाल (हाँसो)

यहाँको बाल्यकालबारे केही नयाँ पुस्तालाई भन्न मिल्छ ?

मेरो बुवाको नाम खोलागाउँ मनाङका लामिछाने थरका सुब्वा नरजङ गुरुङ हो । राणा श्री ३ सरकारले हाम्रो खलकमा जन्मना साथ छोराले सुब्वा पद पाउने बख्सिस दिएका थिए । खोलागाउँ लामिछाने गुरुङको राजधानी हो । यशोब्रम्हा शाहले मनाङ कब्जा गरेपछि एकथरी मगरलाई ठकुरी थरदिएर जनेउ लगाउने हक दिएर क्षेत्री भयौं भनेका रहेछन । त्यसैबेला देखि हाम्रो खलक राजा त भएन शासन हामै खलकको थियो । म त्यो खलकमा हुर्केको हुँ । लामीछाने गुरुङ राजाको २२ औ पुस्ता हामी हौं । राजकाज नभएपनि तिब्वतसंगको थाकखोला र मनाङको भन्सार ठेक्का बुवाको जिम्मामा राणाकालसम्म नै थियो ।

त्यसबेला मुख्य व्यापार के थियो र करको दर के कति थियो त ?

कानूनी रुपमा दासप्रथा हटेपनि ब्यवहारमा कायमै थियो । एउटा दासको मोल ५ रुपैया थियो । तिब्वतबाट ल्याउने नुनको प्रतिभारी १ रुपैया कर लाग्थ्यो । जङ्गबहादुरका १७ भाईले दाजुको खलक मारेर भाई रणोद्धिप काजी भए । उ पनि मारियो र कान्छो धीरशम्शेर श्री ३ महाराज भए ।  तिब्वतबाट नुन ल्याउन २ महिना लाग्थ्यो । तराईतिर औलो र जङ्गली जनावरका कारण जान डराउँथे । सरकारले नुन सस्तो पार्ने उपाय खोज भन्यो । बाजे मनिलाल गुरुङले अधिकार बक्स भएर गर्छु भन्नु भएछ । हुकुम प्राप्त भयो । बाजेले भिर भएको ठाउँमा काठको रोप वे जस्तै बनाएर ठाउँ –ठाउँमा बोक्ने नपर्ने गराएर १५ दिन घटाउनु भएछ । गोरखाको लार्के भन्ञ्याङ्ग माग्नु भएछ । त्यो पनि आयो । धीरशम्शेरसंग लालमोहर मागेर ५ सय मिलिसिया बनाएर ब्यापारको सुरक्षा भएछ । लार्के भन्ञ्याङ्ग(गोरखा) र मनाङको गरी दुईवटा नाका खुल्यो । मुस्ताङको थाकखोला नाका बुवाको पालामा हाम्रै भयो ।
बुवाले नुनको भन्सार कर मिनाहा गरेर नुन अझ सस्तो पार्नु भएछ । थाकखोलामा कम व्यापार हुन्थ्यो । यताकालाई मात्र के तिरो उठाउने भनेर त्यहाँ पनि मिनाहा भयो । हामी घाटामा भयौं । त्यही कारण राणाहरुले भैरहवा नाकाको ठेक्का बुवालाई दिएका रहेछन । त्यसबेला चार आना (१सुका)को १० पाथी चामल आउँथ्यो ।

मन्त्री ज्यूको शिक्षा दीक्षा के कस्तो रहयो त ?

जुद्ध शमशेर श्री ३ हुँदा म ९ वर्षको थिए । वि.स. १९८८मा जन्मेको हुँ । त्यतिबेला २००३ सालमा मध्यमाको जाँच दिन बनारस गए । त्यसबेला संस्कृत मात्र पढाई हुन्थ्यो । बाहुनले मात्र पढन पाउँथे । पढेको पैसा लाग्दैनथ्यो । भारतमा अङ्ग्रेज विरुद्ध आन्दोलन चलिरहेको थियो । कमिज,पाइन्ट लगाउन पाईदैनथ्यो । बनारसमा हिन्दु विश्वविद्यालयमा अङ्ग्रेजी पढन गएको थिए । त्यहाँ त ‘हामीले अङग्रेज लखेट्दैछौ,तिमलाई किन अङग्रेजी पढन पर्यो’ ? भन्न थाले । संस्कृतिमा धर्म,देवता,कर्मकाण्ड पढ्ेको त्यता त हिन्दीमा सुकरात,हेगेल,चीनको क्रान्ति,अमेरिकी स्वतन्त्रता संग्राम सबै हिन्दीमा नै पढाउने रहेछन । अंग्रेजहरु भारत धान्न नसक्ने अवस्थामा पुगिसकेका रहेछन ।

तपाईको राजा महेन्द्रसंग कहाँ कसरी भेट भएको हो ?

२००९ सालमा दिल्ली थिए । राजा महेन्द्रको सवारी रहेछ । उमानाथ जैसीले चिन्थे । उनी ज्योतिष थिए । चिना बनाउँथे । उनैले मलाई राजा महेन्द्र समक्ष लगे । लामो चिनचान भएझै खुलेर छलफल भयो । म तिब्वतबाट दिल्ली गएको थिए । मलाई मातृका प्रसाद कोइरालाले पक्राउ पूर्जि कटाएका थिए । मेरो घरमा सेनाले राहुल सांस्कृत्यायनको ‘भागो नहीं दुनियाँको बदलो’ भन्ने किताब भेटेपछि कम्युनिष्ट भनेर त्यसो गरेका थिए । राजकुमारले खबर पठाएकाले गिरफ्तार भएपनि होस भनेर भेट्न गएको थिए ।

तपाई त चीन गएर चाउ एनलाई र माओत्सेतुङसंग पनि भेट्नु भयो । कसरी किन जानु भएको हो ?

महेन्द्रले चीन गएर माओसंग सम्वन्ध गाँसेर आउन सक्छौ भनेका थिए । महेन्द्र त्रिभुवन बिच राम्रो थिएन । म चीन जान तयार भए । गुपचुप जानु पथ्र्यो । २० जना हतियारधाी,खर्चपानी तयार गरेर तिब्वत गएँ । एक्लै जाँदा लुटपाट हुन्थ्यो । तिब्वतसंगको व्यापार खोलिदिएको कारण हाम्रो खलकलाई चिनियाँहरुले विश्वास गर्थे । मलाई १ महिना तिब्वतमा नै राखे । त्यसपछि बेइजिङ जाने व्यवस्था गरे । महेन्द्रले काङग्रेसले देश भारतलाई बुझाउछ भन्ने ठानेर सुरुदेखि नै विकल्प खोज्दैरहेछन जस्तो लाग्छ । त्यही भएर मलाई चीन पठाएका होलान ।

चीनका नेताहरु को को संग भेट्नु भयो ? भेटघाट कस्तो रहेको थियो बताईदिनु होस् न ।

पहिलो भेटघाट परराष्ट्रमन्त्रीसंग भयो । त्यसपछि प्रधानमन्त्री चाउ एनलाईसंग भेटघाट भयो । त्यसपछि राष्ट्रपति तथा पार्टीका अध्यक्ष माओत्सेतुङसंग भेटघाट भयो । माओका लागि चिनियाँ र नेपाली दुबै भाषा जानेका दोभाषे दार्जिलिङबाट ल्याएका रहेछन । औपचारिक कार्यक्रममा चिनियाँहरु विदेशी भाषा प्रयोग गर्दैनथे । माओ एककदै सरल,सामान्य उठबस र ठुलो मान्छे हुँ भन्ने भाव नै नदिने नेता रहेछन । फौजको घेरामा शहर भन्दा अलि बाहिर बस्ने व्यवस्था रहेछ । भारतबाट खतरा भयो । कदम चाल्दा साथ दिनुपर्यो भन्ने महेन्द्रको अपेक्षा छ भने । माओत्सेतुङले हामी आफै अफ्ठ्ेरोमा छौ । तर सकेको सहयोग गर्छौ भनेका थिए । राजतन्त्र रहुन्जेल यो कुरा सार्वजनिक गरेको थिएन । २०३६ सालमा दोस्रो पटक चीन गएँ । पुरानो कुरा झिक्दा त्यो त हाम्रो रेकर्डमा नै छैन भने ।

राजा महेन्द्र भारत र काङग्रेसप्रति नकरात्मक किन भए ? खास कुरा के हो त ?

महेन्द्रले पटक –पटक बरु कम्युनिष्ट बन्न तयार छु । भारतको दासत्व स्वीकार गर्दिन भन्थे । उनले बाहुन,क्षेत्री र मधेसीहरु भारतप्रति नरम हुनसक्छन भनेर जनजातिमा भरपर्न खोजेका थिए । जनजातिलाई पनि आर्थिक अबसर दिनुपर्छ भन्थे । त्यसैले माओले महेन्द्रलाई कम्वोडियाका नरोत्तम सिंहानुकसंग तुलना गरेका थिए ।

राजा महेन्द्रको स्वभाव,आनीबानी त्रिभुवनले मनपराउदैनथे भन्ने गरिन्छ नी ।

महेन्द्र स्वाभिमान र स्वतन्त्र बाँच्न खोज्थे । रात्री क्लवमा गएर नाच्थे । गाउने पनि गर्थे । हुनेवाला राजाको अनुशासन भएन भन्थे रे । जुद्ध शमशेरको नातिनी इन्दुसंग महेन्द्रको विवाह भएको हो । रत्न साख्य बहिनी हुन । त्रिभुवन इन्दुपछि राणाकै छोरीसंग विवाह नहोस भन्न चाहन्थे । रत्नको मगनी पश्चिमको एकजना ठकुरीसंग भइसकेको थियो । रुम्जाटारकी उमा गुरुङबाट रविन्द्र शाह जन्मिसकेका थिए । महेन्द्रकी जेठी श्रीमतिको नाम उमा जस्तो लाग्छ । इन्द्रराज्य लक्ष्मी दोस्रो विवाह हो । त्रिभुवनले हिमालयलाई बढी मनपराउथे । त्यही भएर कतै मलाई युवराज घोषणा नगर्ने हुनकि भन्ने महेन्द्रलाई परेको हुनसक्छ । यो कुरा मलाई थाहा भएन । त्यसो भयो भने विद्रोह गर्नुपर्छ भनेर मलाई जनजातिहरु ंसंगठित गर्न भनेका हुन भन्ने पनि छ । तर सबै कुरा थाहा भएन ।

मन्त्रीज्यू प्रसङ्ग बदल्न चाहान्छु, योगी नरहरीनाथसंग तपाईको भेट भयो कि भएन ? उनी पनि कट्टर राजभक्त भन्छन ? यहाँको धारणा ….।

नरहरीनाथलाई भेट्न सूर्यवहादुर थापा गइरहन्थे । एकपटक म पनि गएँ । उसले त जनजातिलाई सङ्गठित गरेर दबाव सृजना गरेर रविन्द्रलाई अधिराजकुमार बनाउनु पर्यो । गुरुङनीको छोरो हो न्याय हुन्छ भन्यो । मैले महेन्द्रको विरुद्ध जान्न भने । रबिन्द्र शाहलाई भारत बसेर नेतृत्व गर भनेका रहेछन । उनले पनि मानेनन् । राजा र काङग्रेसलाई लडाउने,दरबारमा भाँडभैलो पार्ने र भारतको भूमिका बढाउने दाउमा नरहरीनाथ रहेछ । त्यसैले योगी नरहरीनाथ ‘र अ’ मान्छे जस्तो लाग्छ । नरहरीनाथ र सूर्यबहादुर थापाको निकटता अर्थपूर्ण रुपमा थियो ।

तुलसी गिरीको मन्त्रीमण्डलबाट तपाईले किन राजिनामा दिनु भएको हो ? बताई दिनुहोस् न ।

लम्जुङमा एउटा घटना भयो । बाहुनहरुले माफ मागेर बसे । त्यही विषयमा गुरुङहरु पनि गल्ती भयो,बुझेनौ भन्न गएछन । उनीहरुलाई आज बस भोलि जाउला भनेछन । राती जङगलमा लगेर खाल्डो खन्न लगाएर गोली ठोक्दै त्यही खाल्डोमा ढाल्दै गरेछन । एउटै घटनामा गुरुङलाई मात्र झुक्याएर ५० जनालाई मारे । मलाई गुरुङहरु घेर्न आए । यत्रो गुरुङ मारिए । तँ मन्त्री भएर के गरिस् ? भन्न थाले । मैले मत्रीपरिषदको बैठकमा कुरा उठाए । तुलसी गिरी बोलेनन् । महेन्द्रले ‘हो र त्यसो भयो ! म बुझछु’ भनेका थिए । जवाफ नआएपछि राजिनामा दिए । सिंहदरवार गइन । महेन्द्रले सोच नत्र हटाउछु भने । मैले फिर्ता लिइन । त्यसपछि स्वीकृत गरे । राजाले मलाई भन्दा बिग्रेको काङग्रेस गिरीलाई विश्वास गर्यो । आफ्नै घर भाँड्नेले अर्काको घर बनाउदैन नी ।

मन्त्रीज्यू, तपाई जेल पनि बस्नु भयो । के आरोप थियो व्यवस्थाको तपाई माथि ?

२०२५ सालमा जनजातिलाई उक्साएको आरोपमा पक्राउ गरेर २ बर्ष ६ महिना जेल हाले । मलाई पोखरा व्यारेकमा राखेका थिए । जनजातिको सङगठन बनाउन लगाउने नै राजा महेन्द्र हुन । २०२४ तिर सूर्यबहादुर मन्त्री भइसक्यको थियो । पञ्चायती व्यवस्थामा भारत परस्तहरु हावि हुदै गए । भारत विरोधी भनिएकाहरुलाई कुनामा पार्दै लगियो । सूर्यबहादुरलाई शक्तिमा ल्याएको भारतलाई खुशी पार्न रहेछ । भारतलाई खुशी बनाउन मलाई जेल हालेका हुनसक्छन ।

राजाबादीहरुबारे यहाँको धारणा ?

ज्ञानेन्द्र आफै लठुवा खालको मान्छे छ । राजा भएकै हो बचाउन सकेन । अब आएर के नै हुन्छ र ! मोदीलाई पनि भुटानको जस्तो कठपुतली राजा चाहिएको छ । भुटानले त छोड्दैछ । (हाँसो)

प्रसङ्ग बदलौ, तपाईले देब गुरुङ मार्फत २०५१ सालमा माओवादीलाई हतियार दिनु भएको भन्ने चर्चा छ नी ?

देब गुरुङका बाउ बाजेहरु हाम्रा भरिया,सहयोगी थिए । हामीले नै पढने व्यवस्था गरिदिएको हो । त्यसैले उनी माथि विश्वास थियो । देब गुरुङ म नभएको बेला घरमा आएर शिकार खेल्न जान लागेको भनेर भाउजुसंग मागेर लिएका रहेछन । त्यसरी २ वटा जर्मन राईफल लगेको हो । लमजुङको गणेश बहादुर गुरुङले पनि बारबोर दियो भन्थ्यो । मलाई त्यो कुरा थाहा भएन । हामी राजा खलक,भन्सार ठेकेदार,तिब्वतका विश्वास पात्र,राजाका विश्वास पात्र र मिलिसिया निर्माता तथा खम्बाहरुसंग लडेर बसेका कारण हतियार थुपै्र थिए ।

मन्त्रीज्यू, एमसीसी सरकारले पारित गरेको छ । यसको विषयमा यहाँको धारणा ..?

चीन विश्व शक्ति बन्दैछ । त्यसैले उसलाई शान्ति चाहिएको छ । अमेरिका कमजोर हुदैछ । त्यसैले उसलाई युद्ध चाहिएको छ । हतियार वाहेक अमेरिकाले बेच्ने कुरा पनि छैन । तर अमेरिका आयो भने चीनले छोड्दैन भन्ने मेरो सूचनामा छ । त्यसैले प्रचण्ड र देउवाले नेपाललाई युक्रेन बनाउदैछन । काङग्रेस दिल्लीको इसारामा बनेको पार्टी हो । त्यसको के कुरा गर्नु ! प्रचण्ड पनि राष्ट्रघाती बनेर आयो ।

मन्त्रीज्यू , समय दिनु भयो धन्यवाद छ र सुस्वाथ्यको कामना गर्दछौ । अन्तीममा थप केही भन्न चाहानु हुन्थ्यो कि ?

विप्लवसंग राष्ट्रबादी छवि देख्छु । उसले गरेको कुरा र काम राम्रो छ । विप्लव कमरेडलाई नभेटेको धेरै भयो । भेट्न मनलागेको छ । भेट भयो भने खवर गरिदिनु होला ।
(पुष्पलाल श्रेष्ठका अनुरागी स्थानेश्वर दवाडी,भरतपुर,क्षेत्रपुर,चितवन हाल वुढानिलकण्ठ निवासीको सहयोगमा गरेको वार्तालापको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।