३ जेष्ठ २०८१, बिहीबार

नेकपाको भुकम्प पीडित एकीकृत जनसहायता टिमले हालसम्म गरेका कामहरु यस्ता छन्

0

तुलसीपुर: नेकपाको भुकम्प पिडित एकीकृत जनसहायता टिमले भुकम्प प्रभावित क्षेत्रमा हालसम्म गरेका कामहरु सार्वजनिक गरेको छ ।
टिमका प्रमुख एवम नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यहरु सार्वजनिक गरेका हुन् ।

जारी प्रेस विज्ञप्तिमा उद्दार, राहत र अस्थायी आवास निर्माण गरि तीन चरणमा अभियान चलाइएको र सबै अभियानमा पार्टीका महासचिव विप्लव सीको निर्देशनमा रोल्पा, दाङ-देउखुरी, कपिलवस्तु, रुपन्देही, नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, भुकम्प प्रभावित जिल्ला पश्चिम रुकुम, सल्यानका ४५० भन्दा बढी स्वयंसेवकहरु फिल्डमा अहोरात्र खटेको जनाइएको छ ।

यस्तै विज्ञप्तिमा कार्तिक २४ गते पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सीले पार्टीको आफ्नै खाद्य भण्डारको चामल सहित विभिन्न सहयोगी मनहरुले उपलब्ध गराएको एक कन्टेनर राहत सामाग्रीसहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यान पुगि सबै राहत सामाग्री स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीमार्फत जनतासम्म पुर्याउने गरि हस्तान्तरण गरिएको उल्लेख गरिएको छ भने जाजरकोट च्युरीडाँडाका भुकम्प पिडित कले विकको घर निर्माण गरेर रुकुम पश्चिम घेत्माका आफन्त गुमाएका जनताको दुख, पीडा र शोकमा सहभागी हुँदै आठविस्कोट छेपारेका भुकम्प पीडित मान बहादुर विकको अस्थायी आवास निर्माण गरि अस्थायी आवास निर्माणको सुरुवात महासचिव विप्लव सीले गर्नुभएको जानकारी दिइएको छ ।

पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दाङ जिल्लामा केन्द्रित भएको राहत सामाग्री पार्टीका पिबिएम असल सी, राप्ती ब्युरो इन्चार्ज सविन सी, केन्द्रीय सदस्यहरु सम्झना सी, प्रदिप सी र चन्द्र सीको प्रत्यक्ष सहभागितामा रुकुम पश्चिमका भुकम्प पीडितलाई वितरण गरिएको, घाइतेहरुलाई उपचार सहायता उपलब्ध गराइएको साथै केही राहात सामाग्री सल्यानका भुकम्प पीडितलाई उपलब्ध गराउने गरि पार्टीका सल्यान जिल्ला सचिव मदन सीलाई हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दोस्रो चरणको अभियानमा घुम्ती टिम र स्थानीय पार्टी समितिहरुद्वारा विस्तृत तथ्यांक संकलन गर्ने, भत्किएका अस्थायी संरचनाको व्यवस्थापन गर्ने र अती विपन्न सुत्केरी, विरामी र अशक्तहरुको अस्थायी आवास निर्माणमा अभियान केन्द्रित भएको स्पष्ट गरिएको छ ।

यस्तै जारी प्रेस विज्ञप्तिको पाँचौ बुँदामा तेस्रो चरणको पहिलो सिफ्टको काम मंसिर ३० गते सम्पन्न भएको र उक्त अवधिमा पुर्वी लुम्बिनी ब्युरोबाट इन्चार्ज पोलिट ब्युरो सदस्य बसन्त सीको नेतृत्वमा सल्यान र पश्चिम लुम्बिनी ब्युरोको तर्फबाट केन्द्रीय सदस्य जागृति सीले रुकुम पश्चिममा अस्थायी आवास निर्माणको प्रत्यक्ष नेतृत्व गर्नुभएको जनाइएको छ ।

साथै जारी बिज्ञप्तिमा हालसम्म सल्यान र रुकुममा १०० भन्दा बढी भत्किएका घरको व्यवस्थापन गरेको, रुकुम पश्चिम आठबिस्कोट १३ स्थित जनजागरण माध्यामिक विद्यालयको भत्किएको भवन व्यवस्थापन गरेर अस्थायी कक्षाकोठाहरु निर्माण गरेको साथै रुकुम पश्चिममा १५६, सल्यानमा ५२ गरि कुल २०८ अस्थायी आवास निर्माण सम्पन्न भएको जनाइएको छ भने १०४० भुकम्प पिडित नागरिकलाई अस्थायी आवासमा पुनर्स्थापना गरिएको, १२० जना विद्यार्थीलाई अस्थायी कक्षा कोठामा सारिएको बताइएको छ ।

जारी विज्ञप्तिको अन्त्यमा अभियान निरन्तर जारी रहने जनाइएको छ । साथै अभियान सहयोग गर्ने, सहभागी हुने, प्रेरणा दिने, सहानुभूति दिने, सद्भाव कायम गर्ने र भुकम्प पीडित जनताको पिडामा मलम लगाउने सबैलाई सम्मानपूर्वक अभिवादनसहित धन्यवाद व्यक्त गरिएको छ ।

कार्तिक १७ गते राती ११:४७ बजे जाजरकोट जिल्लाको रामीडाँडालाइ केन्द्र्विन्दु बनाएर गएको विनाशकारी भुकम्पले जाजरकोट, पश्चिम् रुकुम र सल्यानमा पुर्याएको मानवीय एवम भौतिक क्षतिप्रती दु:ख व्यक्त गर्दै नेत्र विक्रम विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी राहत, उद्दार र पुनर्निर्माणमा निरन्तर जुटिरहेको छ । सो पार्टीले भुकम्प पीडित एकीकृत जनसहायता घुम्ती टिम बनाएरै पिडित परिवारको अस्थायी आवास निर्माण जुटेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।