१२ पुष २०८१, शुक्रबार

जनयुद्ध र शान्ति प्रक्रियाका महत्वपूर्ण घटनाहरु

0

विषय प्रवेश
नेपाली जनताको मुक्तिको लागि तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा विस २०५२ साल फागुन १ गते महान जनयुद्धको सुरु भएको थियो । जनयुद्धले राजतन्त्रात्मक प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्दै जनवादी गणतन्त्र हुदै समाजवाद र साम्यवाद सम्म पुग्ने लक्ष्य र उद्देश्य लिएको थियो । यसले नेपाली समाजको अग्रगामी रुपान्तरणको महान सपना देख्यो । नेपाली जनता आफ्नो सपना पुरा हुने महान आशा र अभिलासा राख्दै जनयुद्धमा हाम फाले । १० औ हजार नेपाली आमाका होनहार छोरा छोरीहरुको जनयुद्धमा रगत बग्यो । निरंकुश राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध ऐतिहासिक सयौ लडाईका मोर्चाहरु जित्दै महान जनयुद्ध आयो । तर २०६२ सालमा तत्कालिन ७ संसदवादी दल र नेकपा (माओवादी)का बिचमा १२ बुँदे सम्झौता पछि जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गरियो । जनयुद्धको जग र १९ दिने जनआन्दोलनको बलले संंविधान सभाको निर्वाचन भई २०६५ सालमा राजतन्त्रको अन्त्य भयो भने नयाँ संविधानको रुपमा २०७२ सालमा पुरानै ढर्राको संधिवान जारी गरियो । जसका कारण नेपालमा जनयुद्धको सबै सपना पुरा हुन पाएन । माओबादी भित्रको एउटा शक्ति संसदवादी राजनीतिकै आहालमा डुब्यो । जनयुद्धकै कारण संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना,धर्म निरपेक्षता,समानुपातिक तथा समावेशिताको मुद्धा र नाराहरु स्थापित भए । यस्तै नेपाली जनताको सामन्तवादी व्यवस्थाको प्रमुख दुश्मन राजतन्त्रको विधिवत अन्त्य पनि भयो । यी केही सापेक्षिक उपलब्धिहरु पनि भए । तर पनि यी उपलब्धिहरु नेपाली जनतासम्म पुग्न पाएनन् । आज यी उपलब्धिहरु एउटा दलालवर्गको हालमा पुगेका छन । फेरी पनि संसदीय व्यवस्थाको सुदृढिकरण हुने काम भयो । यसले जनयुद्धको मर्म पुरा हुन सकेन । पछिल्लो पटक विचार दृष्टिकोणमा आएको अन्तरले माओवादी आन्दोलनमा विभाजन पनि भयो । माओवादी आन्दोलन कमजोर जस्तो भयो । प्रतिक्रियावादी दलाल तथा साम्राज्यवादी शक्तिहरु जनयुद्ध विरुद्ध निरन्तर लागि रहेका छन । जनयुद्धलाई इतिहासको अपराधीक युद्ध सावित गर्ने पक्षमा उभिएका छन । जनयुद्धको अवमूल्यान गर्न खोजिदैछ । बास्तवमा जनयुद्ध के थियो ? यसले के गरेको थियो ? जनयुद्धकाले गर्दा नेपालमा के कस्ता घटना तथा परिवर्तनहरु भएका थिए ? यहाँ संक्षिप्त रुपमा उल्लेख गर्न खोजिएको छ ।

(१) २०५२ साल

फागुन १ गते नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात भयो । रोल्पाको होलेरी, रुकुमको रुकुमकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा भए । फागुन ६ गते नेकपा (माओवादी) का तत्कालिन महामन्त्री क. प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्बाहीहरूको जिम्मेवारी स्वीकार गरियो । फागुन १४ गते गोरखामा प्रहरीद्वारा ११ वर्षीय बालक दिलबहादुर रम्तेलको गोली हानी हत्या गरियो भने फागुन १५ गते रुकुमको पीपलमा छ जना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या गरियो ।

(२) २०५३ साल

वैशाख २४ गते रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस भयो । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा भए । असारमा माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु भयो । पुस १९ गते रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा भयो । जनयुद्ध सुरुवातपछि प्रहरी चौकी कब्जा भयो । यो पहिलो घटना थियो । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको सहादत्त भयो ।

(३) २०५४ साल

असारमा माओवादीको केसको बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं भन्ने मूल नारासहितको तेस्रो योजना पारित गर्यो । भदौमा तनहँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा भयो । माघ २२ गते धादिङको खहरेमा एम्बुस, दुई राइफल र नेपाल बैङ्क लिमिटेडको बीस लाख रुपियाँ कब्जा भयो । फागुन २४ गते रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस तथा दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा भयो । चैत ४ गते गोरखाको सौरपानीमा एम्बुस तथा तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा भयो ।

(४) २०५५ साल

वैशाखमा तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लुट’को किलो शेरा टू नामक क्रूर अपरेशन रोल्पा,रुकुम कालिकोट लगायतका जिल्लामा सञ्चालन गर्यो । प्रहरीद्वारा यो अपरेशनको क्रममा पाँच सय जनताको हत्या भयो । भदौमा नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न भयो । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ’ भने मूल नारा तय गर्यो । कात्तिक १० गते छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा गर्यो भने पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा भयो । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा भए । फागुन १९ गते दाङको चिराघाट प्रहरी चौकी कब्जा भयो । चैत ५ गते काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारहरूको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या गरियो । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरिएको छ ।

(५) २०५६ साल

वैशाख १९ गते रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा भयो । कालिकोटको पोदमारा प्रहरी चौकी र पादमघाट प्रहरी चौकी कब्जा भए । जेठ ६ गते नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता पारियो । आजसम्म ५००० भन्दा बढी नागरिक बेपत्ता छन । जेठ ३१ गते जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा भयो । भदौ २३ गते नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘वासु’को गोरखामा गिरफ्तारपछि हत्या भयो । असोज ५ गते रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा भयो । छापामारद्वारा डीएसपी ठूले राई कब्जा भए । फागुन ६ गते रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा भए । यसपछि प्रहरीहरू केन्द्रीकृत भए । चैत २१ गते रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा भयो भने चैतको अन्त्यमा गोरखाको हर्मी प्रहरी चौकी पनि कब्जा भयो ।

(६) २०५७ साल

असार १९ गते जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा भयो । भदौ ७ गते नवलपरासीको धवाडी इप्रका र भदौ १४ गते झापा महवारी इप्रका कब्जा भए । असोज ८ गते पहिलो पटक सदरमुकाममाथि आक्रमण गर्दै डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा भए । असोज १० गते लमजुङको भोर्लेटारमा इलाका प्रहरी र कात्तिक २० गते रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा भए । मंसिर १४ गते कोटवाडा प्रहरी चौकी कब्जा भयो । पुस ५ गते नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा भयो । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख भए । फागुनमा नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भयो । प्रचण्डपथ पारित भयो । अध्यक्षमा प्रचण्ड निर्वाचित भए । दक्षिण एसियाली फेडेरेशनको अवधारणा पारित भयो । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं, केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ’ भन्ने मूल नारा तय भयो । चैत १७ गते गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक गरियो । चैत १९ गते रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा भए ।

(७) २०५८ साल

जेठ ८ गते ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा भयो । जेठ १९ गते दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास भयो । जेठ २० गते माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड दियो । जेठ २२ गते ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा गरियो । असार २५ गते लमजुङको विचौर प्रहरी चौकी कब्जा र असार २८ गते रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा भए । शाहीसेनाको परिचालन प्रयास असफल भयो । असार ३० गते रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा र साउन ६ गते ते¥हथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा भए । साउन ७ गते बाजुराको पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा भयो । साउन ४ गते माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन भयो भने देउवा सरकार गठन भयो ।
साउन ८ गते पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा भयो । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर दिईयो । साउन १२ गते कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीको वार्ता टोली कीर्तिपुरमा सार्वजनिक भयो । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा भयो । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा भयो । साउन ३१ गते विभिन्न राजनीतिक दल र माओवादीबीच भारतको सिलगुडीमा वार्ता भयो । कात्तिक २८ गते तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न भयो । मङ्सिर ६ गते माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह गरियो ।

मङ्सिर ८ गते जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड भए । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा भयो । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक गरियो । जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा गरियो । मङ्सिर १० गते पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु भयो । मङ्सिर ११ गते देउवा सरकारद्वारा सङ्कटकालको घोषणा गरियो । शाहीसेनाको औपचारिक परिचालन भयो । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार गरिए ।
मङ्सिर १२ गते शाहीसेनाद्वारा भीषण अपरेशन सुरु भयो । जताततै गिरफ्तारी, धरपकड, हत्या र राज्य आतङ्क गरियो । मङ्सिर २२ गते शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द गरियो । फागुन ४ गते जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्टमा रहेको सशस्त्र प्रहरीको वेस क्याप कब्जा गरियो । भीडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु भयो ।

(८) २०५९ साल

वैशाख १९ गते रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भीडन्त भयो । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टिफिकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा गरियो । जेठ ८ गते मुख्यतः माओवादीविरुद्ध लगाईएको सङ्कटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन गरियो । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण गरियो । जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को १३ गते हिरासतमै कुटीकुटी हत्या गरियो । असार २ गते माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या गरियो । असार २८ गते भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी गरियो ।

भदौ २३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा भयो । असोज १७ गते संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती गरियो । असोज १८ गते ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन गरियो । कार्यकारिणी अधिकार कब्जामा लियो । कात्तिक २८ गते कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा भयो । मङ्सिर १८ गते लाहानमा रहेको इप्रका र बैङ्क कब्जा भयो । माघ १२ गते सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए । माघ १५ गते माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा भयो ।
माघ १८ गते बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा भयो । माघ २९ गते युद्धविराम आचार संहिता जारी भयो । चैत १५ गते वार्ता टोली सार्वजनिक भयो । राजधानीमा पत्रकार सम्मेलन भयो । चैत २० गते काठमाडौँमा विशाल आमसभा गर्दैै वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन गरियो ।

(९) २०६० साल

वैशाख १४ गते दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा भयो । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता भयो । साउन ३२ गते पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा भयो । सोही दिन रामेछापको दोरम्भामा शाहीसेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या गरियो भने शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित भयो । भदौ १० गते नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा भयो । देशव्यापी प्रतिरोध कार्बाही सुरु भए । काठमाडौँमा जनसेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया गरियो ।
कात्तिक १० गते जनसेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु भयो । कात्तिक ११ गते पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा यो । कात्तिक १६ गते पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु भयो । कात्तिक २१ गते नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन । कात्तिक २९ गते त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु भयो ।
मङ्सिरमा नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता भयो । पुस २ गते जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु भयो । पुस २५ गते सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा भयो । माघ २ गते तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा भयो । अध्यक्षमा हितबहादुर तामाङ भए । माघ ५ गते खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा भयो । माघ १५ गते सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा भयो । अध्यक्ष लेखराज भट्ट निर्वाचित भए । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा भयो । माघ १६ गते तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा भयो । प्रमुखमा देव गुरुङ भए । माघ १९ गते किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा भयो । गोपाल खम्बु प्रमुख भए । माघ १० गते मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा गर्दै प्रमुखमा मातृका यादव भए ।

माघमा भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी गरियो । फागुन १९ गते जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण भयो । टावरको सैन्य क्याम्प कब्जा भयो । चैत ७ गते जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला भयो । २४ घन्टासम्म सदरमुकाम कब्जा भयो । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु भयो । चैत १३ गते नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इञ्चार्ज क. किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार गरियो । चैत २२ गते धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा भयो । चैत २५ गते पशुपतिनगर इप्रका कब्जा भयो ।

(१०) २०६१ साल

वैशाख ३१ गते माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमाण्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा सहादत्त भयो । जेठ ६ गते डोटीको घन्टेश्वरमा जनसेना र शाहीसेनाको भिडन्तमा। डेढ दर्जन शाहीसेनाको मृत्यु भयो । असार ३ गते अखिल (क्रान्तिकारी) द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता गराउन सफल भयो । साउन÷भदौमा माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ, वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित भयो ।

भदौ २० गते माओवादी केन्द्रीय सदस्यद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या गरियो । मङ्सिर १ गते जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस थाप्दा शाहीसेनाको एक ट्रक हतियार कब्जा भयो । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला भयो । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा भयो । मङ्सिर २ गते बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु भयो । सबै हतियार कब्जा भए । मङ्सिर ५ गते कैलालीको पाण्डोनमा जनसेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को सफाया भयो । ६ थान एम ः १६ सहितका हतियार कब्जा भए । मङ्सिर ५ गते नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन भयो ।
पुस ३ गते काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा भयो । पुस ७ गते कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला गरी १५ शाहीसेनाको सफाया भयो । पुस १७ गते धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुसमा परी २० शाही सुरक्षाकर्मीको मृत्यु मृत्यु भयो । माघ १९ गते ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन भयो । शाही ‘कू’ विरुद्ध माओवदी अध्यक्षको अपिल आयो । माघ २०–२२ ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द भयो । फागुन १ गते माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन गरियो । चैत २०–३० सम्म माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल गरियो ।

(११) २०६२ वैशाख

वैशाख २६ गते जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण गरियो । जेठ २७ गते काभ्रेको नार्केमा शाहीसेनामाथि जनसेनाको आक्रमण भयो । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण भयो । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु भयो । असार ८ गते जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण भयो । ८ शाहीसेनाको मृत्यु भयो । असार ११ गते जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृत्यु भयो । साउन २३ गते कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प कब्जा गर्दै सम्पूर्ण हतियारसहित कब्जा भयो । असोज १८ गते नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा भयो ।

मङ्सिर ७ गते सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक भयो । मङ्सिर १३ मा माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक भए । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा भयो । मङ्सिर १४ गते शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘सुनिल’को सहादत्त भयो । मङ्सिर १७ गते माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप गरियो । पुस १८ गते माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा भयो । देशभरी प्रतिरोध सुरु भयो । माघ १ गते जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा भए । माघ ८ गते पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा भयो । माघ २६ गते माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त भयो । माघ २७ गते जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण भयो । २५ शाहीसेनाको मृत्यु भयो । भारी मात्रामा हतियार कब्जा भए । चैत २४ गते सात दल–माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु भयो ।

(१२) २०६३ साल

वैशाख ११ गते व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल भयो । राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गरियो । जेठ ४ गते पुनस्र्थापित प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा भयो । जेठ १२ गते नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी गरियो । असार २ गते नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता गर्दै आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक भए । आठबुँदे सहमति भयो । साउन २४ गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै व्यहोराको पत्र प्रेषित गरियो ।

कात्तिक २२ गते सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता भयो । ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय भयो । मङ्सिर ५ गते सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत शान्ति सम्झौता गर्दै १० बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा गरियो । माघ १ गते नेपालको अन्तरिम संविधान जारी गर्दैै संविधानसभाको चुनाव गर्ने अठोट गरियो । चैत १८ गते नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन भयो ।

(१३) २०६४ देखि हाल सम्मका घटनाक्रमहरु

०६३ यता अहिले सम्म माओवादी १० बटा सरकारमा सहभागी ३ वटा प्रचण्ड र १ वटा वाबुराम भट्टराई सहित चार वटा सरकारको नेतृत्व ।
२०६४ को संविधानसभा निर्वाचनमा माओवादी २४० क्षेत्रमध्ये १२० ठाउँमा विजयी समानुपातिक १०० सिट सहित २४० सिट सबै भन्दा ठुलो दल ।
२०६४ को निर्वाचनमा माओवादी पार्टीको नाम नेकपा (माओवादी) ।
२०६४ को निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौंबाट विजयी ।
२०६४ भदौमा माओवादीको सरकारबाट बाहिरिने घोषणा ।
२०६४ मंसिरमा फेरि सरकारमा फर्किने निर्णय ।
२०६५ साउन ३१ देखि २०६६जेठ ९ सम्म पहिलो पटक प्रचण्ड प्रधानमन्त्री ।
२०६५ सालमा माओवादी र तत्कालीन नेकपा एकता केन्द्र बीच एकता ।
२०६५ मा पार्टी छाडेका मातृका यादव माओवादीमा प्रवेश ।
२०६६ मा माओवादीद्धारा बहुपद सिर्जना ।
२०६८ भदौ १२ देखि २०६९ फागुन ३० सम्म वावुराम भट्टराई पहिलो पटक प्रधानमन्त्री ।
२०६८ साल फागुन २८ गते सेना समायोजनाको नाममा जनमुक्ति सेनाको नेपाली सेना परिचालन गरी व्यारेक कब्जा ।
२०६९ असारमा उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन ।
२०७० को संविधानसभा निर्वाचनमा २६ ठाउँमा मात्रै माओवादी सीमित ।
२०७० मा पार्टीको नाम नेकपा एकीकृत माओवादी ।
२०७० मा प्रचण्ड काठमाडौंबाट प्राजित र सिराहाबाट विजयी ।
२०७१ मंसिर ८ गते बैद्यबाट अलग भएर विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी माओवादी पूनर्गठन ।
२०७१ भदौमा माओवादी नेता पोष्टबहादुर बोगटीको निधन ।
२०७२ मा संविधान जारी भएलगत्तै बाबुराम भट्टराईद्धारा पार्टी परित्याग ।
२०७३ साल फागुन १ गतेको पार्टीको आठौ महाधिवेशनबाट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्दै एकीकृत जनक्रान्तिको कार्यदिशा पारित ।
२०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री ।
२०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी गठबन्धन ।
२०७४ मा प्रचण्डको पार्टीको नाम नेकपा (माओवादी केन्द्र)
२०७४ वैसाख ३१ गते स्थानीय चुनाव वहिष्कारका क्रममा कालिकोटको माल्कोटमा प्रहरीको गोली लागि धनरुप वटाला एकीकृत जनक्रान्तिको पहिलो सहिद ।
२०७४ असार १२ गते चन्द्रवहादुर सिंह (सनराईज) सहिद ।
२०७४ मा प्रचण्ड चितवनबाट निर्वाचित ।
२०७५ जेठ ३ मा एमाले र माओवादी बिच पार्टी एक भएर नेकपा (नेकपा) गठन ।
२०७५ मै एकतासँग असन्तुष्ट बनेका गोपाल किराँतीद्धारा नेकपा माओवादी केन्द्रमै रहेको घोषणा ।
२०७५ फागुन २८ गते विप्लवको नेतृत्वको नेकपामाथि प्रतिवन्ध ।
२०६७ जेठ ७ गते तिर्थराज घिमिरे (राजु) सहिद ।
२०७६ जेठ १२ गते गोकुल रानामगर (महान),प्रज्वल शाही,विभूराम विक (दिपेन्द्र),कृष्ण प्रसाद भण्डारी (निरन्तर) काठमाडौमा आन्तरिक दुर्घटनामा सहिद ।
२०७६ जेठ ३२ रामकुमार श्रेष्ठ सहिद ।
२०७६ असार ५ गते सर्लाहीमा कुमार पौडेललाई प्रहरीको निर्मम यातना र गोली हानी हत्या र सहिद ।
२०७६ असार २५ निरकुमार राई (प्रशान्त) सहिद,
२०७६ साउन २ रामवहादुर सिंह (राजेश) सहिद ।
२०७७ फागुन २३ को सर्वोच्च अदालतद्धारा एमाले माओवादीको नेकपा विघटन ।
२०७७ साल फागुन २१ गते विप्लवको नेकपामाथिको प्रतिवन्ध फुकुवा र ३ बुँदे सहमति
२०७९ वैसाख २६ गते नेकपाबाट धर्मेन्द्र सुदर्शनको वहिर्गमन ।
२०७९ असोज २५ गतेदेखि कार्तिक २ गते सम्म नेकपाको नवौ महाधिवेशन शिवगढीमा सम्पन्न ।
२०७९ पुस ११ देखि हाल सम्म तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री ।
२०७९ चैत्र १ नेकपा र नेकपा माओवादी समाजवादी बिच पार्टी एकता ।

निश्कर्षः आखिर जनयुद्धको सपना किन भएन पुरा ?

हामी सबैले सजिलै माथि उल्लेख गरिएका राजनीतिक परिवर्तका घटनाक्रमहरु बुझन सक्छौ । यत्तिका ठुल्ठुला घटना तथा परिवर्तनका लागि संघर्षहरु हुदा पनि माओवादी जनयुद्ध सफल विन्दुमा पुग्न सकेन । यो हामी सबै माओवादीको लागि दुख कुरा हो । यसको एउटै कारण हो माओवादी आन्दोलनमा आएको वैचारिक स्खलन । विचारमा माओवादी मुल नेतृत्वमा विचलन पैदा भएपछि कुनै पनि क्रान्तिकारी आन्दोलन विजयीमा पुग्न सक्दैन थियो र नेपालमा पनि सकेन । समस्या अरु होइन माओवादी भित्रै हो । समस्या संसदवादी होइन समस्या माओवादी भित्रको संसदवादी दलला चरित्रको थियो । जब जनयुद्धका मूल्य मान्यताहरु माथि घात गर्दै व्यक्तिगत पद र प्रतिष्ठामा नेताहरु अझै मुल नेता केन्द्रीत हुदा जनयुद्धले धोका खानु अनौठो होईन । यो नेपाली माओवादी आन्दोलनको तितो सत्य हो । जसले गर्दा माओवादी आन्दोलनमा रहर नभई बाध्यताले विभाजन पैदा भयो । अहिले माओवादी आन्दोलन कमजोर दिशातिर गयो । हिजो जाँड रक्सी खानु हुदैन,भ्रष्टाचार गर्नु हुदैन,दलाली गर्नु हुदैन भन्ने एकथरी माओवादी संसदवादीहरुलाई उझिन्दै संसदवादमा रमाएका छन । सत्ता र कुर्सीसंग देश र जनतालाई दाउ हान्ने प्रवृति देखिएको छ । जसले गर्दा माओवादी आन्दोलन कमजोर भएको हो भन्ने कुरा माथिका तथ्यहरुले पनि देखाएको छ । माओवादी भित्रको विश्वासको संकट अहिले पैदा भएको छ । एकले अर्कोलाई विपरित धुव्रको रुपमा देख्ने गलत प्रवृति देखिएको छ । यी तमाम समस्याका कारण जनयुद्धको सपना पुरा हुन सकेको छेन । प्रचण्डबाट अलग हुदै वैद्यको नेतृत्वमा विभाजन भएको माओवादी विप्लवको नेतृत्वको नेकपा सम्म आई पुगेको छ । यो विभाजन बाध्यताको उपचको रुपमा लिनु पर्छ होला ।

किन कि अहिले सिंगो माओवादी आन्दोलनको समीक्षा गर्ने बेला आएको छ । संसदीय दलाल पुँजीवादले देशमा निम्त्याएको संकट हो । साम्राज्यवादी हस्तक्षेपले ल्याएको संकट हो । यो संकटबाट मुक्तिपाउन नेपालमा वैज्ञानिक समाजवाद आवश्यक छ । नेपाली विशेषताको समाजवादको पनि चर्चा भईरहेको छ । आज संसदवाद भन्दा माथि उठेर सत्तामा भएका माओवादीहरु समाजवादी आन्दोलनका लागि एक्तावद्ध हुन जरुरी छ । अनि मात्र जनयुद्धको अधुरो सपना साकार पार्न सक्छौ । नत्र प्रतिगामी शक्तिहरुले जनयुद्धलाई परिवर्तनको आन्दोलनको रुपमा स्वीकार नगरेर एउटा अपराधीकरणको युद्धको रुपमा चित्रण गर्ने दुश्कर्महरु गरिरहेका छन । यदि जनयुद्धलाई अपराधीक युद्धको नजिर बनाउन खोजियो भने नेपालमा ठुलो दुर्भाग्य हुनेछ । अझै नेपालमा साम्राज्यवादको विगविगी बढ्नेछ । परिवर्तन गुम्ने छ । देश अर्को द्धन्द्धतिर धकेलिने सम्भावना छ । यसअर्थ अव समाजवादका लागि सबै माओवादीहरु एकतामा आउनुको विकल्प छैन । जनयुद्धलाई सबै माओवादीहरुले आत्मसात गरौं । सहिदहरुको सपना पुरा गर्ने प्रणव गरौं ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।