कालिकोट । दैलेखको भगवतीमाई गाउँपालिका वडानम्वर ६ घर भएका पूर्वबहादुर मिजार कालिकोटको मान्म बजार बसेको २७ बर्ष पुरा भयो । उनको साविक ठेगाना कट्टी गाविस वडा नम्वर ७ दैलेख हो । उनी मान्ममा बसेर छालाको जुत्ता सिलाउने पेशा गर्छन । उनले सिलाएको जुत्ता निकै भरपर्दो र विश्वसनीय पनि छन । उनको बजार पनि राम्रै छ । यहि पेशाबाट परिवारको पालन पोषण छोरा छोरीको शिक्षा दिक्षा राम्रैसंग पुर्याएका छन । उनको पेशा अरुको लागि प्रेरणाको विषय बन्न थालेको छ । अहिले बजारमा केही नयाँ पसल पनि थपिएका छन । पूर्णबहादुर अरुलाई सीप सिकाउदै हिडेका पनि छन । तर उनको पेशामा लाग्दाको सन्तुष्टि भने छैन । उनले जाति र पेशाकै कारणले धेरै विभेदहरु सहनु पर्यो । उनले आफ्नो जीवनकालमा दलित भएकै कारण धेरै दुख खेप्नु परेको र सङ्ंघर्ष गर्नु परेको बताए ।
‘म कालिकोटको मान्ममा विस २०५३ सालमा आएको हुँ । त्यतिबेला मान्ममा जुत्ता सिउने सार्की कोही थिएन । मेरो जन्मघर दैलेख हो । अहिले मलाई दैलेखवासी जस्तो लाग्दैन । मेरो आधा जीवन यहि जुत्ता सिलाउदै वित्यो । तर पनि मलाई बाहिरको हो भन्ने टोपी लगाईन्छ । जसले गर्दा धेरै सङ्ंघर्ष गरिरहेको छु’ जनपत्रिकासंगको कुराकानीमा पूर्ण बहादुर मिजारले भने ।
उनको जन्म विस २०३० साल असोज १५ गते भएको हो । उनका ५ दाजु भाई र ३ दिदि छन । उनी सुरुमा जुम्ला बसेका दाईसंग जुत्ता सिउने काम गर्थे । पछि पूर्णबहादुर मान्म आएर बसेका थिए । मान्ममा मात्रै करिव ३ दशक जुत्ता सिउने र अरुको खुट्टाको सुरक्षा दिने पेशा गरेका पूर्णवहादुर आफ्नो सीप प्रति गर्भ गर्छन । उनी धेरै पटक राष्ट्रिय रुपमा सम्मानीत पनि भएका छन । उनका १ श्रीमती १ छोरा ३ छोरी छन । उनी दैलेखबाट कालिकोटमा ०५३ सालदेखि बस्दै आएपनि आधिकारीक बसाईसराईको कागजपत्र ल्याएर विस २०६३ सालमा आएका थिए । उनले छोरा छोरीको नागरिकता समेत कालिकोट जिल्ला प्रशासन कार्यालयबाट बनाएका छन । तर पनि उनको मनमा बाहिरको भन्दा निकै दुख लाग्ने गरेको छ । उनले भने ‘म सबैलाई भन्दैन तर केही मान्छेहरु बाहिरको भनेर र दलित भनेर हेप्न सम्म हेपे । धेरै जातीय विभेद सहनु पर्यो’ आफ्नो जीवनमा भोग्नु परेका ४ बटा घटना भने कहिलै नबिर्सिने गरी अहिले पनि उनले झल्झती सम्झिरहेका छन ।
उनले आफ्नो पहिलो घटना सबिस्तार गर्दै भने ‘म २०५३ मा मान्म पुगेपछि केही समय व्यापारको तयारी गरे । ०५३ सालबाट जुत्ता सिलाउने काममा लागे । म एउटा शेर्पाको घरमा माथिल्लो तला एउटा कोठा लिएर बसेको थिए । तर घरभेटीले भने तल्लो तलाको बाहिर रक्सी बनाईरहेका थिए । पास हालेका धेरै भाडाहरु रहेछन । त्यो कुरा पुलिसले थाहा पाएछ र छापा हान्यो । म घरको बाहिर थिए । ढोका बन्द थियो । पुलिसले ढोका खोल्न लगायो । मैले मेरो बस्ने माथिल्लो तला हो । तलको कोठा मेरो होइन म खोल्दैन भने त्यो कुरा पुलिसले मान्ने कुरै भएन । जबर्जस्तै ढोका खोल्यो र भित्र गयो रक्सीका भाँडाहरु कब्जा गर्यो । रक्सी बनाउने घरभेटी भेटाउन सकेन । तर पुलिसले मलाई रक्सीको भाँडा बोकाएर जिप्रका लिन खोज्यो । मैले जति सक्दो प्रतिकार गरे । मलाई कोहीले साथ दिएनन् । यो बाहिरको हो भन्ने भयो होला । म जिप्रका पुगे । रक्सी बनाउने घरभेटी भागेर हेलिकप्टरबाट सुर्खेत जान हेलिप्याड पुगिसकेका थिए । त्यो कुरा मेरो बुढीले थाहा पाएछ । त्यतिबेला बनाउने र बेच्नेलाई १० हजार जरिवाना थियो । मेरो बुढी हतार –हतार गर्दै जिप्रका पुगेछन र भनेछन जो रक्सी बनाउने हो उ भागेर सुर्खेत जादैछ, निर्दोश मान्छेलाई थुन्नु हुन्छ ? अनि त्यो कुरा पुलिसले इन्स्पेक्टरलाई भनेछ । पछि इन्स्पेक्टरले उनलाई समातेर लयाउन आदेश दिएछन र हेलिप्याडबाट समातेर ल्याए । शेर्पाले पनि सामान मेरो हो, उहाँलाई छोडदिनुहोस भनेपछि म बल्ल बाहिर निस्किन पाए । मेरो यो जीवनको पहिलो हिरासतको दुखत बसाई थियो ।’
उनले आफ्नो जीवनका सङ्ंघर्षहरु ओकल्ने क्रम जारी नै राखे । जीवनको दोस्रो अविस्मरणीय घटना सुनाउन थाले । उनले भने ‘विस २०५४ सालको कुरा हो । त्यतिबेला मान्ममा धेरै छुवाछुत थियो । दलितले चिया खाँदा पनि भाँडा धुनुपर्ने अवस्था थियो । मैले एउटा चिया पसलमा चिया पिए । मलाई गिलास धुनुपर्छ भन्न थालियो । किन गिलास मैले धुने ? तपाईलाई पैसा दिएको छु भने, तर साहुजीले तल्लो जातिले धुनै पर्छ भन्यो । त्यो कुरा सुन्दा मैले गिलास धुने होईन कि गिलासनै फुटाईदिए र साहुजीसंग प्रतिवाद गरे । एक त भर्खरै दैलेखबाट मान्म आएको थिए । त्यसैमा गिलास फुटाउदा झनै ठुलो विषय भयो । दलित भन्ने साथीहरुले पनि साथ दिएनन् । अनि मलाई जिप्रका लिएर थुन्यो । मेरो कोही सपोर्टमा गएन । मैले आफै प्रहरीसंग घटनाको विषय सबिस्तार बताए । पछि दुई पक्ष बिच छलफल भयो । पुलिसले मलाई भन्दा पसलेको गल्ती भएको औल्यायो । किनकी पैसा दिएपछि भाँडा धुन किन लगाएको ? भन्यो । अनि जातीय छुवाछुत गर्न मिल्दैन भन्यो र मलाई बाहिर छोड्यो । यसले दलित समुदायलाई नयाँ उर्जा दियो । तर पनि दलितहरु डराउने र बोल्न नसक्ने अवस्था मै थिए ।’ गाउँमा भने जनयुद्धको प्रभाव चर्किदै थियो । गाउँमा छुवाछुत गर्नेहरु पनि खुलेर गर्न नसक्ने परिस्थिति हुदै थियो । तर सदरमुकाम मान्ममा चर्को छुवाछुत थियो । पूर्णबहादुर त्यति चपेटामा परेका थिए ।
यतिमात्र होइन उनले दलित भएकै कारण अर्को घटना पनि गाउँमा भोग्नु पर्यो । शान्ति प्रक्रिया पछि उनले त्यो घटना भोग्नु परेको हो । दलित भएकै कारण हेपिएको अन्यायपूर्ण घटनाका बारे संघर्ष गर्दा उनले दलितहरुकै साथ पाएनन् । शाही थरहरुको दबदबा र हैकम गर्ने ठाँउको रुपमा चिनिने रास्कोटमा शाहीहरुले गरेको जातीय विभेद विरुद्ध संघर्षमा उत्रिए । यो उनको जीबनको ऐतिहासिक तथा महत्वको तेस्रो घटना थियो ।
आखिर यो घटना के थियो त ? यसबारे उनले जनपत्रिकालाई भने ‘मेरो लागि कहिलै नबिर्सिने घटना भयो । २०६६ साल फागुनको कुरा हो । म रास्कोटमा ३ महिने जुत्ता सिलाउने तालिम दिन गएको थिए । म ढाडागाँउ बस्थे । गएको करिब एक हप्ता मात्र भएको थियो । एक दिन म सहित घरको दाई हरिस तिरुवा र उनको मगर जातको बुढी घर बाहिर बसेका थियौ । अहिले नाम नभनौ, स्यूनाका दुई जना शाही थरका मान्छे हाम्रो अगाडि आएर आमाको गाली दिन थाले । घरको दाईलाई त्यरो बुढीसंग हामी सुत्छौ सम्म भनेर हेप्न थाले । ए डुम ! कोमारा त्यरो बुढीसंग हामी सुतेरै छोड्छौ भन्न थाले । त्यो कुराको घरको दलित दाईले केही पनि प्रतिकार गर्न सकेनन् । शाही थरका केही मान्छेहरु सधै जसो यस्तै हेपाईका शब्दहरु बोल्ने गर्दा रहेछन । तर मलाई भने असैय भयो । मैले भने तपाईहरु मुख समालेर बोल्नुहोस न के यस्तो बोल्नु हुन्छ भने ? उनीहरुले तो को होस ? भनेर झम्टिन खोजे । चिसोको समय थियो । आगो बालेर बसेका थियौ । मैले पनि आगोको बलिरहेको अगुल्टोले दुवै जनालाई बर्साए । उनीहरु त्यरो विचार गर्छौ भन्दै त्यहाँबाट भागेर गए । घरका मान्छे डरले थरथर काम्न थाले । उनीहरुले भने अब तपाईलाई मार्छन राजा ! तपाई भाग्नुहोस हामी बचाउन सक्दैनौ भन्न थाले । यस्तो कुरा सुनेपछि उनको मगर थरको श्रीमतीले भनिन् ‘मर्द यस्तो हुनुपर्छ, नामर्दहरुले सहएर बस्छन, मर्दहरुले अन्याय अत्याचार सहन सक्दैनन । दाईले जे गर्नु भयो ठीक गर्नु भयो,सुरक्षा प्रतिकार गरेरै हुन्छ ’ भन्न थालिन । स्यूना विजयपुर पहिलै देखिको दादागीरी गर्ने र हेप्ने ठाउँ रहेछ । म त सीप सिकाउन मात्र गएको थिए’ उनले भने ‘पछि म सिधै रास्कोट पुलिस चौकीमा गए । त्यहाँको सईलाई सबै कुरा बताए । अपशव्द बोल्ने दुवैजनाले गाउँबाट अरु केटाहरु ल्याएर आरसीपी बजार र दलित दाईको घरमा मेरो खोजिगरिरहेका रहेछन । पुलिसले पनि चिन्ता नलिनु भन्यो । करिब १ दर्जन पुलिस र म पनि पुलिसको स्वीटर लगाएर उनीहरु भएको ठाउँमा गयौ । करिब साँझ परिसकेको थियो । पुलिसले उनीहरुको ग्याङलाई बेसरी लाठ्ठी बजार्यो । थुलो पिठो हुने गरी कुट्यो र दुई जना शाही थरका मान्छेलाई पक्राउ गरि इप्रका ल्यायो । छलफल भोलि गर्ने गरी मलाई सुत्न पठायो र म सुत्न गए । मैले उनीहरु विरुद्ध मुद्धा अगाडि बढाउने सोचेको थिए । तर शाही खलकहरुले सल्लाह गरेछन की अब यसरी हुदैन गल्ती भयो भनेर माफी मागेर केस मिलाउनु पर्छ । उनीहरु अर्कोदिन माफि माग्न थाले । जाँड खाएको बेला गल्ती भयो भने । खुट्टामा परेर माफी मागे । यो रास्कोटको लागि सामान्य कुरा थिएन । शाहीहरुलाई माफि मगाउने कुरा ।’ उनले रास्कोटमा शाहीहरुलाई यसरी माफी मगाउन लगाएको पहिलो घटना भएको बताए । आफ्नो जीवनको लागि महत्वपूर्ण र बिर्सन नसकिने घटना भएको भन्दै स्मरण गरे ।
उनले फेरी पनि आफ्नो जीवनको फरक घटनाले दुख पाएको सुनाए । सहयोग गर्नु उल्टै अपजस आईलाग्दो रहेछ भने । उनले आफ्नो जीवनमा भोगेको चौथो घटना यसैमा आधारित थियो । उनले त्यो घटनाको बारे यसरी भने ‘मेरो दैलेखकै भाई दानवहादुर शाहीले कालिकोटबाटै गीता जैसी नामको केटी विहे गरेका थिए । उनीपनि मान्ममै व्यापार गर्छन र बस्छन । उनको घरमा झै –झगडा हुने गर्देारहेछ । २०८० सालकै कुरा हो, एक दिन केटीले सम्वन्धि विछेद र अंश बण्डाको मुद्धा हालिन । त्यो मुद्धाको प्रतिउत्तर लगाउदा दानबहादुरले मलाई नै साँची बनाएका रहेछन । दैलेख जिल्लाबाटै दुवै जना आएकाले पनि होला । पछि केटी आफै बिचमा अपहरण शैलीमा हराईन । उनी नेपालगंज भेटिएपछि कालिकोट ल्याईयो । गैरसरकारी संस्था सोसेक नेपालको निगरानीमा पुलिसले उनलाई राख्न दियो । उनले कार्यालयमा त्यही झुण्डिएर आत्महत्या गरिन । उनले आफ्नो सुसाईट नोटमा दानबहादुर र मेरो नाम पनि राखिछन ।
‘उनीहरुको कारणले मरेको हु भनिएको रहेछ ’ पूर्णबहादुरले भने ‘म त केबल साँची मात्र रहेको थिए । जसले गर्दा मलाई १३ दिन सम्म हिरासत राखियो । पछि धरौटीमा रिहा भए । अहिले पनि तालिख बोकिरहेको छु ।’ पूर्णबहदुर मिजारले जीवनमा दलित भएकै कारण धेरै दुख पाएको गुनासो गरे । उनले भने ‘मैले जति अरुको लागि भलाई गर्न चाहेपनि उल्टो भयो । मैले हिरासत बन्नु पर्ने अवस्था त थिएन नि ! उनीहरुको घरको झगडा त्यसैमा आफै आत्महत्या गरिन अनि मैले दुख पाउने भयो ।’
पूर्णबहादुरका यी प्रतिनिधिमुलक जीवन भोगाईका घटना मात्र हुन । बास्तवमा समाजमा अहिले पनि धेरै पूर्णबहादुरहरु छन । राज्यले जातीय विभेद विरुद्धको कानुन बनाएपनि समाजमा कार्यान्वयमा फितलो हुदा समस्या थपिएको छ । ‘विगतको भन्दा विभेद त कम भएको छ’ पूर्णबहादुरले भने ‘तर अहिले पनि पूर्ण रुपमा अन्त्य भएको छैन,दलितहरुले संचालन गरेका सीपहरुको सम्मान छैन, विभेद जारी नै छ ।’ उनले यस्ता विभेद हटाउन राज्यले विशेष ध्यान दिनु पर्ने सुझाव दिए । पूर्णबहादुरले भने ‘थरकै कारण एउटा मानवले अर्को मानबबाट भोग्नुपर्ने विभेद हटाउन स्वयम मानव चेतनाको विकास गराउने तिर राज्य सक्रिय हुनुपर्छ अनि कानून कार्यान्वयनमा जोड दिनु पर्छ ।’