८ मंसिर २०८१, शनिबार

इतिहास: पहिलो सडक आन्दोलन

0

इन्कलाब— जिन्दावाद ।
नागरिक अधिकार— दिनै पर्छ ।
राजबन्दी — रिहा गर ।
गोलीदेखि डराउनाैँ ।
यस्ता विभिन्न नाराहरु लगाउँदै स्नेहलता श्रेष्ठ, मथुरालाल र श्रीराम तीन जनाको जुलुस काठमाडौंको असनबाट अघि बढ्यो । असनबासीहरु तीनछक्क पर्दै हेर्नथाले । यसरी नारा लगाएको उनीले न पहिले सुनेका थिए, न त जुलुस नै देखेका थिए । प्रहरीहरु जिल्लिए । जुलुस अगाडी बढदै गयो । एक एक, दुई दुई गर्दै जुलुसमा मानिस थपिदै गए । जुलुस अलि पर मखनसम्म पुग्दा जुलुुसमा सयाैँ संख्यामा मानिसहरु थपिसकेका थिए ।
मखनमा पुग्दासम्म पद्मोदय स्कुल, जुद्धोदय स्कुल र
त्रिचन्द्र कलेजबाट निस्केको जुलुस पनि उक्त जुलुमा
मिसियो । जुलुसले विकराल रुप लियो । सो जुलुसले घण्टाैँसम्म काठमाडौंको गल्लीगल्ली र सडक सडक घुम्यो ।
जुलुसमाथि आक्रमण गर्ने आँट पुलिसहरुमा पनि रहेन ।
जुलुस काठमाडाैँभित्र घुमिसकेपछि कमलाक्षी आईपुग्यो । त्यतिबेलासम्म पाटन र भक्तपुरबाट आएको जुलुुस पनि त्यसमा मिसिइसकेको थियो । जुलुसमा सहभागिहरुको संख्या बीस तीस हजार पुग्यो ।
जुलुस पद्म शमशेरको दरबार विशालनगर जानका लागि
अघि बढ्यो । जुलुस नक्साल भगवती स्थानमा पुगेको मात्र के थियो, नर शमशेरको नेतृत्वमा आएको सैनिक टोलीले हवाईफायर गर्यो । प्रदर्शनकारीहरु भागाभाग गर्न थाले । कनकलता नकर्मी, स्नेहलता श्रेष्ठ, साहना प्रधान र साधना प्रधान चार जना महिला लगायत २७ जना
प्रदर्शनकारीहरुलाई समातियो । उनीहरु दश दिनसम्म
त्यहीं थुनिए । एक दुई दिन बिराएर स्कुल र त्रिचन्द्र
कलेजका विद्यार्थीहरु र शिक्षकहरुको सक्रियतामा काठमाडाैँ उपत्यकाका विभिन्न इलाकामा भने जुलुस प्रदर्शन भइ नै रह्यो ।
दशाैँ दिन सबै बन्दीहरुलाई प्रधानमन्त्री पद्म शमशेर कहाँ हाजिर गराइयो । पद्म शमशेरले “तिमीहरुले के यस्तो उपद्रो गरेको ?” भनेर प्रश्न गरे । बन्दीहरुले
जवाफ दिए– “हामीले अरु केही उपद्रो गरेका छैनाैँ ।
हामीले नेपाली जनताले नागरिक अधिकार पाउनु पर्छ भनेर मात्र माग गरेका हाैँ ।”
“लौ अबको दिनपछि तिमीहरुको माग पूरा
गरिदिन्छाैँ । अब तिमीहरु जाओ ।” भनेर मोहन
शमशेरले सबै बन्दीहरुलाई छोडिदिए ।
उनीहरु सबै विशालनगरबाट शहरतिर आउँदैथिए ।
पाँच मिनेट जति यता आइसके पछि एउटा घरको
झ्यालबाट विश्वेश्वर प्रसाद कोइरालाले “तपाईहरु किन
फर्केको ?” भनेर सोधे । त्यतिबेला त्यस घरमा
विराटनगर मजदुर हडतालमा समातिएका मनमोहन अधिकारी वी.पी.कोइराला आदिलाई थुनिराखेका थिए । त्यस प्रश्नको उत्तरमा टंक विलास, शम्भुराम श्रेष्ठ र तिलकराज शाहीले सबै कुरा बताए । यत्तिकैमा पछाडिबाट सैनिकहरुले “नजरबन्दीमा राखेका बन्दीसँग किन कुरा गर्यौ ?” भनेर सबैलाई समातेर फेरि पद्म शमशेरकहाँ लगे ।
उनले एकछिन सम्म सबैलाई गाली गरे । एकछिन पछि ‘टंक विलास, शम्भुराम श्रेष्ठ, तिलकराजसँग केही कुरा गर्नुछ तिमीहरु सबै आ–आफ्ना घर जाओ’ भनेर ती तीन जना बाहेक अरु सबैलाई पठाइयो । तर भोलीपल्ट गोरखापत्रमा ती तीनजनालाई जेल चलान गरेको समाचार छापियो । उनीहरुलाई छुटाउन भनेर मथुरालाल श्रेष्ठ, स्नेहलता र अमिर बहादुर तीन जनाको डेलिगेशन पद्म शमशेरकहाँ गयो । पद्म शमशेरले उनीहरुलाई छाड्ने आश्वसन त दिए, तर उनीहरुलाई छाड्नुका सट्टा काठमाडौंमा झन बढी धरपकड शुरु गरे । उनीहरु राणा शासनको पतनपछि मात्र रिहा गरिए ।
त्यो आन्दोलन नै काठमाडाैँको पहिलो सडक
आन्दोलन थियो । त्यो आन्दोलन नागरिक अधिकार
प्राप्तिको लागि भएको थियो । त्यो जुलुस २००४ साल
बैशाख १७ गते निकालिएको थियो ।
प्रस्तुति— वीएस


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।