३ आश्विन २०८१, बिहीबार

दशैंपछि ओली सरकार ढल्छ : प्रकाण्ड सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दशैं लगत्तै ढल्ने ठोकुवा गरेका छन् । बुधबार जनवर्गीय संगठन/मोर्चा बागमती प्रदेश समन्वय समितिको बैठकमा प्रशिक्षण मन्तव्य राख्दै उनले साम्राज्यवादले ओलीलाई प्रयोगमात्र गरेकाले ओली सरकार दशैंपछि ढल्ने ठोकुवा गरेका हुन् ।

अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले ओलीलाई नरुचाएकाले पनि सरकार ढल्ने उनको भनाई थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध ओलीलाई प्रयोग गरेर सरकार ढालेको बताउँदै उनले ओली अमेरिकाको असली विश्वास पात्र नभएको ठोकुवा गरे । ‘नेपालमा अमेरिकाको असली दलाल गगन थापा हो । तर अहिले गगन थापा प्रधानमन्त्री बन्ने सम्भावना छैन ।’, उनले भने, ‘देउवा पनि अमेरिकाको असली दलाल होइनन्, काम चलाउन मात्र हुन् । त्यही भएर अमेरिकाले दाउ हेरेर बसेको छ ।’

भारतले पनि देउवालाई नचाहेको बताउँदै उनले गगन भन्दा शेखरको प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएको जिकिर गरे । ‘भारतको विश्वास पात्र शेखर हुन् । गगनभन्दा शेखरको सम्भावना त बढी छ तर सम्भव छैन् ।’, उनले भने, ‘कांग्रेसको महाधिवेशन पनि नजिकिदै जाँदा धेरै फ्याक्टरले काम गर्ने देखिन्छ । यसमा आरजु फ्याक्टरले काम गर्ने सम्भावना धेरै छ ।’ नेकपा बागमती प्रदेश इन्चार्जसमेत रहेका उनले दशैं पछि आरजुको प्रधानमन्त्री बन्ने सम्भावना रहेको ठोकुवा गरे ।

‘आरजु अमेरिकाको मान्छे हो भन्ने प्रष्ट छ । देउवा र उनको विवाहको कुराले पनि यसलाई पुष्टि गर्छ ।’, उनले भने, ‘भारतले पनि आरजुलाई रुचाएको अस्तिको सम्मानले पुष्टि गरेको छ । त्यो भन्दा ठूलो कुरा देउवा अर्को पटक पार्टी सभापति बन्न नपाउने विधानको व्यवस्था छ । देउवाले गगन, शेखरभन्दा आरजुलाई उत्तरअधिकारी बनाउन चाहने कुरा भइहाल्यो । आरजुलाई पार्टी सभापति हुने योग्यता बनाउन पनि देउवा आरजुलाई प्रधानमन्त्री बनाउन तयार छन् । यो अमेरिकाको षड्यन्त्र योजना हो ।’

अमेरिकाले आरजुलाई प्रधामन्त्री बनाउँदा वा प्रधानमन्त्री बन्दा क्रान्तिकारी कम्युनिस्टका लागि प्रतिकुल हुने उनको भनाई थियो । ‘आरजु अमेरिकाको मान्छे हो । देउवा, ओली, प्रचण्डले नगरेको दमन आरजुले गर्ने हुनसक्छ ।’, उनले भने, ‘तर हामीले दमन हु्न्छ भनेर डराउने होइन् । प्रतिकारका लागि तयार बन्ने हो ।’ अमेरिकाले विश्वबाट कम्युनिस्टलाई निमिट्यान्ट पारेको हल्ला चलाइरहेका बेलामा नेपालमा एकीकृत जनक्रान्ति जन्मिएको बताउँदै यसले अमेरिकाको टाउको दुखाईको विषय बनेको उनको भनाई थियो ।

अमेरिकाले नेपालका कम्युनिस्टलाई सिध्याउन हरेक प्रकारका प्रयत्नहरु गरेको जिकिर गर्दै यसलाई आफूहरुले सफल हुन नदिने बताए । जति प्रयत्न गर्दा पनि कम्युनिस्टलाई सिध्याउन नसकेपछि केही कम्युनिस्टलाई किनेको उनको दाबि थियो । बैठकले राजनीतिक, संगठन, संघर्ष शीर्षकमा महत्वपूर्ण निर्णय गरेको छ ।

प्रकाण्ड आफैले अध्यक्षता रहेको बैठकमा नेकपा पोलिटब्युरो सदस्य माइला सी, सल्लाहकार राजेन्द्र सी लगायत जनवर्गीय संगठनका केन्द्रीय अध्यक्ष, प्रदेश इन्चार्ज तथा संयोजकहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।