५ आश्विन २०८१, शनिबार

रौतहटमा शिक्षक र पार्टीबिच विमर्श

0

नेपाल कम्युनिस्ट पार्टी र रौतहटका शिक्षकहरुबिच पेशागत समस्या र देशको समसामयिक राजनीतिक विषयहरुमा विमर्श भएको छ । भदौ २९ गते रौतहट जिल्ला, चपुर (चन्द्रनिगाहापुर) बजारमा रहेको पशुपति होटेलको सभाकक्षमा भएको छलफलमा जनज्योति बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दुर्गाप्रसाद दाहाल, उप-प्राध्यापक दीपक घिमिरे, राम आचार्य, हरेन्द्र पासवान, शिवबचन साहलागयतले पार्टी नेताहरुसमक्ष जिज्ञासा राखेका थिए । शिक्षकहरुले राखेका प्रश्नहरुको जवाफ नेकपाका स्थायी समिति सदस्य तथा मधेश प्रदेशका इञ्चार्ज अनिल सीले राखेका थिए । कार्यक्रमको सहजीकरण रौतहट इञ्चार्ज विनोद सीले गरेका थिए ।
विमर्श कार्यक्रममा प्राध्यापक दाहालले कटवाल प्रकरणदेखि माओवादीमा समस्या आएको, क्रान्तिकारी कम्युनिस्ट पार्टी दिशाविहीन भएको र विप्लवप्रति प्रश्नसहित आशा पलाएको धारणा राखेका थिए । दाहालका जिज्ञासाको जवाफ दिंदै अनिल सीले कम्युनिस्ट एकता, संसदीय निर्वाचन र समाजवादी मोर्चाको सन्दर्भमा पार्टीका धारणाहरु राखेका थिए । एतवर्यादेवी सितासाह प्रा. वि.का शिक्षक शिवबचन साह र हरेन्द्र पासवानले ६ महिनादेखि बच्चाहरुको खाजा भत्ता रोकिएकोले विद्यार्थी संख्या घटेको गुनासो गरेका थिए । शिक्षक राम आचार्यले जनताका दैनिक समस्या समाधानको काममा लाग्नुपर्ने सुझाव राखेका थिए । त्यसैगरी जनज्योति बहुमुखी क्याम्पसका उप-प्राध्यापक दीपक घिमिरेले नेकपाको नाममा नक्कलीको बिगबिगी हुँदै आएको तर पार्टीको आर्थिक कामहरु पहिलेको जस्तो समस्याग्रस्त नदेखिएको भन्दै नक्कलीहरुको गतिविधि रोक्न अनुरोध गरे ।
शिक्षकका पेशागत समस्याहरुको विषयमा पनि उपस्थित शिक्षकहरुले आ-आफ्नो धारणा र जिज्ञासा राखेका थिए । २०४२ सालमा पञ्च अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले उदारवाद भित्र्याउने प्रयास गरेको र २०४७ सालमा काङ्ग्रेसका अर्थमन्त्री रामशरण महतले उदारवादमा जाने निणर्य गरेपछि नेपालको अर्थतन्त्र धरासायी भएको, उद्योगहरु बन्द गरेको, निजीकरण गरेको र त्यसको कारण रोजगारी गुमेको बताए । उदारवादको कारण देशमा बेरोजगारी बढेको बताए । उदारवादको कारण सरकारले कृषि, स्वास्थ्य, शिक्षाको क्षेत्रमा सरकारी अनुदान कटौती भएको, कृषि अनुसन्धान केन्द्रहरु बन्द भएको खुलासा गरेका थिए । उनले उदारवादको विरुद्ध लड्न शिक्षकहरुलाई अपिल गर्दै कच्चा पदार्थ र श्रम आफ्नै देशमा प्रयोग गरेर वस्तु र सेवाको उत्पादन तथा निर्यात गरेर मात्र देश समृद्ध हुने दाबी गर्दै त्यसप्रकारको सरकार निर्माण गर्न जनमत निर्माण गर्न बौद्धिक शक्तिले भूमिका खेल्न अपिलसमेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।