२६ पुष २०८१, शुक्रबार

नेकपाको नेतृत्वमा क्रान्तिको प्रवल सम्भावना रहेको छ : प्रकाण्ड

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले नेकपाको नेतृत्वमा क्रान्तिको प्रवल सम्भावना रहेको बताएका छन् । बुधबार नेकपा बागमती प्रदेशको दोश्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षा गर्न देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य भएको उल्लेख गर्दै नेकपाको नेतृत्वमा क्रान्तिको प्रवल सम्भावना रहेको बताए । उनले देशमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्रतामा बढेकाले स्वाधीनताका लागि नयाँ मोर्चा अपरिहार्य रहेको उल्लेख गर्दै भने- “अहिले देशको स्वाधीनताको खतरा मानिएको साम्राज्यवाद र नेपाली विशेषताको समाजवादको अबरोधको रूपमा रहेको दलाल पुँजीवाद देशको शान्ति र समृद्धिका लागि मुख्य समस्याको रूपमा रहेको छ। यदि देशको स्वाधीनताको रक्षा गर्ने हो र नेपाली जनताको अधुरो सपना पूरा गर्ने हो भने अब देशभक्त र प्रगतिशील शक्तिहरुसङ्ग नयाँ मोर्चा अपरिहार्य छ, हामी त्यो दिशामा अघि जान्छौं ।“

प्रवक्ता प्रकाण्ड सीले अमेरिका अहिले सैन्य हिसाबले समेत रक्षात्मक रणनीति अबलम्बन गर्न बाध्य भएको र बहुध्रुवीय विश्वको चरित्रले उसको ९०को दशकको जस्तो आक्रामक रणनीति अब संभव नरहेको बताए। उनले पार्टी र नेतृत्वको सोचलाई प्रयोगमा लिने र प्रयोगका आधारमा नयाँ संश्लेषण गरेर अगाडि बढेको भन्दै अब नेपालबाट बिचारको उच्चतामा संश्लेषण गर्नुपर्ने बताए। उनले बिचार संष्लेशण नेकपा मात्रैको मामिला नभई क्रान्ति, वर्ग र विश्व कम्युनिस्ट आन्दोलनको सवाल भएकोले नेपाल कम्युनिस्ट पार्टीले यसबारे अन्तर्राष्ट्रिय रूपमा समेत खुल्ला बहस गरेर अघि बढ्न चाहेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको आर्थिक उत्पादन अभियानले बुद्धिजीवी, व्यापारी, उद्योगी लगायत आम जनतामा उत्साह पैदा गरेकोले अब आर्थिक मोर्चाबाट राजनीतिक मोर्चालाई बलियो बनाउनु अहिलेको आवश्यकता रहेकोसमेत बताए ।

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले दलाल पुँजीवाद र साम्राज्यवादसँग लड्नका लागि एकीकृत जनक्रान्तिको वैचारिक हतियार मजुबुत हुँदै गएको उल्लेख गर्दै ७५ वर्षदेखि नेपालमा हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्ने ठोकुवा गर्दै भने– ‘साम्राज्यवाद चौतर्फी मोर्चाबन्दीमा आएको छ । हामीले पनि चौतर्फी रूपमा एकीकृत जनक्रान्तिको मोर्चा खोलेका छौँ । यो मोर्चा नै नेपालमा हुन नसकेको क्रान्ति पुरा गर्न सक्षम रहेको छ ।’
यसैगरी, प्रकाण्ड सीले हाल जनताको त्याग , तपस्या , बलिदान र आन्दोलनको मुद्दा र जनताको परिवर्तनको चाहनाबिरुद्द कार्य भइ रहेको बताउदै वर्तमान शासन व्यवस्थाकै कारण महंगी बढिरहेको , भ्रष्टाचार र कमिशनको बेलगाम खेल चलिरहेको बताए । उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको ठोकुवा गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा समेत गरे।

प्रवक्ता प्रकाण्ड सीले नेपाली जनता र देशले मुक्ति चाहेको ठोकुवा गर्दै दलाल पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना नेपाली जनताको चाहाना रहेको बताए । उनले जनताको यो चाहनालाई नेपाल कम्युनिस्ट पार्टीले पुरा गरेरै छोड्ने उद्घोष गर्दै नेकपाले नेपालमा दलाल पु्ँजीवादको अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवासमेत गरे ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले २०८४ सालमा हुने निर्वाचन देश र जनताका विरुद्धको षड्यन्त्रको रुपमा हुन नदिने उद्घोष गर्दै एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा नेपाल कम्युनिष्ट पार्टी पनि ०८४ को निर्वाचनमा सहभागी हुने बताए । उनले ०८४ मा हुने निर्वाचनको तयारी गर्न बैठकका सहभागी नेतालाई निर्देशन समेत दिए ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकले एक नेता एक उत्पादनको नीति लागू गर्ने, जिल्ला कमिटिसम्मलाई उत्पादनमा जोड्ने, साम्राज्यवादी, धार्मिक अतिक्रमण रोक्न जनसंस्कृति संरक्षण मञ्च निर्माण गर्ने, समाजवादका लागि सामना साँस्कृतिक जागरण अभियान चलाउने र जनयुद्ध दिवस, सहिद सप्ताह, श्रमिक महिला दिवस, मइ दिवस भव्यरुपमा मनाउने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।