७ माघ २०८१, सोमबार

अहिलेकाे सरकार मालिक र दलालहरुको हतियार भयो : विप्लव सी

0

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान ओली नेतृत्वको सरकार मालिक र दलालहरुको हतियार भएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको शनिबार सुर्खेतमा आयोजना गरिएको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लवले वर्तमान ओली नेतृत्वको सरकार मालिक र दलालहरुको असली हतियार भएको टिप्पणी गरेका हुन् ।
अहिलेको सरकार नेपाली जनताको भावनालाई बुझेर काममा नलागेको भन्दै उनले अमेरिकी साम्राज्यवादी मालिक र दलालहरुको गोटी भएको बताए ।
महासचिव विप्लवले भन्नु भयो ‘यो सरकार अमेरिकी साम्राज्यवादी मालिकहरुको हो, नेपालका दलालहरुको हो, यो नेपाली जनताको सरकार होइन, नेपाली जनताको सत्ता पनि आएको छैन ।’
महासचिव विप्लवले अर्काको भर पर्ने राजनीति भनेको दलाल राजनीति भएको बताए । ‘नेपालका कुनैपनि पार्टीहरुको आफ्नै आर्थिक दृष्टिकोण छैन र उत्पादनको योजना छैन, यिनीहरु कसरी चलिरहेका छन् ? यो दलाल राजनीति हो, यो भष्टाचार र दलालीको रुप हो’ उनले भने ।
‘नेपाल कम्युनिष्ट पार्टी अरु पार्टी भन्दा फरक पार्टी हो, यसको आफ्नै आर्थिक दृष्टिकोण छ हामीले नयाँ आर्थिक मार्ग सहित नेता, कार्यकर्ता र जनतालाई आत्मनिर्भर हुदै समृद्धितिर लिने योजना बनाएका छौँ’ महासचिव विप्लवले भने, हाम्रो पार्टीका नेता कार्यकर्ताले भात खानकोलागि चन्दा लिनु पर्दैन हामी देशभर उत्पादनको योजनामा छौँ,आत्मनिर्भर हुँदै गएका छौँ, अब कृषिसँगै व्यापार र उद्योगतिर पार्टी जाँदैछ ।’
उनले नेपालमा असल सम्भावना र खराब सम्भावना दुवै देखापरेको जिकिर गरे । उनले नेपाल कम्युुनिष्ट पार्टी देशलाई दलाल पुँजीवादबाट देशलाई मुक्ति गरि नेपाली विशेषताको समाजवादको सम्भावना तिर देशलाई लिन चाहेको स्पष्ट पारे ।
‘नेपालको प्रमुख समस्या दलाल पुँजीवादको हो, कतिपयले राजतन्त्र फर्काउने सपना बुनेका छन, यो असम्भव कुरा हो’ महासचिव विप्लवले भने, ‘पूर्वराजाले समाजवादी व्यवस्थामा आउन चाहे बरु जनताले स्थान दिन सक्छन्, नेपालमा राजावादीले भने जस्तै अब ०४७ र ०१९ साल फर्काउने सपना नदेखे हुन्छ, यहाँ समाजवाद भन्दा अर्को विकल्प छैन ।’
‘‘समाजवाद, दलाल पुँजीवाद, जस्ता शब्द नै सुन्न नचाहनेहरु अहिले बोल्न थालेका छन्, राप्रपा, रवी, सिके, कांग्रसे, एमाले सबैले समाजवाद भन्छन्’ उनले भने, ‘हामी समाजवादकाे बारे बहस गर्न तयार छौँ, आउनुहोस् तपाईहरुको समाजवाद र हाम्रो समाजवादबारे बहस गरौँ, देशलाई समाजवादतिर लगौँ, यसका लागि नेकपा संविधान संशोधन गरेर होस् वा जनमतसंग्रह गरेर होस्, जान तयार छ ।’
उनले नेकपाका कारण नेपाली विशेषताको समाजवाद र नेपालको समस्या दलाल पुँजीवाद हो भन्ने कुरा आज सबैले बोल्न थालेकोले स्थापित हुँदै गएको ठोकुवा गरे ।
नेपाल कम्युनिष्ट पार्टी राजनीतिक, संगठनात्मक, संघर्ष, आर्थिक, सांस्कृतिक क्षेत्रमा मुलत जनतालाई नयाँ विकल्प दिएर स्थापित हुँदै गएकाले पार्टी विचार संश्लेषण गर्ने ठाउँमा पुगेको उनले दावी गरे ।
महासचिव विप्लवले माओवादी एकताको सन्दर्भमा नेकपा माओवादी केन्द्र एकताको बारे एकमत हुन नसकेकाले एकता तत्काल हुन नसक्ने बताए ।
उनले माओवादी केन्द्रले उठाएको झण्डा क्रान्तिको झण्डा नभएको जिकिर गर्दै क्रान्तिको झण्डा उठाइरहेको नेकपासंग रुपान्तरण भएर आए मात्र एकता हुनसक्ने बताए ।
‘कतिपय माओवादी केन्द्र भित्रका नेताहरु विप्लवले आत्माआलोचना गरेर आए एकता हुन सक्छ भन्छन् रे ! आत्माआलोचना कस्ले गर्ने ? क्रान्तिको झण्डा उठाउनेले गर्ने कि ? क्रान्तिको झण्डा छोड्नेले गर्ने ? यो गम्भीर विषय छ, एकता तत्काल सम्भव छैन, तर सहकार्य हुन्छ’ महासचिव विप्लवले भने ।
‘जनताले नेकपाबाट ठुलो आशा गरेका छन्, हामी जनताप्रति इमान्दार भएर गाउँगाउँ जानु पर्छ’ महासचिव विप्लवले निर्देशन दिदै भने, ‘एकीकृत जनक्रान्तिको मोर्चा सबै ठाउँमा लिनु पर्छ, अब पार्टी ०८४ को निर्वाचनमा पनि जानेछ र तयारी गर्नुहोस् ।’
उनले क्रान्तिको स्प्रिडलाई एउटा मोर्चाको रुपमा आगामी चुनावमा गएर प्रयोग गर्न नेकपाले चाहेको बताए । उनले अबको देशको एकमात्र अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएकाले समाजवादको लागि जनतामा जान सिंगो कर्णालीलाई जोड दिए ।
महासचिव विप्लवले कर्णालीको योगदान जनयुद्ध र एकीकृत जनक्रान्तिमा उल्लेखनीय रहेको भन्दै यहाँका जनताले माथिल्लो कर्णाली कुनैपनि हालतमा भारतलाई दिन नहुनेमा जोड दिए । उनले माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाली जनताको लगानीमा निर्माण गरिनुपर्ने र विद्युत पनि नेपालमै प्रयोग गरिनु पर्ने विचार राखे ।
नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कर्णजीत सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य नेकपाका सुर्खेत जिल्ला इन्चार्ज एटम सीले दिएका थिए भने संचालन नेकपाका सल्यान जिल्ला इन्चार्ज आधार सीले गररेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।