
कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीले रुपान्तरण सहितको माओवादी एकता आजको आवश्यकता भएको बताएका छन् ।
नेकपा कालिकोटको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिवार मान्ममा सम्वोधन गर्दै स्थायी समिति सदस्य सुशिल सीले रुपान्तरण सहितको माओवादी एकता आजको आवश्यकता भएको बताएका हुन् ।
उनले माओवादी केन्द्रसंंगको पार्टी एकता रुपान्तरण विनाको सम्भव नहुने खुलासा गरे । रुपान्तरण विनाको एकता श्रमजीवी वर्गको हितमा नहुने ठोकुवा गर्दै उनले यदि रुपान्तरण विनाको एकता भएमा त्यो दलाल पुँजीपतिवर्गको हितमा हुने जिकिर गरे ।
नेता सुशिल सीले माओवादी केन्द्र रुपान्तरण भएर आए नेकपा एकता गर्न तयार भएको भन्दै यो एकता ०८४ को निर्वाचन अघि गर्नु पर्ने विचार राखे ।
‘रुपान्तरण भनेको विचार, नीति,कार्यदिशा र कार्यशैलीमा हुनुपर्छ’ उनले भने, ‘समाजवादी क्रान्ति पुरा गर्ने सर्तमा एकता हुनु पर्छ । माओवादीहरुको एकता दलाल संसदीय पुँजीवादी व्यवस्थाको गोलचक्करमा फस्ने गरेर हुनुहुँदैन ।’
उनले देशको वर्तमान समस्याको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएको दाबी गरे ।
नेता सुशिल सीले यसका लागि भिजनकारी कम्युनिष्ट बामपंन्थी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्तिहरुको एकता अनिवार्य भएको भन्दै त्यो एकताले मात्र नेपाललाई नेपाली विशेषताको समाजवादतिर लिने विश्वास व्यक्त गरे ।
उनले कालिकोट जिल्लाले जनयुद्धको समयमा खेलेको भूमिका उल्लेखनीय भएको स्मरण गर्दै नेपाली विशेषताको समाजवादी क्रान्तिमा पनि कालिकोटे जनताले अहम भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य भेषराज सीले पार्टीले विकास गरेको नयाँ संश्लेषणहरुको गहन अध्ययन गर्दै व्यवहारमा लागु गर्न कार्यकर्तालाई अपिल गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बिबेक सीले पार्टीको योजनालाई जिल्लामा कडाईपूर्वक कार्यन्वयनमा लिन निर्देशन दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रयास सीले एकीकृत जनक्रान्तिमा कालिकोटको भूमिका अझै अग्रणीय बनाउनु सुझाव दिए ।
जिल्ला सेक्रेटेरी बलवान सीको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेकपा केन्द्रीय सदस्य साहसी सीले दिएका थिए भने संचालन नेकपाका केन्द्रीय सदस्य रणदिपले गरेका थिए ।
कार्यक्रममा आत्मनिर्भर नेताकार्यकर्ता आत्मनिर्भर पार्टी भन्ने नीतिलाई लागु गरेको शुभकालिका गाउँ कमिटीले आफूले उत्पादन गरेको कोदोको पिठो चिनो स्वरुप पार्टीका प्रदेश इन्चार्ज सुशील सीलाई हस्तान्तरण समेत गरेको थियो ।