
कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको राजनीति उत्पादनसँग नजोडिदा विदेशीको अगाडि झुक्ने ठाउँमा पुगेको टिप्पणी गरेका छन् ।
नेकपा कालिकोटले फोईमा आयोजना गरेको स्याउ रोपन कार्यक्रमको उद्घाटनका लागि फोईमा पुगेका महासचिव विप्लव सीले स्वागतपछि सम्वोधन गर्दै नेपालको राजनीति उत्पादनसँग नजोडिदा विदेशीको आगाडि झुक्ने ठाउँमा पुगेको टिप्पणी गरेका हुन् ।
उनले नेपालको ६०/७० वर्षको राजनीति एक अर्कोको आलोचनामा मात्र घुमेको र उत्पादनबाट विमुख भएको बताए ।
उनले भने ‘६०/७० वर्षको राजनीतिमा कृषि उत्पादनमा जोड दिएन, उद्योग कलकारखाना बनाउनेमा जोड दिएन, थोरै भएको पैसा पनि सहि सदुपयोग भएन, जनताको जीवन परिवर्तन हुने गरी उत्पादनको योजना कुनै पार्टीसंग भएन । जसले गर्दा देशका नेताहरु दलाल हुन थाले । विदेशीको मुख ताकेर बस्ने भए । यो कुराले नेपाल पछाडि पर्यो ।’
उनले नेपालका अरु राजनीतिक पार्टीहरु देशको उत्पादनमा नलागेर सरकार ढाल्ने र बनाउने खेलमा मात्र लागेको आरोप लगाए ।
महासचिव विप्लवले नेपालका सबै पार्टीहरु चन्दा मागेर खाने, भ्रष्टाचार कमिसन खाएर चल्ने गरेको भन्दै नेकपा भने आत्मनिर्भरको आर्थिक क्रान्तिमा लागेको दाबी गरे ।
महासचिव विप्लवले नेता कार्यकता र पार्टीलाई आत्मनिर्भर बनाउदै जनतालाई समेत आत्मनिर्भर बनाउनका लागि जुम्ला कालिकोटमा स्याउ रोप्न पुगेको बताए ।
उनले देशभर नेकपा उत्पादनमा केन्द्रीत भएकोे र डेढ वर्षमै पार्टीलाई आत्मनिर्भर बनाउने ठाउँमा पुगेको जिकिर गरे ।
महासचिव विप्लवले एकपटक जनताको जीवनस्तर परिवर्तन हुनेगरी काम गरेर देखाउने इच्छा भएको भन्दै जनतालाई अवसर दिन पनि अपिल गरे । महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादी सत्ताबाट समस्या समाधान नहुने ठोकुवा गर्दै समाजवाद नेपालमा अनिवार्य भएको जिकिर गरे ।
महासचिव विप्लवलाई फोईवासी जनताले स्याउको माला लगाएर भव्य स्वागत गरेका छन् ।
यस्तै जनताले अविर फुलमाला लगाए पनि स्वागत गरेका छन् । महासचिव विप्लवले आजै फोईमा स्याउ रोप्दैछन् । उनले फागनु १४ गते रास्कोटमा हुने जनसभालाई सम्धोन गर्ने कार्यक्रम पनि छ ।