१ चैत्र २०८१, शुक्रबार

आदर्श बहुमुखी क्याम्पसमा समयमै निर्वाचन नगरे सङ्घर्ष गर्ने अखिल (समाजवादी) को चेतावनी

0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) ले नुवाकोटको आदर्श बहुमुखी क्याम्पसमा समयमै स्ववियु निर्वाचन गराउन माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै अखिल (समाजवादी) नुवाकोट जिल्ला समितिले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन क्याम्पस प्रशासनसँग जोडदार माग गरेको हो ।

संगठनका जिल्ला इन्चार्ज रोजी सी र अध्यक्ष विवेक सीद्वारा जारी विज्ञप्तिमा क्याम्पस प्रशासनले नियोजित रुपमा निर्वाचन भाँड्न खोजेको आरोप लगाइएको छ । ‘निर्वाचन सम्पन्न गर्न २०८१ फागुन २८ गते अपराह्न ४ बजे दर्ता भएका सङ्घ सङ्गठन तथा क्याम्पसका सम्पूर्ण प्राध्यापकसहितको बैठकबाट नयाँ निर्वाचन कार्य तालिकासमेत तयार भएको थियो ।’, विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पसको प्राज्ञिक बैठकबाट स्ववियु निर्वाचन समिति गठन गरेर सबै सङ्घ सङ्गठन स्ववियु निर्वाचन गर्ने विषयमा सहमत हुँदाहुँदै पनि स्ववियु निर्वाचन समिति गठन गर्ने सामान्य विषयलाई नियोजित ढङ्गले बहाना बनाएर निर्वाचन रोक्ने षड्यन्त्रको हाम्रो सङ्गठन घोर भर्त्सना गर्दछ ।’

अखिल (समाजवादी) ले तोकिएको मितिमा स्ववियु निर्वाचन नगराई क्याम्पसलाई आफ्नो निजी कम्पनीका रूपमा चलाउन खोजेको आरोपसमेत लगाएको छ । ‘सञ्चालक समितिलाई कुनै पनि किसिमको चलखेल नगर्न चेतावनी दिन चाहन्छौँ । स्ववियु निर्वाचन समिति बनाउन नसकी क्याम्पस बन्द गरेर विद्यार्थीको पठनपाठन गर्न पाउने अधिकार वञ्चित गर्ने लाचार क्याम्पस प्रमुखलाई यही चैत ३ गते आइतबारदेखि नै नियमित कक्षा सञ्चालन गर्न माग गर्दछौं ।’, विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि हालतमा चैत ५ गते स्ववियु निर्वाचन हुनु पर्दछ । निर्वाचन बिथोल्ने कुनै पनि बहाना हामीलाई सह्य छैन । हामी तत्काल निर्वाचन समिति गठन गरेर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौँ ।’

आफ्ना मागहरुको सम्बोधन नभए कडा रूपमा सङ्घर्षमा उत्रिन बाध्य हुनेछ जनाएको छ । विज्ञप्तिमा त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुने कडा चेतावनीसमेत दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।