
झापा । झापाको बिर्तामोडमा बुधबार साँझ प्रतिगामी षड्यन्त्र र यथास्थितिवादी विरुद्ध मशाल जुलुस सम्पन्न भएको छ ।
झापाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड, गौरादह नगरपालिका, झापा गाउपालिका लगायत क्षेत्रहरुमा मशाल जुलुस भएका हुन् ।
बिर्तामोड पश्चिम बस स्टेसनबाट सुरु भएको मशाल जुलुसलाई प्रहरीले दमन गर्न खोजेपछि महेन्द्र राजमार्ग नै जाम गरेर कोण सभा गरिएको थियो ।
बिर्तामोडमा सम्पन्न उक्त कोणसभामा नेकपाका केन्द्रिय सदस्य तथा झापा जिल्लाका इन्चार्ज समेत रहेका सुमनासिंह सीले सम्बोधन गरेका थिए ।
सिंहले राजावादीहरुलाई चुनौती दिंदै भने -‘तिमीहरुसंग आफ्नो शरीरबाट एक थोपा बगाउने हिम्मत छ ? तिमीहरु हिम्मत नभएका हुतिहाराहरुले हेक्का राख्नु पर्छ राजा हटाउन नेपालका १७ हजार भन्दा धेरै जनताको रगत बगेको छ ।’
जनताको रगत र बलिदानको उपहास गर्ने ज्ञानेन्द्र शाही जस्तो चथ्थोलाई सिंहले चेतावनी दिंदै भने – ‘ज्ञानेन्द्र शाहीको मुखबाट जनयुद्ध होस् वा कुनै पनि अग्रगामी आन्दोलनमा भएका बलिदानलाई दुत्कार्ने आवाज निस्किए मंचबाट घिसारेर जिब्रो थुतिदिनेछ । जनताले राजा खोजेको होइन, जनताले सुशासन र अग्रगामी निकास खोजेको बताउंदै, अबको सम्पूर्ण निकास नेपाली विशेषताको समाजवाद हो ।’
उनले अब समाजवादको निम्ति लड्न सबै तयार हुनु पर्ने उल्लेख गरे ।
बिर्तामोडको उक्त मशाल जुलुसलाई नेकपाका नेता प्रशान्त सीले पनि सम्बोधन गरेका थिए । त्यस्तै झापा गाउँपालिकामा भएको मशाल जुलुसमा चमनलाल सी र कुमार सीले सम्बाेधन गरेका थिए । त्यस्तै, गौरादहमा विज्ञान सी र गजेन्द्र सीले सम्बाेधन गरेका थिए ।