१६ चैत्र २०८०, शुक्रबार

जनताको मुक्तिको चाहनालाई पुरा गरि छाड्नेछौं

0

आदरणीय शहिद परिवारजनहरु, बेपत्तायोद्धा परिवारजन, घाइते योद्धाहरु देशभरिका हाम्रो जनमुक्ति आन्दोलनका नेता कार्यकर्ताहरु र आदरणीय श्रमिक जनसमुदायहरु सबैलाई आज सहिद सप्ताहको अवसरमा न्यानो अभिवादन गर्न चाहान्छु ।

जसले नेपाली जनताको मुक्तिको लागि आफ्नो अमुल्य जीवन बलिदान गर्नु भएको छ । जसले हाम्रो देशको स्वाधिनताको लागि आफ्नो जीवनलाई अर्पण गरे । जसले सम्पुर्ण रुपले  आफ्नो जीवन दिएर  पनि जनतालाई मुक्ति र परिवर्तन दिन तयार भए, ती महान शहिदहरु र वेपत्ता योद्धाहरुलाई आज सम्मानपुर्वक स्मरण गर्दै शहिद सप्ताहको दिनमा ,यस क्षणमा म सबै महान शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । बेपत्ता योद्धाहरुलाई स्मरण गर्दै घाइते योद्धाहरुको उच्च सम्मान व्यक्त गर्न चाहान्छु ।

हाम्रो जनप्रीय पार्टीको तर्फबाट सबै शहिद परिवार, बेपत्ता योद्धा परिवारहरुलाई विशेष सम्झना व्यक्त गर्दै घाइते कमरेडहरुको शीघ्र स्वास्थलाभको कामना व्यक्तगर्दछु ।

आदरणीय जनसमुदायहरु!

हरेक परिवर्तनको ढोका वलिदानद्वारा मात्रै खोलिएका छन ।हरेक नयाँ सृजना र रुपान्तरण असल सपूत -सुपुत्रिहरुको त्याग, वलिदान र निष्ठाबाट जन्मिने गर्छन । हामिले महान जनयुद्ध २०५२ सालमा सुरु गर्द त्यो विशेष स्तरको र नयाँ विशेषताको थिएन ,यधपी राणा शासनको विरुद्धमा, पन्चायतको विरुद्धमा लड्द्दा थुप्रै शहिदहरु हामीले बनाई सकेका थियौं ।

जब हामी नेपालका श्रमिक, किसान,मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी अनि पहाडका जनताको मुक्तिको लागि नयाँ जनवादी राज्यसत्ता, वैज्ञानिक समजवाद र साम्यवादको लागि र हाम्रो देशको स्वाधीनताको लागि क्रान्ति अगाडि बढायौ । त्यसपछि इतिहासमै अतुलनीय वलिदानहरु अगाडि आए र हामीले त्यो वलिदान सहर्ष स्विकार्यौ । हामी सबैको एउटा प्रण र प्रतिबद्धता थियो आफ्नो जिवनको मूल्य चुकायर भएपनि नेपाली जनतालाई अध्यारो जिवनबाट उज्यालो जिवनमा लैजाने । हाम्रो देशलाई विदेशीहरुको अतिक्रमणबाट मुक्त गर्न, स्वाधीन बनाउन र नेपाललाई एउटा जनताको राज्य बनाएर राज्यसत्तालाई जनतको राज्यसत्ता बनाएर सबै नेपालका तीन करोड नेपाली जनताको सुन्दर जीवन र भविस्य निर्माण गर्ने हाम्रो सपना, हाम्रो चाहाना थियो ।

 हामी लड्यौ ,महान शहीदहरुले बलिदान गर्नु भयो ,बेपत्ता योद्धाहरुले त्याग गर्नु भयो, घाइते भयौं । हामी लड्यौ र एक तहको विजय हामीले प्राप्त गर्यौ ।

आज नेपालमा गणतन्त्र छ । केही राजनीतिक परिवर्तनहरु भएका छन । सामन्तवादको अन्त्य भएको छ । सामन्तवादको समयमा बोल्न नसक्ने महिला, श्रमिक समुदाय ,किसान, मजदुर बोल्न सक्ने भएका छन । आफ्ना कुरा उठाउन सक्ने भएका छन । राजनीतिक अधिकारको बारेमा जागरण पैदा भयका छन । यी कुरा हाम्रा अगाडि छन । तर पनि जनयुद्धलाई जनक्रान्तिमा हामिले देखेको सपना नेपाललाई जनताको नेपाल बनाउने, यो नेपालमा सबै नागरिकहरुलाई समान अधिकार सुनिश्चित गर्ने र सबैले एउटा समानतामुलक जीवन जिउने चाहाना पूरा भयको छैन ।

खासगरी जनयुद्धको महान सफलता तर विजयउन्मुख यात्रालाई साम्राज्यवादी तत्वहरु, विस्तारवादी तत्वहरु र त्यतिवेलाका दलाल र पुँजीपतिहरु विभिन्न खालका गलत प्रवृतिहरुबाट त्यसलाई षडयन्त्रपुर्वक रोक्ने ,त्यसलाई भाँडने ,अवरुद्ध गर्ने प्रयत्नहरु भए र हामी गन्तव्यमा पुर्णरुपले पुग्न सफल हुन सकेनौं र सकेका छैनौं ,तर क्रान्ति जारी छ ।

एकिकृत जनक्रान्ती जनयुद्धको जगबाट माथी उठिरहेको छ । अगाडि बढिरहेको छ । नेपाली जनताहरुले वैज्ञानिक समाजवाद स्थापना गर्ने आफ्नो चाहानालाई त्यागेका छैनन । हामीलाई जनताको नेतृत्व गर्ने एउटा अवसर प्राप्त भयो ।

नेपालमा दुई -तिहाई संख्यामा कम्युनिस्ट समर्थक जनताहरु हुनुहुन्छ ,थुप्रो संख्यामा देशभक्तहरु हुनुहुन्छ र लोकतान्त्रिक शक्तिहरु हुनुहुन्छ । ती सबैलाई हामीले समेटेर नेपाललाई पुर्ण, एउटा मुक्त राज्य र अधिकार सम्पन्न मुलुक बनाउने हाम्रो चाहना जारी छ ।हामी लडिरहेका छौ । हाम्रो यो यात्रा आज थप पुष्टी भएको छ । दलाल पुजिवादी सत्ता असफल भयको छ । यो पुर्ण रुपले संकटग्रस्त भयको छ ।

सबै नेपाली जनताहरु यो व्यवस्थाबाट असन्तुष्ट छन । कम्युनिस्टहरु मात्र हैन , क्रान्तिकारी कम्युनिस्टहरु मात्र हैन, सारा श्रमिक जनताहरु, देशभक्तहरु ,लोकतन्त्रवादी शक्तिमा विश्वास राख्ने शक्तिहरु, सबै यो व्यवस्था असफल भयो भनिराखेका छन ।त्यस्तै प्रकारले संसदवादी दलहरु असफल भयका छन । उनिहरुले देश र जनताको नेतृत्व गर्ने हैसियत गुमाएका छन । उनिहरु कसैलाई पनि जनताले विश्वास गरेका छैनन ।

आपसी स्वार्थ, लुछाचुडी ,भगबण्डा ,पद ,मन्त्री, पैसा ,कुर्सी चाहिने र देशलाई लथालिङ्ग पार्ने उनिहरुको खेलमा कोहि पनि जनताहरु सन्तुष्ट छैनन । उनिहरु आफैमा विभाजित हुनपुगेका छन र नेपालमा हामीले देखेका छौं कि नेपाल कम्युनिस्ट पार्टीले जुन विषयहरु अगाडि सारेको छ , खासगरी जनतालाई लघुबित्त, मिटर व्याजी ,विभिन्न रुपका सहकारीहरु र बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याज, बिचौलीहरुको लुटपाट, विदेशी अतिक्रमणकारिहरुको हस्तक्षेप र विदेशीबाट चालिएका विभिन्न खालका घुसपैठहरुबाट नेपाली जनताहरु छटपटाईरहेका छन ।उनिहरुले यसबाट मुक्ति चाहेको छन ।हाम्रो पार्टीले त्यसको विरुद्धमा संघर्ष गरिरहेको छ ।

म अपिल गर्न चाहान्छु जसले जनताको लागि जीवन दिए, रास्ट्रको लागि जीवन दिए, ती सहिदहरु आज राज्यबाट अपमानित हुनुपरेको छ । सहिद परिवार र वेपत्ता योद्दजनका परिवारहरु अपमानित हुनुपरेको छ । एक प्रकारले, जसले यो परिवर्तन सुनिश्चित गरे उनिहरुलाई एउटा अपराधिकरण गर्ने षडयन्त्र चलिरहेको छ । जसको कारणले आज परिवर्तन भयो ,उसलाई अपमानित गर्ने खेल चलिरहेको छ । तर हामी भन्छौ सहिदहरुको बलिदान कदापि खेर जाने छैन,बेपत्ता योद्धाहरुको त्याग कदापी खेर जानेछैन ,घाइते योद्धाहरुको रगत तेत्तिकै खेर जानेछैन, त्यो एकदिन फेरि जुर्मुराएर उठने छ ।

नेपाली क्रान्ति अगाडि बढदै गर्दा सबै शहिदहरुका परिवारहरु फेरि क्रान्तिमा लामबद्द हुनेछन ।सहिदहरुको रगतबाट नयाँ पुस्ताले उर्जा प्राप्त गर्नेछ र त्यो उर्जाबाट देशलाई परिवर्तन गरिनेछ । यस अर्थमा म सबै सहिद परिवार र बेपत्ता योद्धा परिवार ,घाइते कमरेडको र हाम्रा नेताकार्यकर्ता सबैलाई विना द्विविधा, विना आशङका, विना हिचकिचाहाट देशलाई परिवर्तन गर्न , एकीकृत जनक्रान्तिमा लामबद्द हुनको लागि अपिल गर्न चाहान्छु । शहिदको सपना पूरा गरिछोड्ने एउटा अठोट लियर अगाडि बढ्नको लागि आग्रह गर्दछु र हाम्रो पार्टी विश्वास दिलाउन चाहान्छ कि जुन दिनसम्म हामी यो धर्तिमा रहने छौ, जुन दिनसम्म नेपालमा दलाल पुजिवादी सत्ता रहनेछ, हाम्रो क्रान्ति रोकिने छैन, क्रान्ति निरन्तर जारी रहने छ ।

साम्राज्यवादीहरुको  ,भुमण्डलिकृत साम्राज्यवादको हस्तक्षेप रहदासम्म हाम्रो क्रान्ति निरन्तर जारीरहने छ ।हामी जुनसुकै चुनौति मोलेर ,फेरि सहिद बन्नु परे पनि सहिदको कोटा चुक्ता गर्न तयार भएर पनि, नेपाली जनताको मुक्ति प्राप्त गर्ने चाहनालाई पूरा गरि छाड्नेछौ । देशलाई स्वाधीन  बनाएर छाड्नेछौ । त्यसैले हाम्रो प्रतिबद्धमा सबै एकताबद्द बनौ र नेपाललाई अन्तिम रुपले दलाल पुजीवादबाट मुक्त गर्न वैज्ञानिक समाजवादमा पुग्ने वा प्राप्त गर्ने एउटा नयाँ क्रान्तिमा सहभागी बनौ ।

सहिद सप्ताहको सन्दर्भमा यहि आग्रह गर्दै ,फेरि पनि महान सहिदहरुलाई स्मरण गर्दै र श्रद्धाञ्जली गर्दै बेपत्ता योद्धालाई स्मरण गर्दै, घाइते योद्धालाई सम्मानसहित सहिद सप्ताहको अवसरमा सबैलाई शुभकामना ।
( नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीद्वारा सहिद सप्ताहको अवसरमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।