२३ बैशाख २०८१, आईतवार

बैंक, लघुवित्त र वित्तीय संस्थाको कारण जनताको उठिबास लाग्ने स्थिति सिर्जना भएको छ : समर

0

कञ्चनपुर : गणतन्त्रको नाममा यो सरकारले जनतामाथि लुट मच्चाएको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले बताएका छन् । सोमवार महंगी, भ्रष्टाचार कालोबजारी, बैंक वित्तीय संस्था तथा लघुवित्तहरुको गैरन्यायिक कारोबारका विरुद्ध आयोजित विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उक्त विरोध प्रदर्शनको कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज समर सी ले अहिलेका राजनीतिक दल र पार्टीका नेताहरु सत्ता र कुर्सीको प्रतिस्पर्धामा व्यस्त रहेको बताएका छन् । देशमा अवैधानिक तरिकाले बढ्दै गएको महंगी, बैंक लघुवित्त र वित्तीय संस्थाहरुको बढ्दो आतंकका कारण प्रेम प्रसाद आचार्य जस्ता व्यवसायीले आत्मदाह गर्नुपरेको र गाउँघरमा जनताको उठिबास लाग्ने स्थिति सिर्जना भएको छ यसको विरुद्ध नेपाली जनताले ठाउँठाउँमा विद्रोहको आवाज उठाइरहेको उनले बताए । देशमा उद्योगी व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाउने, युवाहरुलाई सस्तो ज्यालादारीमा विदेशमा बेच्ने यो दलाल व्यवस्था गणतान्त्रिक मुलुक हुन नसक्ने र यो वर्तमान सत्ताका दलालहरुले गणतन्त्रको नाममा जनता माथि लुट मच्चाएको उनको जिकिर थियो । पछिल्लो अवस्थामा राष्ट्रियता, जनजीविका, जनतन्त्रका विषयमा कसैले संघर्ष गरेको छ भने त्यो आफ्नो पार्टी नेकपाले गरेको उनको दाबी थियो । वर्तमान अवस्थामा देखिएका सबै समस्याको कारण भनेको संसदीय व्यवस्थाको उपज भएको बताउँदै यो समस्याको निकास जनताको व्यवस्था वैज्ञानिक समाजवादले गर्ने उनको भनाइ थियो ।

बैंक वित्तीय संस्थाहरुले चर्को ब्याजदर लगाएर ठूलो मात्रामा जनतामाथि ऋण थुपार्ने काम भएको अर्का वक्ता नेकपाका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला विराट सी ले बताए । साथै उक्त ज्यादती विरुद्ध हरेक नेपालीले आन्दोलनमा उत्रनु पर्ने समेत उहाँको भनाइ थियो । अनुत्पादक क्षेत्रमा जनतालाई लगानी लगाएर विभिन्न बैंक लघुवित्तहरुका केही निहित मालिकहरूले आफ्नो कमाई खाने भाँडो बनाएको छ, नेकपा नेता विराटले भने । उनले थप्दै भने,“सेवाका नाममा वित्तीय संस्थाहरुले गरेको दलाली लाई नरोके यसको विरुद्ध हाम्रो पार्टी सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ।” जनताको दैनिकीसंग जोडिएको महंगी कालोबजारी जस्ता कुरालाई समयमै नियन्त्रण गर्न सरकारलाई उनले आग्रह गरे ।

महेन्द्रनगरको ट्राफिक चोकदेखि सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय, एक नम्बर गल्ली हुँदै मदन चोकमा गएर कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न भएको थियो ।
विरोध र्यालीमा प्रदर्शनकारीहरुले बढ्दो महंगी नियन्त्रण गर, बैंक वित्तीय संस्थाहरुको आतंक बन्द गर, भ्रष्टाचार नियन्त्रण गर्न, नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद जस्ता नारा लगाएका थिए । जनताका जनजीविकासंग जोडिएका विषयलाई राज्यले सहज तुल्याउनु पर्ने नेकपाको मुख्य माग थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।