१४ बैशाख २०८१, शुक्रबार

आतङ्कको साँचो अर्थ

0

विगत सात-आँठ वर्षहरूको अन्तरालमा हाम्रा राजनीतिक जीवनमा जुन शब्दहरूले ताण्डव मच्चाएको छ र जुन शब्दबारे मानिसहरूबिच व्यापक रूपमा गलत धारणा फैलिएको छ, ती शब्दहरूमध्ये सबैभन्दा प्रमुख हो ‘आतङ्क’ । आजसम्म कसैले पनि गहन रूपमा विचार-विमर्श गरी यो शब्दको सही अर्थ बुझ्ने प्रयास गरेका छैनन्। त्यसै कारण यो शब्दको गलत प्रयोग हुँदै आइरहेको छ। सम्पूर्ण देशले सही प्रकारले आफ्नो लक्ष्य बुझ्न नसकेको कारण ‘दिनलाई रात अनि रातलाई दिन’ ठान्ने हुँदा थुप्रै ठक्करहरू खानु परिरहेको छ ।

आतङ्कमाथि बोल्दा मात्र पनि यो शब्द घृणित अनि नराम्रो हो भन्ने आभास हुँदछ। सुन्नसाथ मस्तिष्कमा यस्तो विचार उब्जिन थाल्दछ कि यो शब्द साह्रै दुःख दिने, अत्याचारी, जोर-जबरजस्ती र अन्यायपूर्ण हो । जुन कामसँग ‘आतङ्क’ शब्द जोडिन पुग्छ, त्यो काम अपभ्रष्ट, हानिकारक र घृणायुक्त लाग्न थाल्दछ । यस्तो स्थितिमा कुनै भलाद्मीले यसबाट टाढै बस्ने प्रयत्न गर्नु स्वाभाविक नै हो। खासमा ‘आतङ्क’ र ‘अत्याचार’को अर्थ आफ्नो शक्तिलाई असामाजिक ढङ्गमा प्रयोग गर्नु हो।

यी दुवै शब्दबाट शक्ति प्रयोगको गन्ध आउँदछ तर शक्ति प्रयोगको पनि एउटा सीमा छ। त्यसै सीमालाई ध्यानमा नराखी कतिपय दङ्गा र हिंसालाई मानिसहरूले ‘आतङ्क’ नाम दिएको छ र हिन्दी भाषामा यसको तुलना ‘अहिंसा’ शब्दसित हुँदछ। यसै कारण आतङ्क शब्द लिएर गलत धारणा फैलिएको हो ।

आतङ्क कार्यमा शक्तिको प्रयोग पनि हुँदछ। त्यसैले कतिपय तुच्छ दिमाग भएकाहरूले शक्तिको प्रयोग गर्नलाई नै आतङ्क नाम दिएका छन्। कसैलाई नराम्रो काम गर्नदेखि रोक्नलाई ‘त्यो काम नराम्रो अनि घृणित छ’ भनिदिए मात्र पुग्छ। यस्तै शब्दहरू मध्ये आतङ्क एक हो।

हजारौं मानिसहरू कङ्ग्रेसको निर्देशनमा बिना सुझबुझ शान्तिको कसम खान्छन् । एक प्रकारले हेर्दा कुरा ठिकै कुरा पनि हो। आतङ्कको अर्थ अत्याचार अनि बलजफती गर्नु नै हो । यस्ता नराम्रो काम नगर्ने प्रण गर्दा किन पो आपत्ति ! तर खास कुरा के हो भने, अत्याचारको साटो आफ्नो क्षमताको प्रयोग गर्नुलाई नै आतङ्क नाम दिएर मानिसहरूमा भूल धारणा फैलाएको छ। थुप्रै मानिसहरू थिए जो आफ्ना क्षमताको प्रयोग गर्ने पक्षमा थिए।


तर शब्दजालको कारण उनीहरूले आतङ्कको पक्ष लिने साहस गरेनन् अनि उनीहरूले चुपचाप शान्तिपूर्ण (आन्दोलन) -को पक्षमा उभिने कसम खाए। यसैले अहिंसा (Non-violence ) जस्ता शब्दहरूले व्यापक रूपमा गलत धारणा स्थापित गरेको छ। हजारौँ सुकर्म थिए जसलाई आजसम्म जायज साथै मानवमूल्यका निम्ति सही ठहर गरिन्थ्यो । आँखाको एकै झिमिक्कमा ती जम्मै । कर्महरू घृणित मानिन थालिए। वीरता, आँट, बलिदान, सैनिक कर्तव्य, शस्त्र चलाउने योग्यता, अत्याचारीहरूको शिर कुल्चिने बहादुरी आदि गुण, क्षमता/बल प्रयोगमाथि नै निर्भर थियो। यी गुणहरूलाई अब अयोग्यता र हिंसा भनेर बुझिन थाल्यो।

आतङ्क शब्दको यस्ता भ्रामक अर्थहरूले जनताको बुझाइलाई व्यर्थ तुल्याइदियो। कुरा यहाँसम्म पुग्यो कि मार्तोलले ढुङ्गाको मूर्ति फुटाउनु समेतलाई आतङ्कको परिधिभित्र राखिन थालियो। लौरो पक्रनलाई पनि आतङ्क मानियो । तब के अब ढुङ्गाको मूर्तिलाई हातैले फुटाउने?
कुनै पनि शब्द सुन्न साथ प्रत्येक मानिसको मनमा विचित्र किसिमका भावनाहरूले जन्म लिँदछ। त्यसपछि झटपट एक प्रकारको अर्थ बनाउँछन् तर ती शब्दबारे बुझ्न त्यसको तहसम्म जानको लागि मानिसले अधिक दिमाग लगाउँदैन ।

कुनै नौलो मान्छे आउनसाथ यदि उनलाई पापी र लुच्चा छ भनी टिप्पणी गरिदिए, सुन्ने तेस्रो मान्छेको मनमा उनीविरुद्ध स्वाभाविक रूपमा एक प्रकारका घृणित सोच उत्पन्न हुँदछ। ती मान्छेबारे कुनै प्रकारका छानबिन नगरी आफ्नो मत राख्छन्। यही तरिका शब्दहरूको प्रयोग सम्बन्धी विषयमा पनि अपनाउन सकिन्छ।

जुनशब्द बोलिन्छ त्यसको सही प्रयोग हनुपर्दछ भनेर वेद अनि पुराणमा जोड दिइएको छ, किनकि शाब्दिक भ्रमले देवताहरूमा समेत ठुला-ठुला दङ्गा भएको थियो। अनि यसले गर्दा निक्कै क्षति भएको थियो। ठिक त्यस्तै दशा विगत सात वर्षदेखि हाम्रो भइरहेको छ । क्षमताको योग्य एवम् अयोग्य प्रयोगको कुनै जाँच-विचार नगरी तत्काल आतङ्क घोषित गरिदिएको छ ।

यदि कुनै डाकु बन्चरो लिएर कसैको घरभित्र पसे त्यसलाई आतङ्क (को कार्य)भनियो तर यदि घरका मानिसहरूले डाकुको हत्या गरे त्यसलाई पनि आतङ्क(को काम) मानियो। अर्थात् आफू अनि आफ्ना परिवारका रक्षा हेतु जब राम्रै नियतले बल प्रयोग गरिन्छ तब त्यसलाई पनि आतङ्क नै भनियो । रावणले बलजफती सीताको हरण गर्छ। त्यसलाई पनि आतङ्क भनियो ।

सीतालाई लिन गएका रामले रावणको शिर काट्छ । त्यसलाई पनि आतङ्क नै भनिन्छ ।इटाली, अमेरिका, आयरल्यान्ड आदि देशहरूमा विभिन्न प्रकारका अत्याचार गर्ने अत्याचारीहरू आतङ्क फैलाउनेहरू भनेर बुझिन्छ । अनि हातमा नाङ्गो तलवार लिएर ती विदेशी डकैतहरूलाई खेद्ने योद्धाहरूलाई पनि आतङ्क (फैलाउनेहरू). को उपाधि दिइन्छ।

गेरीबल्डी, वाशिङ्गटन, एमट र डी वलेरा आदि सबैलाई यसै सूचीमा राखियो । के यो न्यायोचित हो? गहना चोर्न अबोध बालकको घिच्रो काट्ने चोर पनि घृणित एवम् त्यही चोरलाई फाँसीमा झुन्डाउने ढुङ्गा जस्तै मन भएको न्यायकारी सम्राट् पनि आतङ्ककारी र घृणित ? कृष्ण र कंस दुवै पापी । शूर वीर भीम पनि उसको धर्मात्मा स्वास्नीलाई अपमान गर्ने दुःशासन जत्तिकै दोषी ! आह! कत्ति धेर भूल बुझाइ नि ! कति धेर अन्याय । यसै कारण कतिपय सिधा-सोझा मानिसहरूले राम्रा कामहरूलाई पनि केवल बल प्रयोग भयो भन्दैमा अयोग्य र आतङ्कवाद ठान्ने गर्छन् ।

साँपले डस्छ, मान्छेले त्यसलाई मार्छ तर दुवै बराबर होइनन् । डस्नु त साँपको प्रवृत्ति हो र त्यो यही प्रवृत्तिले गर्दा बाध्य बन्यो तर त्यसलाई मार्ने काम मान्छेले जानिबुझी गरेको हुनाले, के मान्छेलाई हिंसक मान्न सकिन्छ? कुरा यहाँसम्म पुग्यो कि देश अनि जनताकोलागि सशस्त्र भई सङ्घर्षको मैदानमा सहिद हुने सङ्ग्रामीहरूलाई पनि पापी/हिंसक भन्न थालियो । शिवाजी, राणा प्रताप र रणजीत सिंह जस्ता पूजनीय व्यक्तित्वहरू पनि आतङ्क फैलाउनेहरू हुन् भनी घृणाका सिकार बन्न पुगे।

उता संसारका सबै देशहरू शस्त्रधारी छन् । प्रत्येकले आफ्ना हतियारहरूको क्षमता बढाउदैछ । तर यता हाम्रा देशमा भने शस्त्र उठाउनलाई पाप सम्झिरहेको छ । ‘हतियार नउठाऊँ’- यो शिक्षा दिनेहरू हतियार देख्नसाथ कायर मानिसहरूमाथि आक्रमण गर्न थाल्छन् । डुबिसकेको अवस्थाबाट देशलाई निकालेर उन्नतिको बाटोमा उभ्याउने शूर वीरहरू हराउन थाले । क्षमतादेखि डराउने शत्रु हसी-खुशी देखिन थाले ।

कमै व्यक्तिहरू थिए जसले यो दुःखद स्थिति देख्न सकेनन् औ उनीहरूले यसको खण्डन गर्न थाले । तर अचम्भ पार्ने कुरा त यो हो कि उनीहरू स्वयम् नै यस गडबडीको शिकार भए अनि ठोस तर्कहरू दिएर विरोध प्रकट गर्नु उनीहरूलाई कठिन भयो । शस्त्रद्वारा युग परिवर्तन गर्न चाहने मानिसहरूले दिक्क मानेर भन्न थाले — हो ! हो ! हामी आतङ्क फैलाउनेछौं, हामी हिंसा नै गर्नेछौँ!

कुनै इमानदार व्यक्तिले आफ्नो राम्रो कामलाई अपराध ठहराएको देख्छ । तब उनी तर्कसम्मत उत्तर दिन सक्दैनन् र आत्तिएर भन्न थाल्छ- हो, म अपराध नै गर्नेछु । ठिक यही स्थिति यी युग पल्टाउनेहरूको भइरहेकोछ। मद्रास कङ्ग्रेस अध्यक्ष समेतले यो भनिसकेका छन् कि आज यदि हामी शान्तिपूर्ण (तरिका)-को पक्षधर हौ भने यसको अर्थ यो होइन कि हामी सदैव यस्तै नै रहने छौँ ।

हुन सक्छ हामी भोलिको आतङ्क (violence)-को लागि तयार हुनपर्छ। दुःखको कुरो त यो हो कि ‘आतङ्क’ शब्द घृणित छ। आफ्नो गुणहरू अनि सठिक अर्थहरूमा व्याख्या नहुनुको कारणले यसले अरूलाई आफ्नो पक्षमा ल्याउन सकेन-अर्थात् ती मानिसहरू, जो बल- प्रयोगको पक्षमा पनि छन्, उनीहरूले पनि आफूलाई आतङ्कवादी वा अत्याचारी भनिनु रुचाउँदैनन्। यसैले ‘आतङ्क’ शब्दको अर्थहरूको अपव्याख्या हुनुको कारण कत्ति धेरै नोक्सान भइरहेछ ।

‘आतङ्क’-शब्दको गलत व्याख्या नै गलत बुझाइको जड हो । किनकि आतङ्क अनि अत्याचार पनि बल-प्रयोगबाटै हुँदछन् । यसै कारण बल-प्रयोगले राम्रा अनि नराम्रा कामहरू हुँदछन्। ती मध्ये अत्याचार एक हो । कसैको घरमा एकजना मान्छेले लुकेर आगो लगाइदिन्छ । ती आगो लगाउने व्यक्ति अनि अर्कोतिर आगो लगाउने घरको भान्से यी दुवैलाई अपराधी भन्न सकिँदैन । न त आगो जलाउने कामलाई नै नराम्रो भन्न सकिन्छ ।

यस्तै प्रकारले आफ्नो देशको रक्षाका निम्ति औ स्वतन्त्रता प्राप्तिको लागि शस्त्र लिएर मैदानमा उत्रिने देशभक्तहरूले जब अत्याचारीसँग कनै निर्दोष (मजलूम) को बदला लिँदै फाँसीमा चढ्छ, ऊ या अरू कोही शूरवीर, जो आफ्ना शाखा सन्तानहरू, आफ्ना स्वास्नी एवम घरबारको रक्षा हेतु हतियार लिएर वर्वर अत्याचारीसँग लड्न निस्किन्छ, तब उसले बल-प्रयोग त अवश्य गर्नु पर्नेछ, तर यसलाई आतङ्क फैलायो भनेर भन्न सकिँदैन। उसले गरेको काम आतङ्की कामहरूमा गन्न सकिँदैन, बरु त्यसलाई राम्रो अनि नेक काम भनिन्छ ।

निर्दोषहरूलाई बिना कुनै कारण बलजफती सताउनु औ आफ्नो नीच स्वार्थपूर्ति निम्ति अरूलाई हानी पुऱ्याउनु जस्ता असभ्य कामहरूमा गरिएको बल-प्रयोगलाई नै आतङ्क भन्न सकिन्छ। तर जब कुनै गरिब अनाथलाई सहयोग गर्न बल प्रयोग गरिएको छ भने त्यो आतङ्क नभएर पुण्य औ परोपकार भनिन्छ। यसले यो सिद्ध हुँदछ कि बल-प्रयोग गर्नु कुनै उत्पीडन, अत्याचार वा आतङ्क होइन तर बल-प्रयोग मान्छेको नियतमाथि निर्भर गर्छ।

यदि उसले कुनै भलो वा नेक कामको लागि बल- प्रयोग गरेको हो भने उसलाई आतङ्कको दोषी ठहराउन सकिँदैन। तर यदि उसले आफ्नो व्यक्तिगत हित वा निर्दोषहरूलाई दुःख दिन आफ्नो क्षमताको गलत प्रयोग गरेको हो भने उसलाई नि:सन्देह ‘आतङ्कवादी’ भन्न सकिन्छ । आतङ्कवाद घृणित कार्य हो । आतङ्क शक्तिको यस्तो प्रयोग हो जसबाट बिना अपराध कसैलाई दुःख दिइन्छ। तर जहाँ निरङ्कुशहरू र गुन्डाहरूको गुन्डागिरी रोक्नका निम्ति बल- प्रयोग गरिन्छ, त्यो आतङ्क होइन।

किनकि संसारको राम्रो कामहरूको परिभाषित गर्ने एउटै उपाय छ– त्यो हो ती कामहरूले संसारलाई सुख साथै आनन्द दिन पर्यो । कसैलाई दुःख दिनु आतङ्क हो, तर दुःख दिने अत्याचारीको सबथोक मेटाइदिनु पुण्य हो ।

निरङ्कुशताको तलवार समातेर जब निर्दय कंस देवकीको घरभित्र पस्दछ, उसको त्यो समयको काम घृणित आतङ्क हो। तर जब त्यही निहृदयीको पन्जाबाट जनतालाई छुटकारा दिलाउनको लागि तलवार लिएर श्रीकृष्ण त्यसको दरबारमा प्रवेश गरेर त्यसको टाउको काट्छन्, त्यस समयको उनको यो कार्य स्वागतयोग्य छ । दुवै तलवार हो। दुवै हतियार हो। दुवै काममा बल-प्रयोग गरिएको छ। तर एउटा काम अत्याचारले भरिएको छ, त्यसैले त्यसलाई आतङ्क भनिन्छ । दोस्रो काम नैतिकतापूर्ण छ । त्यो काम एउटा निर्दय अत्याचारीको अस्तित्वलाई गलत अक्षर झैं मेटाएर मानव जातिमाथि परोपकार गर्नु हो। त्यसैले त्यो नेक काम सम्माननीय छ।

तर यदि हामीले वर्तमान जीवन दर्शनको दृष्टिले हेऔँ भने दुवै काम आतङ्ककारी अनि घृणित हुन्। मानिसलाई दुःख दिने निरङ्कुश पनि आतङ्ककारी, अनि त्यस निरङ्कुशको पन्जाबाट जनतालाई छुटकारा दिलाउने पनि आतङ्ककारी ! हाम्रो देशमा यदि यही स्थिति रह्यो भने राम्रो-नराम्रोको पहिचान कसरी हुने ? सम्माननीय कामहरू अनि घृणित कामहरू माझको भिन्नता कसरी छुट्टाउने हो?

यदि शक्तिको गलत प्रयोग अर्थात् गरिबहरू/अनाथहरूलाई सताउनु आतङ्क हो भनेर बुझ्न सके साथै यस्ता कुकर्महरूलाई रोक्नु सुकार्य हो भनेर बुझ्छन् भने, आतङ्क शब्दको सबै भ्रम मेटिएर जानेछ। चोर, डाकु अनि हत्याराहरूले जब हतियारको प्रयोग गर्छन् तब त्यो आतङ्क गर्नु हो (That force being aggressively used become violence), तर जब घर मालिकले मौका पाउन साथ ती डाकु वा हत्याराको छातीमा छुरी घोप्छन् भने वा त्यस डाकुलाई कुनै न्याय प्रिय शासकले फाँसीको सजाइ दिन्छ भने त्यो राम्रो काम हुँदछ।

त्यसैले हिन्दु धर्मशास्त्रका मनु ज्यू लेख्नु हुन्छ—निरङ्कुश, हत्यारा, अपराधी आदिलाई गुप्त तरिका वा खुला मैदानमा चुनौती दिएर साथै अन्य कुनै उपायले छापा मारेर हत्या गर्ने साहसी मानिस पापी वा दोषी होइनन्।

उनलाई त सम्माननीय व्यक्ति भनिन्छ । पुरानो भन्दा पुरानो अनि नयाँ भन्दा नयाँ कानुन अनुसार आत्मरक्षाका निम्ति गरिएको बल-प्रयोगलाई कहिल्यै पनि आतङ्कको संज्ञा दिइँदैन। यहाँसम्मकी हिन्दु दण्ड-विधानमा पनि त्यसलाई आतङ्क (violence) भनिएको छैन । आतङ्क फैलाउनु दण्डनीय हो तर आत्मरक्षाका निम्ति बल-प्रयोग गर्नुलाई कानुनी शक्ति मानिन्छ ।

त्यही कुरा राजनीतिमा लागू हुन्छ । इटालीमाथि अस्ट्रियाले तलवारको शक्तिले मात्र राज गर्थ्यो। यसै कारण इटालीलाई जबरजस्ती अधीनमा राख्ने अस्ट्रियाको काम आतङ्कपूर्ण थियो र अन्त गर्ने योग्य थियो। तर यसको विरुद्ध जब गरीबल्डी अनि मेजिनीले तलवार उठाए औ त्यस निरङ्कुश शासनको अन्त गरे तब उनीहरूको यो काम घृणास्पद नभएर पूजनीय मानियो ।

ठिक यही कुरा हामी 1857- मा हिन्दुस्तानको मुक्तिको लागि लडिएको लडाइ सम्बन्धमा भन्न सक्छौँ। किनकि अघि हामीले चर्चा गरे अनुसार त्यो निरङ्कुशता वा आतङ्क थिएन । यो लेखले हतियारले सुसज्जित विद्रोह गर्ने प्रेरणा दिइरहेको छ भन्ने अर्थ लगाउनु सरासर गलत अनि बेअर्थको हुनेछ। आजको परिस्थितिमा हामी सशस्त्र विद्रोह गर्नु वा नगर्नुबारे केही लेख्दैनौँ। सशस्त्र विद्रोहको समर्थन वा विरोध छुट्टा-छुट्टै राष्ट्रहरूको परिस्थिति अनुसार हुँदछ।

आजको समयमा जसले सशस्त्र विद्रोहलाई कठिन वा समय अनुकूल नरहेको ठान्छन् उनीहरूले ‘आतङ्क’ शब्दको आड लिएर क्रान्तिको विचारलाई नै खोक्रो बनाउँछन् । यही उद्देश्यले नै ‘आतङ्क’ शब्दको उक्त व्याख्या गरिएको हो, ताकि मानिसहरूमा शाब्दिक भुल बुझाई नहोस् ।

[(‘श्रद्धानन्द’, बम्बईबाट) किरती/मई, 1928]मा प्रकाशित तथा स्वर्ण देवानद्वारा अनुवादित यो लेखलाई समसामयिक ठानेर भगत सिंह संकलित रचनाहरु सन 2012पृ ३६-४२बाट साभार गरेका छौं ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।