७ बैशाख २०८१, शुक्रबार

जनयुद्धको यायावरी यात्रा

0

औंसीको चकमन्न रात, विधुतिय सेवाबाट टाढा तर मट्टीतेल र दियालो बालेर क्षितिजसम्म तारा झैं चम्कीरहेका मधुरा बतीहरु, छिमेकीहरुको चहलपहल, एकहोरो कुकुरको आवाज, पहाडको काखमा अवस्थित ढुङ्गीलो बस्ती, त्यसको सिरानमाथी सुसाइरहेको सघन सल्लेरीवन यी सबै दृश्यहरु मेरो मस्तिष्कमा ठोकिन्छन् ।

शिशिर भए पनि हेमन्त ऋतु कायमै जस्तो लाग्छ । हिउँदे झरी सकिएको छैन । बरु त्यसले महाभारत शृङ्खलाहरुलाई झन्झन् रुजाइरहेको छ । हिमालहरु सेतो घुम्टो ओडिरहेका छन् । पहाडी भुभागहरु सितलहरले लपेटिएका छन् । शिशिरे सिरेटोले मानिसहरुलाई निक्कै कठाङ्याएको छ । सिरिरी चलिरहेको हावाले मलाई चिसो स्पर्श गर्दै बलिरहेको बत्तीलाई घरी-घरी जिस्क्याइरहन्छ । हावाको झोक्का सङ्गै म तुफानी संघर्षले भरिएको वितेका पलहरुको मधुर स्मृतिमा अल्झिन्छु।मनको भकारीमा थन्किएका कठोर अनुभुतिका पोकाहरु खोल्न।

मैले बाल्यकालको धेरै पलहरु पहाडको खोच, कन्दरा र झुप्राहरुमा बगालका सङ्गातीहरुसङ्ग चुङ्गी, घुरा, कपडी र तीन तले चट्टानहरुमा चिप्लेटी खेलेर बिताए। जब किशोर अवस्थाले छोयो, अध्ययनको साथसाथै विचार र राजनीति आस्था बोकेर जनयुद्धको कठिन अभियानहरुमा हिड्न थाले । वि. स. २०५५ को गर्मीमा म प्राथमिक तह अध्ययनरत छदा भुमिगत राजनीतिसङ्ग जोडिए । अखिल क्रान्तिकारी मा. वि. इकाई समिति सदस्य भएर पहिलो चोटि राजनीतिमा वामे सर्दाको त्यो गर्विलो क्षण सम्झनाको क्यान्भासबाट हराएको छैन ।

२०५५ को सुरुवातमा नै माओवादी सखाप पार्न राज्यले ( किलो सेरा टु ) अप्रेसन चलायो । तर गाउँघरमा माओवादी चहलपहल र प्रभाव रोकिएन । मोफसलका सार्वजनिक भवन र विद्यालयका भित्ताहरु झन् जनयुद्धको पोष्टर र क्रान्तिको नाराले झन् रङ्गीन थाले । साथै  रुखका टुप्पोमा लहरीएका लाल झण्डा र व्यानरहरुले यस्तो लाग्थ्यो । गाउँवस्ती नै माओवादी, युद्ध र क्रान्तिमय छ । 

मलाई सम्झना छ, वर्षा यामको दिन रिमझिम पानी परिरहेको थियोे । म भिझेर विद्यालय जादै थिए, अनायास सडक डिलमा रोकिए। पर विद्यालयको प्राङ्गणमा एक हुल शस्त्रसज्जीत छापामारहरु भेला भएका थिए । मनमा अलिकति डर र उत्सुकता थियोे । विस्तारै नजिकै पिपलको रुख मुनि गए ।  त्यसको फेदीमा बसेर एकटकले छापामारहरुलाइ नियाले ।

मनमा अनेकौं तर्कनाहरु भएपनि यस्तो लाग्यो । म पनि कुनै दिन छापामार बन्छु, क्यारे ! २०५२ देखि २०५५ सम्म रोल्पा, रुकुम, जाजरकोट र कालिकोटका बिकट गाउँहरुमा जनयुद्धको लहर थियोे । युवाहरु  घर छाडेर छापामार बन्ने क्रम रोकिएको थिएन । बरु दिन दुई गुना, रात चौ गुना बढ्यो । रहरले त कहाँ हो र, राज्यको असमान, विभेद र दमनकारी नितिविरुद्ध सचेत युवा उर्लनु अपरिहार्य बन्यो ।

२०५५ देखि जनयुद्धको उतरार्धसम्म आउँदा राप्ती र कर्णाली जनयुद्धको आधारइलाका र तुफानी केन्द्र बने । त्यसो त सिङ्गो देशको असी प्रतिशत भूभागहरुमा माओवादी जनसता विस्तार र सुदृढको अभियान तिव्र चल्यो । युद्धको बढ्दो प्रभावसङ्ग  मेरो भुमिगत र पुर्णकालिन राजनीति यात्रा तय भयो  ।

२०६० पौषको बिहान भुटेको मक्कै, सातु, चिउरा र दुइ जोर कपडा झोलमा बोकेर कमरेड तुफान सङ्ग सयौं मान्छेहरुको हुलमा मिसिए । आजै जस्तो लाग्छ। बाँसीको उकालो, छान्नाको डाडा, भवानी लेक हुँदै लेकतोलीमा गएर भुटेको मक्कै र सातु खाएर अनिदो रात कटाएको। नौमुले खोलाको झुलुङ्गे पुल तरेर जब हामी सल्लेरी तिर चढ्दै थियौ।

दैलेखको पश्चिमबाट आएका मान्छेहरुको ताति देख्दा सबैको केन्द्रीकरण जस्तो देखिन्थ्यो। पैतिको जङ्गलमा विश्राम लिदै लामो श्वास फेर्दा थकान हल्ला कम हुन्थ्यो। रुमको पातलो वस्ती, जगन्नाथ गाउँको नागबेली गोरेटाहरु र भर्‍याङ चढे झैँ उकालो काटेर कचाली पुग्दै थियौं । कमरेड तुफानले इसारा गर्दै भन्नु भयो। दैलेख र जाजरकोट जोड्ने कचाली लेक यहि हो। मैले पहिलो चोटी कचाली पुगेर टाढाबाट भए पनि सिस्ने हिमालको चुचुरो देखेको थिए।

माओवादी आधार क्षेत्रलाइ नजिक बाट हेरेको थिए। त्यहाको माटोलाइ स्पर्श गरे । मलाई जनताको बिचार र भाबनासङ्ग एकाकार हुने झन् ठुलो अवसर त्यहि यात्राबाट नै प्राप्त भएको हो। तीन दिनको पैदल यात्रा पछी मुश्किलले बल्ल जाजरकोट थापाजुङ्गाचौर पुगेका थियौं हामी । कर्णाली र भेरीका सबै जिल्लाहरुबाट बिशाल जनताको उपस्थितमा भेरी कर्णाली स्वायत्त जनसरकार घोषणा हुदै थियोे। अचानक शाही नेपाली सेनाले हेलिकप्टरबाट बम वर्षायो ।

धेरै मान्छेहरुको भागदौड चल्यो। घरहरु उजाडिए। त्यो बीभत्स घटना र बम आतंक सम्झदा मन सिरिङ हुन्छ । जाजरकोट मेरो लागी नयाँ भूगोल, नयाँ परिवेश र अनुभव थियो । तर, त्यसरी म कार्यक्रम सहभागी भएको भने पहिलो होइन । २०५९ माघ १५ गते सरकारले माओवादीलाई लगाएको आतंककारी विल्ला फिर्ता लियो ।

दोस्रो युद्धविराम घोषणा गरि औपचारिक रूपमा वार्तामा बोलायो । सरकारको आह्वानमा माओवादीले पनि फौजी गतिविधि रोकेर युद्धविराम गर्‍यो । र, औपचारिक वार्तामा सामेल भयो । शान्ति वार्ताका ती दिनहरुमा हातमा रातो झण्डा बोकेर परिवर्तनको नारा घन्काउदै नेपालगन्ज र सुर्खेतका विशाल जनसभाहरुमा सहभागी भएको थिए ।

दोस्रो युद्धविराम भंग भएपछि मेरो पहिलो र लामो पैदल यात्रा थियो जाजरकोट । त्यही यात्रा अनुभूतिमा सोचमग्न र एकाग्र थिए । अनायास ढोकामा टकटक आवाज आयो हतपत ढोका खोले आमा आउनुभएको रहेछ । साथमा कमरेड संग्राम पनि, आमाले शान्त स्वरमा कान्छा संग्राम जी आज हाम्रो घरमा बस्ने गरि आउनु भएको हो । तिमी सङ्गै बस्नु हुन्छ । पाहुनाको राम्रो ख्याल गर्नु । मैले आमाको बोलिमा स्वीकृत जनाए । केही बेरमै आमा बाहिरीनु भयो ।

कमरेड संग्रामलाई मैले कार्यक्रमहरुमा धेरै ठाउँ देखेको हो । तर, नजिकबाट साक्षात्कार भएको थिएन । त्यस रात हामीले टुकीको मधुरो प्रकाशमा लामो छलफल गर्‍यौं । नेपालको कम्युनिस्ट आन्दोलन, माओवादी नेतृत्वमा संचालित जनयुद्ध र निरङ्कुश राजतन्त्रबारे संग्राम जीको चर्चा परिचर्चा रोचक र गहन लाग्यो । त्यस्तो राजनीति र वैचारिक अंतरङ्ग सम्वाद मेरो निम्ति पहिलो नभए पनि केही नौलो भने अवश्य हो ।  त्यो रातको छलफलले मलाई जनयुद्धको पुर्णकालीन राजनीतिमा जोड्यो । जिन्दगीको यात्रामा समयले कहिलेकाही मान्छेलाई  चलिरहेको नित्यकर्मबाट अर्को मोडमा पुर्‍याउदोरहेछ । जुन अनपेक्षित हुन्छ।

भुमिगत यात्रा

जीवनको दौरानमा बढ्दो उमेर, बदलिँदो परिवेश, मनभरी उत्साह  र इच्छाशक्तिले मानिसलाई नयाँ सपनातिर डोर्‍याउनेरहेछ । साठीको दशक क्रान्तिको स्वर्णिम सपना देखेर दैलेखको विकट गाउँबाट जनयुद्धको महायज्ञमा सामेल भए। ती दिनहरुमा देश भीषण द्वन्दको भुवँरीमा डुबिरहेको थियोे। निरङ्कुश राजतन्त्रको दमन र नाइट भिजन हेलिकप्टर आतंकले जनजीवन तहसनहस। जीवन, मृत्यु, आतंक, आनन्द,  विद्रोह, समर्पण, ध्वङ्स र निर्माणको कहालीलाग्दो चक्रबाट समाज गुर्जिरहेको थियोे। निरङकुश शासन सत्ता विरुद्ध हृदय भरी  क्रान्ति र बिद्रोहको ज्वाला बालेर किशोर वयमा निस्किदा वर्ग मुक्तिको भावनाले झनै ओतप्रोत थिए म।

विचार र भावनाको उताल तरङ्गमा लहरिएर मैले जुन दिन आमाको न्यायनो माया, पारिवारिक छाया, सङ्गाती आत्मीयता, विद्यार्थी जीवन, व्यक्तिगत सम्पत्ति र जीवनको गुलाफी सपनाहरु मझेरीमा छाडेर जनयुद्धको यात्रामा निस्के, त्यो क्षण फलामको चिउरा चपाए जस्तो लागे पनि मुक्तिको उज्यालो सम्भावना देखेको थिए। जनयुद्धको साहसिक यात्राहरुमा घरको आगन र विद्यालयको प्राङ्गण भन्दा परको संसार जब मैले देख्न थाले!

हाम्रो समाज वर्गीय, जातीय, क्षेत्रिय, लैङ्गिक र यावत् विभेदको आहालमा कति भासिएको रहेछ?असमानताका भंगालाहरुमा कति धेरै चोइटिएको रहेछ? अभाव र गरीबीको दुश्चक्रले कति आक्रान्त रहेछ? ती असजिला क्षणहरुमा वर्गीय समाजको समग्र पक्ष बुझ्न थाले ! तब मलाई वर्ग मुक्तिको भावना  र वर्गवैरीप्रति आक्रोशको प्रचण्ड तेजले क्रान्तिको दुर्बोध्य मार्गमा अविरल कुदाइदियो।

जनयुद्धको दुन्दुभि मोर्चा र कुइनेटाहरुमा अघि बढदै जादा बम वारुदको भयानक गर्जनसङ्ग लुकामारी, जलजला र सिस्नेको चुचुरो अनि कान्जीरोवा र अपीसैपालका हिमाली शृङ्खलाहरु छिचोल्दै कठोर कष्टसाध्य पलहरु बिते। हिउँका ढिस्काहरुमा खेल्दा, भोकको छट्पटीमा हिउँका डल्लाहरु निल्दा, जङ्गल अनि ओडारहरुमा लुक्दा, चौरीका गोठहरुमा सुत्दा अनिदा रातहरु आकाश हेर्दाहेर्दै सिदिन्थे ! अक्सर प्रकृतिको अतुल्य छटा र विख लाग्ने हिमार्द्रीहरुमा भडकिदा पुरातन समाजको वेहोसीबाट व्युझिए झैँ लाग्थ्यो ।

सङ्कटकालको खुनी दिनहरुमा निरङ्कुस राजतन्त्र र सामन्ती झेली समाजसङ्ग विद्रोह गर्नु मेरो निम्ति दुष्कर हो। तर परिवर्तनको लागि अपरिहार्य थियोे ! हरेकको जीवनमा विद्रोह अकाटय छ । चाहे पारिवारिक विद्रोह, समाज र राज्यसङ्गको विद्रोह अर्थात आफै सङ्गको विद्रोह ! सबैभन्दा खतरनाक हुन्छ आफै सङ्गको विद्रोह ! म अन्तरमनको विद्रोहमा धेरै पटक पराजित भएको छु । फेरि तङ्ग्रीएर बिद्रोहको बाटो रोजेको छु ।

विद्रोह ज्युदो मान्छेहरुले अत्याचार विरुद्ध हर तवरले लडनु  रहेछ। तर त्यो विद्रोह आत्मसमर्पण र विसर्जनको लागि होईन परिवर्तन र विजयको लागि हुनुपर्छ । राणाशासन विरुद्ध बिद्रोहको हुङ्कारमा जङ्ग बहादुर राणालाई लखन थापाले भनेका थिए । “मलाई मारियो भने मेरो लास सङ्गै जङ्ग बहादुर सती जानेछ ।” लखन मारिए तर उनको पदचाप पछ्याउँदै वि. स. १९९७ सम्म आउँदा धेरै राणाशासन बिरोधिहरु जन्मिए ।

२००७ को क्रान्तिमा विद्रोहीहरुले श्री तीन सरकारको टाउकोमा घन बजारे। र राणाशानलाई चिहानमा पुरिदिए। खराब शासनसत्ता विरुद्ध संसार भर बिद्रोहीहरुको जमात समयको हर कालखण्डमा जन्मिदै आएको छ। युगान्तकारी परिवर्तनको खातिर वीरहरु लडिरहन्छ । ज्युदा लास र कायरहरुले मात्र विद्रोह गर्दैनन् जो बाचेर पनि मरेतुल्य हुन्छन्।

इतिहासले कायर र ज्युदा लासहरु मात्र होइन हरेक युगमा नयाँ क्रान्ती वीरहरु जन्माएको छ । मुक्ति र परिवर्तनको लागि हासीँ हासीँ बलिदान मार्ग रोज्ने, साम्राज्यवादको अत्याचार विरुद्ध क्रान्तिको आँधी उराल्ने विश्वक्रान्ती नायक चे ग्वेभारा पनि जन्मायो। इतिहासमा पहिलो क्रान्तिको रूपमा अंकित दास विद्रोह पतनशील रोमन साम्राज्य र बर्बर दासयुग विरुद्ध केन्द्रित थियो । त्यसले सङ्गठित रूपमा दासतामा आगो झोस्ने स्पार्टाकस जन्मायो ।

सत्रौ शताब्दीमा सामन्ती युग अर्थात राजतन्त्र अन्त्य गर्न बेलायतको गौरवमय क्रान्तिको नेतृत्व गर्दै ओलीवर क्रमवेल उदाए । पुँजिवादको शोषणको अत्याचार र क्रूरुरतालाई हेरेर माक्र्स, एङ्गेल्स जसले सन् १८४८ मा कम्युनिस्ट घोषणा पत्रबाट उत्पीडितहरुलाइ साम्यवादी सपना देखाए । परिणाम सन् १८७१ मा संसारको पहिलो सर्वहारा वर्गको राज्यसत्ता पेरिस कम्युनको स्थापना भयो ।

त्यसबाट कम्युनिस्ट विचार र कार्यदिशा लागु गर्ने कम्युनार्डहरुको जमात हुर्कियो । पेरिस कम्युनले विश्व पुजीवादी व्यवस्थालाई डढेल्लो लगाउन क्रान्तिको झिल्को बाल्यो । कालान्तरमा रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिले पुँजिवादलाई रच्छ्यानमा मिल्कादियो। इतिहासमा परिवर्तनको लागि भएका सबै क्रान्तिहरु बलिदानको कठिन मार्गबाट गुर्जिएका छ्न ।

सायद स्पार्टाकसको दास बिद्रोह देखि बेलायत, अमेरिका, फ्रान्स, युनान, भारत, इटली, रुस, टर्की, चीन, क्युवा, भियतनाम, पेरु र नेपालको जनयुद्ध सम्म आउँदा ती युगान्तकारी संघर्षहरुमा त्याग तपस्या गर्न सक्ने मृत्युन्जय योद्धाहरु सरिक थिए। जसले खराब शासनका विरुद्ध निर्भय र निरवच्छिन्न बिद्रोह गरिरहे। यसर्थ, मैले पनि जनयुद्धको झञझावातहरुमा पिडाका भयानक गल्छीहरु काटदै, नयाँ गोरेटो खोजे, दुश्मनको काडेतार, जङ्गी पर्खाल र विधुतीय धरापहरु छल्दै, वर्गमुक्ति र समाज रुपान्तरणको अभियान रोजे ।

– डुल्दै हिड्दा गाउँ वस्तीमा
पहाड पर्वत भञ्ज्याङ्हरु युद्धमय छ !
आधा धर्ती सारा सारा रक्तमय छ !
गाउँ वस्ती झुप्राहरु क्रान्तिमय छ !
चारैतिर कालोनिलो आधिमय छ !!

गायक खुशीराम पाख्रीनको यो गीतले ६० को दशक क्रान्तिमा निक्कै उर्जा भरेको थियोे। जनवादी गीत सङ्गीतको क्षेत्रमा समर्पित कलाकारहरुको मुखार बाट सायदै गुन्जीरहेने गीत हो। रक्तक्रान्तिको बेला हो यो। भेरी कर्णाली र दैलेखलाइ कार्यक्षेत्र बनाउदा इच्छुक सास्कृतिक सङ्गम र नौमुले जनवादी सास्कृतिक परिवारको तर्फबाट हामीले धेरै गाउँ वस्तीहरुमा गुन्जायौ यस्तै जनवादी गीतहरु। बन्दुक, कलम र गीत सङ्गीतको समायोजनले आन्दोलनमा ती दिनहरुमा उर्जा थपेको थियोे। अतितलाइ फर्केर हेर्दा गौरव लाग्छ साथै दुख पनि।

धेरै कमरेडहरु केवल सम्झनामा छ्न। त्यस मध्ये अनुजाको हसिलो मुहारको याद आउछ। दैलेखको कालिकामा जन्मेकी अनुजाले व्यक्तिगत जीवनका मिठा सपनाहरू छाडेर २०५९ तिरै जनयुद्धको महायात्रामा सामेल भइन। जनयुद्धको असजिला पलहरुमा हामीले सास्कृतिक टिममा काम गर्दा सङ्गै चार वर्ष बिताएयौ। उनी कुशल नृत्याङ्गाना हुन।

एकीकृत जनप्रतिरोध अभियान, जनसैन्य मार्च अभियान र रणनीति प्रत्याक्रमणको योजनाहरु कार्यान्वयन गर्न जनमुक्ति सेनाको ठुलो फौज सङ्ग मार्चपास गर्दै पश्चिमका ग्रामीण भेगहरुमा अध्यारो समाजमा प्रकाश भर्न हामीले सास्कृतिक जागरणको दियो बालेका थियौ। वर्गयुद्धको सङ्गीन घडीमा पनि सङ्गै लडौ साथी, सङ्गै मरौ साथी वर्गीय मायालाइ मुटु भित्र साचि यस्तै सड्ढल्प र प्रतिबद्धताको महान बेदीमा हामीले जीवन अर्पित गर्ने अठोट गरेका थियौ।

२०६२ को पौष, माघ र फागुन महिनामा हाम्रो साँस्कृतिक टिम जनमुक्ति सेनाको फर्मेशन सङ्गै पश्चिम अभियानमा केन्द्रित रहयो। हामीले हुम्ला देखि बर्दिया सम्म डोल्पा देखि दैलेख सम्म दुरदराजहरु छिचोल्दै मुक्ति र परिवर्तनको सन्देश फैलाएयौ। हार्मोनियनको सार्प, गितारको तारमा मुक्ति गान गुन्जाउदा गाउँ वस्तीहरु व्युझिन्थे, युद्धको मङ्गल धुनहरु सित दमिडहरुको सुस्केरहरु मिस्सिदा जनताको गीत बन्थ्यो।

जनमुक्ति सेनाको एउटा टुकुडी सहित २०६२ चैत्र ७ दैलेखको वस्ताकोटमा हजारौं जनता बीच भव्य सास्कृतिक कार्यक्रम सप्पन्न गर्‍यौं। हाम्रो टिम बनाडा तिर लाग्यो। त्यो रात मेस थिएन। सबै जना जनताको घरमा खाना खान बाडिएयौ। स्थानीय कमरेडले गाउँको बिचमा सेल्टर मिलाउनु भएको रहेछ। खाना खाए पछि माझ गाउँको ठुलो घरमा केन्द्रित भयौं। राती १० बजे देखि क्रमशः कमरेडहरुको सेन्ट्री लिस्ट तयार गरियो। मेरो सेन्ट्री १ बजे थियो। कमरेड क्रान्तिले व्युझाउनु भयो। कम्मरको दुबै साइटमा चार वटा ग्रीनेट बाधेर म सेन्ट्री पोस्ट गए। १ घण्टा अध्यारो रातमा ठिङ्ग उभिएको पहाडलाइ नियाल्दै दुश्मनको गतिविधि बुझिरहेको थिए।

आकाश हेर्दा तारा देखिन्थे। पहाडी घुम्काहरुमा बस्ती भएर होला। कुनै बेला साना लाइट झुल्किन्थे। त्यस्तो अनिष्ट दृश्य केहि देखिएन। २ बजे कमरेड रश्मी पालो दिन सेन्ट्री आर्क आउनु भयो। सेल्टरमा पुगेको झन्डै १० मिनेट पछि ठुलो विस्फोटन आवाज आयो। सबै जना हड्बडीदै उठेयौ। कोठामा धुवाँको मुस्लो र बारुदको गन्धले सन्नाटा छायो। धमका रोकीएसङ्गै ठुलो चित्कार सुनियो।

त्यो चित्कार भुइ तलामा महिला कमरेडहरुको थियोे। हामी टिब्लाइटको सहाराले तल झर्‍यौ। यदी कोहि कमजोर मुटु भएको मानिस हुन्थ्यो भने त्यो दृश्य हेर्न पनि सक्दैन्थ्यो। कोठाको भित्तामा मासुका साना साना चोक्टाहरु उच्छिटीएर टासिएका थिए। भुइँमा रगतको रह थियो। सिरक धुजै धुजा। १ दर्जन महिला कमरेडहरु रगतको आहालमा वेहोस थिए। ती मध्ये अनुजा आफ्नै सिरानीमा राखेको झोलाको ग्रीनेटले सदाको लागि उडेकी थिइन्। उनका हातहरु झिलै झिला टुक्रिएका थिए ।

छातीबाट भलभल्ती रगत बगेको थियोे। सायद त्यो ग्रीनेट सङ्गै अरु पनि क्रमश बिस्फोट भए। निमा वेहोस थिइन। अरुहरु पनि। घाइतेहरुको उपचार गर्न हतार हतार सर्जक र म जम्बुकाध तिर दौडियौ। स्थानीय मेडिकल संचालकलाइ लिएर घाइतेहरुको उपचारमा जुटेयौ। साधन स्रोतहरुको न्यायोचित वितरण बाट पछि पारिएका ती ग्रामीण भेगहरुमा डाक्टर थिएनन्। विडम्बना न हामीले अनुजालाइ बचाउन सकेयौ न त घाइतेहरुको उपचार नै। चैत्र ८ को त्यो बिहान बासको घनामा कम्मल बाधेर घाइतेहरु ओसार्न स्टेचर बनाउदै थियौं।

नेतृत्वबाट खबर आयो। सुरक्षाको दृष्टिले त्यो स्थान अहिले नै छोड्नु होला। दुश्मनले त्यहाँको घटना बारे खबर पाइसकेको छ। हामी हतार हतार सहिद कमरेड अनुजा र घाइतेहरुलाइ कम्मलको स्टेचरमा बेरेर। रामाघाट तिर झर्‍यौ। रामाघाटको बगरमा गहिरो चिहान खन्यौ। रगतले भिजेको अनुजाको शरीरलाइ दब्नायौ। कमरेड प्रतिरोध र मैले चिहान माथि रातो झण्डा गाड्यौ। आधार र रबिनाहरु आसु झार्दै गुनगुनाउदै थिए।

श्रद्धाञ्जली तिमिलाइ देशको निम्ति रगत बगाउनेलाइ !
श्रद्धाञ्जली सहिदलाइ जनताको निम्ति जीवन चढाउनेलाइ!

कमरेड अनुजालाइ सदाको लागि छाडेर हामी फेरि घाइतेहरु बोकेर दैलेखको स्याला बाट लमतन्न कर्णालीमा डुङ्गा चढेर अछामको भुलु गाउँमा घाइतेहरुको उपचारमा जुट्यौ।

जनयुद्धको भूमिगत दिनहरुमा महाभारत तल्लो काख अनि पहाडी बस्तीहरुमा घाइतेको उपचार, दुश्मनको गतिविधि बुझ्नु र जनता सङ्ग जोडिएर सेवा गर्नु नियमित कर्म बन्यो । जब जनयुद्धको मोर्चाहरु बदलिए, कार्यक्षेत्र पनि बदलियो । मेरो कार्यक्षेत्र र यात्रा कहिले पहाडको गुलजार वस्ती, भित्री मधेस, चुरे र देउरालीको काख अनि तराईका आँप गाछीहरुमा अविरल चल्यो ।

ती यायावरी यात्राहरुमा मलाई सबैभन्दा बढी पहाडको असमानता, भेदभाव र गरिबीले छोयो, तराईको दाइजो प्रथा र अभावले पिरोलो, पितृसताले डसेका महिलाहरुको आर्तनादले स्तब्ध पार्‍यो । छुत र अछुतको खण्डीत समाजमा बहिष्करणमा पारिएका दलितहरुको पिडामा मेरो हृदय चर्कियो, आँखा रसायो ।

जनयुद्धको कठिन यात्रामा जब हिमाल, पहाड र तराईलाई नजिक बाट पर्गेल्न थाले ! तब आँखा अगाडी नेपाली समाजको भयावह दारुण दृश्य देखे । पसिनाले माटो भिजाउने, हात गोडामा ठेला उठाउने, उकाली ओरालीहरुमा भारी बोकेर पाइला खियाउने, पौरख गरे पनि खाना नपुग्ने, नुनको खोजिमा मुग्लान भास्सिने दुखियाहरुको दर्दनाक पिडाले मलाई भावुक बनाउथ्यो।

परन्तु समयको गति सङ्गै तीनै दमिडहरुले मुक्तिको लागि जनयुद्धमा बन्दुक बोके, राजतन्त्र विरुद्ध मशाल झोसे। जब भुइँमान्छेहरुले उत्पीडन र दुखको कारण बुझे तब जीवनको यावत् बन्धनहरु चुडाउदै जनयुद्धको कठिन मोडहरुमा अविच्छिन्न अघि बढे अर्थात तोप र बारुदहरुमा पनि क्रान्तिको मुस्कान भरे ।

जनयुद्धले नेपाली समाजलाई व्युझायो। उत्पीडित वर्ग समुदायलाई उठायो। दब्बिएकाहरुलाई बोल्न र लडन सिकायो। अभाव र गरीबीले थलिएका शोषितहरुले नै सामन्ती राज्यसत्ता र निरङ्कुस राजतन्त्र विरुद्ध विद्रोहको दावानल बाले। सदियौ जमिन्दारको जुवामा नारीएका कमैया, भू दास किसानहरु खेत खलिहानहरुमा मुर्झाएनन, बरु दासताका जन्जीरहरु तोडेर जुर्मुराउन थाले । दुई छाक टार्न दलितहरुले जिविकाको आरनमा केवल बर्तन र फलाम गालेनन मात्रै! बरु मान्छे भएर बाच्न, नारकीय उत्पीडन विरुद्ध लड्न नयाँ मसीनगनहरु निर्माण गरे।

अपितु वर्गीय, जातीय, क्षेत्रिय र लैङ्गिक उत्पीडनमा परेकाहरुले नै हो, आफू र समाजलाई बदल्न जनयुद्ध रोजेको। जनयुद्ध भोकाहरुको पेटमा बलिरहेको आगो, दमिडहरुको सुस्केरा, कहिल्यै नदेखिएका/नचिनिएका र कहिल्यै नसुनिएका जनहरुको विद्रोहको हुङ्कार थियोे ! त्यसले मान्छे-मान्छे बीचको शोषण र बिभेदको पर्खाल भत्काउदै अघि बढ्यो!

हर क्रान्ति र युद्धले आफ्नो विकास प्रक्रियामा सधैं नै असाधारण जटिल परिस्थितिको सामना गर्दै अघि बढ्छ। जनयुद्ध पनि अनेकौं चुनौती र महाविपत्तिहरु बाट नै अघि बढ्यो। क्रान्तिमा आएका प्रलयङ्कारी तुफानहरु पन्छाउदै।जनयुद्धको उद्देश्य सामन्तवादी राज्यसता र राजतन्त्रात्मक व्यवस्थाको राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक संरचनाहरुलाई भत्काएर नयाँ जनवादी, वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्नु थियोे।

जनयुद्धमा मान्छेले जीवन देखे, त्रासदीभित्र पनि भविष्य भेटे, हाँस्दा हाँस्दै रुन सिके, रुदा रुदै हाँस्न सिके, हार भित्र पनि जित देखे ! गोलीले छाती छेडिदा पनि, सङ्गीनमा टाउका उनिदा पनि ! त्याग, बलिदान र आत्मोत्सर्गको गौरवमय इतिहास रच्न पछि हटेनन । बरु एउटा ढल्दा हजारौं जुरमुराएर उठे ! अविश्राम लम्कीरहे आस्था र विश्वासको साम्यवाद चुम्न !

हो त्यस निष्पट अध्यारोमा पनि उज्यालोको खोजी थियो जनयुद्धको यायावरी यात्रा ! जुन यात्रामा मैले बमबारुदको धुवाँ भित्र पनि निरन्तर क्रान्तिको सङ्गीत गुन्जाइरहे, स्वतन्त्रताको उन्मुक्त धुन बजाइरहे, मुक्तिको सन्देश स्फारण गरिरहे अत: गाउँ वस्ती व्युँझाइरहे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।