१२ मंसिर २०८१, बुधबार

उज्वल भविष्यका निम्ति समाजवादी अर्थ प्रणाली

0

नेपालमा दलाल पुँजीवाद र वैज्ञानिक समाजवाद एकअर्कोको विरुद्ध भिषण ढंगले टकराइरहेका छन् । दलाल पुँजीवादले आफूलाई जतिसुकै अपरिवर्तनीय र शाश्वत ठाने पनि अन्ततः यसको अन्त्य अनिवार्य छ । जसरी पुरानोको अन्त्य र नयाँको उदय हुन्छ । त्यसरी नै आजसम्मको परिवर्तनशील समाज विकासको नियम अनुसार वैज्ञानिक समाजवादको उदयलाई कसैले पनि रोक्न सक्ने छैन । माक्र्स एंगेल्स भन्नुहुन्छ, “जब मानिस समाजमा क्रान्ति सम्पन्न गर्ने विचारहरूको कुरा गर्दछन् तब तिनले केवल यो तथ्य प्रस्तुत गर्दछन् कि पुरानो समाज भित्र एक नयाँ समाजका तत्वहरु पैदा भएका छन् र पुराना विचारहरूको विघटन अस्तित्वका पुराना अवस्थाहरुको विघटन सितै कदम मिलाएर चल्दछन् ।”१ यो कुरा स्पष्ट छ कि पुँजीवादी समाजमा प्रतिक्रान्तिकारी र क्रान्तिकारी वर्गका बीच तथा पश्चगामी उत्पादन सम्बन्ध र अग्रगामी उत्पादन सम्बन्धका बीच भीषण संघर्ष चल्छ । त्यो संघर्ष पतनशील राजनैतिक व्यवस्था र जीवनशील राजनैतिक व्यवस्था वीचको वैचारिक संघर्षको रुपमा प्रतिबिम्बित हुन्छ । पुँजीवादी राज्यसत्ता, अर्थ–सम्बन्ध र त्यसको अन्तर्यमा पैदा हुने अन्तरविरोधले नै यसलाई संकटमा पुर्याउँछ । आज नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाको संकट विस्फोटको अवस्थामा पुग्नु त्यसैको कारण हो । जुन स्वाभाविक छ । समाज विकासको ऐतिहासिक आवश्यकता र उत्कृष्ट विशेषताहरूको कारणले नै नेपालमा वैज्ञानिक समाजवादको स्थापना पनि अनिबार्य छ । मानवजातिको उच्च सभ्यता निर्माण गर्न आविष्कार गरिएको नयाँ उत्पादन प्रणाली नै वैज्ञानिक समाजवादी आर्थिक प्रणाली हो । जसको उत्कृष्ट पक्षहरूका बारेमा संक्षिप्तमा चर्चा गरौं ।

राज्यको नेतृत्व
वैज्ञानिक समाजवादी आर्थिक प्रणालीमा राज्यको नेतृत्व सबैभन्दा उत्कृष्ट पक्ष हो । “राज्य भनेको शक्तिको विशेष संगठन हो ।”२ यसमा समग्र आर्थिक प्रणालीको नेतृत्वको जिम्मेवारी राज्यको हुन्छ । समाजवादी सत्ता र नेतृत्वमा इमान्दारिता, निष्ठा, नैतिकता, सरलता, पारदर्शिता, दुरदर्शिता र क्रान्तिकारिता आदि भव्य गुणहरुले भरिभराउँ हुन्छ । हरेक नागरिकको भाग्य र भविष्य देशको भविष्यसँग घनिष्ठ रुपले जोडिएको हुन्छ । एउटै महान आदर्श, उद्देश्य र सपनामा समर्पित हुन्छन् । जनताका ती महान सपनालाई राज्यले नेतृत्व प्रदान गर्छ । पुँजीको प्रभुत्व समाप्त भएपनि बाँकी रहेका पुँजीवादी अवशेषहरुलाई मिल्काएर समाजलाई अघि वढाउन साहसिक नेतृत्व गर्दछ । यसले “हरेक चिजलाई गति र विकासको दृष्टिकोणबाट हेर्दछ ।”३ अग्रगामी, एकताबद्ध र संगठित उत्पादन तथा वितरण भएको गतिशील आर्थिक प्रणाली निर्माण गर्दछ । जसले आम श्रमिक जनता र देशको समृद्धिलाई सुनिश्चित गर्दछ । वर्गीय र राष्ट्रिय पूर्ण मुक्तिको आकांक्षा राज्यको नेतृत्वसँग अभिन्न रूपले जोडिएको हुन्छ ।

उत्पादन सम्बन्ध
वैज्ञानिक समाजवादी आर्थिक प्रणाली नै पुँजीवादी भन्दा हजारौ गुणा उन्नत हुन्छ भनेर स्पष्ट छुट्याउने महत्वपूर्ण पक्ष भनेको यसको उत्पादन सम्बन्ध हो । जसमा उत्पादन, उत्पादनका साधन र वितरणलाई लोकतान्त्रिकरण गर्दै सामाजिकीकरण गर्ने प्रक्रियालाई सशक्त रुपले अघि बढाउँछ । मान्छेले मान्छेलाई नै शोषण गर्ने उत्पीडन गर्ने धागो यहींबाट चुँडिन सुरु गर्छ । सिङ्गो उत्पादन प्रणाली समाजवादी स्वामित्वमा आधारित हुन्छ । पुँजीको प्रभुत्वको सहारामा बहुसंख्यक श्रमिक जनतामाथि भइरहेको उत्पीडनलाई अन्त्य गर्छ । “पुँजीवादी व्यवस्थाको मुख्य आधार उत्पादनका औजार तथा साधनमाथि निजी मालिकत्व हो ।”४ मुठीभर दलाल–पुँजीवादीहरुले कब्जा गरेको राज्यको स्रोत, साधन र ढुकुटीलाई सम्पूर्ण श्रमजीवी जनताको हातमा पुर्याउँछ । निश्चय नै यो प्रणाली मूलरुपले समाज र हरेक नागरिकको जीवन प्रति जिम्मेवार हुनेछ । सबैलाई उचित समय अवधिको काम, उचित पारिश्रमिक र उचित आरामको व्यवस्था लागू हुन्छ । स्वतन्त्र वा खुल्ला व्यापार, अस्वस्थ प्रतिस्पर्धी बजार, र पुँजीको स्वतन्त्र परिचालनको नवउदारवादी अर्थनीतिलाई अन्त्य गरेर सार्वजनिक पुँजीको वृद्धि, योजनाबद्ध लगानी र जनताको आर्थिक स्वतन्त्रताको एवं समृद्धिको नीतिलाई अघि बढाउँछ । जसले खुल्ला बजारवाद नियन्त्रित अर्थतन्त्र भन्दा सामाजिक श्रम उत्पादन र उपभोगमा आधारित गतिशील अर्थतन्त्र निर्माण गर्दछ । पुँजीवादी उत्पादन सम्बन्धमा मुनाफा केन्द्रित दुईओटा विधि हुन्छ । पहिलो, वस्तु र सेवाको उत्पादनमा श्रम शक्तिको अधिकार अलग गराएर अतिरिक्त मूल्य केन्द्रीकरण गर्दछन् । त्यसैगरी दोश्रो, श्रमिकवर्ग एवं आम उपभोक्ताहरुलाई बजारले नै उत्पादित वस्तु–सेवा र स्रोतहरुको वितरणलाई नियन्त्रण गर्दछन् । सबैतिरको मुनाफालाई पुँजीवादीहरुले नियन्त्रण गर्दछन् । “अतिरिक्त मूल्य प्राप्त गर्नु नै पुँजीवादी उत्पादनको प्रमुख उद्देश्य हुन्छ ।”५ तर समाजवादी उत्पादन सम्बन्धमा सामाजिक स्वामित्वमा रहेका उद्योगहरुले सेवा र वस्तुको उत्पादन गर्दछन् । वैज्ञानिक बजारको व्यवस्थापनले सामाजिक आवश्यकता अनुसारको वितरण सुनिश्चित गर्छ । सो कार्यमा हरेक नागरिकलाई सहभागी हुने अवसर प्रदान गरिन्छ । जनताको हित र सुविधालाई ध्यानमा राखेर सामाजिक न्याय र समानताको आधारमा केन्द्रीकृत वितरण व्यवस्थालाई सुनिश्चित गरिएको हुन्छ ।

एकीकृत स्वामित्व
समाजवादी अर्थतन्त्रको अर्को महत्वपूर्ण पक्ष भनेको आर्थिक व्यवस्थापन र योजना प्रणाली हो । यसले सामुहिक श्रमको अधिनस्थ पुँजीलाई राख्छ । निजीकरण र उदारीकरणको नाममा भूमण्डलीकृत पुँजीवादले जनताबाट खोसेको स्वामित्वलाई फिर्ता गर्छ । बहुराष्ट्रिय निगम पुँजीको शोषण, पछौटे एवं टुक्रे उत्पादन र दलालहरुको स्वामित्व अन्त्य गर्छ । अत्यन्तै तुच्छ स्वार्थको निम्ति प्राकृतिक स्रोत, साधन र सम्पदालाई साम्राज्यवादी शक्तिहरूको सेवामा चढाउने राजनैतिक दलालहरूको तार काटिन्छ । त्यसैगरी सार्वजनिक सम्पत्ति लुटेर रातारात अरबपति बन्ने आर्थिक दलालहरूको मुहान सधैँको निम्ति बन्द गरिदिन्छ । एकीकृत स्वामित्व अर्थात व्यक्तिगत र सामूूहिक स्वामित्व अन्र्तगतको आर्थिक प्रणाली एक संक्रमणकालीन चरण हुुदै पूूर्ण सामाजिक स्वामित्व निर्माण गरेर वैज्ञानिक समाजवादको आधारशिला बन्दछ । यो स्वामित्वको प्रश्न भनेको यो एउटा महान एवं आमूल रुपान्तरणको प्रक्रिया हो । प्राकृतिक साधनस्रोत जल, जंगल, जमिन, ज्ञान, विज्ञान, प्रविधि आदिमा जनताको पूर्ण अधिकार ग्यारेन्टी हुन्छ । उत्पादनका साधन स्रोतमाथि सामाजिक स्वामित्व कायम गर्दछ । शारीरिक तथा बौद्धिक श्रमिकवर्गको सामूहिक स्वामित्वले एकाधिकारवादी पूँजीको कार्टेलिङ र सिण्डिकेटको पूर्ण अन्त्य गर्छ । अतिरिक्त मूल्य द्वारा हुने पूँजीवादी शोषणको अन्त्य यहीँबाट सुरु हुन्छ । यसले आर्थिक–सामाजिक रूपान्तरणलाई कायपलट गर्नुको साथै सिंगो समाजलाई सामूहिक सम्पन्नताको यात्रामा डोर्याउँछ । नयाँ एवं स्वतन्त्र उत्पादक शक्ति र उत्पादकत्व वृद्धि गर्छ । “समाजवादले हरेक नागरिकलाई शोषणरहित उत्पादनको अधिकार दिइनेछ नागरिकको रुपमा आफ्नो क्षमता अनुसार उत्पादन उपभोग र नियन्त्रण गर्न स्वतन्त्र हुनेछन् । सामाजिक संवृद्धिसँगै व्यक्तिगत समृद्धि पनि समाजवादमा संवर्द्धन हुनेछ ।”६
राज्यको नेतृत्वमा एकिकृत स्वामित्व प्रणाली लागू हुनेछ । यो प्रक्रियाद्वारा कृषिको आधुनिकीकरण र उद्योगको व्यापक औद्योगिकीकरण गर्दा तीव्रगतिमा व्यापक उत्पादन र पर्याप्त रोजगारी वृद्धि हुन्छ । यस प्रकारको उत्पादन प्रणालीले छोटो समयमा नै देश, समाज र जनताले समृद्धि प्राप्त गर्नेछन् । यो नै आत्मनिर्भर, गतिशील एवं स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणको आधार हो । सामूहिक स्वामित्व लागू भएको आर्थिक प्रणालीकै कारण सोभियत संघ (रुस) ले असाध्यै पछौटे अर्थतन्त्र भएको देशलाई मात्र दुई दशकभित्र नै विश्वको शक्ति राष्ट्रका रुपमा बदल्न सम्भव भएको हो ।

समानतामा आधारित वितरण प्रणाली
सामाजिक न्याय र समानतामा आधारित वितरण प्रणालीको उत्कृष्ट पक्षले समाजवादी आर्थिक प्रणाली मानवीय जगमा खडा भएको पुष्टि गर्दछ । जसको उद्देश्य समृद्ध एवं समानतामूलक समाज निर्माण गर्ने रहेको हुन्छ । राज्यले हरेक नागरिकलाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, स्वाधीनता मनोरञ्जन, यातायात, सूचना–सञ्चार र सहज सेवा–सुविधा लगायतका आधारभूत अधिकार सुनिश्चित हुनेछ । हरेक नागरिकलाई उत्कृष्ट ज्ञान, सीप, उद्यमशिलता र क्षमतावान ब्यक्तित्व विकास गर्न सक्षम बन्न सक्ने सम्पूर्ण अवसरहरु एवं अधिकारको ग्यारेन्टी गर्दछ । गरिबीको रेखामुनि रहेका किसान, मजदुर, महिला, मधेशी, दलित लगायत उत्पीडित समुदाय, जाति र क्षेत्रका जनतालाई थप विशेष व्यवस्था गरेर उत्पादनका साधन, उद्यमशिलता र उत्पादन कार्यमा निर्णायक सहभागितामा वृद्धि गर्दछ । जसले गहिरो आर्थिक सामाजिक–असमानताको खाडललाई पुर्नेछ । राज्यले गर्न सक्ने र नसक्ने सबैखाले नागरिकलाई आधारभूत आवश्यकता पूर्तिको पूर्ण सुनिश्चित गर्दछ । आयमूलक एवं रोजगारमूलक क्षेत्रका वस्तु र सेवा उत्पादन क्षेत्रमा एकीकृत मागको (उपभोग, लगानी, आम्दानी र खुद निर्यातमा) तीव्र वृद्धि गर्छ । जसले राष्ट्रिय आय र व्यक्तिगत बचतलाई समेत वृद्धि गर्दछ । समाजवादमा श्रमिक जनताको जीवन सुविधायुक्त र सम्पन्न हुन्छ । हरेक नागरिकलाई “क्षमताअनुसारको काम र आवश्यकता अनुसारको दाम”७ भन्ने सिद्धान्त अनुसार सुविधा प्राप्त हुन्छ । सबै प्रकारको सामूहिक सम्पन्नतामा जीवन जिउने समाजवादी मान्यता लागु गर्नेछ । हुनेले मात्र खाने र सक्नेले मात्र बाँच्न पाउने पुँजीवादी ब्यवहार अन्त्य हुन्छ । न्यूनतम् जीवनयापन एवं स्वास्थ्य समस्यामा परेका अशक्त नागरिकलाई राज्यले आवश्यकताअनुसार सेवा सुविधा उपलब्ध गराउँछ । मानवताको रक्षा र त्यसको कार्यान्वयन गर्दछ । यसले सामाजिक समृद्धिको साथसाथै व्यक्तिगत समृद्धिको पनि संवर्द्धन हुन्छ ।

शोषण उत्पीडनको अन्त्य
समानतामूलक मानव समाज निर्माणको अनिवार्य सर्त भनेको शोषणकारी मुनाफाको निम्ति तुच्छ स्वार्थमा आधारित पुँजीवादी शोषण उत्पीडनको अन्त्य हुनु हो । पुँजीवादले मान्छेलाई भाडामा लिन्छ र उनीहरूको श्रमलाई मनलाग्दी किनबेच गरेर शोषण गर्छ । तर “समाजवादभित्र आर्थिक शोषण, उत्पीडन र असमानताको अन्त्य हुन्छ”८ महिला र पुरुष बीचको विभेद अन्त्य हुन्छ । समाजवादमा उद्यमशिलता र प्रगतिशीलता दुबैको अभिवृद्धि गर्छ । रोजगारदाताले उसको उद्यमशीलताको आधारमा प्रतिफल प्राप्त गर्दछ । त्यसैगरी श्रम गरेबापत श्रमिकवर्गले सम्पूर्ण श्रमको प्रतिफल प्राप्त गर्दछ । यसरी श्रमिक जनता आफ्नो श्रमको मालिक आफै बन्न पुग्दछन् । यो एउटा पूँजीवादीहरुको जस्तो तुच्छ स्वार्थ, पाखण्डी र ढोङ्गी भन्दा धेरै गुणा माथि उठेको समानतामुलुक जीवनपद्धतिलाई अगाल्ने प्रणाली हो । महान आदर्शलाई पछ्याउने व्यवस्था हो । जीवनभर श्रम गरेर अनि दुःख र पसिना बगाउँदा पनि श्रमिकवर्गको जीवन धान्न नसक्ने अबस्था अन्त्य हुन्छ । समाजवादमा कुनैपनि श्रम क्षेत्रमा श्रमिकवर्ग माथि व्यवस्थापनले गरेको असिमित शोषण र उत्पीडनलाई संगठित सामाजिक अपराध मानिन्छ । त्यसप्रकारको अपराध गर्ने कारबाहीको भागिदार बन्दछन् । उत्पीडित श्रमिकवर्गलाई पूर्ण सुरक्षाको प्रत्याभूति हुने गरी न्याय सुनिश्चितता गरिन्छ । हरेक नागरिकले शोषणरहित श्रम क्षेत्रमा रोजगारी प्राप्त गर्नेछन् । उचित, सेवा, सुविधा र पारिश्रमिक भुक्तानी नियमितरुपले समयमा नै लिनेछन् । शोषणरहित आर्थिक प्रणालीले उत्पादक शक्ति, उत्पादकत्व, र उत्पादनमा तीव्र वृद्धि गर्छ । जसले गरिबी, बेरोजगारी, असमानता र परनिर्भरताको अन्त्य गर्छ । श्रम नै सुख र समृद्धिको मुहान हो । आर्थिक तथा भौतिक वृद्धि मात्र नभएर श्रमिक जनताको पुरानो जीवन पद्धतिलाई नै पुरै बदल्छ ।

सार्बजनिक संस्था र संरचना
समाजवादमा आर्थिक प्रणालीलाई संस्थागत गर्न सार्वजनिक संस्था र संरचनाहरु स्थापना हुन्छन् । यसले राज्यको नियमन, पुँजीको लगानी, सञ्चालन, व्यवस्थापन र प्रतिफलको पारदर्शीता, पर्याप्त रोजगारी आदिलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्छ । सिङ्गो आर्थिक वृद्धिको चक्रमा अस्थिरता आउन नदिन यसले गतिशील नेतृत्व प्रदान गर्नेछ । प्राकृतिक स्रोतसाधन, वित्तीय नियमन र पुँजीको परिचालनको निम्ति जनउत्तरदायी शक्तिशाली संस्था र तिनका संरचनाहरु क्रियाशील हुन्छन् । जसले लगानीको थपघट, वस्तुको मूल्य, नाफा र घाटा, वित्त तथा कोषहरूको भूमिकालाई नियमन तथा संस्थागत गर्दछ । श्रमिकहरूको आय–आर्जनलाई व्यवस्थित गर्न एवं रोजगारीको गतिशिलतालाई वृद्धि गर्छ । अनुत्पादक र उपभोक्तावादी पुँजीले संगठित रूपमा गर्दै आएको शोषणका अवशेषहरुलाई सार्वजनिक संस्था र त्यसको संरचनाले पूर्ण निषेध गर्नेछ । सामूहिक प्रगतिको सिद्धान्त र भावनाअनुसार बैंक, वित्तीय र सहकारी संस्थाहरुलाई जनसेवा मुलक बनाउँछ । सामूहिक उत्थान, प्रगति र देश विकासको निम्ति सार्वजनिक संस्था र त्यसको संरचनाले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्दछ ।

स्वच्छ प्रतिस्पर्धा
उत्पादन कार्यमा स्वच्छ प्रतिस्पर्धाको मार्ग समाजवादी आर्थिक प्रणालीको महत्वपूर्ण अङ्ग हो । हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ । समृद्ध अर्थतन्त्र र सुन्दर भविष्य त्यहीँबाट सुरु हुन्छ जहाँ ’स्वच्छ प्रतिस्पर्धा’ हुन्छ । व्यापक उत्पादन वृद्धि, पर्याप्त रोजगारी, जनताको आधारभूत आवश्यकता, पूर्ण स्वतन्त्रता, अधिकारहरूको सुनिश्चितताले हरेक नागरिकले सम्पन्न सुखसयलको जीवनयापन गर्न पाउँछन् । देशभक्ति, इमान्दारिता, कर्मशीलता, अनुशासन, पारदर्शिता, बिशेषज्ञता, आविष्कार र नवप्रवर्तन गर्ने क्षमता आदिका आधारमा उत्पादन कार्यमा संलग्न उद्धमी एवं उत्पादक शक्तिलाई राज्यद्वारा विभिन्न सेवा, सुविधा र सम्मान प्रदान गर्दछ । पुँजीवादी एकाधिकार, कार्टेलिङ र सिण्डिकेटको पूर्ण अन्त्य गरेर आम साना–ठूला सबै प्रकारका उद्यमी र व्यवसायीहरूको हितको संरक्षण र सम्बर्द्धन हुन्छ । मुनाफाको निम्ति हुने अराजकता र निर्मम प्रतिस्पर्धालाई अन्त्य गर्छ । यसले कुनैपनि नकारात्मक सूचक, बाधा र अप्ठ्याराहरुलाई पन्छाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दछ । दलालीकरण, परनिर्भरता, कमिसन, भ्रष्टाचार र राज्य स्रोतको लुछाचुँडी गर्ने प्रवृत्तिको अन्त्य हुन्छ । यति सुन्दर देश संसारकै सबैभन्दा गरिब हुनुपरेको अवस्थालाई परिवर्तन गर्दछ । आर्थिक–सामाजिक स्वच्छता र न्यायले सम्पूर्ण समाजको विकासलाई फाइदा पुग्ने श्रम, ज्ञान, प्रतिभा र सृजनालाई सम्मान एवम् सक्दो सहयोग प्रदान गर्दछ । समाजवादमा व्यापक स्वच्छ प्रतिस्पर्धाले प्रचुर उत्पादन वृद्धि गर्नुको अतिरिक्त सम्पूर्ण जनताको सर्बोपरि हितहरूको रक्षा गर्ने गौरवमय परम्परा र सभ्यतालाई अघि बढाउँछ । हरेक नागरिकलाई इमान्दारिता, निष्ठा, नैतिकवान, अनुशासित र कडा परिश्रमका निम्ति प्रेरित गर्दछ । यो प्रेरणाको शक्तिले वर्तमानको निम्ति मात्र नभएर भविष्यको पिढींलाई समेत न्याय र प्रगति हुने गरी साधन स्रोतहरूको परिचालन गर्ने विशिष्ट जन–संस्कृतिको पनि विकास गर्दछ ।

विज्ञान र प्रविधि
समाजवादमा मानव जातिको हित रक्षा र प्रगतिको निम्ति विज्ञान र प्रविधिको सदुपयोग प्राथमिकतमा पर्दछ । यो सामाजिक उत्पादन प्रणाली र समग्र राष्ट्रिय प्रतिरक्षालाई शक्तिशाली बनाउने प्रमुख तत्व हो । त्यसकारण यसलाई सम्पूर्ण मानवजातिको आर्थिक–सामाजिक विकासको निम्ति केन्द्रित गरेर अघि बढाउँछ । पुँजीवादीहरुले वाष्प इन्जिन देखि उर्जा तथा विद्युतीकरणको वैज्ञानिक उपलब्धिलाई संसारभरिको साधनस्रोत कब्जा गर्न प्रयोग गरे । अहिलेको भूमण्डलीकृत पुँजीवादले इन्टरनेट, नवीकरणीय ऊर्जा, कम्प्युटर डिजिटल अटोमेसन, फिजिकल सिस्टम रोवोटिक्स आदि विज्ञानका उपलब्धिहरूलाई एकाधिकारवादी शोषण र गहिरो असमान आर्थिक–सामाजिक सम्बन्ध टिकाउन प्रयोग गरिरहेको छ । जसका कारण भयानक आर्थिक संकटहरु देखापर्छन् । तर समाजवादले विज्ञान र प्रविधिका असाधारण उपलब्धि र सफलताहरुलाई मानवजातिको सुख, समृद्धि र दिगो बिकासमा सदुपयोग गर्दछ । जसले सामाजिक शान्ति, स्थायित्व र एकतालाई सुनिश्चित गर्छ । वातावरणीय विनासलाई रोक्छ । समाजवादले सबै वैज्ञानिक आविष्कारहरुलाई समग्र मानव सभ्यताको रक्षा र यसको सुन्दर भविष्यको सुनिश्चितताको निम्ति सदुपयोग गर्छ ।

व्यक्तिगत स्वतन्त्रताको सुनिश्चितता
समाजवादमा हरेक नागरिकको व्यक्तिगत आर्थिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ । हरेकलाई काम छनौटको पूर्ण स्वतन्त्रता हुन्छ । सम्पूर्ण बन्धनबाट मुक्त भएर इज्जत र प्रतिष्ठाका साथ जीवनयापन गर्ने स्वतन्त्रता हुन्छ । हरेक नागरिकले सामाजिक वस्तुहरूको उपभोग गर्न पाउने अधिकारको रक्षा गर्दछ । मान्छेले मान्छेलाई नै शोषण गर्ने पुँजीवादी निजी स्वतन्त्रताको अन्त्य गर्छ । पूँजीवादले उसको मुनाफा वढाउन मान्छेलाई बाँच्न सक्ने मात्र अधिकार दिन्छ । पुँजीको प्रभुत्वमा मान्छेका अरू सबै अधिकार र स्वतन्त्रताहरुलाई छिन्छ । यसले जनताको जीवनलाई असाध्यै दुःख, कष्ट रोग, भोक, शोक र अभावमा पुर्याउँछ । संसारभरी नै आमरुपमा पुँजीवादका विरुद्ध विस्तार भइरहेका आन्दोलनहरू र युद्धहरुको प्रमुख कारण नै यही हो । पुँजीवादीहरु मजदुरलाई काम गर्न नसकेको स्थितिमा निकालेर सडकमा फालिदिन्छ । समाजवादले त्यस्तो “हायर एण्ड फायर“ र “नो वर्क नो पे“ को स्थिति अन्त्य गर्छ । पूँजीवादले सिमित अधिकार र स्वतन्त्रता दिएर मान्छेलाई मालको रुपमा व्यवहार गर्दछ । समाजवादले मान्छेलाई मालबाट मुक्त गरेर मानवमा रुपान्तरण गर्दछ । मान्छेले मान्छेलाई लुट्ने पुँजीवादी स्वतन्त्रता बाहेक समाजवादले नागरिकका सम्पूर्ण व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्दछ ।

आर्थिक समृद्धि र सुन्दर भविष्य
समाजवादी वैज्ञानिक पद्धतिका कारण गुणस्तरीय एवं तीव्र आर्थिक वृद्धिले छोटो समयभित्र नै समृद्धि प्राप्त हुन्छ । सिंगो प्रणाली देश र जनताको सेवामा समर्पित हुन्छ । प्राकृतिक एवं राज्यको स्रोतको चरम् दोहन, दलालीकरण र निजीकरण गरेर संकटलाई व्यापक राष्ट्रियकरण गर्ने दलाल पूँजीवादी प्रवृत्तिको पूर्ण अन्त्य हुन्छ । पर्यावरणीय सुरक्षालाई केन्द्र भागमा राखेर दिगो विकासलाई अगाडि बढाउँछ ।
दक्ष जनशक्ति एवं विज्ञान–प्रविधिको उच्चतम् प्रयोग गरेर कृषि उत्पादन र औद्योगिक उत्पादनलाई जोड दिइन्छ । कृषिमा अनुदान र उद्योगमा अधिकतम् प्रगतिशील कर लगायत विशेष प्रकारको सेवा सुविधा उपलब्ध गराएर आधुनिकीकरण र औद्योगीकरणको प्रक्रियालाई अघि बढाउँछ । जसले उपभोगजन्य उत्पादनलाई तीव्रतामा वृद्धि गर्छ र साधै आयातलाई पनि प्रतिस्थापन गर्छ । “कृषिको उत्पादनबाट आत्मनिर्भर बन्ने र औद्योगिक उत्पादनद्वारा समृद्धि बन्ने ।”१० मार्गलाई अघि बढाउँछ । यसले विशाल जनसंख्यालाई गरिबीबाट मुक्त गर्छ ।
राष्ट्रिय साधनस्रोतको अवस्था, व्यवस्थापन, क्षमता योजना, लगानीको औचित्य, वस्तु र सेवा उत्पादन तथा वितरण आदि समग्र विषयको खोज अनुसन्धान, कार्यान्वयन र अनुगमनको निम्ति विभिन्न क्षेत्रका वैज्ञानिकहरु र विज्ञहरु सम्मिलित देशैभरी अनुसन्धान केन्द्रहरु परिचालित हुन्छ । स्वदेश तथा विदेशमा कार्यरत विभिन्न क्षेत्रका नेपाली विज्ञलाई झिकाएर राष्ट्र निर्माणको महाअभियानमा सहभागी बन्ने उपयुक्त अवसर र वातावरण प्रदान गर्छ । यसले प्रचुर सम्भावनाहरुलाई पहिचान गर्न मद्दत गर्छ । समाजवादी आर्थिक संरचनाहरूमा उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्रका देशभक्त एवम् प्रगतिशील जन समुदायको सहभागिता सुनिश्चिताले विशाल जनसंख्या आर्थिक उत्पादन कार्यमा क्रियाशील हुन्छ । रोजगारी वृद्धि र उत्पादकत्व वृद्धिले कूल ग्राहस्थ उत्पादनको तीव्र वृद्धि हुन्छ । प्रगतिलाई अघि बढाउने, प्राकृतिक स्रोत एवं मानवीय श्रमलाई जोड्ने र आधुनिक मानव जातिको अग्रगामी सभ्यता निर्माण गर्ने सुस्पष्ट मार्गचित्र भएको वैज्ञानिक शिक्षा प्रणालीका कारण दोस्रो पुस्ताको विशाल पंक्ति पनि राष्ट्र निर्माणको अभियानमा झन् धेरै क्षमतावान भएर आउँछ ।
कम्युनिष्ट विचार, नेतृत्व र यसको मूल्य मान्यताहरु, विज्ञान–प्रविधि, वैज्ञानिक योजना, संरचना, र यसको दृढतापूर्वक कार्यान्वयन, मानवीय श्रम र प्राकृतिक स्रोत र साधनलाई विकास र समृद्धिका आधारस्तम्भका रूपमा अघि बढाउँछ । यसले गन्तव्यमा पुग्न महान आदर्शलाई भुल्न कसैलाई पनि दिनेछैन । वैज्ञानिक समाजवादले मात्र अद्भूत भौतिक र व्यापक आर्थिक–सामाजिक विकास गरेर छोटो समयमै आश्चर्य चकित हुने समृद्धिका ठोस परिणामहरू प्राप्त गर्ने क्षमता राख्दछ । यही कारणले समाजवादी देशहरु केही दशकमै विश्व शक्तिमा दर्ज हुन पुगेका हुन् । सम्पूर्ण तथ्यहरुले पुष्टि गर्दछ कि वैज्ञानिक समाजवाद र यसको आर्थिक प्रणाली सबैभन्दा श्रेष्ठ छ । सामाजिक न्याय र आर्थिक समानताको दृष्टिले अद्वितीय छ । श्रमिक जनताको मुक्तिको निम्ति वैज्ञानिक समाजवाद निर्विकल्प व्यवस्था हो । नेपाली जनताको दशकौंदेखिको महान सपनालाई महासचिव कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीले अघि बढाएको छ । एकीकृत जनक्रान्तिले अवश्य नै दलाल पुँजीवादलाई अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नेछ ।
मिति : २०७९/११/०२दोलखा

सन्दर्भ सामग्रीहरू

१. मार्क्स-एंगेल्स, संकलित रचना भाग–१, पृष्ठ १२५, प्रगति प्रकाशन मस्को, १९७८

२. लेनिन, राज्य र क्रान्ति, पेज २५, अनुवादक, कृष्णप्रसाद श्रेष्ठ, प्रकाशन माक्र्सवादी विचार मञ्च २०६७ । 

३. स्टालिनका छानिएका रचनाहरु, पेज ३, पैरवी प्रकाशन २०६४ । 

४. स्टालिनका छानिएका रचनाहरु, पेज १२, पैरवी प्रकाशन, २०६४ । ५. अतिरिक्त मूल्यको सिद्धान्त माक्सवादी आर्थिक सिद्धान्तको आधारशिला कृष्णदास श्रेष्ठ पेज– ११६ साझा प्रकाशन दोस्रो संस्करण २०६६ । 

६. वैज्ञानिक समाजवादका विशेषताहरु, आर्थिक विशेषता, पृष्ठ ११ प्रकाशक, नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग २०७८

७. नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रतिवेदन, पृष्ठ ७१, केन्द्रीय प्रकाशन विभाग २०७३ । 

८. विप्लव, वैज्ञानिक समाजवाद, पेज १६१, रातो खबर प्रकाशन २०७५ । 

९. वैज्ञानिक समाजवादका विशेषताहरु, आर्थिक विशेषता पृष्ठ ३, २०७८ नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग । 

१०. वैज्ञानिक समाजवादका विशेषताहरु, आर्थिक विशेषता पृष्ठ ११, २०७८ नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।