आफ्नो व्याख्यालाई सजिलो पार्नका लागि म यहाँनिर पहिले अन्तर्विरोधको सार्वभौमिकताको कुरा झिक्नेछु, अनि त्यसपछि अन्तर्विरोधको विशिष्टताबारे विचार गर्नेछु । अन्तर्विरोधको सार्वभौमिकताको व्याख्या अझ छोटकरीमा गर्न सकिन्छ, किनभने मार्क्सवादका महान् निर्माताहरू र त्यसलाई अघि लम्काउनेहरू- मार्क्स, एंगेल्स, लेनिन, स्टालिनले जहिलेदेखि भौतिकवादी द्वन्द्वात्मक विश्वदृष्टिकोणको थापना गर्नुभयो, अनि मानवइतिहास र प्रकृतिइहिासको विश्लेषणकानेकौं पक्षहरूमा र समाज र प्रकृतिमा हुने हेरफेरका अनेकौं पक्षहरूमा भौतिकवादी द्वन्द्ववादलाई ठूलो सफलतासहित लागू गर्नुभयो (जस्तै सोभियत संघमा) तलैदेखि अनेकौं मानिसहरूले अन्तर्विरोधको सार्वभौमिकतालाई मानेका छन्, तर अन्तर्विरोधको विशिष्टताको विषयमा हाम्रा निकै साथीहरूको विचार, मुख्यगरी कट्टरपन्थीहरूको विचार, अझै पनि प्रस्ट छैन । उनीहरू के वुझ्न सक्दैनन् भने अन्तर्विरोधको विशिष्टतामा नै अन्तर्विरोधको सार्वभौमिकता रहन्छ । उनीहरू हाम्रो सामु ठोस रूपमा रहेका वस्तुहरूभित्रको अन्तर्विरोधको विशिष्टताको अध्ययन क्रान्तिकारी व्यवहारलाई डोऱ्याउनका लागि कति बढी महत्त्वपूर्ण छ भन्ने कुरा पनि बुझ्दैनन् । त्यसैहुनाले, अन्तर्विरोधको विशिष्टताको अध्ययनमा बल दिनु र त्यसलाई निकै बेलिविस्तारसहित खुलाउनु साह्रै खाँचो पर्दछ । त्यसै हुनाले. बस्तुहरूमा रहेको अन्तर्विरोधको नियमको विश्लेषण गर्दा हामी पहिले अन्तर्विरोधको सार्वभौमिकताको विश्लेषण गर्नेछौं, अनि पछि अन्तर्विरोधको विशिष्टताको विश्लेषणमा खास बल दिनेछौं र अन्तमा, अन्तर्विरोधको सार्वभौमिकतामा फेरि फर्केर आउनेछौं ।
अन्तर्विरोधको सार्वभौमिकता वा निरपेक्षताका दुईवटा अर्थ छन् । एउटा हो- सबै वस्तुहरूको विकासको प्रक्रियामा अन्तर्विरोध रहिरहन्छ र अर्को चाहिँ हो- हरेक वस्तुको विकासको प्रक्रियामा विपरीत तत्त्वहरूको गति थालनीदेखि अन्तसम्म कायम रहन्छ ।
एंगेल्सले भन्नुभएको थियो- “गति आफैँ एउटा अन्तर्विरोध हो ।”६ लेनिनले विपरीत तत्त्वहरूको एकताको नियमको व्याख्या यसरी गर्नु भएथ्यो, “यो प्रकृतिका जम्मै वस्तुहरू र घटनाहरूमा (जसभित्र मस्तिष्क र समाज पनि पर्छन्। अन्तर्विरोधपूर्ण, एक अर्कोवाट छुट्टै विपरीत प्रवृत्तिहरूलाई चिन्नु (तिनको पत्तो पाउनु) हो ।” यी विचारहरू के सही हुन् त ? अँ, सही हुन् । कुनै वस्तुका अन्तर्विरोधपूर्ण पक्षहरूको अन्तरनिर्भरता र तिनका माझको सङ्घर्षले नै त्यस वस्तुको जीवनलाई निर्धारित गर्दछन् र त्यस वस्तुलाई अगाडि हुर्काउँदै लग्छन् । अन्तर्विरोध नभएको कुनै पनि चीज छैन, अन्तर्विरोध नभई कुनै पनि चीज टिकिरहन सक्दैन ।
अन्तर्विरोध गतिका (जस्तै यान्त्रिक गतिको) साधारण रूपहरूको जग हो गतिका जटिल रूपहरूको त त्यो अझ बढी महत्त्वपूर्ण जग हो ।
एंगेल्सले अन्तर्विरोधको सार्वभौमिकताको यसरी व्याख्या गर्नुभएको छ :साधारण यान्त्रिक स्थानान्तरणमा अन्तर्विरोध रहन्छ भने अझ यो कुरा पदार्थको गतिका सबभन्दा माथिल्लो रूपहरूका लागि, खासगरी प्राणी-जीवन र त्यसको विकासका लागि त अझ बढी सदर छ । … जीवन सबभन्दा पहिले ठीक यसै कुरामा निहित छ, एउटा सजीव वस्तु हरेकक्षण आफू उही वस्तु रहँदारहँदै पनि अरू अर्कै वस्तु हुन्छ । त्यसैले जीवन पनि एउटा अन्तर्विरोध हो, जुन स्वय वस्तुहरू र प्रक्रियाहरूमा सामेल रहन्छ र अन्तर्विरोध सिद्धिनासाथ जीवनको पनि अन्त हुन जान्छ र मृत्युको आगमन हुन्छ ।
त्यसैगरी हामीले के पनि देख्यौं भने विचारका फाँटमा पनि हामी अन्तर्विरोधबाट पन्छिन सक्दैनौं र दृष्टान्तका लागि, मानिसको ज्ञान प्राप्त गर्ने स्वाभाविक असीम ल्याकत र बाहिरिया परिस्थितिहरूबाट सीमित भएका र सीमित बौद्धिक ल्याकत राख्ने मानिसहरूमा पाइने ज्ञानको वास्तविक उपलब्धिमा रहेको अन्तर्विरोधको समाधान- हाम्रो निम्ति कमसेकम व्यवहारिक दृष्टिमा एकपछि अर्को पुस्ताले अनन्त प्रगति गर्दै जाने अन्तहीन उत्तराधिकारको रूपमा हुन्छ ।
…. केही खास परिस्थितिहरूमा एउटै रेखा सोझो र बांगो दुवै हुन्छ भन्ने यो अन्तर्विरोध माथिल्लो गणितशास्त्रको आधारभूत नियमहरूमध्ये एक हो …..
तर तल्लो गणितशास्त्रमा पनि अन्तर्विरोधहरू छ्यास्छ्यास्ती रहन्छन् । लेनिनले अन्तर्विरोधको सार्वभौमिकताको उदाहरण यसरी दिनुभएको छ :
*’गणितमा : प्लस र माइनस, डिफरेन्सियल र इन्टेग्रल । *यन्त्रविद्यामा : क्रिया र प्रतिक्रिया ।
*भौतिक विज्ञानमा धनात्मक विद्युत र ऋणत्मक विद्युत् ।
*रसायन विज्ञानमा: परमाणुहरूको सगोल र विछोट । *समाजशास्त्रमा : वर्गसंघर्ष ।’
युद्धमा मार हान्नु र जोगिनु अघि सर्नु र पछि हट्नु, जित्नु र हार्नु सबै अन्तर्विरोधपूर्ण कुरा हुन् । एउटा नभई अर्को हुनै सक्तैन । यी दुवै पक्षहरू एकअर्कासित संघर्ष पनि गर्छन् र एकअर्कामाथि भर पनि पर्छन् । यिनैले युद्धको सिंगै रूपको सिर्जना गर्छन्, युद्धलाई अझ बढी विकसित पार्छन् र यस विषयमा देखापर्ने समस्याहरूको बरोबर फस्यौंट गर्दै जान्छन् ।
मानिसका धारणाहरूमा भेट्टाइने विभिन्नताहरूले वस्तुगत अन्तर्विरोधलाई प्रतिविम्बित गर्दछन् भन्ने कुरा हामीले बुझ्नु पर्छ । वस्तुगत अन्तर्विरोधहरू मनोगत विचारमा प्रतिविम्बित हुन्छन् र यस प्रक्रियाबाट धारणाहरूको अन्तर्विरोधी गतिको निर्माण हुन्छ र यस प्रक्रियाले विचारको विकासलाई अगाडि घचेट्छ र मान्छेको विचारमा आइपर्ने समस्याहरूलाई लगातार फर्स्याउँदै जान्छ ।
पार्टीभित्र किसिम-किसिमका विचारहरूका माझ विरोध र संघर्ष रातदिन चलिरहन्छन्, तिनले पार्टीभित्र समाजको विभिन्न वर्गहरूका माझका अन्तर्विरोधहरू र नौला र पुरानियाका माझका अन्तर्विरोधहरूलाई छर्लङ्ग्याउँछन् । पार्टीभित्र अन्तर्विरोध भएन भने र तिनीहरूको फस्यौंट गर्नका निम्ति विचारधारात्मक छलफल, बाझाबाझ, तानातान चलाइएन भने त पार्टीको जीवनकै अन्त हुनेछ ।
यसरी के कुरा प्रस्ट हुन्छ भने गतिको रूप साधारण होस् वा जटिल, वस्तुगत घटना हुन् वा विचारगत, अन्तर्विरोध सार्वभौमिक किसिमवाट र सबै प्रक्रियाहरूमा रहेको पाइन्छ । तर के अन्तर्विरोध हरेक प्रक्रियाको प्रारम्भिक अवस्थामा पनि पाइन्छ र ? के हरेक वस्तुको विकासको प्रक्रियामा थालनीदेखि अन्तसम्म विपरीत तत्त्वहरूको गति रहिरहन्छ र ?
देबोरियनवादको आलोचनामा सोभियत दार्शनिकहरूले लेखेका लेखहरूबाट के थाहा हुन्छ भने देबोरियनवादको हेराइबमोजिम अन्तर्विरोध कुनै प्रक्रियाको एकदम थालनीमै जन्मिदैन, बरू त्यसको हुर्काइको एउटा खास उमेरमा मात्रै प्रकट हुन्छ । तर कुरा यस्तै भएको हुँदो हो त त्यस खास उमेरमा पुग्नुअघि त्यस प्रक्रियाको हुर्काइ भित्री कारणहरूले होइन कि बाहिरिया कारणहरूले नै हुन्थ्यो होला । यसरी देबोरियनवादीहरू बाहिरिया कारणहरू र यान्त्रिकताको आध्यात्मपन्थी सिद्धान्तलाई अंगाल्छन् ।
ठोस समस्याहरूको विश्लेषणमा यस दृष्टिकोणलाई लागू गरी, देबोरियनवादीहरू के ठहरमा पुग्छन् भने सोभियत संघमा हालका परिस्थितिहरूमा कुलकहरू (धनी खेतिवालहरू) र साधारण किसानहरूका माझ खालि भेद मात्रै छ, अन्तर्विरोध छैन र यसरी उनीहरू बुखारिनको सिद्धान्तसित पूरापूर सही थाप्न पुग्छन् ।” फ्रान्सेली क्रान्तिको विश्लेषण गर्दै उनीहरू के भन्छन् भने क्रान्तिभन्दा अघि थर्ड स्टेटमा- जसमा ज्यामी, किसान र पूँजीपतिहरू थिए- खालि भेद मात्रै थियो, त्यहाँ अन्तर्विरोध थिएन । यी देवोरियनवादी विचारहरू मार्क्सवादविरोधी विचार हुन् । देबोरियनवादी के बुझ्दैनन् भने संसारमा रहेको हरेक भेदमा पहिलेदेखि नै एउटा अन्तर्विरोध पनि रहिरहेको हुन्छ र अर्को कुरा के भने भेद स्वयं नै एउटा अन्तर्विरोध हो । दुई वर्गहरू अस्तित्वमा आएदेखि नै श्रम र सम्पत्तिका माझ अन्तर्विरोध रहेको छ, हुन त थालनीमा यस अन्तर्विरोधले चर्को रूप लिएको थिएन । कहाँसम्म भने सोभियत संघमा हालका सामाजिक परिस्थितिहरूभित्र पनि ज्यामी र किसानहरूका माझ एउटा भेद रहेको छ र यो भेद एउटा अन्तर्विरोध हो । हुन त सम्पत्ति र श्रमका माझ रहेको अन्तर्विरोध भै यो अन्तर्विरोध चर्को रूप लिएर शत्रुता वा वर्गसंघर्षको रूपमा फेरिने छैन । समाजवादी निर्माणको अवधिमा ज्यामीहरू र किसानहरूले दरिलो एकता कायम गरिसकेका छन् र उनीहरूले समाजवादबाट साम्यवादतर्फ अघि लम्कने प्रक्रियामा यस अन्तर्विरोधलाई पाइला-पाइला गरी फर्त्याइहाल्नेछन् । यहाँनिर प्रश्न बेग्लाबेग्लै खालका अन्तर्विरोधहरूको पो हो, अन्तर्विरोधहरू नै छन् कि छैनन भन्ने कुराको चाहिँ कदापी होइन । अन्तर्विरोध सर्वव्यापी र निरपेक्ष हुन्छ, त्यो सबै वस्तुहरूको हुर्काइको प्रक्रियामा सामेल रहन्छ र सबै प्रक्रियाहरूमा थालनीदेखि अन्तसम्म रहिरहन्छ ।
कुनै नौलो प्रक्रिया उदाउन थाल्यो भन्नुको के अर्थ हो ? यसको के अर्थ हो भने जुन बखत कुनै नयाँ एकता र त्यसका संघटक (constituents) विपरीत तत्त्व कुनै पुरानो एकता र त्यसका संघटक विपरीत तत्त्वहरूको ठाउँ ओगट्छन्, त्यस बखत पुरानो प्रक्रियाको ठाउँमा एउटा नौलो प्रक्रिया उदाउँछ । पुरानो प्रक्रियाको अन्त हुन्छ र नौलो प्रक्रियाको थालनी हुन जान्छ । यस नौलो प्रक्रियामा नौला अन्तर्विरोधहरू हुन्छन् र तिनका आफ्नै अन्तर्विरोधहरूका विकासको इतिहास सुरू हुन थाल्छ ।
लेनिनले भन्नुभएझैँ मार्क्सले आफ्नो पुस्तक “पूँजी ” मा विपरीत तत्त्वहरूको त्यस गतिको विश्लेषणको एक अति उत्तम बान्की अघि सार्नुभएको छ, जुन गति वस्तुहरूको विकासको प्रक्रियामा थालनीदेखि आखिरीसम्म रहिरहन्छन् । यो एउटा यस्तो पद्धति हो, जसलाई सबै वस्तुहरूको विकासको प्रक्रियाको अध्ययनमा प्रयोग गर्नुपर्छ । लेनिन आफैँले पनि यस पद्धतिको सही किसिमबाट प्रयोग गर्नुभएको थियो र आफ्ना सबै रचनाहरूमा यसलाई अंगाल्नुभएको थियो ।
” पूँजी” भन्ने आफ्नो रचनामा मार्क्स पहिले पूँजीवादी (किनबेचको माल) समाजको सबभन्दा सजिलो, सबभन्दा साधारण र आधारभूत, सबभन्दा बढी प्रचलित र दिनहुँका सम्बन्धहरूको विश्लेषण गर्नु हुन्छ, यो एउटा यस्तो सम्बन्ध हो, जुन करोडौंपल्ट देख्न पाइन्छ र यो हो, मालको साटफेर गर्ने क्रिया । यस ज्यादै साधारण घटनाभित्र ( पूँजीवादी समाजको यस कोशिकामा) विश्लेषण गर्दा आधुनिक समाजका सबै अन्तर्विरोधहरू (वा सबै अन्तर्विरोधका बीउहरू) छर्लङ्ग हुन्छन् । पछिको व्याख्याले ती अन्तर्विरोधहरूको विकासलाई (प्रौढता र गति दुवैलाई) र आफ्ना बेग्लाबेग्लै अंगहरूको जोडको रूपमा यस समाजको विकासलाई, यिनका प्रारम्भदेखि अन्तसम्मको स्थितिमा देखाउँछ ।
लेनिनले त्यसपछि भन्नुभयो, “सामान्य रूपमा द्वन्द्ववादको व्याख्या (वा अध्ययन) को पनि यिनै पद्धति हुनुपर्छ ।”
चिनियाँ कम्युनिष्टहरूले यो पद्धतिलाई सिक्नुपर्छ, अनि मात्रै उनीहरू चिनियाँ क्रान्तिको इतिहास र त्यसको हालको स्थितिको ठीक-ठीक विश्लेषण गर्न सक्नेछन् र त्यसको भविष्यबारे ठीक-ठीक निष्कर्ष झिक्न सक्नेछन् ।
( अन्तरबिरोधबारे )