३ आश्विन २०८१, बिहीबार

यो समाजवादी मोर्चा इतिहासको नयाँ आयाम हो : विप्लव

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले यो समाजवादी मोर्चा इतिहासको नयाँ आयाम भएको बताएका छन् ।
समाजवादी मोर्चा, नेपालले आज विराटनगरमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै महासचिव विप्लव सीले यो माेर्चाले नेपालको सबै अन्तरविरोधको हल गर्ने बताए । नेपालमा अहिले नयाँ अन्तरविरोध थपिएकाले त्यसलाई हल गर्न नयाँ निकास चाहिएकाले समाजवादी मोर्चा गठन भएको ठोकुवा गरे ।

महासचिव विप्लव सीले समाजवादी मोर्चालाई पुरानै तरिकाले हेर्न नहुने भन्दै यसले सु-स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी  गरे । उनले जनयुद्धबाट ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताउँदै अहिलेकाे दलाल संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताए । उनले दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै त्यसलाई रोक्नुको विकल्प नभएको ठोकुवा गर्दै अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेकोले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताए ।

महासचिव विप्लव सीले परिस्थितिले फुट र जुट गराउने गरको बताउँदै फुटले रमाउने तत्वहरू रमाएपनि जनता दुःखी भएको बताए । उनले अब सन्देश दिनुपर्छ अब कम्युनिष्टहरू देशलाई आपत परेको बेला, देशलाई नयाँ  निकास दिन मिल्ने र कालो सपना देख्नेहरूलाई सखाप पार्ने बताए । उनले साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ ।’
महासचिव विप्लव सी क्रान्तिबाट नडराउने भन्दै माधव नेपाल र उपेन्द्र यादवहरूले सरकार र सदनमा लडे आफू सडकमा लड्न तयार भएको बताए ।
यसैगरी महासचिव विप्लव सीले जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने भन्दै यसको सामना गर्न तयार हुनुपर्ने बताए । उनले देश जटिल संक्रमणको अवस्थामा रहेको समेत बताउदै भने, ‘एक किसिमको उकुस मुकुस छ। पूर्वमा पहिचानको कुरा छ। युवा सन्तुष्ट छैनन्। यसको सामना कसले गर्ने र कसले सच्याउने भन्दै उनले प्रश्न गरे। धार्मिक, सांस्कृतिक विरोध छन्। समाजवादी मोर्चा बनाउँदा टुक्रा टुक्रा आन्दोलनले समाधान हुँदैन। उनले भने, ‘समग्र लक्ष्य पूरा गर्न मोर्चा बनेको हो ।’


महासचिव विप्लव सी ले जाति जनजाति, किसान, मजदुर मालिकबीचको अन्तर विरोधको सम्बोधन गर्ने बताउँदै संसदीय व्यवस्था जनताको चाहनाअनुसार नभएकोले नेपाली विशेषताको समाजवाद आवश्यक रहेको बताए ।


यसैगरी सोही सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू मिसन समाजवाद लिएर अगाडि बढेको बताए ।

उनले सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताए । दोषलाई अन्त मोडेर नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको उनले बताए । नागरिकता वितरण, मिटरब्याज विरूद्दको कानुन निर्माण, सुशासनको पक्षमा भएका काम उल्लेख गर्दै उनले व्यवस्थाका अनेक त्रुटीलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुन नसक्ने बताए ।

अध्यक्ष नेपालले मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताउँदै खुसी व्यक्त गरे । समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उनले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताए । उनले नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने र भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्ने बताए ।
अध्यक्ष नेपालले नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै यस्तो बेलामा राष्ट्रिय स्वाधिनताको रक्षा महत्त्वपूर्ण हुने बताए । उनले मोर्चा बनेको विषयमा विभिन्न प्रश्न उठाउनेलाई जवाफ दिँदै ७ साल, ४६ र ६२ सालमा पनि मोर्चा बनाएरै आन्दोलन गरेको नबिर्सन सुझाव दिए ।
अध्यक्ष नेपालले दलाल पूँजीवाद नेपाली राजनीति र अर्थतन्त्रमा पर्ने होकि भनेर लडाइ सुरू गर्नुपर्ने बताए । उनले सरकार जोगाउनका लागि मोर्चा निर्माण नभएको बताउँदै गठबन्धन सरकारले भने राम्रो काम गरिरहेको बताए । मोर्चा बनेपछि कतिपयले चिटचिट पसिना काडेर हिँडिरहेको बताउँदै अध्यक्ष नेपालले आफूहरू एकता र मेलमिलापको पक्षमा रहेको र समाजवादमा जानका लागि मोर्चा बनाएको बताए ।

अध्यक्ष नेपालले आफू विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढेर स्नातक गरेको स्मरण गर्दै एमाले विराटनगरमै स्थापना भएको र त्यसको लागि धेरै मेहनत गरेको सुनाउदै भने- ‘मानिस कम हुने र रानी क्षेत्रमा मजदुरहरुसँग आन्दोलनबारे छलफल गर्ने गर्थ्यौं,’ उनले भने, ‘मैले महेन्द्र मोरङ पढेर स्नातक गरेको हुँ। यो ठाउँबाट राजनीतिक यात्रा शुरु गरेको हुँ।’
अध्यक्ष नेपालले विराटनगर आउँदा विधार्थी जीवनकै बेला जस्तो युवा महसुस भएको भन्दै नेपालले युवा विद्यार्थीलाई आशाको सन्देश दिनुपर्ने बताए। उनले ५ वटा सन्देश सभा सम्पन्न हुँदा यसप्रति उत्साह बढेको बताए ।
यसैगरी, सोही सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुशासनका लागि लामो समय संघर्ष गरेकाहरू अहिले कुशासन बोकेर हिँडिरहेको बताए ।उनले पछिल्ला १६ वर्षमा १३ वटा शासन र सत्ताको खेपमा लागेर सरकार फेर्दै कुशासन अंगालेको अवस्थाबाट मुलुकलाई निकास दिन मोर्चा गठन गरेर अघि बढेको बताउदै भने- ‘सत्ता टिकाउने खेल, सरकार बनाउन र गिराउने खेलमा लागेर आर्थिक वृद्धिदर लक्ष्य प्राप्त गर्न सकेका छैनौँ,उनले भने, ´सुशासनका लागि संघर्ष गर्दै हिँडिरहँदा कुशासन बोकेर हिँडिरहेका छौँ ।
अध्यक्ष यादवले समाजवादउन्मुख संविधान भए पनि सम्पन्नता र विपन्नताबीचको खाडल निकै ठूलो बढेर गएको बताउदै भने – ´शिक्षाको क्षेत्र चौपट भएको, कृषि, स्वास्थ्य, उद्योगधन्दा चौपट भएर ठूलो जनशक्ति विदेशमा गएर चर्को घाममा खुनपसिना बगाइरहेका छन्। ´नेपालमा जताततै अराजकता बढ्दै गएको र संविधानले ग्यारेन्टी गरेको आधारभूत आवश्यक्ता सरकारले प्रत्याभूत गराउन सकेको छैन । अध्यक्ष यादवले विकास, समृद्धि र सुशासनको लक्ष्य प्राप्त गरेर राजनीतिक स्थिरता कायम गर्दै राजनीतिक, सामाजिक असमानता अन्त्यका लागि मोर्चा गठन गरिएको बताउदै भने – ´खुद्रे विषयमा नअडी देशलाई निकास दिन र राष्ट्रिय समस्या समाधानका लागि प्रधानमन्त्रीलाई समाजवादी मोर्चाको आड र कांग्रेसको साथ छ। स्वार्थ समूहबाट जोगाएर तोकिएकै समयमा योजनाहरूको काम सम्पन्न गर्न सकिए मात्रै मुलुकमा आर्थिक समृद्धि सम्भव हुन्छ किनकि विगत ३० वर्षदेखि यी यस्तै कारणले कुनैपनि योजना समयमा सम्पन्न हुन नसकेकाले कहाँबाट समृद्धि आउँछ ?
अध्यक्ष यादवले प्रदेशको नामकरणको विषयमा जनता आक्रोशित बनेकाले समाधान प्रधानमन्त्रीले खोज्नुपर्ने भन्दै जनताले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धि समाप्त गर्न चाहनेलाई जवाफ दिन मोर्चा गठन भएको बताए ।

https://fb.watch/m_BF4Y1-Oi/?mibextid=Nif5oz


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।