१८ बैशाख २०८१, मंगलवार

‘नवौं महाधिवेशनलाई विचार, मूल्य र आदर्श उत्सवको रूपमा सम्पन्न गरौं !’

0

‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!

ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएका छन् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु-याइएको छ ।

महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु-याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पनि आक्रमण थियो र हो । जसको विरुद्ध हाम्रो पार्टीले एकीकृत जनक्रान्ति, परिवर्तन, जनसुरक्षा र कठिन चुनौतिको सामना गर्ने कष्टसाध्य बाटो तथा चुनौतिको सामना गर्यो । हामीले जनपरिषद् गठन गर्यौं र जनविरोधी संविधानको विकल्पमा जनसंविधान घोषणा गर्यौं । पार्टीले क्रान्तिका तीन जादुगरी हतियारलाई व्यवस्थित गर्यो र परिचालित गर्यो ।

आदरणीय जनसमुदाय !

दलाल संसदीय व्यवस्थाले गरेका राष्ट्रघाती अरुण ३, माथिल्लो कर्णाली, विराटनगरमा राखिएको अवैध भारतीय वाणिज्य दुतावास, सञ्चारसेवा प्रदायक बहुराष्ट्रिय कम्पनी एनसेलको करछली, भारत–चीनबीच भएको लिपुलेक सहमति, ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण, वाइड बडी काण्ड, लिपुलेक–लिम्पियाधुरा अतिक्रमण, महिला तथा जातीय हिंसा, मानव तस्कर विरुद्धको सङ्घर्ष, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, विचौलियालगायत राष्ट्रघात तथा जनघातका विरुद्ध एकल तथा संयुक्त पहलमा संघर्षको नेतृत्व गर्यो । जनतामाथि भएका अनेकौं अन्यायका विरुद्ध जनताको न्यायालय गठन गरेर स्वच्छ– न्याय दिलाउने काम गर्यो । विभिन्न क्षेत्रका व्यवसायी मित्रहरूले राजनैतिक, आर्थिक, नैतिक सहयोग उपलब्ध गराउनु भयो ।

हामीलाई प्राप्त जनसमर्थन र दलाल संसदीय व्यवस्था नाङ्गिदै गएको कारण तत्कालीन केपी ओली नेतृत्वको सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीमाथि आफ्नै संविधानको समेत धज्जी उडाउँदै प्रतिबन्ध लगायो । १२ जना होनहार युवाहरूको हत्या गर्यो । नेता कार्यकर्तामाथि झुठ्ठा मुद्दा लगाइयो, सयौं गिरफ्तार भए । दर्जनौं कार्यकर्ता र जनता घाइते बनाइए तर सरकारको दमनको प्रयास असफल भयो ।देशभक्त, वामपन्थी, वुद्धिजीवि र नेताहरूले सरकारको दमनकारी नीतिको विरुद्ध आवाज उठाए । सरकार उल्टै हाम्रो पार्टी र जनप्रतिरोधको घेरामा प¥यो । दमनको अस्त्र असफल भएपछि सरकारले वार्ताको प्रयास गर्न बाध्य भयो ।

यसक्रममा सरकारले सोमप्रसाद पाण्डे नेतृत्वको टोली खटायो र पहिलो पटक वार्ता प्रयास भयो, दोश्रो पटक पनि वार्ता सफल हुन सकेन र तेश्रो पटक तत्कालीन गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी टोलीसँग भएको वार्ता प्रयास सफल भयो । २०७७ फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी र सरकारको बीच ३ बुँदे सहमति सम्पन्न भयो । हाम्रो पार्टीले सहमतिका बुँदाहरू पालना गरिरहेको छ तर सरकारी पक्षले ३ बुँदे सहमतिप्रति इमान्दारिता देखाएको छैन । हालसम्म पनि बन्दीहरू रिहा गरेको छैन, उल्टै गिरफ्तार गर्ने, पक्राउ पुर्जी जारी गर्ने काम गरिरहेको छ ।

सरकारी हर्कत हेर्दा साम्राज्यवादको उक्साहट र देशका हतियार तस्कर तथा दलालहरूको षड्यन्त्रमा सुनियोजित रूपले हिंसात्मक बाटोमा देशलाई धकेल्ने हर्कतमा सरकार स्वयम् संलग्न भएको आशंका पैदा भएको छ । राज्यले यति गैरजिम्मेवार कार्य गर्दा पनि मानवधिकारवादी, बुद्धिजीविहरू र राजनैतिक पार्टीहरूको उचित ध्यान पुग्न सकेको देखिंदैन ।जनसमुदाय, हामीले यसबीचमा विश्वले झेल्नुपरेको पुँजीवादको सहउत्पादन कोभिड–१९ विरुद्ध जनसेवा अभियानहरू सञ्चालन गर्यौं । एमसीसीको नाममा देशलाई नवऔपनिवेशिक जञ्जालमा फसाउने षड्यन्त्र विरुद्धको सशक्त आन्दोलनको नेतृत्व गर्यौं ।

त्यसक्रममा सयौं नेता–कार्यकर्ता घाइते भए, झुठ्ठामुद्दा लगाइयो, यसैबीचमा हाम्रो पार्टीले ताप्लेजुङ, सिन्धुली, धादिङ, कालिकोट, सर्लाही, चितवन, रोल्पा, कपिलवस्तुलगायत स्थानहरूमा जनसेवा र विकासका पूर्वाधार निर्माण गर्यो । आत्मनिर्भर अर्थतन्त्र निर्माण र सत्तालाई जनतासँग जोड्ने, प्रतिक्रान्तिको जरैदेखि उपचार गर्ने उद्देश्य लिइएको अर्थनीतिको भ्रूणको रूपमा जनकम्युन र देशैभरी उत्पादन कार्य शुरु गरियो । ‘बिहानीले दिनको छनक दिन्छ’ भनेझैं यी हाम्रो पार्टीका महत्वपूर्ण उपलव्धीहरू हुन् ।कमरेड तथा मित्रहरू !नयाँद्वारा पुरानो विचार र प्रवृतिको निषेध, सत्य र असत्यबिचको संघर्ष, मरणशील पक्षको निषेध र विकासशील पक्षको विकास द्वन्द्ववादका अनिवार्य पक्ष हुन् ।

वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका यी नै नियमहरू झेल्दै, सामना गर्दै हाम्रो पार्टी अगाडि बढिरहेको छ । आठौं महाधिवेशनले विकास गरेको विचार शृङ्खलामा हाम्रो आत्मविश्वास फराकिलो भएको छ । त्यसलाई अझ उच्चस्तरमा संश्लेषण गर्नुपर्ने भएको छ । चुनाव प्रयोगको कार्यनीति, जनमतसङ्ग्रहको कार्यनीतिले समाज र पार्टीभित्र तरङ्ग पैदा भएको छ । पार्टीमा गति पैदा गरेको छ र यसलाई अझ उचाईमा संश्लेषण गर्नुपर्ने भएको छ । एमसीसी पारित भएलगत्तै अमेरिकी नेतृत्वमा देशको सार्वभौमिक अखण्डता नै मिच्ने, छिमेकीसँग द्वन्द्व बढाएर युक्रेन–त्रासदी थोपरिएको छ । देश आर्थिक संकटतर्फ धकेलिएको छ ।

यस्तो सङ्गीन घडीमा हाम्रो पार्टीको नवौँ महाधिवेशन (असोज १ – ८, २०७९ काठमाडौँ) मा सम्पन्न गर्न गइरहेका छौँ । महाधिवेशन एकीकृत जनक्रान्तिको कार्यदिशा, विश्व कम्युनिस्ट आन्दोलनको दिशा, वर्गसङ्घर्षको उत्थान र राष्ट्रिय मुक्ति आन्दोलनको विकासमा कोषेढुङ्गा हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ । यो महान् कार्यमा आ–आफ्नो क्षेत्रबाट सहभागी हुन र सहयोग गर्न हार्दिक अपील गर्दछौं । आउनुहोस, नवौं महाधिवेशनलाई कम्युनिस्ट विचार, मूल्य, मान्यता र आदर्शको उत्सवको रूपमा सम्पन्न गरौं !’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।