१५ मंसिर २०८१, शनिबार

सन्दर्भः १० औं पार्टी पूनर्गठन दिवस बारे

0

पार्टी एउटा सजीव र गतिशिल संस्था हुनुका कारण यो गठन, पूनर्गठन ,विघटन र संगठनको निरन्तर प्रक्रियावाट अगाडी बढिरहेको हुन्छ । त्यसमा पनि कम्युनिष्ट पार्टी वर्गसंघर्ष र सशस्त्र संघर्षको हिमायती हुनुका कारण यो नियम अझ बढि सघन रुपमा लागु भैरहेको हुन्छ । किनकि वर्गसंघर्ष र सशस्त्र संघर्षले पार्टीको आन्तरिक जीवन र बाहय अर्थात सामाजिक जीवनमा निरन्तर क्रमभंग अर्थात ध्वँस र निर्माणको प्रक्रिया निरन्तर चलिरहेको रहेको हुन्छ । राजनीतिक पार्टी र मुलतः कम्युनिष्ट पार्टीमा यो आमरुपमा लागू भैरहेको र भविष्यमा पनि लागू भैरहने प्रक्रिया होे । नेपालको राजनीतिक आन्दोलनमा यो प्रक्रिया वि. स.१९९७ देखी यता निरन्तर लागू हुदै आईरहेकोछ । प्रजापरिषद हुँदै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले यो प्रक्रियालाई राम्रोसँग झेलेर अनुभूतिको तहवाट नीति निर्माण अर्थात सैद्धान्तिक तहसम्म पुर्याएका छन । वि. स.२००७ देखि २०४६ सम्म पुग्दा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीले निरङकुश सामन्ती व्यवस्थाका विरुद्ध संचालन गरेका थुप्रै संघर्ष,दमन,प्रतिरोधका अन्य श्रृङखलाहरु पार गर्दैगर्दा थुप्रै पटक पार्टी जीवनमा गठन,पूनर्गठन ,विघटन र संगठनको अनिवार्य मामिलाहरु झेल्नु परेको थियो । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको एउटा दक्षिणपन्थी धाराले २०४६ को जनआन्दोलन पछि राजनीतिक क्रान्ति सकिएकोले गर्दा आर्थिक क्रान्ति अर्थात औधोगिक क्रान्तिको दिशामा अघि बढने निष्कर्षका साथ आफ्ना राजनीतिक कार्यक्रमहरु अगाडी बढाए । कम्युनिष्ट पार्टीको क्रान्तिकारी धाराले नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भएको नभई बरु सामान्य सुधार मात्र भएको, पञ्चायती व्यावस्था र बहुदलिय संसदीय व्यावस्थामा रुपमा केहि फरक भएपनि सारमा यी दुवै पूँजीवादी व्यवस्था भएको कारण जनताका आधारभूत आवश्यकताहरु पुरा हुन नसक्ने निष्कर्षका साथ अर्को राजनीतिक कोर्षमा जानुपर्ने आवश्यकता माथि जोड दिईरहेका थिए । नेपाली काँग्रेस र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी धाराको नेतृत्व गरिरहेको नेकपा एमालेले राजतन्त्रात्मक संसदीय व्यवस्थाको प्रतिनिधित्व गर्दै उक्त व्यवस्थालाई विश्वकै उत्कृष्ट व्यवस्थाको संज्ञा दिदै यसको विरोध गर्ने शक्ति र पार्टीलाई उग्रवादी र आतंककारीको संज्ञा दिएर दमन गर्ने अभियानमा लागे भने क्रान्तिकारी कम्युनिष्ट धाराले संसदीय व्यवस्था विश्वमा असफलशिद्ध व्यवस्था त्यसमा पनि राजतन्त्र जोड्दा सामन्तवाद सहितको ककटेल पूँजीवादको अभ्यासले नेपाल राष्ट्र र जनताका संकट तथा अन्तर्विरोधहरु अरु जटिल बन्दै जाने निष्कर्षमा थिए । राजनीतिक रुपले यो क्रान्तिकारी र अग्रगामी धाराको नेतृत्व तत्कालिन विभिन्न कम्युनिष्ट धारा र मुलत नेपाल कम्युनिष्ट पार्टी मशाल,एकता केन्द्र हुदै नेपाल कम्युनिष्ट पार्टी माओवादीले गरिरहेको थियो । २०४६ देखि २०५२ सम्म पुग्दा संसदीय व्यवस्थाका पक्षधर र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी क्रान्तिको पक्षधर दुई परस्परविरोधी राजनीतिक धाराको बिचमा अन्तर्विरोध निकै चर्को भईसकेको थियो ।

सरकारमा रहेका पार्टीहरुले सरकारी सुरक्षाकर्मि र गुण्डाहरुको परिचालन गरि देशव्यापी दर्जनौ क्रान्तिकारी नेता कार्यकर्ताहरुको हत्या,हजारौ नेता–कार्यकर्ताहरुका विरुद्ध झुठ्ठामुद्धा,सयौजनालाई जेल तथा हिराशतमा राख्दै राज्यआतंकको सहारा लिएर सत्ताको रक्षा गर्न वाध्य थिए भने त्यसका विरुद्ध नेकपा माओवादीले देशव्यापी सरकारी रवैयाको भण्डाफोर गर्दै प्रतिरोध संघर्ष संचालन गरिरहेको थियो । सामाजिक अन्तर्विरोधको नियमलाई बोध गर्दै सचेतन प्रयत्नबाट समस्याको समाधान गर्न तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ फागुन १ गते नयाँ जनवादी राज्यसता स्थापना गर्ने उद्घोषका साथ सशस्त्र जनयुद्धको शुरुवात गरयो । एक दशकको सशस्त्र जनयुद्ध पछि नेकपा माओवादी समानान्तर सत्ताको अभ्यास गर्ने तहमा विकसित भएको थियो । रणनैतिक रक्षा,सन्तुलन पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गरेको नेपाली जनयुद्धको विरुद्ध विश्वकै शक्ति राष्ट्र अमेरीकाले तत्कालिन शाही नेपाली सेनालाई तालिम,प्रविधिको सहयोग गर्दै माओवादी जनयुद्धलाई दमन गर्न आईपुग्यो । एकातिर सत्ता स्वार्थका कारण तत्कालिन राजाले नेपाली काँग्रेस,एमाले लगायतका दलहरुलाई कु गरि सत्ता आफ्नो हातमा ल्याए भने अर्कोतिर अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नो सैन्य अखडा कायम गर्न चाहिरहेको तत्कालिन परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको सचेत योजना र पहलकदमीमा सात संसदीय दलसँग १२ बुंदे सहमति हुन पुग्यो । सात संसदवादी दल र नेकपा माओवादीको बिचमा सम्पन्न सम्झौताको पृष्ठभूमिमा उठेको २०६२–६३ को ऐतिहासीक जनआन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गर्नपुग्यो । सामन्ती राजतन्त्रको अन्त्यपछि नेपालका संसदवादी पार्टीहरुमा फेरी पुरानै यथास्थितीवादी प्रवृति हावी हुन पुग्यो । जसले नेपालमा जनयुद्धले स्थापित गरेका किसान,मजदुरवर्ग लगायतका तमाम समस्याहरु समाधान गर्नुको सट्टा फेरी केवल असफल संसदीय व्यवस्था लादियो । संसदीय व्यवस्थाको विकल्पमा जनवादी गणतन्त्र स्थापना गर्नका लागी जनयुद्धको नेतृत्व गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी भित्रको एउटा दक्षिणपन्थी धाराले पुराना संसदवादी राजनीतिक पार्टीहरुको यथास्थितीवादी प्रवृतिको सहारा लिन पुग्यो । त्यस प्रकारको विचार–प्रवृतिका विरुद्व माओवादी पार्टीमा अन्तरपार्टी संघर्ष निकै उचाईमा विकसित हुन पुग्यो । अन्तरपार्टी संघर्षवाट पार्टीमा विकसित भईरहेको दक्षिणपन्थी धारा रुपान्तरण हुनुको बदला झनपछि झन पुर्वाग्रही र संसदीय पूँजीवादी व्यवस्थाको पक्षधर हुन थालेपछि अन्तत पार्टी विभाजनको विकल्प रहेन,फलस्वरुप जनयुद्वको नेतृत्व गरी आमजनताको समर्थन प्राप्त पार्टी विभाजन भयो ।

जनयुद्धको नेतृत्व गरिरहेको र पछिल्लो पटक नेपाली कम्युनिष्ट आन्दोलनमा मुलधाराको रुपमा विकसित भईरहेको माओवादी पार्टीमा आएको फुट र विभाजनले क्रान्तिपक्षधर जनता,सहिद तथा बेपत्ता परिवार,एउटा सीमासम्म नेता–कार्यकर्ताहरुमा निराशाभाव विकास गर्यो भने देश–विदेशी प्रतिक्रियावादी शक्तिहरु उत्साहित हुन पुगे । जे–जस्तो क्रिया र प्रतिक्रियाहरु देखीएपनि साँचो अर्थमा त्यो वैचारिक संघर्षको परिणाम थियो । कमरेड किरणको नेतृत्वमा पूनर्गठन गरिएको ड्यास माओवादीमा एउटा निर्वाचन वहिस्कारको कार्यक्रम (त्यो पनि अनेकतामा व्यक्त भएको थियो ।) वाहेक कुनैपनि कार्यक्रम र अभियानहरु संचालन हुन सकेन । करिव दुई वर्षको अवधिमा पूनर्गठित पार्टीमा क्रान्तिको तयारी सम्वन्धि कुनै कार्यक्रम नबनेपछि पार्टीमा विभिन्न आशँकाहरु देखिन थाले । पार्टीमा रहेको एउटा धाराले नेपाली काँग्रेससँग मिलेर भएपनि सरकारमा जाने लविङ गर्न थालेपछि पार्टीमा फेरी अन्तरसंघर्ष शुरु भयो । त्यस प्रकारको अन्तरसंघर्षमा मूल नेतृत्वमा देखा परेको अकर्मन्यता र जडसुत्रिय चिन्तन धाराका कारण पार्टी कमजोर हुदै गयो । पार्टीको विचार, राजनीति, कार्यदिशा र कार्यक्रम तय गर्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन पनि मूल नेतृत्ववाट विनाकारण स्थगित गरिएपछि पार्टीमा अन्तरसंघर्ष संचालन गरेर समय खेर फाल्नु भन्दा फरक पार्टी निर्माण गरेर क्रान्तिको तयारी गर्ने मनसाय सहित पार्टीको मूल नेतृत्वलाई पत्र वुझाएर दोश्रो पटक कमरेड विप्लवको नेतृत्वमा वि.स. २०७१ मँसिर ८ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीको पूनर्गठन गरियो । दोश्रो पटक पार्टी पूनर्गठन गरिएपछि देशमा एउटा ठुलो हलचल पैदा भयो । वाहिर विभिन्न अडकलजाजी र हल्लाहरु चलाईए । कतिपयले अव देशमा फेरी सशस्त्रयुद्ध हुने हल्ला गरे,प्रहरी प्रशासनले माथिको आदेश भनेर हाम्रा पार्टी सदस्य,शुभचिन्तकदेखि विभिन्न तहमा क्रियाशिल नेता–कार्यकर्ताहरुको वायोडाटा संकलन गर्न थाल्यो । प्रतिक्रियावादी र संशोधनवादी कम्युनिष्टहरुका अनेक हल्ला र भ्रमहरुलाई खारेज गर्दै पार्टी आफ्नो नियमित राजनीतिक–वैचारिक र संगठनात्मक काममा लाग्न थाल्यो । मात्रामा पार्टी रहेपनि सारमा कम्युनिष्ट पार्टीको मूल अन्तर वस्तुमा पार्टीमा काफी ह्रास आएको थियो । यस्तो अवस्थामा पहिलो काम कम्युनिष्ट पार्टीलाई वैचारिक र संगठनात्मक रुपले लैश बनाउनु थियो । पार्टीले प्रारम्भमा आफ्नो ध्यान यसैमा केन्द्रित गर्नपुग्यो । कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको संगठन हो र यसको ंसंचालन र परिचालन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने निष्कर्ष सहित वैचाारिक र संगठनात्मक रुपले पार्टी निर्माणमा लाग्दै पार्टी आफ्नो योजना र लक्ष्य–उद्धेश्यमा निरन्तर लागि रहयो ।
पार्टी पूनर्गठन पछि विभिन्न आरोह–अवरोहहरु पार गर्दै हामी पार्टीको दशौ पूनर्गठन दिवस मनाउन गईरहेका छौ । पार्टी पूनर्गठनको यो एक दशकको अवधिमा पार्टीको एउटा राष्ट्रिय सम्मेलन,दुईवटा महाधिवेशन,विभिन्न विस्तारीत वैठक,सचिवालय,पोलिट व्यूरो र केन्द्रिय समितीका पूर्ण वैठकहरु सम्पन्न गर्दै पार्टी जीवन्त र हराभरा हुदै आफ्ना नियमित काम अर्थात वैज्ञानिक समाजवादी–साम्यवादी व्यवस्था निर्माणको यात्रामा अविचलित रुपमा अगाडि बढिरहेकोछ । यसविचमा पार्टीले माओको निधनपछि मुलत अन्तराष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेका केहि अपूर्णता र समस्याहरुको समाधान अर्थात वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिमा देखा परेको गत्यावरोधलाई हल गर्ने कुरामा केहि महत्वपूर्ण दार्शनिक संश्लेषणहरु अगाडि सारेकोछ । यसका साथै वैज्ञानिक समाजवाद,अर्थराजनीति,संघर्ष र सांस्कृतिक क्षेत्रमा पनि केहि महत्वपूर्ण संश्लेषणहरु र प्रयोगलाई अगाडि सारेकोछ । यो सानो आलेखमा पार्टी पूनर्गठनका एक दशकको अवधिमा पार्टीले गरेका खोज,अध्ययन–अनुसन्धान र संश्लेषणहरुलाई संक्षेपमा निम्नानुसार अध्ययन गर्नु उपयुक्त हुनेछ ः –

पहिलो, दर्शनको क्षेत्र–वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्ति गरिरहेको क्रान्तिकारी पार्टीको लागि दर्शनको क्षेत्र महत्वपूर्ण र निर्णायक प्रश्नका रुपमा लिईन्छ । वैज्ञानिक र युगानुकुल दर्शन विना कुनैपनि क्षेत्र र मुलत सामाजिक क्षेत्रमा गरिने राजनीतिक क्रान्तिको कल्पना पनि गर्न सकिदैन । कम्युनिष्ट पार्टीले द्धन्दात्मक भौतिकवादी दर्शनलाई आत्मसात गर्दछ र यसको मार्गनिर्देशनमा समाज विकासको क्षेत्रमा गरिने राजनीतिक क्रान्तिको साधकका रुपमा प्रयोग गर्दछ । जुन दर्शन विश्व व्रम्हाण्ड र समाजको अध्यन र यथार्थ लेखाजोखा गर्ने विज्ञानका रुपमा स्थापित भएकोछ । यो दर्शन मुलत श्रमिक वर्गिय दर्शनहो,यसले श्रमिक वर्गलाई विधमान शोषण दमनबाट मुक्ति पाउन संगठित हुन,संघर्ष गर्न र विजय हासील गर्ने कुरामा निरन्तर दिशा निर्देशन गरिरहेको हुन्छ । श्रमिक वर्गको अगुवा दस्ता कम्युनिष्ट पार्टी हुनुका नाताले यो दर्शनको प्रयोग,रक्षा र विकासमा कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदान रहेको हुन्छ । द्धन्दात्मक भौतिकवादी दर्शनले पौने दुईसय वर्षको अवधि विताएकोछ,यसर्थमा यो दर्शन क्रान्तिका लागि केहि अपूर्ण भएको यर्थाथता आज विश्वव्यापी रुपमा क्रान्तिकारीहरुले महसुस गरिरहेको तथ्य हो । एकातिर विगतका समाजवादी सताको रक्षा गर्ने सवाल र अर्कोतिर आजको भूमण्डलीकृत पूँंजीवादी युगमा वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्ति गर्ने र त्यसलाई रक्षा गर्ने सवालका दृष्टिले दर्शनको क्षेत्रमा गर्नुपर्ने खोज र प्रयोगको अपरिहार्यता निकै बढेर गएकोछ । पार्टी पूनर्गठन पछि हाम्रो पार्टीले आठौ महाधिवेनवाट दर्शनमा खोज अध्यनका लागि तीन वटा विषय अगाडी सारेको थियो । जसमा पहिलो–विकसित वस्तुको रक्षा,प्रयोग र विकास,दोश्रो–सजातियहरु बिचको विपरितहरुको एकत्व र तेश्रो–भौतिक विज्ञानमा भैरहेका विकासहरुको दार्शनिकीकरण । यसको जगमा खडा भएर पार्टीको नवौ महाधिवेशनवाट दर्शनको क्षेत्रमा अनिश्चय,रक्षा र रुपान्तरणको संश्लेषणलाई अगाडि सारेकोछ । यसको तात्पर्य संसारका हरेक वस्तुहरु गतिशिलताका साथै तरंगमय रहेका हुन्छन । गतिशिलता र तरंगमय हुनुका कारण यो अनिश्चयतासँग पनि जोडिएको हुन्छ । हरेक वस्तुहरु सकार नकारमा र नकार सकारमा बदलिरहने,सकारात्मक नकारात्मकमा र नकारात्मक सकारात्मकमा बदलिरहने अनिश्चयताको घेरामा रहेका हन्छन । यहि अनिश्चयताका कारण राजनैतिक विज्ञानमा बदलिएको वस्तुलाई रक्षा र युगानुकुल रुपान्तरण गरिरहनु पर्दछ । अन्यथा त्यो जनताको आवश्यता र चेतना भन्दा पछि पर्दछ र त्यसले प्रतिक्रान्तिको सम्भावनालाई निम्ताउन पुग्दछ । यो कुरा विगतका समाजवादी व्यवस्थाको संचालन र परिचालनमा देखा परेका शिक्षा र अनुभव सँग जोडिएका महत्वपूर्ण दार्शनिक विषय मात्र नभई वर्तमान भूमण्डलीकृत पूँजीवादी युगमा वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्ति सम्पन्न गर्न र त्यसलाई रक्षा गर्नका लागी पनि त्यतिकै महत्व राख्ने विषय हो ।

दोश्रो,वैज्ञानिक समाजवादको क्षेत्र–यो क्षेत्रमा मूलत सर्वहारावर्गिय कार्यदिशा,पार्टी संगठन र राज्यसताको स्थापना र संचालन तथा परिचालन आदि पर्दछन । कार्यदिशाको सन्दर्भमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा विगतमा प्रयोग गरिएका सर्वहारावर्गिय दुई भिन्न कार्यदिशा रुसी मोडेल अर्थात अल्पकालिन सशस्त्र विद्रोह र चिनियाँ मोडेल अर्थात दीर्घकालिन जनयुद्धको कार्यदिशा आजको भूमण्डलीकृत पूँजीवादी युगमा अप्रयाप्त रहेको कुरामा सायदै दुईमत नहोला । माओको निधनपछि समाजवादी सत्ताहरुमा विश्वव्यापी प्रतिक्रान्ति हुनु,दुनियाँमा संचालन गरिएका कुनैपनि सर्वहारावर्गिय क्रान्तिहरु सफलतामा नपुग्नु आदि कारणहरुको पृष्ठभूमिमा सर्वहारावर्गिय कार्यदिशा विकासका लागि आज विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनमा व्यापक वहस भईरहेकोछ । हाम्रो पार्टीले आफ्नो प्रथम राष्ट्रिय सम्मेलन र आठौ महाधिवेशनवाट नेपाली क्रान्तिको कार्यदिशा एकिकृत जनक्रान्ति हुने निष्कर्ष निकालेको छ । आजको युगमा कुनै एउटा क्षेत्र, वर्ग र सघर्षको स्वरुपलाई मात्र समातेर वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न र टिकाउन सकिदैन । गाउँ र शहरलाई एकिकृत गर्ने,राष्ट्रिय र अन्तराष्ट्रिय कामलाई एकिकृत गर्ने,सर्वहारा वर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकिकृत गर्ने, वैधानिक काम र अवैधानिक कामको तालमेल मिलाउने, कम्युनिष्ट पार्टी र विभिन्न उत्पीडित समुदायलाई एकिकृत गर्ने,अंशगत काम र समग्र कामलाई एकिकृत गर्ने कुरा नै साँचो अर्थमा एकिकृत जनक्रान्तिको सार हो । जहाँसम्म पार्टी संगठनको निर्माण,संचालन र परिचालनको सवाल छ,यसमा माक्र्स–लेनिन,स्टालिन–र माओको योगदानलाई शिरोपर गर्दै हामीले भनेका छौ कि कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको संगठनहो,यसको संचालन र पचिालन हामीले भनेका छौ कि कम्युनिष्ट पार्टी कम्युनिष्टहरुको संगठन हो,यसको संचालन र पचिालन तयद्धारा रुपान्तरण गर्नुका साथै सिर्जनात्मक र रचनात्मक वन्दै जाने हुनु पर्दछ । जहाँसम्म एकिकृत जनक्रान्तिवाट कुन सता स्थापना गर्ने भन्ने सवाल छ, त्यसमा हामीले स्पष्ट गरेका छौकि वैज्ञानिक समाजवादी सताको स्थापना नै सवैभन्दा अग्रगामी हुनेछ । कतिपय राजनैतिक पार्टीहरुले नयाँ जनवाद नै स्थापना नभईकन कसरी वैज्ञानिक समाजवाद स्थापना हून्छ भन्ने तर्क गर्ने गर्दछन , त्यो एक किसिमको जडसुत्रवादी रुढिवादको समस्या हो । जसले आजको विश्व र नेपालको वस्तुस्थितिको सहि र वैज्ञानिकरुपले अध्ययन गर्न सकेका छैनन वरु उनिहरु सिद्धान्तलाई केवल जडवस्तुको रुपमा समातेर अरुमाथि सतोसराप गर्दछन । त्यो चिनियाँ क्रान्तिको अन्धनक्कल गर्ने प्रवृति हो । जहाँसम्म हाम्रो निष्कर्ष छ, अव नयाँ जनवादी क्रान्ति र जनवादी व्यावस्था पछि परिसकेको छ । जतिखेर चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिदै थियो त्यस वेलाको समय र आजको समय अकाश जमिनको फरक छ,अर्कोतिर पूँजीवाद भूमण्डलिकृत पूँजीवादमा विकसित भएको छ । यसको चरित्र विगतको तुलनामा कयौ गुणा विकसित र गतिशिल रहेको छ । आजको सामाजिक चरित्र र विकास,विज्ञान प्रवृधि र सूचना–सँचारको विकास,मध्यमवर्गको वढोतरी र राष्ट्रिय–अन्तराष्ट्रिय अन्र्तविरोधहरुको विधमान अवस्थामा वैज्ञानिक समाजवादी सता स्थापना गर्नु नै आजको युगमा बस्तुसंगत हुनेछ । यसका साथै नवौ महाधिवेशनवाट हामीले वैज्ञानिक समाजवाद र जनमतको सैद्धान्तिक पक्षलाई पनि अघि सारेका छौ,जसलाई एकिकृत निर्वाचन प्रणाली पनि भनिएको छ । यो मुलत पूँजीवादीहरु सारमा फासीवादी भएर पनि रुपमा वडो प्रजातन्त्रवादी देखिने ,कम्युनिष्ट हरु सारमा प्रजातन्त्रवादी भएपनि रुपमा प्रत्यक्ष जनतावाट निर्वाचित नहुने प्रणालीका कारण विभिन्न आरोपहरु खेप्नु परेको छ । यो निर्वाचन प्रणालीले एकातिर कम्युनिष्ट सत्तामा देखिने रुप र सारलाई समायोजन गर्नेछ भने अर्कोतिर जनता र पार्टी र समाजवादी सताविचको त्रिकोणत्मक सम्वन्धलाई वलियो वनाउने छ

तेश्रोे,अर्थराजनीतिको क्षेत्र – आजको दलाल पुजीवादी र भूमण्डलीकृत पूँजीवादी युगमा विगतको समाजवादी अर्थराजनीतिले मात्र अव स्थापना गरिने वैज्ञानिक समाजवादी राज्यसतामा समाधान दिन सक्दैन । विगतका समाजवादी सता अभ्यासको शिक्षालाई मात्र हेर्दा पनि यो निष्कर्ष निकाल्न सकिन्छ कि त्यो हिजो नै असफल भईसकेको हो । यो कुनै व्यक्ति विशेष अझ कम्युनिष्ट पार्टीभित्र विकसित भएको पूँजीवादका कारण प्रतिक्रान्ति भएको अर्थात समाजवाद असफल भएको निष्कर्ष मात्र निकाल्नु पनि एक किसिमको रुढीवाद नै हो । अवका क्रान्तिकारीहरुले इृतिहासको यो कुरामात्र समात्नु र कुनै नयाँ खोज,अध्ययन–अनुसन्धान नगर्नु भनेको सारतः क्रान्तिलाई भ्रान्तिमा वदल्नु मात्र हो । हामीले आठौ महाधिवेशनवाट अर्थराजनीतिको क्षेत्रमा निम्न सँश्लेषण अगाडी सारेका थियौ। पहिलो –दलाल पुजीवाद र नेपाली जनता विचको प्रधान अन्र्तविरोध, दोश्रो–साम्राज्यवादको उतर साम्राज्यवादमा विकास र तेश्रो–कम्युनिष्ट अर्थप्रणाली ।

नवौ महाधिवेशनसम्म पुग्दा हामीले अर्थराजनीतिको क्षेत्रमा एकिकृत स्वामित्व प्रणालीको संश्लेषण अगाडि सारेका छौ । यो नीजि स्वामित्वका राम्रा पक्षहरुलाई वैज्ञानिक समाजवादी अर्थात सामुहिक स्वामित्वको अर्थनीतिंसंग जोडनु हो । यसका साथै सचेतन प्रयत्नको नाममा वैज्ञानिक समाजवादी सत्तामा नीजी स्वामित्वको वलपुर्वक सामुहिकीकरण गर्नुभन्दा राज्यद्धारा नीजिको तुलनामा सामुहिक स्वामित्व प्रणाली सहि छ भन्ने कुरा व्यावहारतः सावीत गर्दै जादा नीजि संम्पतिप्रति मानिसहरुको स्वतः वितृष्णता वढदै जानेछ र सामुहिक स्वामित्व प्रणाली अर्थात समाजवादी अर्थप्रणाली सफल हुनेछ । एउटा निश्चित समयसिमा जहाँ मानिसको आवश्यकता,क्षमता र चेतनाको मिलन हुनेछ,त्यसपछि समाज विकास अर्थात समाजवादी अर्थप्रणालीको प्रयोग र विकासमा त्यहाँ मात्रात्मकवाट गुणात्मक छलाङको प्रक्रिया अघि वढने छ । यसर्थ , यसलाई सँक्रमणकालिन अर्थप्रणाली पनि भनिन्छ । वैज्ञानिक समाजवादी सता स्थापनाको अवधि अर्थात वर्तमान पार्टी जीवनका दृष्टिले पनि पार्टीले आफ्नो अर्थनीति स्पट गरेको छ । जसअनुसार नेता साम्यवादी,कार्यकर्ता समाजवादी र जनता धनि र समृद्ध हुने नीति अगाडी सारीएको छ । यसको तात्पर्य नेताहरुले क्षमता अनुसारको काम–आवश्यकता अनुसारको दाम,कार्यकर्ताहरुले क्षमता अनुसारको काम–काम अनुसारको दाम,जनताको हकमा धनि र समृद्ध जीवनका लागी प्रौत्साहन गर्ने,नयाँ अध्यन,खोजका लागी पार्टी र राज्यले र पुरुष्कार सहित प्रोत्साहन गर्ने कुरालाई महत्व दिईनु पर्दछ । यस प्रकारको अर्थनीतिको प्रयोगले पुंजीवादी सत्तामा सवैभन्दा ठुलो नेता नै सवैभन्दा धनि हुने परिपाटीको अन्त्य गर्दै पार्टी र जनता तथा सता र जनता विचको राजनैतिक र आर्थिक सम्वन्धलाई वलियो तुल्याउन मद्धत गर्ने छ भने खोज अध्ययनवाट प्राप्त हुने सुविधालाई सिमित मानिसको कव्जावाट आमजनताको पहुचमा पुर्याउन मद्वत गर्ने छ ।
चौथो, ंसंघर्षको क्षेत्र –पार्टी पूनर्गठनको गएको एकदशक समाज विकास र वर्गसंघर्षको दृष्टिले पनि आफ्नो मौलीकतासहित स्थापित हुन पुगेकोछ । माथि चर्चा गरिसकिएको छ कि नेपाली जनताको प्रधान अन्तरविरोध दलाल पुंजीपति वर्गसंग हुनु,विज्ञान प्रवृधि र सूचना संचारको विकासका कारण पार्टीले संघर्षका स्वरुपहरु पनि सोहि अनुसार निर्धारण गर्न पुग्यो । दलाल पूँजीपति वर्गद्धारा सता,सरकार,संस्कृति र संस्कारका क्षेत्रमा जनचाहना र आवश्यकता विपरित ब्यक्त विचार,व्यावहारको विरुद्वमा वर्गसंघर्षको स्वरुपहरु ब्यक्त हुन पुगे । सवैक्षेत्रमा देखा परिरहेका भ्रष्टाचार,महंगी,कमिशनखोर,अनिमियतता,तस्करी र सांस्कृतिक क्षेत्रमा ब्यक्त भैरहेका वेथितीहरु, सुकुम्वासी, किसान, मजदुर, युवा–विधार्थि,वेरोजगारी,महिला हिंसा लगायतका क्षेत्रमा पार्टी केन्द्रिय समितीको आव्हानमा संचालन गरिएका संघर्षहरु,एनसेल प्रकरण, वैदेशिक रोजगारकिो क्षेत्रमा मेनपावर कम्पनिहरको ठगीधन्दालगायतका संघर्षहरु विशेष रहन गएका छन । यसका साथै लिपुलेक प्रकरण, भारतीय साम्राज्यवादीहरुको नेपालविरुद्धको ज्यादतिलगायतका विरुद्ध पार्टीले निरन्तर संघर्षको नेतृत्व गरि रहयो । यी संघर्षहरुको संचालनले आम जनतामा पार्टीप्रति ठूलो आकर्षण र ध्रुविकरणको अवस्था सिर्जना गरयो । यो अवस्थामा दलाल पूँजीवादी सत्ता अन्तर्गत वनेको कम्युनिष्ट सरकार अतालिएर हाम्रो पार्टीका विरुद्ध प्रतिवन्धको घोषणासहित संकटकालिन अवस्था झल्कने दमन अभियान संचालन गरियो । करिव २५०० जना नेता, कार्यकर्ताहरुको गिरफ्तारीसहित चरम यातना,एक जर्दन नेता,कार्यकर्ताहरुको वलिदान, हाम्रो पार्टीद्धारा सामाजिक क्षेत्र र जनताको सेवाका लागि निर्माण गरिएका करोडौ सम्पति

वरावरको भौतिक ंसंरचनाको विध्वसंलगायतका गतिविधिहरु राज्यको तर्फवाट गरिएका केहि दृष्टान्तहरु हुन । यस प्रकारको सरकारी दमनका वावजुत पार्टी आफ्नो लक्ष्य–उद्धेश्यमा अविचलित रुपमा अघि वढि रहयो,पार्टीको राजनैतिक एजेण्डाका करण देशभक्त ,राष्ट्रवादी र मध्यमवर्गको ठूलो हिस्सा पार्टीप्रति आकर्षित हुन पुग्यो र दलाल सरकार जनतावाट नाँगीन थाल्यो ।
यस प्रकारको वस्तुगत परिवेशमा राज्यको आवश्यकता र वाध्यता,हाम्रो पार्टीको सचेत पहल र आवश्यकताको पुष्ठभूमिमा सरकारसंग तीन बुँदे सहमति भयो । यो सम्झौताको तीन वटा मौलिक पक्ष रहेकोछ । पहिलो–देशमा सशस्त्र संघर्ष पनि छैन तर सरकार र विद्रोही शक्तिका विचमा वार्ता भएको छ । दोश्रो –२००७ सालदेखि नेपालको आन्तरिक राजनैतिक सहमति र सम्झौतामा वैदेशिक मध्यस्तता हुने गरेको पुष्ठभूमिमा अहिले सरकार र विद्रोही शक्तिको विचमा कुनै मध्यस्थता आवश्यक परेन । तेश्रो –वार्ताका लागि कुनै विदेशी भूमि प्रयोग गर्नु परेन । सहमतिका तीन बुँदाहरुमा पहिलो –सरकारद्धारा पक्राउ गरि जेल तथा हिराशतमा रहेका बन्दीहरुको रिहाई र झुट्ठामुद्धा खारेज। देश्रो–नेकपाले शान्तीपूर्णरुपमा आफ्ना कार्यक्रमहरु जनताका माझ लैजाने र तेश्रो – देशका विधमान समस्याहरुको समाधान वार्ता र सहमतिका आधारमा हल गर्ने विषयहरु रहेका छन । नेपालको सत्ता राजनीतिमा देखा परिहेको अस्थिरता,सरकारको तर्फवाट सहमतिमा हस्ताक्षरकर्ता ब्यक्तिहरुको उदासिनता र प्रमुख भनिएका दलहरुविचको तिव्र मतभेदका कारण सहमति पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको छैन । जे भएपनि यो तीनबुँदे सहमतिले नेपालको राजनैतिक आन्दोलनमा वर्गसघर्ष,सहमति र सम्झौताका दृष्टिले केहि मौलिकपनलाई अवश्य पनि ब्यक्त गरेकोछ ।

पाचौ, ंसंकृति र सी जाती –वास्तवमा संस्कृति समाजको ऐना हो । समाजको चलन चल्तिमा रहि आएका र चलि रहेका चलन–चल्तिहरु साचो अर्थमा समाजलाई ब्यक्त गर्ने संस्कृतिहरु हुन । जो हजारौ हजार वर्षदेखि चल्दै आईरहेका छन । आदिम साम्यवाद,दासयुग देखि आजको आधुनिक पूँजीवादी युगसम्म आईपुग्दा संस्कृति पनि त्यसरी नै अगाडि वढिरहेको छ । आजको समाजमा के देख्न सकिन्छ भने संस्कृतिको रक्षा र विकासका नाममा एकातिर समाजमा अन्धता र रुदिवाद ब्यक्त भईरहेको छ भने अर्कोतिर छाडा र अराजकता पनि सँगै विकास भईरहेको छ । यसका साथै आजको समाज र दुनियाँमा धार्मिक र सांस्कृतिको नाममा डरलाग्डो राजनीति पनि अघि वढिरहेकोछ । अथवा राजनीतिले समाजका हरेक क्षेत्रहरुलाई लपेटदै लगिरहेको छ । राजनैतिक,आर्थिक,सामाजिक र सांंस्कृतिकरुपले आज समाज दुई भागमा विभाजीत हुन पुगेको छ । एकातिर पूँजीवादी (संकिर्ण रुढीवाद र अराजकतावादी छाडावाद) र अर्कोतिर जनवादी (शान्ति,समानता र भातृत्वपूर्ण भावना) आ–आफ्नै वर्गदृष्टिकोण र चरित्र अनुसार अघि बढिरहेका छन । पूँजीवादी संस्कृति लामो समयदेखि समाजमा विद्यमान रहेको छ भने जनवादी संस्कृति संघर्षमा अघि वढिरहेको छ । हाम्रो पार्टीको नवौं महाधिवेशनले सी जाती र सी संस्कृतिको संश्लेषण र प्रयोगलाई अगाडि सारेको छ । यो हजारौ वर्षदेखि चल्दै आईरहेको संस्कृति र जातीय व्यवस्थाले सिर्जना गरेका विद्यमान समस्याको समाधानका लागि अगाडि सारिएको एउटा युगिन प्रस्ताव हो । यसलाई कम्युनिष्ट अर्थात जनवादी संस्कृतिको विकास र प्रयोगको प्रारम्भिक युग पनि भन्न सकिएला । कम्युनिष्टहरु सिद्धान्तत अन्तराष्ट्रियतावादी हुने भएकोले अन्तराष्ट्रियतावादी जाति हुन्छन । यो कुरा पौने दुई सय वर्ष अघि कम्युनिष्ट पार्टीको घोषणा पत्रका पवर्तक कमरेड कार्लमाक्र्सले नै संश्लेषण गरेको विषय हो । यो कुरा दि ईन्टरनेश्नलका रचनाकार युजेपोतरले सन १८७१ को पेरिस क्रान्तिपछि त्यहाँ भएको प्रतिक्रान्तिका सन्दर्भमा भएको नरसंहारको पृष्ठभूमिमानै अव मानिसको अन्तराष्ट्रिय जाति हुनेछ भन्ने भाषा प्रयोग गरेका छन । १९ सौ शताव्दीमा सम्पन्न गरिएका विश्व हल्लाउने क्रान्तिहरुमा सर्वहारा अन्तराष्ट्रियतावादको प्रयोग गर्न कोशिस गरिएपनि अन्तराष्ट्रिय जाति वनाउने कुरामा केहि अपूर्णताहरु रहे,हाम्रो पार्टीले समाजवादी आन्दोलनमा देखा परेको अपूर्णतालाई हल गर्ने उद्धेश्यका साथ सी जातीको अवधारणा अघि सारेकोछ । सी जातीको अर्थ कम्युनिष्ट जाति अर्थात साम्यवादी जाति भन्ने हो । जो अन्तराष्ट्रिय जाति हुनेछ । यसले पूँजीवादी जात विशेषको विरुद्ध धावा वोल्नेछ र श्रमिक वर्गको जातिलाई विकास गर्नेछ । सी जाती वनेपछि यसको आफ्नै संस्कृति हुनेछ । अहिले हाम्रो पार्टीले समाजमा निरन्तर चलिरहने जन्म,विवाह र मृत्यू संस्कृतिको प्रारम्भिक शुरुवात गरेकोछ । अहिले यो पार्टी नेता–कार्यकर्ताको तहमा प्रयोग भएको छ भने आगामी दिनमा आम जनताको जीवन पद्धति वन्दै जानेछ । अहिले शुरु भईरहेको यो संस्कृतिमा आम जनताको आकर्षण वढेर गईरहेको छ,किनकि यो आमजनताको सामाजिक,आर्थिक,सांस्कृतिक क्षेत्रका समस्याको समाधान गर्न वनेको अग्रगामी ंसंस्कृति हो । यसका साथै कम्युनिष्ट अन्तराष्ट्रियको वारेमा पनि केहि महत्वपूर्ण निर्णयहरु अगाडि सारिएको छ । कमरेड स्टालिनको निधनपछि विघटन भएको तेश्रो अन्तराष्ट्रिय निर्माणमा माओले कोशिस गरेपनि चौथो अन्तराष्ट्रिय निर्माण गर्न सक्नु भएन । हाम्रो पार्टीले विश्वव्यापी समाजवादी क्रान्तिको लागि चौथो अन्तराष्ट्रिय निर्माणको लागि पहल गर्ने निर्णय सहित कम्युनिष्ट सत्ता ंसंचालन गरिरहेका देश,समाजवादी सता स्थापनाका लागि संघर्षरत कम्युनिष्ट भाईचारा पार्टीहरु र साम्राज्यवाद विरोधी देशहरुंसंगको सम्वन्ध र सहकार्यलाई संगसंगै अघि वढाउने निर्णय र निष्कर्ष निकालेको छ । यी केहि महत्वपुर्ण दुरगामी महत्व राख्ने पार्टीका केहि संश्लेषण र निर्णयहरु हुन,जसको मार्गनिर्देशनमा आगामी समाजवादी–साम्यवादी क्रान्ति सम्पन्न गर्न र त्यसलाई प्रतिक्रान्तिवाट रक्षा गर्दै विकास गर्न सकिने छ ।

पार्टी पूनर्गठनका एक दशकमा हाम्रो पार्टीले विचारधारात्मक क्षेत्रमा र समाजविकासको क्षेत्रमा जे–जति संश्लेषण र प्रयोग र प्रगति गरेको छ, त्यसका पछाडि पहिलो–ईतिहासमा भएका महान क्रान्ति र प्रतिक्रान्तिका ऐतिहासीक शिक्षाहरु। दोश्रो–आजको भूमण्डलीकृत पूँजीवादले समग क्षेत्रमा गरेका विकास,चरित्र र विशेषताहरु। तेश्रो–जनयुद्धका मुल नेताहरुमा देखा परेको आत्मसमर्पण र विर्सजनवादको समस्या ।
चौथो–पार्टी पूनर्गठन पछि संचालन गरिएका वर्ग ंसंघर्ष–राज्यसत्ताको दमन र प्रतिरोध,अन्तरपार्टी संघर्ष तथा फुटवादीहरुका विरुद्धको विजय ।
पाचौ– पार्टीको मुख्य नेता मुलत पार्टी महासचिव विप्लवको देश र जनता तथा पार्टी र क्रान्ति प्रतिको जिम्मेवारी वोध र लगनका परिणामहरु हुन ।
आज कतिपय पार्टी,समुह र ब्यक्तिहरुले हाम्रो पार्टीको रुप पक्षलाई मात्र हेरेर विभिन्न टिप्पणी गरिरहेका छन । त्यो साचो अर्थमा संकिर्णता र मनोगतवादको रोग शिवाय केहि होईन । उनिहरु विज्ञानको तथ्यसंगत आधारमा होईन वरु आफुलाई लागेको मनोगतवादी रोगको आधारमा आफ्ना धारणा तय गर्दछन र सोही आधारमा विश्लेणहरु अघि सार्दछन । यो वास्तवमा नेपाली कम्युनिष्ट आन्दोलनमा निकै पुरानो रोग हो । जसले केवल मपाईवाद अर्थात आफूमात्र सहि भएको र अरु सवै गलत भएको निष्कर्ष निकाल्ने गर्दछ । ‘अरुको आङमा जुम्रा देख्ने तर आफ्नो आङमा भैसी नदेख्ने’ प्रवृति पनि भन्न सकिन्छ । हाम्रो पार्टीले यस प्रकारको प्रवृतिलाई पूनर्गठन यता खारेज गरेको छ र नयाँ आधारमा कम्युनिष्ट एकताको आवश्यकतामाथि जोड दिदै आईरहेको छ ।
सामान्यतः नवौ महाधिवेशन पछि र विशेषत एमसीसीको नामवाट अमेरीकि साम्राज्यवाद नेपाल प्रवेश गरिरहेको सन्दर्भमा हाम्रो पार्टीले वृहत कम्युनिष्ट एकताको नारा अगाडि सारेको छ । यो वस्तुतः अमेरीकि साम्राज्यवाद र नेपाली जनताविचको अन्तरविरोध प्रधान भएपछि अघि सारिएको पार्टी नीति हो , यो सहि र वैज्ञानिक छ । किनकि अमेरीकि साम्राज्यवादले अवको हजार वर्षको मुख्य चुनौती कम्युनिष्ट र उसले नेतृत्व गर्ने समाजवाद–साम्यवादको संश्लेषण गरेको छ । जुन समाजवादले कुनैवेला पूँजीवादलाई धुलोमा मिसाएको थियो । आज पनि साम्राज्यवाद कुनै राजनैतिक प्रणालीवाट आतंकित छ भने समाजवादी–साम्यवादी राजनैतिक प्रणालीवाट आतंकित रहेको छ । नेपालमा रहेको कम्युनिष्ट जनमतलाई कमजोर वनाउन,उत्तरी छिमेकी मुलुक चीन जहाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आजको विशेषताको समाजवादी सताको संचालन भईरहेको छ,त्यसलाई डिस्ट्रोय गर्न,नेपालमा रहेको अथाह प्राकृतिक साधन–श्रोतहरुको दोहन गर्न र दक्षिण एशियाको विशाल वजार कव्जा गर्नका लागी अमेरीकी साम्राज्याद नेपाल प्रवेश गरिरहेको छ । अमेरीकि साम्राज्यवादको यो रणनैतिक उद्धेश्य असफल पार्नका लागि सम्पूर्ण कम्युनिष्ट र देशभक्त नेपालीहरु एकतावद्ध हुनुको विकल्प छैन । हाम्रो यो नाराले सम्पूर्ण कम्युनिष्ट र देशभक्त नेपालीहरुलाई एकतावद्ध गर्न मद्धत गर्ने छ ।
अन्त्यमा, यसो भन्नु उपयुक्त हुनेछ कि पार्टी पूनर्गठनको एक दशकको हाम्रा संश्लेषणहरुको कार्यान्वयन गर्दै नेपालको वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्ति सफल पार्न,देशलाई स्वाधीन,स्वतन्त्र र सार्वभौम मुलूकका रुपमा विश्वमा चिनाउदै विश्वक्रान्तिको सेवा गर्ने हाम्रो महान अभिलाषालाई पुरा गर्न अघि बढौ । दशौ पार्टी पूनर्गठन दिवस –जिन्दावाद । मालेमावाद–जिन्दावाद । एकिकृत जनक्रान्ति–जिन्दावाद । (शिर्षक हामीले राखेका हौं)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।