९ मंसिर २०८१, आईतवार

लक्ष्मीप्रसाद देवकोटा र नेपाली साहित्य

सम्पादकीय

0

महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) नेपाली साहित्यमा स्वच्छन्दतावाद भित्र्याउने बहुप्रतिभाशाली साहित्यिक हस्तीको परिचित व्यक्ति हुन् । प्रकृति र मानव जातिका पुजारीको रुपमा देवकोटा उच्चकोटिका युगौँ युगका केन्द्रीय प्रभावका कवि हुन् । उनले कृतिमार्फतका दिन खोजेको चेत आज पनि ब्रम्हाण्डका सच्चा मानवका लागि होस् या सच्चा नेपालीका लागि अनुकरणीय रहेको छ । उनका साहित्यिक कृतिबारे हामी थोरधेर परिचित त छौँ नै । तर, उनको शास्त्रीय जीवन, नेपाली भइकन अंग्रेजी मोह र उनका अरु विलक्षण क्षमताबारे कम लेखिएपश्चात् आजको दिनमा उनका योगदानबारे कम खोजविन गरिएको महसुस उँचो हुँदै छ । फलस्वरूप, ६ दसकपश्चात् पनि महाकविप्रति उत्तिकै उच्च सम्मान प्रकट यथावत् रहेको छ ।
सुदूरपश्चिमबाट गोर्खा जिल्ला आइपुगेका देवकोटा वंश काठमाडौँभित्रै भोटाहिटीबाट त्यो ताका डिल्लीबजारमा बसाइँ सरेका थिए । र, देवकोटा त्यहीँ जन्मिएका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाको दिन काठमाडौँको डिल्लीबजार धोबीधारा टोलमा भएको हो । नामकर्ममा तीर्थमाधव देवकोटा भए पनि उनी लक्ष्मीपूजाको साँझ जन्मिएकाले लक्ष्मीको प्रसादका रूपमा उनलाई ग्रहण गर्दै लक्ष्मीप्रसाद भनि बोलाउन थालियो । फलस्वरूप, परिवारमा अरु सदस्यमध्ये उनलाई एक ज्योतिपुञ्जका रूपमा हेर्न थालिएको भेटिन्छ ।
देवकोटाको दोस्री आमा अमर राज्यलक्ष्मीका कोखबाट जन्मेका दर्जन सन्तानमध्ये उनी साहिँला सन्तान कहलिए । अर्कोतिर, उनका पिता तिलमाधव देवकोटा भने दरबारमा नेपाली र संस्कृत भाषा अध्यापन गराउँथे । यसप्रकार, निवासको वातावरण पठनका लागि एकदम शास्त्रीय भएको स्वतः अनुमान गर्न सकिन्छ । पिताको पाण्डित्य अंशको झिल्को कलिलो उमेरदेखि उनीभित्र झिलिक्क भइसकेको थियो ।
उनका पिताले उनलाई भक्ति रसका श्लोकहरू सार्न दिन्थे र कलिलै उमेरमा अति आकर्षक अक्षरमा सार्दै र साथसाथ कण्ठस्थ गर्दै जान्थे । यसप्रकार, वि.सं. १९७७ सालको अन्त्यतिर उनलाई दरबार स्कुलमा एकैचोटि पाँच कक्षामा भर्ना गराइए । भर्ना हुनुपूर्व गुरुस्तुति, रघुवंश, अमरकोश आदिलाई आफ्नो मगजमा खुत्रुक्क घुसाइसकेका देवकोटाले त्यहाँ कविताहरू रच्दा र सुनाउँदा सुरुताका ‘सुकुल गुन्डो’ वा ‘नक्कली मयूर’ भनेर सहपाठीहरूले खिसिटिउरी गरेका प्रसङ्ग रोचक छ । यद्यपि, समय बित्दै जाँदा उनलाई एक प्रचुर कल्पनशीलता भएका कविका रूपमा चिन्न थालिसकेका थिए जब उनले सहपाठीहरूलाई विभिन्न शीर्षकका (जस्तै, दरबार स्कुल) कविता सुनाएर चकित बनाए ।
यसरी देवकोटाको बाल्यकाल एक ब्राह्मण कुलमा शास्त्रको रसस्वादन गर्दै एक सशक्त अध्येता भएर बित्यो । दश वर्षकै कलिलो उमेरमा उनले संसारको रित उजागर गर्ने लयमय कविता ‘संसार दुःख सागर’ रचना गरे । उनलाई उनका पिताले एक पण्डित बनाउन चाहे पनि, उनी प्रत्यक्ष शास्त्रीय वातावरणको एक अभिन्न अङ्ग भएर आफ्नो काँचो बाल्यावस्था बिताउने भाग्यमानी महापुरुष हुन् । तसर्थ उनका कृतिहरूको मूल्याङ्कन या समग्र उनको जीवनकाललाई फरक जोड र कोणबाट गोचर गर्दा उनी युगीन अग्रगामी चेतनाबाट प्रभावित विराट् सर्जक त हुन् नै । साथसाथै सौन्दर्य चिन्तनको मधुमय पकड, समाजवादी यथार्थवादतिरको सङ्क्रमण, विद्रोही बिजको हर्ताकर्ता, मानवता, स्वतन्त्रता र मुक्तिउन्मुख सोपान पनि हुन् ।
साहित्य कला र विचारको एकीकृत अभिव्यक्ति हो । माक्र्सवादी साहित्यले त्यसलाई ‘बन्दुक र कलम’को संयोजनको अर्थमा भाष्य निर्माण गरेको छ । चिनियाँ र रुसी माक्र्सवादी साहित्यले त्यसलाई मुखारित गरेका थिए । यो अङ्कमा हामीले त्यसलाई थोरै भएपनि वाणी दिएका छौं ।

स्राेत: जनपत्रिका साताैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।