४ जेष्ठ २०८१, शुक्रबार

अफ्रो–एसियाली लेखक सम्मेलन, तासकन्द सम्बोधन

अनुवाद

0

                     लक्ष्मीप्रसाद देवकोटा                                                   (वि. सं. १९६६–२०१६)

 

अति स्मरणीय तासकन्द सहरको यात्रा गर्ने आफ्नो चिरकल्पना साकार भएकोमा हामी आफूलाई अत्यन्त भाग्यमानी ठान्दछौँ । हामीले तपाईहरूलाई नेपालका साहित्यकार र जनताको शुभेच्छा ल्याएका छौँ । तासकन्द निवासीहरू र सोभियत सङ्घका जनताप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
सायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ ।
हाम्रो यात्रा ज्यादै नै सुखद् रहेको छ । समुद्रको सतहबाट पच्चीस हजार फिटमाथि जुनबेला हामी उडिरहेका थियौँ, त्यसबेला जस्तो सौन्दर्य मैले देखेँ, त्यसबाट म ज्यादै नै प्रभावित छु र हाम्रो बाटामा देखिएका सबै प्राकृतिक चमत्कारहरूको बारेमा एउटा काव्यकृति पनि रचना गर्न चाहन्छु ।
म यस्तो सम्मेलनसमक्ष बोल्ने सौभाग्य पाइरहेको छु जहाँ मानव जातिका उत्कृष्ट मगजहरूको समागम छ र साझा कार्यमा आफ्नो योगदान पु¥याउने सम्भावना पाइएकोमा म आफूलाई सौभाग्यशाली सम्झन्छु ।
दिल्लीमा नै अर्को सम्मेलनको आयोजना तासकन्दमा गर्ने प्रस्ताव ल्याउनुहुने श्रीमती जुल्फियाप्रति धन्यवाद ज्ञापन गर्ने मलाई अनुमति मिलोस् ! यहाँ हाम्रो जुन प्रकारले सुमधुर आतिथ्य भयो, त्यसको लागि हामी सोभियत सङ्घप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।
हाम्रो यस सम्मेलनमा धेरै मुलुकहरूले भाग लिइरहेका छन् र सम्मेलनप्रति चाख दिनानुदिन बढ्दै गइरहेको म अनुभव गर्दैछु । यस सम्मेलनले सबै देशहरू र जनतालाई निकट तुल्याउनेछ । म यस सम्मेलनको यस्तो सुचरित्रको विशेष सन्तोषपूर्वक उल्लेख गर्न चाहन्छु । म तपाईहरूलाई कुन कुरामा विश्वास दिलाउन चाहन्छु भने युद्धभन्दा शान्ति बलवती छ र शान्तिका शक्तिहरूले युद्धका भयङ्कर शक्तिहरूमाथि विजय पनि प्राप्त गर्नेछन् ।
फेरि एकपल्ट तपाईहरूलाई मेरा देशका लेखकहरू र जनताको तर्फबाट अभिवादन व्यक्त गर्ने र साहित्यबारे प्रतिवेदन पनि सुरु गर्ने अनुमति दिनुहोस् । गगनचुम्बी हिमचुलीहरूको सियाँलमा हिमालय पर्वतद्वारा परिवेष्ठित शान्त र सुन्दर क्षेत्रमा अवस्थित नेपालले त्यस सौन्दर्यको गहिरो अनुभव गर्दछ । जुन सगरमाथा (भ्खभचभकत)को भव्य शिखरदेखि लिएर तराईको फराकिलो फाँटसम्म नै व्याप्त छ । नेपाल यस्तो देश हो जहाँ विभिन्न अग्लाइमा सबै खलाका जलवायुहरू पाइन्छन् । सबै किसिमका वनस्पति र जलजन्तुहरू भेट्टाइन्छन् । एक कोटी नरनारीहरूले बसोबास गरेको सन्ताउन्न हजार वर्गमाइल क्षेत्रफलमा फैलिएको यो देश सौन्दर्यले भरिपूर्ण सानो संसार नै हो ।
यहाँ एउटै आत्माले अनुभव गर्ने दुईओटा भावनाजस्तै र एउटै परिवारका सदस्यहरूजस्तै आर्यहरू र मङ्गोलहरू, अनि उनीहरूको संस्कृति र उनीहरूको सभ्यता सुमधुर सहअस्तित्वमा रहेका छन् । संसारमा सूर्यको प्रथम किरण सगरमाथाकै शिखरमा उत्रन्छ भन्नु कुनै अत्युक्ति हुने छैन । शान्ति र अहिंसाका मूर्ति गौतम बुद्धले नेपालकै लुम्बिनी बगैँचामा संसारको दर्शन पाउनुभएको थियो । यसै देशको जनकपुरमा विद्धान् राजा जनकका दरबारमा हुने गरेका वादविवादले उपनिषद्का उत्कृष्टतम् दार्शनिक विचारहरूलाई जन्माएका थिए । नेपाली संस्कृति, नेपालको सम्पन्न कला र शिल्पको सुप्रभाव उत्तरतिर तिब्बत र चीनमा, दक्षिणतिर भारत र बर्मा, अनि यी देशहरूमार्फत नै सायद एशिया र अफ्रिकाका अन्य देशहरूमा समेत फैलिएको थियो ।
नेपाली भाषा नेपालको राष्ट्रभाषा हो जसको उद्गमस्रोत प्राकृत र संस्कृतबाट सुरु हुन्छ, अनि हिन्दी, बङ्गाली तथा गुजराती भाषाहरूसँग यस भाषाको साइनो छ । लेखनमा देवनागरी लिपिको प्रयोग गरिन्छ । अनुकरणात्मक शब्दहरूको यस भाषामा प्राचुर्य छ र लचकपना नै यस भाषाको वैशिष्ट्य हो । अधिकांश शब्दहरू संस्कृत मूलका छन् । अन्दाजी एक हजार वर्षअघि पहिला ग्रन्थहरू देखा परेका थिए । शिलालेखहरू, सन्तसाहित्य अथवा ऋषिमुनिहरूका परम्परागत ग्रन्थबाट हाम्रो लिखित साहित्यको आरम्भ भयो । नेपाली भाषा भए तापनि प्रारम्भिक कालमा विद्वानहरूले ग्रन्थ रचनाका निम्ति संस्कृतको उपयोग गर्ने गरेका थिए । संस्कृत भाषाको युगौँ पुरानो परम्पराले हाम्रो भाषामा त्यत्तिकै स्वाभाविक किसिमबाट प्रवेश ग¥यो जत्ति स्वभाविक किसिमबाट नीलो प्रकाशले नेपालको क्षितिजबाट उज्ज्वल तुल्याउँछ । अहिलेसम्म नेपाली विद्वानहरू संस्कृतका ग्रन्थहरू लेख्दैछन् जसमध्ये श्री सोमनाथ सिग्द्याल, श्री कुलचन्द्र गौतम, श्री पूर्णप्रसाद ब्राह्मण र श्री माधवप्रसाद देवकोटाको नाम लिन सकिन्छ ।
नेपाली साहित्य सन्तसाहित्यबाट अर्थात् ऋषिहरूका ग्रन्थबाट सुरुभयो । माथि भनिएझैँ यी ग्रन्थहरूको रचना हजार वर्षपहिले भएको थियो । त्यसपछि अनुवादको युग सुरुभयो जुन बेला संस्कृतको शैली र परम्परामा लेखिएका कृतिहरू देखापरे । यस्ता कृतिहरूमा मुख्यतः धार्मिक र उपदेशात्मक भावनाको बाहुल्यता रहन्थ्यो । त्यस अवधिमा कवि भानुभक्त आचार्यको ख्याति निकै फैलियो । नेपाली भाषामा अध्यात्म रामायणको उनको अनुवाद नै धार्मिक प्रचारको अति लोकप्रिय साधनका रूपमा संस्कृतको निम्ति पहिलो हाँक थियो । ठीक त्यसैगरी जसरी बाइबलको अङ्ग्रेजी अनुवाद ल्याटिन भाषाका निम्ति पहिलो हाँकस्वरूप थियो । रामयणका अनुवादकले जनतासँग उसैका भाषामा कुरा गर्ने प्रयास गरे । यसका साथै उनले आधुनिक नेपाली भाषाको जग बसाए । यसै कारणले गर्दा अहिलेसम्म पनि यो अनुवाद निकै लोकप्रिय रहेको छ ।
अन्य भाषाहरूको बचपनजस्तै नेपाली भाषाको बाल्यकालका निम्ति पनि पद्यको प्राचुर्यता नै लाक्षणिक छ र गद्य साहित्य झन्डै छँदै थिएन भने पनि हुन्छ । यस अवधिका अन्त्यमा प्रसिद्ध लेखक मोतीराम भट्टले कवि भानुभक्तको जीवनी लेख्नुका साथै केही काव्यकृतिहरूको पनि रचना गरेका थिए । यस अवधिमा नेपाली साहित्यको विकासमा उर्दु र फारसी भाषाहरूले निकै ठूलो प्रभाव पारेका थिए । मुख्यतः आचारनीति र अर्ती–उपदेशले युक्त वीरसिक्का र कृष्णचरित जस्ता प्राचीन अनुश्रुतिका सङ्ग्रहहरू प्रकाशित भए । परन्तु यस्ता पुस्तकहरूमा रतिरागको वर्णन नै प्रचुर मात्रामा पाइन्छ जुन त्यस युगको निम्ति लाक्षणिक थियो ।
आधुनिक नेपाली साहित्यका प्रमुख प्रतिनिधि हुनुहुन्छ– श्री लेखनाथ पौड्याल । उहाँ अझै पनि साहित्यिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ, हाम्रा साहित्यमा उहाँ विशेष स्थान राख्नुहुन्छ जुन स्थानमा उहाँको हक पनि छ किनभने उहाँले भाषामा लालित्य भर्नुभयो र सुमधुर सुसंस्कृत शैलीको सिर्जना गर्नुभयो । उहाँका रचनामा हामी परम्परागत संस्कृत र आधुनिक राष्ट्रिय प्रवृत्तिहरूको समन्वय पाउँदछौँ । शान्तिको आह्वान गर्ने उहाँका कविताहरू संस्कृत मात्रिक छन्दमा लेखिएका छन् ।
आधुनिक युगका प्रारम्भमा नै पण्डित हेमराज तथा सोमनाथ सिग्द्यालले नेपाली भाषाको स्तरीय व्याकरण बनाउनुभएको थियो ; जसले गर्दा भाषिक रूपहरूको स्थिरतामा ठूलो योगदान पुग्न गयो । आजसम्म पनि नेपाली भाषाशास्त्रीहरू र साहित्यकारहरू उहाँहरूले नियमित गर्नुभएकै नियमहरूको अनुसरण गर्दछन् ।
निम्न तीन जना साहित्यकारहरूको कृतित्व पाश्चात्य साहित्य र सभ्यताको प्रभाव बढी मात्रामा दृष्टिगोचर हुन्छ । नाटककार एवं चित्रकार बालकृष्ण सम शेक्सपियर र इब्सेनका पद्यात्मक नाटकहरूबाट ज्यादै नै प्रभावित हुनुहुन्छ । उहाँका नाटकहरूको शैली त्यसबेला प्रचलित परम्परागत संस्कृत शैलीका विरुद्ध विद्रोह नै थियो । गहन नाटकीय भावना र विचारहरूको अभिव्यक्तिका लागि उहाँले बोलचालको भाषाका विभिन्न शब्दहरू र टुक्काहरूको व्यापक प्रयोग गर्नुभयो र आफ्नै प्रौढ साहित्यिक शैलीको सिर्जना गर्नुभयो ।
कवि लक्ष्मीप्रसाद देवकोटाका रचनामा पनि पाश्चात्य प्रभाव देखिन्छ । उनले साहित्यमा लोकगीतका छन्दहरूको प्रयोग गरेका थिए र रोमाञ्चवादी प्रवृत्तिको सुरुआत पनि गरेका थिए ।
तेस्रो व्यक्ति हुनुहुन्छ– कवि सिद्धिचरण श्रेष्ठ । उहाँका काव्यमा पनि हामी प्राकृतिक सौन्दर्यसमक्ष भावोद्गार व्यक्त गरिएको रोमाञ्चवादी भावना पाउँदछौँ ।
त्यसै समयावधिका कवि भवानी भिक्षुले साहित्यमा नयाँ प्रवृत्ति रहस्यवाद र ‘व्यक्तिवादी साहित्य’को श्रीगणेश गर्नुभयो । नाटकका क्षेत्रमा भीमनिधि तिवारीले सामाजिक जीवनको सानोतिनो र स्पष्ट चित्रण प्रस्तुत गर्नुभएको छ ।
परन्तु आफ्नो साहित्यिक क्रियाकलापको अन्तिम स्तरमा यी लेखकहरूले युगको आह्वानको उत्तर दिँदै आफ्ना कृतिहरूमा बुद्धिजीवी वर्गको विद्रोहात्मक र क्रान्तिकारी मनोभावनाको अभिव्यक्ति थालेका छन् । सामन्तवादी विरुद्ध विद्रोहको मनोभावना र एक सय चार वर्षव्यापी राणाशासनको आधिपत्यका विरुद्ध लक्षित क्रान्तिकारी मनोभावना युगभावनाको अनुरूप भएका हुनाले नै यी लेखकहरूका पछिल्ला काव्यकृतिहरूमा त्यसको प्रतिबिम्ब प¥यो । काव्यका क्षेत्रमा उनीहरूले संस्कृत छन्दको बोलवालाको विरोध गरे र पछि सबै किसिमको छन्दबद्धताको नै विरोध जनाए । नयाँ काव्यकृतिहरूमा हामी प्रयोगात्मकता, गद्यात्मकता, बौद्धिकता र अन्वेषणप्रति मोहको झल्को पाउँदछौँ । आर्थिक अन्याय र विषमताका विरुद्ध, सामन्ती उत्पीडन र पुँजीवादी शोषणका विरुद्ध कविहरूले आवाज बुलन्द गरे । काव्यमा पनि आफ्नो अधिकारपूर्तिको माग गरिरहेका जनताको अर्थात् सङ्घर्षक्षेत्रमा अग्रसर भएका जनताको आवाज गुञ्जन थाल्यो । यसरी काव्यले आदर्शवादबाट यर्थाथवादको बाटोमा द्रुतगतिले पाइला चाल्न थाल्यो र थोरबहुत रूपमा नयाँ भाव र नयाँ रूपको त्यो सुमधुर समन्वय प्राप्त भयो जुन गद्यकारहरूले प्राप्त गरिसकेका थिए ।
त्यसै बेलातिर नवोदित कवि माधवप्रसाद घिमिरेले संस्कृतको अति प्राचीन छन्दको पक्षमा आवाज उठाए । बोलचालको सरल भाषामा उनी स्वदेशी पहाडहरूको सम्झना गराउने गहिरा भावहरूको अभिव्यक्ति गर्दछन् र स्वदेशी प्रकृतिको मोहकताको वर्णन गर्दछन् । उनी प्रभावकारी रोमाञ्चवादी धाराका प्रतिनिधि हुन् र रोमाञ्चवाद विरोधी त्यस धाराको विरोधमा सङ्घर्ष गर्दैछन् जसप्रति धेरै साहित्यकारहरू आकर्षित भएका छन् ।
यसैका हाराहारीमा केदारमान व्यथित कैयौँ नयाँ प्रयोगहरू गर्दैछन्, बौद्धिकता र भावुकतामा समन्वय ल्याउँदैछन् । यसप्रकार क्रान्तिकारी भावनालाई अभिव्यक्ति दिँदैछन् । उनका काव्यमा राजनीतिक सङ्घर्षको अनुभव प्रतिबिम्बित भएको छ ।
सन् १९५०पछि, जब हामीले प्रजातान्त्रिक अधिकार प्राप्त ग¥यौँ, राणाखलकका शासकहरूको जब्बर हातले पहिले बलपूर्वक दबाएर राखिएको जनभावनाको लहर उर्लिन थाल्यो । तर यो उर्लिंदो लहर राजनीति र प्रचारद्वारा सन्त्रस्त थियो । विभिन्न धाराहरूको प्रादुर्भाव नयाँ युगको द्योतक थियो । ‘कला कलाको लागि’ भन्ने सिद्धान्तबाट यथार्थवादतर्फ, रूपको क्षेत्रमा बन्धनबाट मुक्तितर्फ, परम्पराबाट प्रयोगतर्फ र आत्मसन्तुष्टिबाट अन्वेषणतर्फको मोड नै यी सबै प्रवृत्तिहरूको मूल चरित्र हो । रोमाञ्चवाद विरोधी धाराको स्पष्ट कार्यक्रम पनि छ । गरिब र उत्पीडितहरूप्रति व्यापक सहानुभूतिको भावनालाई प्रोत्साहित गरिन्छ । नयाँ युगमा नयाँ रूपहरू, ताजा विचारहरू, मौलिक बिम्बहरू तथा सुहाउँदा तुलनाहरूको अनुसन्धान सुरु गरिँदैछ । नयाँ पुस्ताका लेखकहरूमध्ये विजयबहादुर मल्ल, जनार्दन सम, मोहन कोइराला, टेकबहादुर नवीन, जगदीश शमशेर, श्यामदास वैष्णव, कुलमणि देवकोटाको नाम उल्लेख गर्न आवश्यक छ ।
यस अवधिमा कैयौँ मौलिक कृतिहरू र लोकगीत सङ्ग्रहहरू प्रकाशमा आएका थिए । यसमा कवि माधवप्रसाद घिमिरेको विशेष योगदान रहेको छ । कवि धर्मराज थापाको पनि उल्लेख गर्नुपर्दछ जो जनताका निम्ति लोकप्रिय गीतका रचनाकारका रूपमा प्रख्यात छन् । युवाकवि लक्ष्मण लोहनी पनि उनैको अनुसरण गर्दैछन् । यसका अतिरिक्त यस क्षेत्रमा अरु पनि केही युवाकविहरू कार्यरत छन् । अहिले लोकगीतहरूका विषयवस्तुमा ओपेरासमेत तैयार पारिँदैछ ।
हाम्रा प्रतिनिधि समालोचकहरूमध्ये ईश्वर बराल, रामकृष्ण शर्मा, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, गोविन्दप्रसाद लोहनी र हृदयराज शर्मा आदिको नामोल्लेख गर्न सकिन्छ ।
साहित्यिक पत्रपत्रिकाहरू र अन्य सावधिक प्रकाशनहरूले नेपाली साहित्यका विकासमा ठूलो योगदान पु¥याएका थिए । प्रारम्भिक चरणमा वनारसबाट प्रकाशित सुन्दरी र माधवी नामका दुईओटा साहित्यिक पत्रिकाहरूले यो काम गरे । त्यसपछि काठमाडौँबाट शारदा, साहित्यस्रोत, प्रगति, कवितात्मक पत्रिका इन्दे्रनी र धरती प्रकाशमा आए । यी पत्रिकाहरूमध्ये प्रत्येकले आफ्नै किसिमबाट हाम्रो साहित्यको विकासमा योगदान पु¥याए । खास गरी भारती र दार्जीलिङबाट प्रकाशित त्यसको (?) साहित्यिक पत्रिकाको योगदानबारे विशेष उल्लेख गर्न जरुरी छ । यी सबै पत्रिकाहरूले सुचारु रूपमा काम गर्न सकेनन् । यी सबै पत्रिकाहरूलाई सरकारको तर्फबाट प्रोत्साहन र आर्थिक सहायताको आवश्यकता थियो । फेरि छापाखाना नहुँदा तथा देश पनि गरिब भएको हुँदा ती छिट्टै फुले, फले र ओइलाएर पनि गए । सुस्त–सुस्त मृत्युको घाटतिर लागिरहेका केही पत्रिकाहरूचाहिँ फेरि जुर्म‘राएर उठेका पनि देखिएका थिए ।
म धेरै समय लिन चाहन्नँ, त्यसैले नेपाली साहित्यको विकासमा अति महत्वपूर्ण प्रवृत्तिहरूको मात्र चर्चा गर्दछु । दुःखको कुरा के छ भने नेपाली लेखकहरू वर्तमान समयमा केवल साहित्यिक क्रियाकलापद्वारा मात्रै आफ्नो जीवनयापनको निम्ति चाहिने साधन जुटाउन असमर्थ छन् । शिक्षाको व्यापक प्रचार, राष्ट्रिय विश्वविद्यालयको स्थापना, विकासशील प्रजातन्त्रको अपरिहार्य माग हो र यी सबैले लेखकहरू समक्ष नयाँ क्षितिज खोलिदिने छन् ।
काठमाडौँमा र केही जिल्लाहरूमा समेत लेखक सङ्घहरू खोलिएका छन् । जसमध्ये सबभन्दा ठूलोचाहिँ काठमाडौँस्थित नेपाली लेखक सङ्घ नै हो । यी सबै सङ्घहरूले सरकारतर्फबाट वित्तीय सहायता पाउने गरेका छैनन् । लेखकहरूप्रति ध्यान दिनु त परै रहोस्, आफ्नो आर्थिक कठिनाइहरूको भुमरीमा परेका छन् । साहित्यिक श्रमको निम्ति नगण्य पारिश्रमिक पाइने हुँदा स्वयं लेखकहरूले चाहिँ जीवनयापनको निमित्त चाहिने रकम जुटाउन सक्दैनन्, र ठूलो साधन लाग्ने थोरबहुत गम्भीर उद्योग–व्यवसायहरूमा भाग लिन पनि असमर्थ छन् । हाम्रा लेखकहरू फलामे युगको अवस्थामा बाँचेका छन् । तर असल प्रकाशक तथा प्रकाशनगृहहरूको अभावले गर्दा उनीहरूको अवस्था जटिल हुन गएको छ । हालै नेपाल प्रज्ञा प्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिको निम्ति वार्षिक १० हजार रुपियाँको एउटा पुरस्कार स्थापित गरेको छ । राम्रा वैज्ञानिक कृति र साहित्यिक रचनालाई प्रोत्साहित गर्न ५ हजार रुपियाँको मदन पुरस्कार पनि स्थापित गरिएको छ । साँच्चै भन्ने हो भने अवस्था ज्यादै नाजूक छ र हामी लेखकहरू, शिक्षाको विकास, जनताको अभिरुचिको विकास र हामीप्रति नयाँ सम्बन्धमाथि पूर्णतः निर्भर छाँै, त्यसै गरी साहित्यप्रति पदाधिकारीहरूको दृष्टिकोणमा आमूल परिवर्तनमाथि पनि निर्भर छौँ ।
सङ्क्षेपमा नेपाली साहित्यको इतिहास यस्तो छ । तथ्यहरूबाट के सिद्ध हुन्छ भने साहित्यकारहरूले स्थायी रूपमा अति सङ्घर्षमय र अभावग्रस्त जीवन गुजार्नु परिरहेको छ । तर मैले माथि भनेझँै लेखकहरूसमक्ष नयाँ क्षितिज खुलेको छ, उदासीनताको युग समाप्त हुँदैछ र बिस्तार–बिस्तार कला र साहित्यका अमूल्य निधिहरूको उचित कदरको युग सुरु भइरहेको छ ।
सायद यस पृथ्वीमा जिन्दगीको आनन्दकै गाथा गाउन नै सम्पूर्ण साहित्य जन्मिएको हो जसले मानिसहरूलाई सुखानुभूति प्रदान गर्दछ । मानिसले जीवनको मनमोहक र शक्तिशाली पुकार सुन्यो र त्यसको आनन्दलाई युग–युगान्तरसम्म जीवित राख्ने प्रयास ग¥यो । परन्तु साहित्यको इतिहासका प्रारम्भिक चरणहरूमा कृतित्व कम वा बेसी रूपमा आकस्मिक नियमहरूमाथि निर्भर रहन्थ्यो । देवताहरू र दानवहरूको सिर्जना गर्दै रणक्षेत्रका रक्तिम बीभत्सताको चित्रण गर्दै र त्यसका वीरहरूको गाथा गाउँदै, मानिसहरूसमक्ष ईश्वरीय नियमहरूको सहीपनाको पुष्टि गर्दै लोकसाहित्य र परम्पराबाट इतिहास र वीरगाथाहरूबाट तथ्यहरू, किंवदन्तीहरू र काल्पनिक कथाहरूबाट नैतिक नियमहरू खोलत्दै एकाकी ऋषिमुनिहरूले जीवनको निरीक्षण गरे र कल्पनाका प्रतीकात्मक रूपहरूमा त्यसप्रति आफ्नो धारणाको अभिव्यक्ति गरे । उनीहरूले आफ्ना ग्रन्थहरूमा यस्ता काल्पनिक प्रतीकहरूको माध्यमबाट जीवनको अति व्यापक व्याख्या प्रस्तुत गरे, जसको पछाडि दार्शनिक नीति लुकेको हुन्थ्यो । महाभारतका रचयिता व्यास र रामायणका रचयिता बाल्मीकिले वास्तवमा यसै प्रकार लेखेका थिए ।
यी कविहरूले आफ्ना नायकको नाउँ नलिइकनै र आफूले चित्रित गरेका घटनाहरू घटित भएका ठाउँको पनि सङ्केत नदिइकनै आफ्नो कल्पनामा वास्तविकताको सिर्जना गरे । परन्तु वर्णनातीत उत्कृष्टताको बाबजुद पनि यी कृतिहरू पण्डित–पुरोहितहरूका हातमा परेपछि सर्वसाधारण र अनपढ जनसमुदायको उत्पीडनको नयाँ साधन बन्न पुगेका थिए । पुरोहितहरूले काव्यलाई आराध्यवस्तुमा परिणत गरे, तर आन्तरिक सारतत्वलाई नबुझीकनै त्यसको बाहिरी रूपतत्वलाई मात्र ग्रहण गरेका थिए । यसले गर्दा यी कृतिहरूको भद्दा आदर्शीकरण हुनगयो । प्रकृतितर्फ फर्कनाका लागि लत र परम्पराको ह्रासोन्मुख असरका विरुद्ध लामो र अथक सङ्घर्षको आवश्यकता पर्दछ । पहिले झैँ प्राचीन अभिव्यञ्जना मौजुद छ, पहिले झैँ परम्परागत प्रतीकहरूको पनि उपयोग हुँदैछ जो ज्यादै नै थोत्रा बनिसकेका छन्, पुरानै ढर्राका वाक्यांशहरूको नै अन्धानुकरण गरिँदैछ । कुनै समयमा तिनले हाम्रो कल्पनालाई सम्पन्न र सबल तुल्याएका थिए तर यसको साथसाथै तिनले हाम्रा बौद्धिक क्षितिजलाई साँगुरो र सीमित पनि पारेका थिए । पुरानै नैतिक शिक्षाको पुनरावृत्ति, धार्मिक भावना र आस्था अनि कामवासना– यो नै लामो अवधिसम्म हाम्रो साहित्यको वास्तविक सार रहेको थियो ।
परन्तु रूप र सारको तानाशाही छिचोल्दै विद्रोहको भावना फुटेर बाहिर निस्कियो । मनुष्यको जागृत भावना आफ्नै पुरातन भ्रम र अभ्यस्त सङ्कीर्णताको विरुद्ध खडा भयो । प्रतीकवादको विरुद्ध सङ्घर्ष गर्नका लागि चिन्तन र अभिव्यक्तिहरूका नयाँ रूपहरू खोज्नुपरेको थियो । यसै प्रक्रियाद्वारा साहित्यमा रोमाञ्चवादी धाराको प्रादुर्भाव हुन गयो, यसले सफलतापूर्वक अहिले अस्तित्वमा सबै धाराहरूलाई आत्मसात् ग¥यो । यस धाराले सुरुमा पाश्चात्य साहित्यको गहकिलो प्रभावमा परेर विकास ग¥यो, तर यो धारा पनि वर्तमान जीवनका वास्तविक मूल्यहरू र त्यसका समस्याहरूको व्याख्या गर्न असमर्थ छ भन्ने कुरो छिटै नै स्पष्ट भयो । निरन्तर मधुकणहरूमात्र चुसेर कल्पना पनप्न सक्दैन । चराले जस्तै साहित्यले पनि सुरुमा पृथ्वीमा नै चारा नबटुलीकन आकाशमा उच्च उडान गर्न सक्दैन ।
जीवनप्रति रोमाञ्चवादी सम्बन्धले पुँजीवादी र सामन्तवादी समाजमा मात्र स्थान पाउँछ जहाँ धनी मानिसहरू कविहरूलाई यशआराममा डुबाउनु र भ्रष्ट पार्न समर्थ हुन्छन् । परन्तु आकर्षणको मिहिन जालले भोका, अभावग्रस्त र सङ्घर्षशील मानिसहरूलाई सन्तुष्टि प्रदान गर्न सक्दैन । यसै कारण सर्वसाधारण मानिसहरू व्यक्तिवाद, अन्धराष्ट्रवाद, कूपमण्डुकता र विद्वेषलाई धनीमानीहरूको साहित्यिक खेलबाड र मनोरञ्जनको रूपमा विचार गर्दछन् ।
अहिले पनि हामीकहाँ प्राकृतिक सौन्दर्यका धनीमानीहरू तथा सामन्तहरूको उदारताको प्रशंसा गर्ने खालका अनेकौँ कृतिहरू लेखिन्छन् । परन्तु साहित्यका क्षेत्रमा पनि विज्ञान र जिज्ञासाका भावनाले प्रवेश गरिरहेको छ र अभिव्यञ्जनाका जराजीर्ण रूपहरू र माध्यमहरूप्रति असन्तोष पनि व्यक्त गरिँदैछ । व्यक्तिको चेतनामा परिवर्तन आएको छ र त्यो व्यापक पनि भएको छ । परन्तु सामाजिक आदतहरू र रीतिस्थितिहरूका कसिङ्गरहरूबाट त्यसलाई मुक्त तुल्याउन अझै पनि धेरै समय लाग्नेछ । अझै पनि वर्गीय स्वार्थहरूको बोलवाला छँदैछ र मानिसको सामाजिक स्थितिले उसमाथि ठूलो छाप पारेकै छ ।
अझै पनि चिन्तन र विचार केही हदसम्म आर्थिक स्थिति, राजनीतिक वातावरण र सामाजिक जीवनपद्धतिबाट प्रभावित रहेकै छन् । लेखकले पनि आफ्नो युगलाई त्यसरी नै प्रभावित पार्नुपरेको छ, जसरी युगले लेखकको चरित्र निर्माणमा प्रभाव पार्दछ ।
सम्भवतः हामी नयाँ साहित्यिक युगको सँघारमा उभिएका छौँ । हामी कठिनतापूर्वक प्राप्त गरिएको प्रजातन्त्रद्वारा पूर्ण रूपले सुसज्जित भएर त्यस युगमा पदार्पण गरिरहेका छौँ । हामी पुराना भैसकेका विधिविधानलाई अस्वीकार गर्दछौ । हामी नयाँ रूपको खोजी गर्दछौ । हाम्रा साहित्यको वर्तमान प्रवृत्ति आदर्शवादबाट यथार्थवादतर्फ र कपोलकल्पनाबाट तथ्यतर्फ अभिमुख छ ।
यस्तो साहित्यको प्रादुर्भाव भइरहेको छ, जसले व्यक्तिगत र सामाजिक घटनाहरूको मूल्याङ्कनमा उच्चस्तरीय मापदण्डको सहारा लिन्छ । लेखकहरूको विश्वदृष्टिकोण फराकिलो भइरहेको छ । उनीहरूले उपयोगिता र सौन्दर्यको सामञ्जस्यपूर्ण समन्वयमा विशेष ध्यान दिन थालेका छन् । लेखकहरू शान्तिको पुकार सुन्दछन् । विज्ञान र विवेकको आवाजलाई हृदयङ्गम गर्दछन्, विश्वमा घट्ने घटनाहरूप्रति आफ्नो प्रतिक्रिया जनाउँछन् । जीवनका निम्ति र विनाशका विरुद्ध, सहअस्तित्वका निमित्त र सैनिकका आक्रमणका विरुद्ध, राष्ट्रिय स्वाधीनताका निमित्त, उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध आधुनिक मानव जातिका महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय बन्न सक्दैन ।
अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ । साहित्यले अन्तर्राष्ट्रिय स्थितिमा लाभदायी र मानवतावादी प्रभाव पारिरहेको छ । संसार यस्ता कृतिहरूद्वारा भरिपूर्ण छ जसमा इष्ट अथवा अनिष्टको जोडदार चर्चा गरिन्छ । दृष्टिकोणमा परिवर्तन आइरहेको छ । जातिभेदवादको सङ्कटको भावना र नैतिक उत्तरदायित्वको भावनाले आफ्नो अभिव्यक्तिका नयाँ–नयाँ बाटाहरू पैल्याउँदैछन् र साहित्यमा प्रवेश गर्दैछन् । बढी उच्चस्तरीय मापदण्डहरू, नवीनतम् बिम्बहरू र ताजा रूपहरूको खोजी गरिँदैछ, नयाँ–नयाँ प्रयोगहरू हुँदैछन् । नेपालको जागृति व्यापक भइरहेको छ र एशियाको नवजागरणका लहरमा नेपालको कला र साहित्यले पनि आधुनिक युगमा प्रवेश गरिरहेको छ ।
धैर्यको भावना बढ्दो छ र यसका साथसाथै धर्मान्धता सङ्कीर्ण राष्ट्रवाद र सामाजिक बन्देजका विरुद्ध अधैर्यको भावना पनि दरिलो हुँदै गइरहेको छ । आधुनिक लेखकले आफूलाई विश्वको एउटा जीवित र सबल अङ्गका रूपमा अनुभव गर्दैछ । संसार साँगुरिँदै गइरहेको छ र एउटा साझा घरमा परिणत भइरहेको छ । लेखकले पनि व्यापक अन्तर्राष्ट्रिय जगतमा, नयाँ संसारमा उसले भाग लिनुपरेको छ भन्ने कुरा बुझ्दै गइरहेको छ । त्यो संसार मानवतावाद र पारस्परिक समझदारीका सिद्धान्तहरूमा आधारित हुनेछ । व्यष्टिमा समष्टिको खोजी, मानव जातिसँग निरन्तर सम्पर्क बढाउँदै लैजाने प्रयास र स्थानीयताको त्रिपाश्र्वमा विश्वब्रह्माण्डकै भावनाको बोध गर्ने इच्छा यसैको परिणति हो ।
नेपाली साहित्यले नयाँ प्रजातान्त्रिक भावनाको विकासमा योगदान पु¥याएको छ । त्यसले जहानियाँ राणाशासन र समन्तवादका विरुद्ध सङ्घर्षको सुरुआत गरेको थियो । यो सङ्घर्षपूर्ण विजयी भएको छ । वर्तमान समयमा नेपाली साहित्यले मानव अधिकारको उत्तरोत्तर विस्तारका लागि, मानव मूल्यहरूका मान्यताका लागि आवाज उठाइरहेको छ । त्यसका विद्रोही र क्रान्तिकारी स्वरले युगानुयुगको जडता र रुढिबूढीका विरुद्ध, युगौँ पुराना परिस्थितिका विरुद्ध, जातपात र धर्मका भेदभावका विरुद्ध, सामाजिक अन्याय र असामाजिक असमानताका विरुद्ध सङ्घर्षका निम्ति आह्वान गर्दछ । लेखकले अन्यायका विरुद्ध सङ्घर्ष गर्दछ र लाखौँलाख उत्पीडित मानिसहरूप्रति सहानुभूति जगाउँछ, जसका हितहरूप्रति सदैव नै बेवास्ता गरिँदै आएको थियो ।
राणाशाहीका विरुद्ध क्रान्तिकारी नाराहरू र प्रचारहरूले तत्कालै आम जनताका चेतनामा जागृति ल्याएका थिए र यस जहानियाँ शासनका उन्मूलनमा योगदान पुग्न गएको थियो । अब जनताको ध्यान बढी उच्चस्तरीय मूल्यहरूतर्फ र बढी व्यापक क्षितिजतर्फ आकर्षित गर्नका निमित्त लेखकले बढी फलदायी ढङ्गबाट काम गर्नुपरेको छ । उसका अगाडि ज्यादै उत्तरदायित्वपूर्ण र ज्यादै कठिन कार्यभार रहेको छ जुन उसले जीवनका कठोर अवस्थाहरूमा आफूले बहन गर्नुपरेको छ । लेखकले आफ्नो कामको पारिश्रमिक ज्यादै नै थोरै पाउँछ । परन्तु यदि ऊ सच्चा लेखक हो भने उसले आफ्नो कार्य रोक्नु हुँदैन । उसले जनतामा भिज्नुपर्दछ, जनताबाट सिक्नुपर्दछ, समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि जनताको आत्मा खोतल्नु पर्दछ ।
राणाखलकको शासनकालमा लेखकले आशा राख्न सक्ने सबभन्दा ठूलो कुरा कुनै थियो भने त्यो थियो– बहुमूल्य जीवनशक्तिलाई साहित्यमा परिणत गर्नु । आजका लेखकले यस्तो उदासीनता र उत्पीडनको अनुभव गर्न पर्दैन तापनि नयाँ सामाजिक अवस्थामा उसले अझै पनि समाजमा आफ्ना स्थितिका निम्ति र जनताको तर्फबाट सम्मानका निम्ति सङ्घर्ष गर्नपर्ने हुन्छ । लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिक तथा आर्थिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिक, आर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणको परिवर्तनमाथि ठूलो आशा राखेका छौँ ।
वर्तमान समयमा हामी नेपालमा साहित्यिक क्षेत्रमा निश्चित फल प्राप्त गर्दैछौँ । परन्तु यसको साथसाथै हामीले नयाँ प्रभावहरू र नयाँ प्रयासहरू भेट्टाएका छौँ । नवजागरणले हामीलाई जनताको हृदयसम्म पुग्ने बाटो पहिल्याउने सम्भावना दिएको छ, साथै विविधता, नवीनता र यथार्थता पनि प्रदान गरेको छ जुन उत्कृष्ट गुणहरू हुन् । परन्तु व्यापक अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रसँग हाम्रो सम्पर्क छैन, साथै यस्तो सम्पर्क स्थापित गर्नमा सहायक हुने साहित्यिक अनुवादहरूको पनि हामीसित अभाव छ । अन्य मुलुकहरूमा देखा परेका र विकसित भएका नयाँ प्रवृत्ति र नवीन बिम्बहरूको छाप हाम्रो साहित्यमा पर्नुभन्दा पहिले धेरै समय बितिसक्दछ । हामी के आशा राख्दछौँ भने नेपालको नयाँ त्रिभुवन विश्वविद्यालय, शाही नेपाल प्रज्ञा प्रतिष्ठान यस्तै अन्य संस्थाहरूले यस अभावपूर्तिमा योगदान पु¥याउने हाम्रो देशमा पनि जुर्म‘राएर व्यूँझिएका छिमेकी देशहरूको पारस्परिक सम्बन्धको विश्वासिलो बाटोबाट एशियाली जागृतिको भावना फैलिँदै जानेछ र बन्धुत्वपूर्ण संस्कृतिहरूको आपसी सम्पन्नतामा मद्दत पुग्नेछ । हामी के आशा राख्दछौँ भने नेपाली साहित्यका निम्ति पनि तासकन्द सम्मेलन ज्यादै नै उपयोगी सिद्ध हुनेछ किनभने नेपालले पनि धेरै कुरा दिन सक्दछ र धेरै कुरा ग्रहण गर्न सक्दछ ।
अनन्त हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वतश्रृङ्खलाहरूको भुलभुलैयामा बिलाउने छैन । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एशिया तथा अफ्रिकालाई परिवेष्ठित गर्ने साहित्यको असीम महासागरमा मिल्न पुग्नेछ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलबिन्दुको रूपमा फेरि हाम्रा पहाडहरूमा नै बर्सनेछ ।
एकअर्कालाई राम्ररी बुझ्न, एकअर्काबाट राम्ररी परिचित हुन नै हामी यहाँ भेला भएका छौँ । यहाँ उपस्थित प्रत्येक देशले अरुलाई धेरै कुरा दिन सक्दछ । यहाँ हृदय–हृदयको मिलन भइरहेको छ र प्रत्येक व्यक्तिको आत्मामा प्रतिध्वनि गुन्जिरहेको छ । हामी समुद्रको छालझैँ माथि उर्लदैछौँ र आफ्नो स्वर उच्च तुल्याउँदैछौँ । हामी आफ्ना सन्ततिलाई आफ्नो साझा सन्देश पठाउँदैछौँ ।

(सन् १९५८को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले दिएको अंग्रेजी सम्बोधनको
नेपाली अनुवाद ।)
अनुवादक : कृष्णप्रकाश श्रेष्ठ

स्राेत: जनपत्रिका साताैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।