लीला उदासी, बिर्तामोड, झापा
हजुर ! झापा अलिक विचित्रको छ
यहाँ भूगोल छ
इतिहास छ
भूगोल छोपिएको छ
थिचिएको छ
सीमाना छ, भारतसँग जोडिएको छ
भारत बढ्दै जान्छ
झापा खुम्चँदै जान्छ
महेशपुर, मेची, बाहुनडाँगी, काकरभिट्टा
रातभरी यता भए पनि बिहानै उता परिसक्छ
जङ्गे पिलर साँचो बोल्दा बोल्दै थाक्छ
सीमाना अतिक्रमणले झापाका मान्छेको मन पाक्छ
यहाँका मान्छेले बुझ्न सकेका छैनन्
किन झापाको माटो बेला–कुबेला भारततिर पर्छ ?
इतिहास त्यस्तै छ हजुर !
लेखिएकै छैन
बरु मेटिँदै छ
अहिले त
विश्वनाथ घिमिरे नचिन्ने काङ्ग्रेसी बग्रेल्ती छन् झापामा
सी. के. प्रसाई पहिल्यै बिर्सिएका हुन्
उनले बनाएका काङ्ग्रेसले नै
उनको काङ्ग्रेस टक्टक्याएका हुन्
नव–काङ्ग्रेसले उनको
बाली पनि आली पनि पड्काएका हुन्
मदन खपाङ्गी चिन्दैनन
बलबहादुर र पुहाँतु राजवंशी जान्दैनन्– कामरेडहरू
अहिलेका कम्युनिस्टहरू झापामा अलमल्ल पर्छन्
पूण्य शर्माहरू हराइरहेछन्
अहिलेका कामरेडहरूले त
त्यो पनि सूचना हराएका छन्
आश्चर्य छ, झापामा
किन कामरेडहरूले यस्तो मन पराएका छन् ?
कामरेडहरू, इतिहास मेट्दैछन्, मेटिरहेका छन् ।
थाहा छैन,
औलो त कसले भगायो झापामा ?
तर
आदिवासी पनि औलोपछि लागेर भागे
उनीहरू मुर्झाउँदै गए, हराउँदै गए
पछि आएकाहरू चम्किँदै गए
बम्किँदै गए
उनीहरू झापाका बाली थिए
अहिले बिउ सिला खोज्नु पर्छ
अरुहरू– पहिला बिउ थिए
अहिले बाली नै बाली लटरम्म देख्नुपर्छ
यस्तै हो झापा
जो आए– जेसुकै पाए
पापा पाए
चाचा पाए
वरदान पाए
मान पाए
सम्मान पाए
हो आउनेहरूले नै झापा खाए ।
(‘यो झापा हो’ कविता सङ्ग्रहको कवितांश– सम्पादक)