४ मंसिर २०८१, मंगलवार

इलाम कम्युनिस्ट पार्टीको इतिहास

इतिहास

0

              सुमन सिंह सी

 

इलाम कम्युनिस्ट आन्दोलनको संक्षिप्त सिंहावलोकन इलामको कम्युनिस्ट आन्दोलनको इतिहासलाई हामीले राम्रोसँग हेर्न, बुझ्न सकेमात्र हामीले हाम्रो वर्तमानलाई सही ढंगमा उभ्याउन सक्छौं । र, हाम्रो आगामी दिनलाई सच्याएर अगाडि बढ्ने बाटोलाई सुस्पष्ट गर्न सक्छौं । इतिहासमा जनताको अपेक्षा प्रतिघात गर्नेहरूको अनुहारलाई उदाङ्गो पार्न, इतिहासमा स्थापित क्रान्तिकारी आन्दोलनको मुल्यहरूलाई संरक्षित गर्न र हाम्रा आगामी आँधिमय दिनहरूलाई निर्ममतापुर्वक सही यात्रा गराउन इतिहासको अधिक महत्व छ । हामीले त्यही इतिहासलाई संक्षिप्तमा प्रस्तुत गरेकाछौं ।
इलाममा २००८ सालमै कम्युनिस्ट पार्टीको गठन भएको थियो । कमरेड पुष्पलालसँग इलामको नामसालिङ आउनेजाने क्रममा कमरेड डिपी अधिकारीको नेतृत्वमा पहिलो सम्पर्क स्थापित भएको थियो ।
२००८ सालमा कमरेड चन्द्रमणि ढकालको नेतृत्वमा पार्टी सङ्गठन बन्यो । यस सङ्गठनको कोषाध्यक्ष प्रजापति नेपाल, सदस्यहरू रामचन्द्र पोखरेल, बुद्धिमान तामाङ, जयप्रसाद ढकाल, गंगाप्रसाद भट्टराई, इन्द्रप्रसाद ढकाल थिए । यो नै इलाम जिल्लाको पहिलो संस्थापक सङ्गठन थियो । २०१२ सालमा कम्युनिस्ट पार्टी पुनर्गठन भएपछि ज्ञानिराम भट्टराईको नेतृत्वमा जिल्ला समिति बन्यो र त्यो २०१७ सालसम्म कृयाशील बन्यो । २०१७ सालमा राजा महेन्द्रको फौजी काण्डपछि २०१९सम्म पुग्दा इलामको आन्दोलन शिथिल बन्न पुग्यो । २०१८–२०१९ बिचमा अमृतमान राई, जंगबीर थापा, रंगलाल गुरुङ, सोमनाथ खनाल, लालबहादुर राई, तुलाराम रेग्मी, राकमान राई, नरबहादुर राई, झेलबहादुर राई, बलबहादुर गुरुङ, तुलाराम राई, डाकमान राई, भेलबहादुर राई, पूर्णबहादुर राई, मेलबहादुर राई, ओममाया सुनार, जीतबहादुर राई, छत्रमान राई, नरबहादुर राई, तेजबहादुर राई, खड्गबहादुर राई, लक्ष्मण सेन्च्युरी र एकजना बालकको हत्या गरियो । साथै सयौं इलामेली जनतालाई यातना दिइयो । पञ्चायत विरुद्धको यो आन्दोलनमा इलामेली जनताले बलिदान गर्ने तहमा खेलेको यो भूमिका सधैं उल्लेखनीय रहेको छ ।
२०२८ सालको ‘झापा विद्रोह’ले इलामको क्रान्तिकारी आन्दोलनमा पनि प्रत्यक्ष प्रभाव पार्न पुग्यो । झापा आन्दोलनको क्रममा बन्दि बनाइनु भएका नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा चन्द्रगढी जेलबाट इलाम जेलसार्ने बहानामा इलाम र झापाको सीमानामा पर्ने सुखानी जंगलमा ल्याएर गोली हानी हत्या गरियो । २०३० सालमा इलाम शान्तिपुर निवासी रामप्रसाद प्रधानलाई कुख्यात सामन्त चन्द्रप्रसाद भट्टराईको नेतृत्वमा बाँसको भाटाले घोचि–घोचि निर्ममतापूर्वक हत्या गरियो । यसले इलामका क्रान्तिकारी जनतालाई उद्वेलित गरायो र प्रतिशोधको ज्वाला भड्किन पुग्यो । २०२८–०२९ सालतिर किसान विद्रोहको नाममा निर्माण भएको किसान सङ्गठन र पूर्वको नेपाल कम्युनिस्ट पार्टी मुक्ति मोर्चा, नेपाल कम्युनिस्ट रातो झण्डा समूह र सन्देश समूहहरू सम्मिलित नेपाल कम्युनिस्ट पार्टीको कोअर्डिनेशन समितिको गठन हुँदै आयो । र, इलाममा यही प्रकृयाको निरन्तरतास्वरुप २०३२को भदौ महिनामा झलनाथ खनालको नेतृत्व र रत्नकुमार वान्तवाको पहलमा समिति गठन भयो ।
२०३३ सालमा झलनाथ गिरफ्तारीमा परेपछि २०३३ फागुन महिनामा क्रान्तिकारी कोअर्डिनेशन समिति माले बन्यो जसको नेतृत्व रत्नकुमार वान्तवा थिए । २०३५ पौषमा नेकपा (माले)को प्रथम जिल्ला सम्मेलन भयो । त्यसले रत्नकुमार वान्तवाको नेतृत्वमा ५ सदस्यीय समिति निर्वाचित ग¥यो । २०३५ चैत्र २७ गते रत्नकुमार वान्तवाको इलामको इभाङमा प्रहरीहरूले हत्या गरे । रत्नकुमार वान्तवाले सत्ता विरुद्ध सशस्त्र युद्ध गर्ने हेतु सुरुङ निर्माण गरेका थिए । रत्न हत्याको एक महिनापछि २०३६ बैसाख २८ गते अर्का योद्धा बम वान्तवाको पनि हत्या गरियो । त्यसपछि शासकहरूले जनतालाई धेरै दमन गरे । २०३६ सालमा जीवन मगरको नेतृत्वमा पार्टी पुनर्गठन भयो । पछि जीवन मगर कारवाहीमा पर्नुभयो । २०३७ असार ११देखि १४सम्म इलामको जितपुरमा भएको सम्मेलनले प्रदीप नेपाललाई सचिवमा निर्वाचित ग¥यो । २०३८ सालमा प्रदीप नेपाल मेची इन्चार्ज भएपछि अगम वान्तवा इलामको सचिव हुनुभयो । अगम वान्तवा पाँचथर कार्यक्षेत्र बनाएर गएपछि चित्र निरौला सचिव हुनुभयो । चित्र निरौलापछि देवराज घिमिरे सचिव हुनुभयो । २०४३मा पञ्चायतलाई उपयोग गर्ने पार्टीले नीति बनाएपछि इलामबाट २ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिए । जसमा नोवेलकेमी राई विजयी बन्नुभएको थियो । त्यसबेला पञ्चायत भित्रैबाट भण्डाफोरको नीति पार्टीले लिएको थियो । सोही समितिको माध्यमबाट २०४६ सालको जनआन्दोलनमा नेकपा (माले)ले आफ्नो भूमिका निर्वाह गरेको थियो ।
२०५२ सालमा पश्चिम नेपालबाट सुरु भएको जनयुद्धको प्रभाव पूर्वको झापा इलाममा भने २०५५ सालको सुरुदेखि मात्र पर्न पुगेको देखिन्छ । जनयुद्धको पहल र तयारीमा सुदुरपुर्व सहभागि हुने अवस्था नबनेको हुनाले जनयुद्धको अपनत्व, सोहि अनुसारको स्कुलिङ र क्रान्तिलाई उच्च स्तरमा नेतृत्व दिन सक्ने नेताहरूको अभाव खड्कियो । यसमा हामीले के पाएका छौं भने जनयुद्धको तात्कालीन स्कुलमा पुरानो संसोधनवादको स्कुलिङको केही मात्रा पनि घुस्न पुग्यो । त्यसलाई सच्याउने तहमा ध्यानदिने र कस्तो प्रवृतिलाई स्थापित गर्ने र जनताको बिचमा जाने भन्ने निर्कौल नहुँदा र इलामको क्रान्तिकारी आन्दोलनका कार्यभारहरूलाई सूत्रवद्ध गर्न नसक्दा जनयुद्धले इलाममा जनताको उल्लेख्य समर्थन प्राप्त गर्न सकेन । २०६४को संविधान सभाको निर्वाचनमा देशैभरी हाम्रोपार्टीका जो कोहीले जित्ने स्थिति बन्यो तर इलाममा त्यसबेला तीनवटै निर्वाचन क्षेत्रमा हाम्रो पार्टी तेस्रो बन्न पुग्यो । यो किन भयो ? इलामको क्रान्तिकारी इतिहासको चर्चा गर्दा हामीले यसलाई गम्भीरतापूर्वक समीक्षा गर्न आवश्यक छ । यसमा हामीले के पाएका छौं भने जनयुद्धको मर्मलाई हुबहु आत्मासात गर्न नसक्नु, प्रतिबद्ध नेता–कार्यकर्ताहरूको निर्माण गर्न नसक्नु, विचारधारात्मक तहलाई सुदृढ र व्यवीस्थत गर्न नसक्नु आदि समस्याहरू रहेका थिए । जसले गर्दा जनयुद्धमा सम्मिलित इलामेली नेता–कार्यकर्तामा विभिन्न प्रकारका विचलनहरू देखिन पुगे । यसले जनतामा विश्वास पैदा गर्न सकेन र आन्दोलन कमजोर बन्न पुग्यो । यद्यपि जनमुक्ति सेना र केही स्थानीय कार्यकर्ताको उच्च स्तरको व्यवहार र बलिदानी भावनाले ओतप्रोत कार्यशैलीले जनताको सहयोग र माया भने पाउन सक्यो । जनताको उक्त मायालाई आन्दोलनमा कसरी रुपान्तरण गर्ने भन्ने व्यवस्थित योजना निर्माण गर्ने कुशलताको अभावमा इलामको आन्दोलन कमजोर बन्न पुगेको सच्चाई उजागर गर्नु कुनै पुर्वाग्रह हुनेछैन । हामीले आगामी दिनमा हाम्रो यात्रालाई सूत्रवद्ध गर्न र इलामलाई क्रान्तिको केन्द्रमा बदल्न बिगतका खराबिहरूलाई उजागर गर्न र त्यसबाट पाठ सिक्न भने जरुरी छ ।
जनयुद्धको प्रारम्भमा इलाममा सबैभन्दा पहिला अखिल क्रान्तिकारी सङ्गठन निर्माण भयो । २०५५ असोजमा रामप्रसाद पोखरेलको नेतृत्वमा ५ सदस्यीय ईकाई समिति निर्माण भयो । २०५६ असोज १ गतेका दिन अखिल (क्रान्तिकारी)को प्रथम जिल्ला सम्मेलन भयो । त्यसले कमरेड धिरेन शर्मा रमणको नेतृत्वमा सङ्गठन निर्माण ग¥यो । २०५७ फागुनमा इलाममा अखिल (क्रान्तिकारी)को दोस्रो जिल्ला सम्मेलन भयो । त्यसले कटक साम्पाङको नेतृत्वमा सङ्गठन निर्माण ग¥यो । जसमा सदस्यहहरू लक्ष्मी न्यौपाने, गणेश उप्रेती, युवराज पौड्याल, देवेन्द्र पौडेललगायत थिए । इलाममा २०५५ सालबाट विद्यार्थी सङ्गठनको सुरुवात भए पनि २०५७ सालबाट मात्र त्यसले पार्टीको रुप ग्रहण गर्न सक्यो । २०५७ असोज महिनातिर झापा इलाम संयुक्त जिल्ला नं. ४ नामाकरण गरी पार्टी समिति संचालनमा आयो । २०५८को जेठ महिनामा इलाम बाँझो गाँउमा संयुक्त इलाका स्तरका कार्यकर्ताको प्रशिक्षण कार्यक्रम करिब ६५ जना कार्यकर्ताहरूको उपस्थिीतिमा सम्पन्न भएको थियो । उक्त प्रशिक्षणको प्रमुख अतिथि जिल्लाको नेतृत्व चतुरमान राजवंशी थिए । यही महिनामा इलामलाई ४ वटा एरियामा विभाजन गरियो– इलाम माई पुर्व केदार एरिया र नारायण एरिया, इलाम माई पश्चिमलाई रत्न एरिया र बम एरिया बनाइयो । इलाममा त्यसबेला एक जिल्ला समिति, चार एरिया समिति गरेर पाँचवटा समितिहरू कृयाशील थिए । समग्र जिल्लाको नेतृत्व चतुरमान राजवंशीले गरेका थिए । यसमा सहायक भूमिका धर्मशीलाले निर्वाह गरिन् । २०५८ सालको अन्त्यतिर कमरेड चतुरमानको गिरफ्तारीपछि संयुक्त जिल्लाको नेतृत्वमा कमरेड छवि आचार्य अणु आए । त्यसबेला इलामका जिल्ला र एरिया सदस्यहरूको नामावली यस प्रकार रहेको छ– कमरेडहरू कटक साम्पाङ जिल्ला सदस्य इलाम, बोधराज दाहाल जिल्ला सदस्य झापा, आम्बुहाङ लिम्बु, उमेश अधिकारी, धिरेन चेम्जोङ कुमार, तुलसी क्षेत्री अम्बर, लखनआदि युवाहरू एरिया समितिमा हुनुहुन्थ्यो । २०६०देखि २०६१सम्म सूर्यवाला राई इन्चार्ज र सिपी कडेरिया सक्रेटरी थिए । २०६२–०६३ उमेश अधिकारी इन्चार्जको रुपमा रहे । २०६३पछि धिरेन शर्मा रमण इलामको इन्चार्ज बने ।
प्रचण्ड नेतृत्वको विचलनपछि पार्टीभित्र पैदा भएको दुई लाइन सङ्घर्षमा इलाममा कमरेडहरू कान्छा लावती, सिन्धु, राज, सर्कल, निशान, होम खतिवडा, सुमनसिंहलगायत कमरेडहरू क्रान्तिकारी लाइनमा उभिएर ड्यास माओवादी पार्टी निर्माणमा इलाममा भूमिका खेले पनि कमरेड होम खतिवडा र सुमनसिंहबाहेक अन्य सबै प्रचण्डकै पार्टीमा फर्किए भने कमरेड होम, सुमनसिंह र अविनाश भने एकीकृत जनक्रान्तिलाई अगाडि बढाउन लागे ।
इलाममा एकीकृत जनक्रान्तिको पहल र यसको इतिहास
नेपालको क्रान्तिकारी आन्दोलनमा देखिएका संशोधनवादी विचलन, धोका, सम्झौतापरस्त प्रवृत्ति, आत्मासमर्पण जस्ता जनताको सपना र क्रान्तिको उद्देश्यलाई ध्वस्त गर्ने व्यवहार विरुद्ध सङ्घर्ष गर्दै क्रान्तिकारी आन्दोलनको रक्षा र विकास गर्न क्रान्तिकारी शक्तिहरू निरन्तर लागिरहे । प्रचण्ड आत्मासमर्पणले खरानी बन्न पुगेको क्रान्तिको फिलिङ्गोलाई खरानी भित्रबाट उठाउँदै क्रान्तिको झण्डा उठाउनु पर्ने दायित्व क्रान्तिकारीहरूको काँधमा आइपुग्यो । मोहन वैद्यको नेतृत्वमा विद्रोहको झण्डा उठ्यो । विद्रोही झण्डालाई विचार, सङ्गठन, सङ्घर्ष र कैयौं अन्य तयारिका कामहरूलाई उच्च स्तरमा उठाउनु थियो । अकर्मण्यताको कुहिरोमा परम्परागत रटान लगाइरहेको एउटा पङ्तिलाई छाडेर अगाडि बढ्न आवश्यक थियो । हाम्रो पार्टीका महासचिवको नेतृत्वमा त्यो पहल भयो । २०७१ मंसिर ८ गते महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाममा श्रमजिवी वर्गको पार्टी पुनर्गठन भयो । यिनै प्रकृयाहरूमा इलाममा विचारधारात्मक अन्तरसङ्घर्षको श्रृङ्खलामा निरन्तर क्रान्तिकारी कित्तामा उभिँदै आएको निकै ठुलो क्रान्तिकारी समूहले पुनर्गठन प्रकृयामा अगाडि बढ्ने हिम्मत नगरेपछि इलाममा केही कमरेडहरू महासचिव विप्लवको नेतृत्वमा पुनर्सङ्गठित हुन पुगे ।
त्यसमा अगाडिबाटै खुलेर बहस, छलफल र अन्तर्कृया सञ्चालन गर्दै आएका होम खतिवडा र सुमनसिंह थिए । त्यस्तै सोही प्रकृयामा डम्बर मगर अविनाश पनि सशक्त रुपमै उभिएका थिए । इलाममा मात्रै होइन सिङ्गो तात्कालीन लिम्बुवान राज्यका क्रान्तिकारीहरूलाई क्रान्तिको प्रकृयामा अगाडि बढ्ने कुरामा भ्रमित गर्न इन्द्र आङ्बो ‘मौसम’ सफल भएका थिए । उनले अन्तिमसम्म क्रान्तिकारी लाइनको वकालत गरेर अन्तिममा सबैलाई तितरबितर हुने अवस्था बनाएर बादलको बुई चढी प्रचण्डतिरै गएका थिए । सोही कारण थुप्रै क्रान्तिकारीहरू षड्यन्त्रको मारमा परी छोटो समय दिशाबिहीन बन्न पुगे । यद्यपि छोटो समयमै तात्कालीन लिम्बुवानको क्रान्तिकारी धारले क्रान्तिको झण्डालाई दरो गरी समात्न पहल लियो ।
तथापि इलाममा सुरुवातिकालबाटै सानो भए पनि झिल्को बल्यो र आज त्यो राँकोमा परिणत भइसकेको छ । यसले के पुष्टि गरेको छ भने इलामको क्रान्तिकारी आन्दोलन र सचेतना आफ्नो पहलबाट कहिल्यै चुकेको छैन । यो सम्मेलन क्रान्तिको फिलिङ्गोलाई फुक्ने कमरेडहरूप्रति धन्यवाद व्यक्त गर्दछ । पार्टी पुनर्गठन मसिंर ८ गते भएपछि इलाममा रहेका क्रान्तिकारीहरूले पुस ९ गते इलामको सांङरुम्बा स्थित मोहन पोखरेलको घरमा पछि एकजना थप्ने गरी ७ जनाको पहिलो जिल्ला समिति निमार्ण गरे । जसमा तात्कालीन लिम्बुवान राज्य समितिका इन्चार्ज सुबास अगस्ती प्रमुख अथितिको रुपमा थिए । उक्त भेलाले कमरेड होम खतिवडालाई पार्टीको सचिव बनायो भने सुमनसिंह, डम्बर मगर, मोहन पोखरेल, होम रिजाल, मंगलसिंह लिम्बु सदस्यमा चुनिए । कमरेड सुमनसिंहले विद्यार्थी आन्दोलनमा झापामा पनि काम गरेको र घर पनि उतै भएको कारण झापा जिल्ला पार्टीमा स्थानान्तरण भएर गए । स्थापनाको केही समयपछि केही जिम्मेवार कमरेडहरू ध्रुविकृत भए र पार्टीलाई अगाडि बढाउने क्रममा महत्वपूर्ण भूमिका खेले जसमा कमरेडहरू जितमान राई मौषम, नवराज तामाङ र डम्मर मगरको भूमिका इलामको क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन अतुलनीय रहेको छ । त्यसबेला लिम्बुवान राज्यलगायत पूर्वमै एकप्रकारको कमजोर स्थिति भएको कारण प्रचार–युद्ध गर्ने हेतु सबैले उपनाम राखी व्यापक प्रचार र छलफलमा लाग्नु परेको थियो । यसरी इलाम जिल्लामा एकीकृत जनक्रान्तिको झण्डा उठेको थियो । आज इलामेली जनताको अपार माया र साथ पाउने स्थितिमा एकीकृत जनक्रान्ति रहेको छ ।

स्राेत: जनपत्रिका साताैँ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।