८ मंसिर २०८१, शनिबार

नेपालका कम्युनिस्टहरुले यो कथा फेरि सम्झिने कि ?

0

 

          भेषराज सी

 

जात व्यवस्था श्रमिक जनतालाई एकजुट हुन नदिन र शोषण गर्न सामन्ती शासकहरुद्वारा बनाइएको मानवता विरोधी व्यवस्था हो । त्यही जात व्यवस्थाको आधारमा एक जनाले चार जनालाई  कसरी  सिध्यायो भन्ने वारेमा एउटा लोककथा हामी सबैले सुनेकै हुनु पर्छ । एउटा गाउँका चारजना मानिस  प्रदेश लागेछन् । हप्तौं दिन पैदल हिड्नु पर्ने, हिड्दाहिड्दै भोकले लखतरान भएका विचरा बटुवाहरुले बाटाकै किनारमा मकै बारीमा पसेर हरिया मकै काचै खान थालेछन् ।  त्यो मकै बारीको मालिक  गाउँको जिम्मावाल बाबू साहेबको रहेछ । ती बाबू साहेबले देखि हाले ।  बाबुसाहेब भित्रभित्रै खुब रिसाए तर बाहिर रिस देखाएनन् । किनभने उनी त्यतिबेला एक्लै थिए। बटुवाहरु बलियाबाङ्गा चारजना थिए । एक्लै जित्न गाह्रो थियो। त्यसैले ती बाबुसाहेबले त्यही मानवता विरोधी जातव्यवस्थाको  सहारा लिएर बटुवाहरुलाई फुटाएर एक-एक गराएर कुट्ने योजना बनाए । योजनानुसार बाबुसाहेबले बटुवाहरुको जात सोधपुछ गर्न थाले। संयोगले  बटुवाहरु चारै जातका रहेछन् । यो जानकारी पाएपछि आफ्नो योजना सफल
हुने आधार भेटाएर भन्न थाले” ब्राह्मण गुरुले मेरो बारीको मकै खादा मलाई धेरै धर्मै मिल्यो। घरमै बोलाएर पुजा गरि दान दिनु पर्ने गुरुले बारीमा नै काचै खादा कति दु:ख भयो होला! माफपाउँ ! क्षेत्री मेरै गोत्यार, अंसियारले खानु केही खराब भएन,  यी व्यापारी साहुले खादा पनि कुनै आपत्ति भएन तर तँ दलित अछुतले मेरो बारीको मकै किन खाइस तलाई त म छोड्न सक्दिन” भन्दै लाठैलाठाले कुटेर लखेटे। त्यतिबेलासम्म बाहुन, क्षेत्री र वैश्य खुसी हुँदै बसे।  जब  दलित भागे तब बाबुसाहेब वैश्यतिर सोझिएर भन्न थाले ” गुरु र गोत्यारले खाएको त ठिकै हो तर तँ बानियाँले किन खाइस्? तलाई कुनै हालतमा छोड्दिन”भन्दै लाठा मुङ्रो लगाएर त्यसलाई पनि लखटे । अब पालोआयो क्षेत्रीको। क्षेत्रीतर्फ लाठो तेर्स्याउदै भन्न थाले” गुरुब्रह्मालेले खानु त उत्तम हो तर त पाजीले किन चोरेर खाइस्?” भन्दै कुटि- कुटि लखटे। अब त विचरा बाहुन मात्र बाँकी रहेका थिए। बाबुसाहेबले उनैतिर लाठो तेर्स्याउदै भने” बाहुन भएर बाचुला भनेको होलास् ” काठा” त लुरे बाहुनलाई त  एकै चोटमा ढाली दिन्छु” भन्दै त्यसलाई पनि कुटेर भगाए।
  नेपालका कम्युनिस्टहरुले आफुहरुलाई समयमै  रुपान्तरण र क्रान्तिकारीकरणसहितको एकीकरण गर्न सकेनन् भने तीनै बटुवाहरुको नियती भोग्नबाट तिनीहरू कोहि पनि बच्ने छैनन् ।
अहिले नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी, प्रवक्ता कमरेड प्रकाण्ड सी लागायतका नेतृत्वसहितका पार्टीका नेता तथा कार्यकर्तामाथि राज्य आफैले गरेको तीन बुँदे सहमति विपरित झुट्टा तथा आधारहीन मुद्दा लगाएर पक्राउ आदेश जारी गरेको छ।
अमेरिकी साम्राज्यवाद र त्यसका घरेलु नोकर दलाल पुजीवादले गरेका राष्ट्रघात र जनघातका विरुद्ध निरन्तर सशक्त आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीलाई आक्रमणको पहिलो निशाना बनाइएको छ । सरकारको नेतृत्व गरिरहेका ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष कमरेड प्रचण्डको सरकारले यस सम्वन्धमा अत्यन्तै  ढुलमुले चरित्र प्रदर्शन गरिरहेको छ। अझ माओवादी केन्द्रभित्र अभिजात वर्गमा परिणत भएका केही  सिमित व्यक्तिहरुले त आफ्ना नजिकका व्यक्तिहरूसँग अनौपचारिक रुपमा यस्तोसम्म भन्ने गरेको सुनिन्छ कि विप्लव र उनले नेतृत्व गरेको ने.क.पा. कमजोर भयो भने हामीलाई फाइदा हुन्छ।  यस्तो भयानक गल्ती गर्ने कामगर्दा भविष्यमा उनीहरुलाई समेत आत्मघती हुनेछ।
याद गर जनयुद्धकालीन मुद्दा तिम्रा नाममा पनि छन् । साम्राज्यवादी तथा दलाल पुजीवादी षड्यन्त्र र दमनले विप्लव नेतृत्वको ने.क.पा. कमजोर होला या प्रतिरोध गरि अझ सशक्त होला ? यसको उत्तर आगामी दिनले दिनेछन्। कथम कदाचित कमजोर भए भने दोश्रो नम्बर माओवादी केन्द्रकै हो। यसमा कोही पनि भ्रमित हुन र आत्मरति लिन आवश्यक छैन।  माओवादी केन्द्रका त कुरै छाडौ कम्युनिस्ट नै अब काम छैन भनेर हिडेका बाबुराम भट्टराई पनि अछुतो रहने छैनन् ।   पोल्याण्ड, चिली, इन्डोनेशिया लगायतका देशहरुको  अवस्थावारे एक पटक स्मरण गर्न आवश्यक छ। माओवादीलाई सिध्याएपछि ने.क.पा.(एमाले) को पालो आउने छ किनभने अमेरिकी साम्राज्यवादले कम्युनिस्ट नाम गरेका  राजनीतिक पार्टी र हसिया हतौडा अंकित झण्डा देख्न चाहदैन। यतिसम्म हुन सक्ने छ कि झापा विद्रोह, हररे-बररे किसान आन्दोलन अर्घाको मूर्ती काण्ड लगायतका मुद्दा ब्युंझिन पनि सक्नेछन् । भारतको पश्चिम बंगालको अवस्थामा पुर्याउने कुरा त एमालेको चुनावचिन्ह जत्तिकै छर्लङ्ग छ। अन्य सानातिना कम्युनिस्ट पार्टीहरु त त्यसै पनि अस्तित्व रक्षाको लागि चिन्तित छन् ।
  संसदवादी कम्युनिस्ट पार्टीहरु खास गरेर एमालेको र
माओवादीको नेतृत्व पंतिले साम्राज्यवाद र दलाल पुजीवादलाई खुसी पार्न प्रयास नगरेका पनि होइनन्  तर साम्राज्यवादको आवश्यकता र चाहना अनुसारको परिमाणमा गर्न सकेनन्। किन गर्न सकेनन् भने यिनीहरु साम्राज्यवादद्वारा जन्माइएका होइनन् । यिनीहरु त श्रमजीवी र देशभक्त जनताले आन्दोलनमार्फत स्थापित गरेका हुन् र पछिल्लो चरणमा श्रमजीवीहरुको मुक्ती र राष्ट्रिय स्वाधीनताको आन्दोलनबाट विचलित भएका हुन् ।
त्यसैले साम्राज्यवादले आफैले जन्माएका दलालहरुलाई शासन सत्तामा पुर्याउन चाहन्छ ताकी उसले आफना राजनीतिक, आर्थिक र सैन्य योजनाहरु निर्वाद रुपमा
लागू गर्न सकोस् ।
समयमै  उपरोक्त परिस्थितिको आंकलन गरि  नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न र देशलाई बर्वाद हुनबाट जोगाई अग्रगामी निकास दिन हरेक कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले कम्युनिस्टका विरुद्ध कम्युनिस्ट लडाउने साम्राज्यवादी षड्यन्त्रलाई  असफल पार्नु आजको आवश्यकता हो। साम्राज्यवाद र दलाल पुजीवादको स्वार्थ पूरा गर्ने मिसनमा संचालित केही संचार मिडियाहरुले बोलाएकोमा गर्व गर्दै अन्य कम्युनिस्ट पार्टी र नेताहरुलाई तथानाम आरोप लगाउन पाउँदा बडो खुसी हुने  र आफू सबैभन्दा अब्बल क्रान्तिकारी भएको आत्मरती लिन कम्युनिस्ट नेताहरू जुन  अनुभववाद र जडशुत्रवादको सिकार भएका छन् तिनीहरूले पनि अब गम्भीर रुपमा सोच्नु आवश्यक छ। नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापुर्वक सोचेको मात्र छैन कि नवौ केन्द्रीय समितिको चौथो पूर्ण बैठक पश्चात् बसेको केन्द्रीय समितिको विशेष बैठकमा राजनीतिक तथा संगठनात्मक प्रस्ताव प्रस्तुत र व्याख्या गर्दै महासचिव क. विप्लव सीले जोड दिएर भन्नू भयो कि  ” वर्तमान अवस्थामा  देशका कुनै पनि कम्युनिस्ट पार्टी  हाम्रा विरोधी होइनन् । गणतान्त्रिक धारका जुन कम्युनिस्ट होइनन् तिनीहरू विरोधी होइनन् ।  साम्राज्यवादी हस्तक्षेपका विरोधी  देशभक्तहरु , मध्यम वर्गहरु पनि विरोधी होइनन् । केवल अमेरिकी साम्राज्यवाद र  त्यसले जन्माएका  ,घरेलु नोकरहरु र गणतान्त्रिक धारको कभरमा लुकेका  दलालहरु मात्र नेपाली जनताका दुश्मन हुन् ।” यस भनाइलाई  आत्मसात गरि स्वही अनुसारको व्यवहार गर्न सिङ्गो पार्टी  एक ढिक्का भएको छ ।
अहिले बदलिएको देशको राजनीतिक परिस्थितिलाई ठोस रुपमा विश्लेषण गर्ने, दुष्मनलाई चिन्ने र आफुलाई चिन्ने र स्वही अनुसारको कार्यनीति र रणनीति बनाउने काममा कुनै पनि कम्युनिस्ट पार्टीले  ढिला गर्नु हुदैन।
अहिलेको अर्थराजनीतिक संकटको हल २०४७ मा फर्केर संभव छैन। त्यो पराजित शक्तिको छट्पटी मात्र हो।
यथास्थितिबाट पनि संभव छैन भन्ने कुरा करिबकरिब सर्वसम्मत नै भएको छ । त्यसकारण अग्रगामी निकास नेपाली विशेषताको समाजवाद नै हो । त्यस दिशामा अघि बढ्न सम्पूर्ण कम्युनिस्टहरु, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु र देशभक्तहरुलाई एकजुट बनाउनु नै आजको ऐतिहासिक कार्यभार हो ।

२०८०पुस ५


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।