१२ पुष २०८१, शुक्रबार

पाँचथरमा अन्तरक्रिया सम्पन्न, नेकपा महासचिव विरुद्धको पक्राउ पुर्जीको चर्को विरोध

0

पाँचथर: नेपाल कम्युनिस्ट पार्टी पाँचथरको आयोजनामा आज एक अन्तरकृया भएको छ ।
“तीन बुँदे सहमति, वर्तमान राजनीतिक संकट र आगामी निकास” विषयक अन्तरकृया कार्यक्रम भएको हो । पत्रकार महासंघ पाँचथरको सभाहलमा भएको अन्तरकृयामा नेकपाको तर्फबाट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको उपस्थिति रहेको थियो । तीन बुँदे सहमति, आजको राजनीतिक संकट र निकासबारे सुमनसिंहले पार्टीको तर्फबाट विषय राखेपछि सहभागी नेता तथा विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुले अन्तरकृयाको सन्दर्भमा आफ्नो भनाइ राखेका थिए ।

काठमाडौँ जिल्ला अदालतले नेकपाका महासचिव विरुद्ध जारी गरेको पक्राउ पुर्जीले सबै क्षेत्रमा तरङ्ग आएको र अदालतको यो कदम एकदमै गलत भएको सहभागीले बताए । माओवादी केन्द्रका पाँचथर इन्चार्ज विशाल रसाइलीले विप्लव विरुद्ध भएको पक्राउ पुर्जीको पछाडि षड्यन्त्रको गन्ध आएको बताए । अहिले सत्ता साम्राज्यवादीहरुको नियन्त्रणमा भएको र यहाँ सरकारलाई समेत अप्ठ्यारोमा पारेर गतिविधि भएको बताए । उनले पक्राउ पुर्जी गलत भएको टिप्पणी गर्दै विरोध गरे ।

त्यस्तै नेकपा एमालेका नेता विजय लाओतीले अहिलेको सरकार विगत सरकारको अबिछिन्न उत्तरआधिकारी भएकोले तीन बुँदे सहमति यो सरकारले कार्यन्वयन गरिहाल्नु पर्ने भनाइ राखे । उनले तीन बुँदे कार्यन्वयनको कसले बाधा हाल्यो? कुन शक्तिको दबाब छ त्यो कुरा यो सरकारले नागरिकलाई भन्न सक्नु पर्यो भन्दै आक्रोश पोखे । नेकपा एमाले नेकपासँग भएको सहमति कार्यन्वयनको पक्षमा भएको उनले बताए । उनले अब समाजवादी धाराको मोर्चालाई विस्तार गर्ने बेला आएको बताए । विप्लवलाई नेपाललाई निकास दिनेगरी सबै वामशक्ति र कम्युनिस्टहरुको बिचमा मोर्चाबन्दीको प्रयत्न गर्न भूमिका खेल्न अनुरोध गर्दछु भन्दै उनले पक्राउ पुर्जीको विरोध गरे ।

अन्तरकृयामा नेकपा (एस) का दलजीत राई, उद्योग वाणिज्य संघका पाँचथर अध्यक्ष नवराज घिमिरे, जिल्ला वन कार्यालयका अधिकृत शिवनारायण यादव, संघिय लिम्बुवान मंचका भानुभक्त फियाक, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बास्कोटा लगायत विभिन्न बुद्धिजिवि, मानवअधिकारवादी वक्ताहरुले अन्तरकृयाको विषयउपर आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण तथा अध्यक्षता पार्टीका पाँचथर जिल्ला इन्चार्ज सन्तोष सीले गरेका थिए ।

अन्तरकृयामा पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले पार्टीले गरेको पछिल्लो संश्लेषण र त्यसले नेपालको राजनीतिमा पारेको प्रभावपछि अमेरिका अत्ताल्लिएर नेकपा विरुद्ध हमला सुरु गरेको बताए । एमसिसीपछि नेपालमा अमेरिकन साम्राज्यवादी शक्तिको हस्तक्षेप तिब्रतामा बढेको कुरा जनतामा लैजादै राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति नेपाली जनतालाई अपिल गर्दै अगाडि बढेको नेकपाको वरिपरि नयाँ नयाँ मोर्चाको संभावना देखापरेपछि महासचिव विरुद्ध पक्राउ पुर्जी जारी भएको सुमनसींह सीले बताए ।
उनले नेपालमा राजनीतिक संकट गहिरिएर गएको र अब यसको निकासको निम्ति समाजवाद चाहने अर्थात अग्रगामी शक्तिहरु तयार हुनु पर्ने बताए । यथास्थितिवादी र प्रतिगामीहरुले यो देशलाई पश्चिमा स्वार्थमा धकेल्ने खेल खेलिरहेकोप्रति सचेत हुँदै नेपाली विशेषताको समाजवादको निम्ति सबै तयार हुन र मोर्चाबद्ध हुन तयार रहनु पर्ने उनले बताए । अब कोही तर्किएर, धेरै पर-पर गएर होइन निकासको निम्ति गम्भीरतापूर्वक अग्रगामी कार्यभार पूरा गर्न लाग्नु पर्ने सिंहले बताए । उनले तीन बुँदे सहमतिप्रति गम्भीर हुन सरकारलाई खबरदारी समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।