१० पुष २०८१, बुधबार

कृषिलाई उद्योगसँग जोड्नुपर्छ

0

हाम्रो पार्टीको गतवर्ष सम्पन्न नवौँ महाधिवेशनले जसरी  सिङ्गो पार्टी र पार्टीका नेताकार्यकर्ताहरु उत्पादन कार्यमा लाग्ने निर्णय  गर्याे, त्यसले नै हामीलाई सामुहिक  कामहरुका लागि  दिशानिर्देशन गरेको छ । यद्यपी कृषिप्रति हाम्रो पहिलेदेखि नै लगाव थियो । यदि हामी साच्चै देशलाई समृद्ध  र आत्मनिर्भर बनाउन चाहन्छौँ भने पार्टीको नेतृत्वदेखि आम नेताकार्यकर्ता र जनताहरु उत्पादनमा सहभागी बन्नैपर्छ । यसरी मात्रै देशको आफ्नै अर्थतन्त्र निमार्ण हुनसक्छ र आजको संकटबाट देशले निकास प्राप्त गर्नसक्छ।

हामीले अहिले ४ विघा जमिनमा खेतीपातीको सुरुवात गरेका छौँ । आलुखेती सकिएसङ्गै भर्खरै  २० हजार  तरबुजाको बेर्ना रोपेका छौँ । प्रति विरुवा न्यूनतम ५ के.जी.देखि १० के.जी.सम्म उत्पादन हुने हाम्रो अनुमान छ । यसमा तत्काल मकै पनि छर्ने र अन्य अन्तरवाली लगाउने सोचमा छौँ । सँगसँगै काक्रा पनि रोप्ने तरखरमा छौं  । हामीले उत्पादन थालेको यो पहिलो वर्ष भएकोले यो सिकाईको वर्ष पनि भयो । यसमा मुख्य गरी समयमै बिउ-मल उपलब्ध हुने कुरा, निरन्तर काममा संलग्न जनशक्ति र कृषि खेतीलाई आवश्यक पर्ने प्रविधि हाम्रा लागि अनिवार्य र महत्त्वपूर्ण छन् । अब प्रविधिको प्रयोग नगरी हामीले कृषि वस्तुमा उत्पादकत्व वृद्धि गर्न सम्भव छैन । यो वर्ष काममा सहभागी केही श्रमिकहरुलाई ज्याला स्वरुप करीब २ लाख ५० हजार नगद वितरण गरिसकेका छौँ । यसले एकातिर स्थानीय जनताले रोजगार पनि पाएका छन् तर उत्पादनलाई मुनाफामा लैजाने हो भने अब भौतिक श्रममा मात्रै भर परेर पुग्दैन ।श्रमकार्यमा प्रविधिको प्रयोग गर्नैपर्छ भन्ने हो । यदि हामीले श्रममा मेशीनको प्रयोग गरेको भए ५० देखि ६० हजारले नै उक्त काम सम्पन्न हुन्थ्यो । यसपाली आलु खेतीमा मात्रै २ लाख जति ज्यालामा खर्च भयो । स्थानीयहरु विशेषत: महिलाहरु काममा जोडिनु भयो । उहाँहरुले प्रतिदिन रु. ६ सयका दरले ज्याला प्राप्त  गर्नुभएको छ ।

आलु खेतीमा दुई /तीन ओटा कमजोरीसहितका शिक्षाहरु प्राप्त गर्याैँ । पहिलो कुरा खेतीपातीमा माटोको सही ढंगले तयारी गर्नु पर्दाेरहेछ । त्यसैगरी सहि खालको बिउ बिजन पनि जरुरी रहेछ । पहिलो वर्षको काममा हतारहतारले गर्दा बिउँको छनौटमा समेत केही कमजोरी रहेको छ । तेस्रो कुरा सही मल र त्यसको पनि सही तरीकाले प्रयोगको पक्ष पनि निकै महत्वपूर्ण हुँदो रहेछ । लगाउने तरिकामा पनि हाम्रा केही कमजोरी रहेका छन् । यि ती /चार कुराहरुमा मात्रै ध्यान  दिएको भए उत्पादन भएको २ सय ५० क्वीन्टल आलुलाई ५ सय क्विन्टलसम्म सजिलै पुर्याउन सकिदो रहेछ ।

जहाँसम्म बजारको कुरा छ, त्यो त्यति समस्या हो जस्तो लाग्दैन । अहिले आलु होलसेलमा प्रति के.जी. रु. २५ का दरले बेच्ने  सम्झौता गरिसकेका छौँ । यो तहको मुल्य पाउने कुरा किसानका लागि राम्रै कुरा हो । हाम्रो नजिकै कोल्ड स्टोर पनि छ, अब उत्पादित आलुलाई कोल्ड स्टोरमा पनि भण्डारण गर्न सकिने स्थिति छ ।

हाम्रो उत्पादनलाई  व्यवसायीकरण, बजारीकरण गर्दै प्रोसेसिङमा लैजानुपर्छ । कृषि व्यवसाय प्राथमिक  कच्चापदार्थ जस्तै हो । यसलाई औद्योगीकरणसँग जोड्न जरुरी छ । त्यसो नगर्ने हो भने दीर्घकालमा केही समस्या अवश्य आउँछन् । हामीले कृषि उत्पादनसँगै पशुपालन, माछापालन, कुखुरा पालन जस्ता अन्य योजनालाई पनि सँगसँगै एकीकृत गर्दै लैजानुपर्ने हुन्छ, त्यो यहाँ सम्भव पनि छ ।
उत्पादनको स्वामित्वको चरित्रका दृष्टिले हाम्रो पार्टीले एकीकृत स्वामित्वमा आधारित  अर्थप्रणालीको प्रस्ताव गरेको छ । त्यसलाई व्यवहारिक ढंगले प्रयोगमा लिन खोज्दैछौँ । हाम्रो फर्ममा लगानीका हिसाबले पार्टी केन्द्रीय कार्यलयको सेयर छ । यसैगरी पार्टीको ब्युरोको पनि सेयर छ, कैलाली जिल्लाले पनि केही लगानी गरेको छ । त्यस्तै ज.व.स.मोर्चाहरुको पनि केही न केही सेयर छ । यसरी नै व्यक्तिगत रुपमा पार्टीका नेताकार्यकर्ताहरुको पनि सेयर राख्ने व्यवस्था गरेका छौं  । अब यसमा जनताको पनि लगानी जुटाउने गरी सोच्दैछौँ । यो नै वास्त्वमा एकीकृत स्वामित्वको सहि प्रयोग पनि हो ।

हामी कृषि उत्पादनमा अगाडि बढ्दै गर्दा यसका केही चुनौती पनि महसुस गरेका छौं  । मुख्यगरी भारत लगायत बाहिरबाट आउने वस्तुले हाम्रो स्वदेशी उत्पादनलाई नकारात्मक प्रभाव पारिरहेको छ । यसलाई व्यवस्थित गर्न राज्यले ध्यान दिनुपर्छ । क्वारेनटाईनको व्यवस्था गर्नुपर्छ । छिमेकी देशको कृषि उत्पादनमा राज्यले ठुलो मात्रामा अनुदान दिइनु, खेतीपातीमा आधुनिक प्रविधिको प्रयोग गरिनु र  प्रति इकाई  लागत पनि हाम्रो भन्दा  थोरै हुन्छ । त्योसँग एउटै बजारमा प्रतिस्पर्धा  गर्ने कुरा नेपाली किसानका लागि निकै असम्भव छ । यसमा राज्यको ठोस र स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने नीति चाहिन्छ । हाम्रो अहिलेको उत्पादन अभियान समाजवादी अर्थतन्त्रको अभ्यास र समाजवादी क्रान्तिको प्रारम्भिक  चरण वा तयारी  हो । यसलाई समाजवादी क्रान्तिको प्राप्तिको चरण पनि भन्न सकिन्छ । उत्पादनका काममा हामी सबै जोडिनुपर्छ । यसमा नै देश र जनताको भविश्य  छ । श्रम नै समाज विकासको मुख्य आधार हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ । यो कुरा जनतालाई भन्न पनि जरुरी छ ।

अहिले ८/९ कक्षा पढ्दापढ्दै युवाहरुलाई विदेशका सपना देखाइदै छ, यो दीर्घकालका लागि डरलाग्दो समस्या होे । अहिले युवाहरु मात्र  होइन, साना-साना केटाकेटीहरु पनि स्वदेशमा नरहने स्थिति बढ्दैछ ।अब उनीहरु नफर्केलान् जस्तो भयो । देशका लागि यो ठुलो खतराको संकेत हो । यस्तोबेला श्रम गर्नुपर्छ, उत्पादनमा जोडिनुपर्छ, देशमै संभावनाको खानी छ, तराईका फाटहरु छन्, पर्यटनको संभावना छ, जडीबुटी र  हिमालहरु प्रचुर मात्रामा छन् । यी हाम्रा संभावनाहरु हुन् भनेर आशाका किरणहरु देखाउनु पर्याे । श्रमप्रति माया गर्ने, उत्पादनमा जोडिने गरेपछि नै समृद्धि आउँछ  । यसमा राज्यको अभिभावकत्व  जरुरी पर्छ तर राज्य नै फ्री भीसा, फ्री टिकट भनेर युवायुवतीलाई  विदेश पठाउने काममा लागिरहेकोे छ । यसले तत्काल रेमिट्यान्स प्राप्त भएर सरकारको प्रशासन सञ्चालन गर्न सकिएपनि भोलि त राज्य नै मगन्ते हुन्छ नि ! अहिलेको जो आर्थिक संकट छ, त्यसको  प्रमुख कारण पनि नेपालको आफ्नै उत्पादन र आफ्नै जागमा खडा भएको अर्थतन्त्र नहुनु नै हो । यसको पछाडि अहिले जुन दलाल पुँजीवादी व्यवस्था छ, समस्याको कारण पनि त्यही नै हो । त्यसको अन्त्यको लागि हामीले आन्दोलन चलाइरहेका छौं । यसको समाधान नेपाली विशेषताको समाजवादले गर्ने हाम्रो  विश्वास छ ।

२०८० चैत ७
(नेकपा नेता एवम् सेती ब्युरो इन्चार्ज भगतसिंहसङ्ग शेरबहादुर विश्वकर्माले गरेको कुराकानीमा आधारित सामग्री)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।