६ पुष २०८१, शनिबार

मुटु टुक्रिएको आत्माभित्र पीडा बोधका गाँठाहरु

0
  1. ‘मेरो मुटु टुक्रिएको छ, मेरा पीडाहरु जतिसुकै लुकाउन खोजेपनि म लुकाउन सक्दैन । म त्यो दिनको कहाली लाग्दो घटनालाई सम्झिन पनि सक्दैन । मेरो मन अहिले पनि भक्कानिएर आउछ’ यो भनाई सहिद सिजनराज पाण्डे (प्रभात)का बुवा सुदर्शनराज पाण्डेको हो ।
    विस २०८१ साल जेठ १५ गतेको दिन थियो । म सहिदका बुवा सुदर्शनराज पाण्डको काठमाडौँस्थित थानकोटको घरमा पुगेको थिए । उनले आँखाबाट धरधरी आँसु झार्दै गर्दा मेरा आँखा पनि रसाउन थाले । ६६ बर्ष पुगेका र केस पाकेका बुवा पाण्डेले आँसु झार्दै गर्दा म पनि निकै भावुक भए । उनका जेठा छोरा सुरजराज पाण्डे, बुहारी निर्मला विष्ट पाण्डे र एक नातिनी निरिस्मा पाण्डे घरमा थिए ।
    सुदर्शनको एक छोरी पुजा पाण्डे भने हाल विहेवारी गरी अमेरिकामा रहेछन् । उनका सहिद भएका छोरा सिजन कान्छा छोरा थिए । जनयुद्धमा सहिद भएका छोरा सिजनको फोटाहरु घरको चारैतिर टाँसिएका थिए । छोरा सिजन सहिद भईसकेपछि शालिक बनाई प्रचण्डबाट अनावरण गरिएको फोटा समेत घरको भित्तामा टाँसिएका थिए । बुवा सुदर्शनले फोटो देखाउदै भक्कानिदै भन्दै थिए ‘यो सहिद भईसक्यो ! यो सहिद भईसक्यो ! हाम्रो सामु छैन । यसको सपना पूरा भएको पनि छैन । आज हामी सहिद परिवार बेवारिसे अवस्थामा छौ ।’ उनी थप भक्कानिदै भन्दै थिए ‘मेरो मुटुको टुक्रा चुट्टिदा कति पीडा छ, उ सहिद भएको पीडा भन्दा उसको नाममा बनेको शालिक भत्किएको पीडा मेरो मनमा धेरै छ । उसको पीडाले उसको आमा पनि तड्पि-तड्पि बित्यो, उसको आमा पनि भूमिगत भएदेखि फेरी घर नर्फिकिएको पीडा सहन नसकेर बित्यो ।’
    बुवा सुदर्शनले यसो भनिरहदा मैले मेरो मनलाई समाल्ने प्रयास गर्दै सहिद भएको घटना विवरण सोध्ने प्रयास गदै थिए । मेरो मनमा पनि निकै भावनाका छालहरु छछल्कीरहेका थिए । क. सिजन घरका भित्ता भित्ताबाट हामीलाई नियालिरहेका थिए । उनी गणतन्त्र ल्याउने आन्दोलनमा रगत बगाउने योद्धा पनि थिए । तर गणतन्त्र जनता र सहिद परिवारको घर आँगनमा नपुगेको कुराले पीडाबोध थियो । उच्च बलिदान गर्ने सहिद सिजन भित्ताबाट बलिदानप्रति हाँसीरहे पनि गणतन्त्रको दुरुपयोगप्रति खबरदारी गरिरहेका थिए । बुवा सुदर्शन भने पीडा बोधका गाँठाहरु फुकाईरहेका थिए । म सहिदको भावना र मन मुस्कानलाई नियालिरहेको थिए । बुवाको पीडावोधलाई पनि नियालिरहेको थिए । सहिद सिजनको आत्माले भनिरहेको थियो, ‘मेरो लागि नरुनु ! म देश र जनताको लागि सहिद भईसके ! म मरेको छैन, बाँचिरहेको छु !’ सहिदको आत्माले यसो भनिरहदा पनि बुवा सुदर्शनको पीडावोध रोकिएन । मेरो पनि गहभरी आँसु थियो । तर पनि म अगाडि बढ्नु बाध्यता थियो । आखिर घटना के हो ? कसरी भएको हो ? भन्ने कुरा सोध्न पनि मलाई निकै गार्हो भइरहेको थियो । सहिद सिजनको घटना मेरो लागि खोतल्ने प्रयास चुनौतीपूर्ण थियो । मैले खोतल्ने प्रयास गरिरहेको थिए ।
    बुवालाई सम्झाउदै नरुनु ! जेहुनु भईसक्यो ! रोएर केही हुदैन । तर पनि बुवाको आँखा रसाउन छोडेन । उनले भक्कानिदै भने ‘मेरो कान्छो छोरा सिजनराज पाण्डे अहिले कहाँ छ ? कस्तो अवस्थामा छ ? उसको सपना कहाँ छ ? कस्तो अवस्थामा छ ? किन आज सहिदहरु सम्मानीत अझै हुन पाएका छैनन् ? यो कस्को व्यवस्था हो ? के हाम्रा छोराहरुको रगत यहि देख्न बगेको हो ? यो गणतन्त्र हो की ? लुटतन्त्र हो ? उ मेरो मुटुको टुक्रा थियो । धेरै माया गर्ने छोरा हो । आज उ विना मेरो घर र मेरो सिंगो देश अध्यारो छ ।’
    सहिद सिजनको जन्म विस २०४१ साल साउन १ गते काठमाडौमा भएको थियो । विविएस चौथों बर्षमा तत्कालिन वीरगञ्ज उपमहानगरपालिकाको ठाकुरराम बहुमुखी क्याम्पसमा सिजन अध्ययन गरिरहेका थिए । सिजन निकै टाठो बाँठो,अध्ययनशील र चलाख विद्यार्थी थिए । सिजन पढदापढदै माओवादी जनयुद्धप्रति झुकाब राखिरहेका थिए । एक क्रान्तिकारी विचार र भावनाका धनी भएकाले उनको बुवा आमा घर परिवार भन्दा पनि देश र जनताको चिन्ता गर्ने विचार थियो । जसले गर्दा उनी नेकपा (माओवादी)मा पूर्णकालिन भएका थिए । त्यतिबेला बुवा सुदर्शनराज पाण्डको वसाई वीरगञ्ज उपमहानगरपालिकाको वडा नम्वर १४ रानीघाटमा थियो । सुदर्शन पेशाले पत्रकार थिए । जनयुद्ध तिव्रगतिमा अगाडि बढिरहेको थियो । विस २०६० साल असोज महिना थियो । दसै घरमै मनाएका सिजन एक्कासी घर परिवारबाट सम्पर्क विहिन भए । घरपरिवारले साथीभाई कहाँ गएको होला भनेर सोचेका थिए । तर ८ महिना सम्म पनि घरमा केही खवर पाईएन । सिजन घरपरिवारलाई पनि थाहै नदिएर माओवादीको पूर्णकालिन कार्यकर्ता भएर भूमिगत भएका थिए ।
    बुवा सुदर्शनले भने ‘मलाई माओवादी भएको पनि धेरै दिन पछि थाहा भयो । ८ महिना पछि आमालाई फोन गरेको रहेछ । म घर आउछु आमा ! माओवादी भएको छु भनेको थियो । तर उ कहिलै घर आएन । उसको आमा विन्दादेवी पाण्डे पनि निकै चिन्तित थिईन । हामी सबै घरपरिवार चिन्तामा पर्यौ । तर पनि मलाई छोरा देश र जनताको लागि लड्न गएको अनुभूति भईरहेको थियो । मैले घरपरिवारमा सम्झाउने प्रयास गरेको थिए । अपसोच ! एकाएक मेरो लागि औसीको रात आईपर्यो । म आफै समालिन नसक्ने खवर सुन्नु पर्यो ।’
    आमा बुवाको अति प्यारो छोरा भुमिगत भएको १८ महिना पछि सिजन सहिद भए । सहिद सिजन माओवादी भएको दिनदेखि घरभेटघाट सम्म आउन पाएनन । उनी जनमुक्ति सेनामा भर्ना भएर दुश्मनसंग विभिन्न लडाईमा भाग लिए । छोरा माओवादी भएकै कारण घरमा भएका जेठाा छोरालाई समेत पुलिसले दुख दिन सम्म दियो । बुवा सुदर्शनलाई समेत २०६० सालतिर २ पटक पक्राउ गरेर हिरासत सम्म पुर्याउने काम गरयो । यस्तो गरिरहदा पनि पाण्डे परिवारले दुश्मनसंग मुकाविला गरेकै थियो । तर छोरा सहिद भएको खवर पाउदा बुवा सुदर्शन भने बेहोस भए ।
    बुवा सुदर्र्शनले भने ‘म पत्रकार पनि हुँ । म एउटा उत्थान साप्ताहि पत्रिकामा २०४१ साल देखि काम गर्थे । विस २०६२ साल माघ २४ गतेको कालो दिन थियो । म एउटा राष्ट्रिय दैनिक पत्रिकाको लागि समाचार लेखिरहेको थिए । साँझको करिब ८ बजेको थियो । मलाई एक्कासी अपरिचित ल्याण्ड लाईन नम्वरबाट फोन आयो र भनियो तेरो छोरा मरिसक्यो ! हामीले मारिसक्यौ ! म झस्कीए ! ए ! कोहो तपाई के भन्दै हुनुहुन्छ ? भन्दै थिए तर फोन नै राख्यो । मेरो दिमागले काम गर्न छोड्यो । मैले सोच्न सकिन । पत्रिकाको काम छोडे छु । केही समय बेहोस भएछु । घरपरिका सदस्यहरु पनि होसमा थिएनन । त्यतिवेला राजा ज्ञानेन्द्र्रको स्थानीय तहको निर्वाचिन र चर्को दमन थियो । सेना पुलिसहरुले जतिवेला पनि रातीवाहिर जान दिदैन थिए । रातभरी पीडाबोधले छटपटि रहे, निन्द्रा लागेन,आँखा पनि ओभानो भएन । तर पनि मनलाई समाल्ने कोशिस गरे ।’
    उनले घटनाका वारे थप भन्दै गए । म पनि निकै भावुकताका साथ सुन्दै गए । उनले भने ‘अर्को दिन झिसमिसे उज्यालो भयो । मैले छोरालाई कहाँ कसले मारेको होला भनेर बुझने प्रयास गरे । तर आर्मीले मारेको हो भनेर थाहा पाए । आर्मीले रौतहट जिल्लाको तत्कालिन पचरुखी गाविस छतिबनमा माओवादीको कार्यक्रम भइरहेको बेला घेराहाली सिजनलाई कब्जामा लिएर चरम यातना दिएर मारेको थाहा पाए । म एक्लै छोराको लास लिन पनि जान सक्ने अवस्था थिएन । मलाई पनि माओवादीको आरोपमा मार्नसक्थ्यो । मैले विचार गरेर मात्र जानुपर्ने अवस्था आयो । परिवारका केही सदस्यहरु काठमाडौ थिए । मैले काठमाडौ जाने निधो गरे र काठमाडौ गए ।’
    बुवा सुदर्शन त्यसपछि पीडाबोधको भारी बोक्दै काठमाडौ आए । काठमाडौमा आएपछि उनले मानवअधिकारकर्मी सुदिप पाठकलाई फोन गरेर घटना बारे जनाकारी दिए । तर पनि मानबअधिकारकर्मीहरु पनि घटनास्थल जान सक्ने अवस्था थिएन । आफै पत्रकार थिए पाण्डे ! तरपनि तत्कालिन सरकारको अमानवीय व्यवहारले पत्रकार मानबअधिरकर्मी सम्म भन्दैन थियो । जसले गर्दा सुदर्शराज पाण्डे छोराको लास लिन सम्म जान कठिन भयो । बुवा सुदर्शनले भने ‘आखिर जसरी पनि मारेपनि मार्छ लास खोज्न जाउँ भनेर ६ दिन पछि केही घरका सदस्यहरु हत्या गरिएको ठाउँमा गयौ । प्रहरीको एसपीलाई भेटियौ र मेरो छोरालाई किन मार्नु भयो ? मेरो छोराको लास दिनुहोस भनेर भने उसले भन्यो ‘हामीले होइन आर्मीले मारेको हो । तपाईको छोराको लास हामी दिन्छौ । तर जहाँ छ त्यही सतिगति गर्नुहोस ।’ त्यसपछि लास गाडिएको ठाउँतिर गयौ । सयौको लास गाडिएको ठाउँ थियो । नेपाल भारतको सीमा क्षेत्र थियो छतिबन । मेरो छोराको लास भेटाउन सकस भयो पाण्डेले भने ।’ पाण्डे परिवारको यो पीडा सानो थिएन । उनको घरमा ठुलो व्रजपात थियो । नत पार्टी सम्पर्क नै थियो नत अरु कुनै आफन्तको सम्पर्क र साथ नै थियो । तर पनि यो व्रजपात पचाउनुको विकल्प पाण्डे परिवारमा थिएन ।
    कुरा गर्दै जाँदा आँखाबाट आँसु झारिरहेका र भक्कानिएका पाण्डेले मनलाई थाप्न सकेनन् । घुक –घुक गर्दै रुन थाले ! मैले पनि मनलाई समाल्ने कोशिस गर्दै घटना विवरण खोतल्दै गए । पाण्डेले फेरी भने ‘७ बटा लासको खाडल खनेर हेरेपछि बल्ल सिजनको लास गाडेको ठाउँ भेटियो । मैले लासमा हेर्न सकिन । म होसमा थिएन । सिजनलाई अमानवीय यातना दिएर छातिमा गोली हानेर मारेको रहेछ । लास भत्भति कुहिएर गनाएको थियो । चिन्न नसकिने अवस्था भएको थियो । हामी त्यहाँ गएका सबै जना भक्कानिन थाल्यौ । हाम्रो पीडा सुनिदिने र आँसु पुछिदिने कोही नै थिएन । हाम्रो आँसुमाथि पुलिसहरु हाँसी रहेका थिए । उनको लागि खुसी थियो होला मेरो लागि पीडाबोधको गाँठो थियो । रुदा रुदा आँसु नै सकियो । अब दुश्मनको अगाडि धेरै रुनु पनि उचित थिएन । प्रहरीले लासलाई टाढा वा घर लिन नपाईने उर्दी दियो । मैले लासलाई घर लिन दिनुहोस भन्दै अनुरोध गरे । तर पुलिसले त्यो कुरा मान्न तयार थिएन । आफ्नै मुटुको चोक्टा लिन नपाईने भयो । अहँ ! उ पक्कै पनि जीवित त थिएन । तर उसको लास पनि लिन दिएन । त्यो पीडा सबै व्यक्त गर्न सक्दिन अहिले ! त्यही ठाउँको किनारमा श्रद्धाञ्जली तथा सतिगति गरेर घरफर्किन बाध्य भयौ ।’
    यो घटनपछि सुदर्शनराज पाण्डेलाई समालिन नसकिने अवस्था आयो । एकातिर मुटुको टुक्रा टुक्रिएको पीडाबोध छदै थियो भने अकर्।ेतिर पुलिस प्रशासनले उनलाई निगरानीमा पनि राखेको थियो । कुनैबेला अरु घरपरिवारको पनि हत्या नहोला भन्न गार्हो थियो । तर पनि चुनौतीहरुको सामना गर्दै पााण्डे परिवार अगाडि बढयो । छोरा सहिद भएको घटनालाई लिएर बुवा पाण्डेकी छोरी पुजा पाण्डेले भाईको हत्यारा अरु कोही नभएर बुवा आफै भएको आरोप लगाईन । किनकी पुजाले पार्टीका साथीभाईहरु घरमा ल्याउने र बसाल्ने गरेकाले भाई माओवादी भएको र आर्मीले हत्या गरेको भन्दै त्यो घटनाको दोषी बुवालाई बनाईन् । यो कुराले बुवा पाण्डेको मन झन छिया– छिया भयो । कुराकानीको क्रममा बुवा पाण्डेले छोरीले भनेको कुरा सम्झिदै निकै भक्कानिए । तर पनि छोरीको बुझाई पीडाबोधले आएको भन्दै समालिन थाले । बुवा पाण्डेले देश र जनताको मुक्तिका लागि छोराले उच्च बलिदान गरेको बुझाई राखे । उनले एक हिसावले मनलाई समाल्न थाले । पाण्डेलाई अहिले छोराको बलिदान सामान्य नभएको बुझाई छ । उनको छोराको पीडाले नै आमा विन्दादेवी पाण्डेको २०७३ साल असार ५ गते निधन भएको छ । यसले पाण्डेलाई अझै भावविहल बनाएको छ । छोराको पीडा बोधले थलिएका सुदर्शनराज पाण्डेको जीवनसंगीनी समेत गुमाउनु पर्दा थप पीडामाथि पीडा थपिएको छ ।
    उनलाई छोरा सहिद भएको पीडा र जीवन संगीनको मृत्युु भएको पीडा त छदै थियो । अझै त्यो भन्दा बढी सहिद भएको छोराको शालिक मधेस आन्दोलनका क्रममा भत्काईएको पीडाले उनलाई भल्भल्ति पोलेको छ । शान्तिप्रक्रिया पछि तत्कालिन नेकपा (माओवादी)ले पर्साको ठाकुरराम वहुमुखी क्याम्पसको अगाडि निकै राम्रो शालिक बनाएको थियो । त्यो शालिकको तत्कालिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २०६९ साल भाद्र १५ गते अनावरण गरेका थिए । तर २०७२ सालको संविधान जारीको समयमा संविधानप्रति असन्तुष्ट मधेसवादी पार्टीहरुले गरेको मधेस आन्दोलनका बेला शालिक भत्काईयो । यो सुदर्शनराज पाण्डेका लागि निकै ठुलो पीडा थियो । पाण्डेले बेला–बेला प्रचण्डलाई शालिक बनाईदिनु पर्यो भन्दा पनि बेवास्ता गरिएको प्रति दु:ख लागेको छ । बुवा पाण्डेले भने ‘मेरो छोरा देश र जनताका लागि सहिद भएको हो । यसमा म गर्भ नै गर्छु । मेरो छोरा मेरको छैन । शालिकमा नयाँ जन्म ल्याएर बाँचेको छ भन्ने लागेको थियो । तर त्यो पनि आज रहेन मलाई धेरै पीडा छ । पार्टीले सहिद परिवारका भावना र आस्थाहरुमाथि सम्बोधन गर्न सकेन भन्ने लागेको छ ।’
    बुवा पाण्डे भक्कानिदै आँसु पुछदै थिए । मैले पटक– पटक सम्झाउने प्रयास गर्दै कुरा गरिएको थिए । समय विहानको ठिक १० बज्न लागि सकेको थियो । पाण्डेका जेठा छोरा सुरजराज पाण्डेले खाना खान बोलाउदै थिए । खाना खाएर पाण्डेका छोरा बुहारी काममा जानुपर्ने थियो । किचनको टेबुलमा खाना खादै थपकुरा गरिरहका थियौ । शालिन र भद्र स्वभावका जेठो छोराले सहिदहरुको सपना पार्टीले पुरा गर्न आग्रह गरे । उनले भने ‘हामी सहिद परिवारप्रति पार्टीले अपमान नगरोहोस । यो व्यवस्था ल्याउने अभियानमा धेरैको रगत बगेको छ, तर हालीमुहाली अरुको छ, पार्टीले ध्यान दिनुपर्छ ।’ यो कुरा निकै गहकिलो थियो । हो मा हो थप्दै मैले उनको कुरा सुनिरहेको थिए । तर पनि त्यसको जवाफ मैले धेरै दिनसक्ने अवस्था थिएन । मैले थोरै भएपनि सम्झाउने प्रयास गरे ‘आज माओवादी जनयुद्धको लक्ष्य पुरा भएन, नेतृत्वमा आएको विचलनले आज सहिद परिवारको अपमान छ, घाईते,वेपत्ताहरुको अपमान छ, जनयुद्ध लडेका योद्धाहरु विदेशका गल्लीहरुमा पसिना बगाउदैछन् । यो प्रतिक्रान्तिको परिणाम हो । क्रान्ति बाँकी छ, अधुरो छ, तपाई हाम्रो सपना पुरा गर्न फेरी लाग्नु पर्ने छ,बाँकी क्रान्तिको नेतृत्व विप्लवले गर्ने आँट गरेका छन, एकपटक साथ दिन आवश्यक छ ।’
    मैले यसो भनिसकेपछि बुवा सुदर्शनले पनि भने ‘सहिद परिवारलाई प्रचण्डले सम्मान दिन सकेनन् । पार्टी विभाजन हुन पर्यो । विप्लवले सहिदहरुको सपना पुरा गर्ने बाचा गरेका छन । केही आस गर्ने ठाउँ त छ । तर पनि माओवादीहरु एकैठाउँ आएर सहिदहरुको सपना पुरा गर्ने तिर लाग्नुपर्छ ।’ सहिद परिवारका यी सुझाव र भावनाहरु माओवादी आन्दोलनका सबै घटक र यसको नेतृत्वहरुका लागि निकै महत्वका छन । आफ्ना आफन्त गुमाएका परिवारहरुले फेरी पनि परिवर्तनको आन्दोलनप्रति माया गर्दै परिवर्तनको नेतृत्व माओवादीहरुले गर्नुपर्ने सुझाव दिएका छन । मुटु टुक्रिदा पनि आत्माहरु विछोड हुदा पनि सहिद परिवारहरुले आफ्ना आफन्तहरुको बगेको रगतप्रति प्रतिबद्ध छन । सहिद सिजनका बुवा सुदर्शनराज पाण्डेको पनि यस्तै हो । सुदर्शन त एक प्रतिनिधि पात्र मात्रै हुन । आज यस्तै पीडाबोध सबै सहिद परिवारका छन । सहिद परिवारले जेजति भावनाहरु र पीडाहरु पोखेपनि यो आन्दोलनको प्रतिविम्व हो । आन्दोलनको पुँजी हो । मैले मनमनै सोच्दै र सम्झाउदै सहिद परिवारको घरबाट विदा हुने निर्णय गरे । दुईहातले नमस्कार गर्दै र हात मिलाउदै सहिद परिवारको घरबाट विदा भए । महान सहिद सिजनराज पाण्डे (प्रभात) प्रति श्रद्धासुमन !
    (मिति २०८१ जेठ १५ गते सहिद सिजनको बुवा सुदर्शनसंग घरमा भेटघाटपछि)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।