सविन सी
गत फागुन ६ गते सुदुरपश्चिमको बझाङ जिल्लामा रहेको बुङ्गल नगरपालिकाको केन्द्र बिचगडा पुगेको थिएँ, सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा भाग लिन । अन्तरक्रियाको आयोजना नेकपाका स्थानीय पार्टी समितिहरूले गरेका हुन् । वर्तमान राष्ट्रिय सङ्कट र समाधान शिर्षकको, अवधारणा–पत्र बोकेर म त्यहाँ पुगेको हुँ । आमन्त्रित वक्ता, श्रोता र नेकपाका नेता–कार्यकर्ताहरूको उपस्थितिमा कार्यक्रम स्थल भरिने गरेका छन् । सहभागिहरूमध्ये केही स्थानीय सरकारका प्रतिनिधि, एमाले, काङ्ग्रेस, माओवादी र रास्वपाका प्रदेश र जिल्ला स्तरका नेता पनि छन्, स् थानीय बुद्धिजीवी र व्यापारीको सहभागिता उल्लेखनीय छ । यस्तो सर्वपक्षीय अन्तरक्रियामा फागुन ८ गते बैतडीको पाटन, फागुन १० गते डडेल्धुराको जोगबुडा, फागुन १२ गते कंन्चनपुरको भीमदत्तनगर, फागुन १४ गते कैलालीको बर्दगोरियामा पनि सहभागि हुने अवसर मिलेको छ ।
सुदुरपश्चिमको सार्वजनिक वृत्तसँगको सर्वपक्षीय विमर्श मेरो लागि पहिलो भएकोले टिप्पणीकर्ताका अनुभूति, सुझाव र आलेचना सुन्ने खुलदुुली मलाई अधिक नै थियो । मैले सहभागिहरू सामु अवधारणा–पत्र प्रस्तुत गर्दै गएँ । भ्रष्टाचार विरोधी अभियान सन्चालन गर्ने क्रममा राज्यको दुई वर्षे प्रतिवन्ध झेलेको, अहिले आत्मनिर्भर उत्पादनको नीति बोकेर श्रम उत्पादनसँग आफू स्वयं जोडिएर स्वाधीनता र समाजवादको उर्जाशील हुटहुटी बाँडिरहेका विप्लव सीले नेतृत्व गरिरहेको पार्टी भएर पनि हो कि, हाम्रा धारणाहरूमा श्रोताहरूको आकर्षण र रुची राम्रो देखियो । औचित्यहीन लामा भाषण र प्रस्तुति सुन्ने र कुर्ने धैर्यतामा नेपाली सामाज अब छैन। बरु विकृत अर्थराजनीतिक कुरुपताका कारण समाजमा विकसित भइरहेको नकारात्मकता, आक्रोश, संशय र असन्तुष्टिको चर्को हमलामा छ आजको राजीतिक वृत्त । सहभागिहरूको टिप्पणी, आक्रोश, सुझाव र प्रश्न धैर्यतापूर्वक सुन्न तयार नभएर एकोहोरो उपदेश र जवाफ दिने सनातनी भाषणशैलीले आजित नागरिकहरूलाई मन खोलेर दोहोरो संवाद गर्ने गरी अन्तरक्रियामा समयको व्यवस्थापन गर्ने गरिएको छ ।
अब टिप्पणीकर्ताहरूले व्यक्त गरेका आशा, आशंका, जिज्ञासा, प्रश्न र सुझावका केही अंशहरूको सारसङ्क्षेप नियालौं– अन्तरक्रिया समसामयिक छ, यसलाई वडा तहसम्म विस्तार गर्नुपर्छ । यो पार्टीले अवलम्बन गरेको उत्पादन नीति सबैले अनुसरण गर्नुपर्छ, राष्ट्रियताप्रतिको यो पार्टीको अडान ठिक छ । नेपालका नेताहरू सत्ताको लागि जस्तोसुकै अनुचित सम्झौता गरिरहेका छन् । कमरेड विप्लवलाई एकपटक काम गर्ने अवसर दिएर परीक्षण गर्नुपर्छ । नेपालमा समाजवादी प्रणाली जरुरी छ, (शिक्षक प्रतिनिधिको भनाइ) । व्यवस्था र कुनै दल खराब छैनन्, नेताहरूको आचरण खराब छ, यसलाई सुधार्नु पर्छ (काग्रेस, रास्वपाका प्रतिनिधिको भनाइ) । ६९३ खरब पैसा छापिएको छ, तर बजारमा १६५ खरब मात्र छ, अरु पैसा कहाँ छ ? खोजतलास गरौं । केपी वली आउँदा स्वागतको लागि कोटपाइन्ट सिलाउन गाउँ पालिकाले ७ लाख खर्च गरेको पाइएको छ । भ्रष्टाचार नभएको कुनै क्षेत्र बाँकी छैन । समाजवाद, साम्यवादका कुरा गर्ने कम्युनिस्टहरू नै किन बढी टुट्फुट हुन्छन् ? (काग्रेसका प्रतिनिधिको प्रश्न) । पार्टी टुटफुट भएपछि घाटा भएको छ, यो संसदीय व्यवस्था चल्दैन, समाजवादी मोर्चाले व्यवस्था परिवर्तनको नेतृत्व गर्नुपर्छ, विप्लव अब सबैको नेता हुनुपर्छ (माकेका प्रतिनिधिको भनाइ) । चन्दा उठाउने काम ठिक भएन, विप्लवले चन्दा उठाउने नीति छैन भन्नुहुन्छ तर यता तपाईंहरू चन्दा माग्नुहुन्छ (काग्रेसका प्रतिनिधिको भनाइ) । वादको पछि लागेर केही प्राप्त भएन, विदेश जानेलाई रोक्ने योजना चाहियो, कृषि काम राम्रो गर्नुभएको छ (नागरिक उन्मुक्ति पार्टीका केसको भनाइ) । जति जोगी आए पनि कानै चिरिएका छन, व्यवसाय धरापमा छन, सटरहरू बन्द हुँदै गएका छ्न, भाडातिर्ने अवस्था छैन, ऋणले बरबाद बनाएको छ, बैंकमा किस्ता तिर्न सकिएको छैन । सत्य–निष्ठापूर्वक काम गर्ने नेता भएनन्, अब तपाइहरूले गर्नु प¥यो (उद्योग वाणिज्य संघ बर्दगोरियाका अध्यक्षको भनाइ) । राष्ट्रिय सङ्कटको चिन्तन भएको छ, नेतालाई भेट्न होटलमा जान्न, त्याग भनेको सुरुहुन्छ, अन्त्य हुँदैन, अवसरवादीलाई पार्टीमा हुलेपछि पार्टी खाइदिन्छ्न । देशका दुई शत्रु भ्रष्टाचारी र विदेशी दलाल हुन । दुर्गा प्रसाईं जन्माउने केपी प्रचण्डहरू नै हुन । अवसर पाएपछि बिग्रने गल्ती तपाइँहरूले पनि नगर्नुहोला, अब देशलाई समाजवादको खाँचो छ, (एमाले समर्थित बुद्धिजीवी लिला बस्नेतको भनाइ) । विदेशीको इसारामा राजनीति फसेको छ । सत्तामोह अत्याधिक देखियो, असन्तुलित परराष्ट्र सम्बन्ध छ, सत्ताको दुरुपयोग छ, भ्रष्टाचार चरम छ । पार्टीका नाममा सबै भ्रष्ट छन् । अब यिनीहरूलाई श्रीमतीले समेत मत दिंदैनन् । तपाईंहरूले जनतामा जागरण अभियान चलाउनु प¥यो, अब मानिसहरूले पार्टी भन्दा राम्रो आचरण र विचार भएको नेता खोजेका छन्, तपाईंहरूले सङ्गठन विस्तारमा बल लगाउनु प¥यो । समाजवादी मोर्चालाई राम्रो बनाउनु प¥यो, माओवादी र कम्युनिस्टहरूले एकता गर्नुप¥यो । अहिले सबभन्दा बलियो सरकार स्थानीय सरकार हो, यसले चाहे धेरै राम्रो काम पनि गर्नसक्छ (माओवादी समर्थक शिक्षक सङ्गठन कंचनपुरका जिल्ला अध्यक्षको भनाइ) । २००७ सालदेखिका समस्या जस्कातस छ्न, हल कसले गर्ने समस्या भएको छ, मानिसहरू राम्रोनराम्रो छुट्याउँदैनन्, कम्युनिस्टहरूमा विभाजन आएर समस्या आयो, एमाले बिग्रिएकै थियो, माओवादी झन् कामै नलाग्ने गरी बिग्रियो । तपाईंहरू पनि चुनाव लडेर जनताको मतबाट परीक्षण हुनैपर्छ (एमाले डडेल्धुराका जिल्ला सदस्यको भनाइ) । युद्ध र क्रान्तिले राजनीतिमा ठुलो परिवर्तन ल्याएको हो । तर, नयाँ व्यवस्थाले पनि जनताको आर्थिक जीवन बदल्न नसक्दा बालेन–रविहरूप्रति मान्छेको आकर्षण बढेको हो । यिनको पनि दिशाहीन स्टन्टवाजी धेरै समय टिक्नेवाला होइन । अब, दुई पार्टी प्रणालीमा जानु प¥यो, नेपालमा पार्टी धेरै भए । माओवादीले गरेका खराबीको घानमा तपाइँहरू पनि पर्नुभएको छ । तपाईहरूको श्रमशील, मेहनत र बलिदानको सम्मान गर्छु । काङ्ग्रेस कम्युनिस्ट नाममात्र फरक, खराब आचरण सबैको उस्तै छ । यिनीहरू कसैको विश्वास छैन, युवाहरू सबै देश छोडेर गइरहेका छन, देश कसरी बनाउनु हुन्छ ? लोकतन्त्र, समाजवाद र कम्युनिस्टको नाममा देश लुटिरहेका छन्, सबैले ध्यान पु¥याउनु प¥यो (क्याम्पस प्रमुख डम्बर कार्की, त्रिवेणी आदर्श बहुमुखी क्याम्पस, बुङ्गल बझाङ) । राष्ट्रले निकास पाओस्, समाजवादी एजेन्डालाई साझा एजेन्डा बनाएर जाऊँ (काग्रेस समर्थित बुद्धिजीवीको भनाइ) । अवधारणा–पत्र समय सान्दर्भिक छ, देश पाकिस्तान, श्रीलंका जस्तै भएपछि, पछि कराएर के गर्ने ? यो अवधारणा सबैतिर पु¥याउनु पर्छ । अहिले नै सबै सचेत हुनुपर्छ । सबैको सहमतिले नेपालमा संविधान बनेको छ । संघीयता देशको सेतो हात्ती बनेको छ, । बिना कामका संरचना हटाउनु पर्छ । भ्रष्टाचार अत्याधिक मौलाएको छ । क्रान्ति गरेर आएकाहरू पनि उही संसदीय व्यवस्थाको ‘कुकुरको मासु बेच्ने पसले’ भएपछि केही काम भएन, अरुलाई दोष दिएरमात्र हुँदैन, आफूले राम्रो काम गर्न सक्नुपर्छ । संविधान संशोधन गरेर राम्रो बनाऊ, यो दस्तावेज साझा दस्तावेज बनोस् शुभकामना (नेपाली काङ्ग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति धर्मनन्द भट्टको भनाइ) । यो पदमा बसेर केही काम गर्न सकिएन, जनताका समस्या सम्बोधन गर्न नसक्दा निकै पीडा हुन्छ, माथिकाले बिगारे पछि तलबाट केही उपाए नचल्ने रहेछ (बुङ्गल नगरपालिका, बझाङका उपप्रमुख धनबहादुर बोहराको भनाइ) । यो लेखनीमा, अन्तरक्रियामा व्यक्त टिप्पणी यति नै उल्लेख गरौं ।
समाजको भूँइतहसम्मकै पीडा, सर्वपक्षीय विमर्शहरूमा मुखरित भएको अनुभूति भएको छ । जनताको कष्टपूर्ण दैनिकिबाट विमुख सत्ता राजनीतिको गम्भीर विमर्शमा सहभागी जनता, सञ्चार र बौद्धिक टिप्पणीको यो संक्षिप्त सन्दर्भबाट के स्पष्ट हुन्छ भने नेपालमा आफूलाई ठूला भनाइरहेका राजनीतिक पार्टी, नेतृत्व, प्रशासनिक संरचना र समाज सबैतिर सार्वजनिक विश्वास खस्किएको मात्र छैन, सार्वजनिक विश्वासको आधार भत्किँदै, विघटनको अवस्थामा पुगेको छ । सार्वजनिक विश्वास यसरी खण्डीत भइसकेको छ कि एटीएमबाट निकालेको पैसा समेत नेपाली नागरिकले ५ पटक दोह¥याएर गन्ती गरिरहेको अवस्था छ । देशको राजनीतिक, आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक जीवनमा समेत सार्वजनिक विश्वासको यस्तो खडेरी पर्नु र विश्वासै विघटन हुनु भनेको देश बहुसङ्कटको जालोमा फस्दै गएको तर मौजुदा नेतृत्व र प्रणालीे, समस्या र सङ्कटको भार वहन गर्न असक्षम र अयोग्य सावित भएको प्रमाणित हुनु हो । काङ्ग्रेस, कम्युनिस्ट र स्वतन्त्रको ब्रान्डमा आफूलाई ठूला बनाइरहेका सत्तासिन पार्टीका सीमित ठूला नेता, केही व्यापारी र केही भ्रष्ट कर्मचारीको गठजोडमा भइरहेको आर्थिक नैतिक अपचलनका काण्डैकाण्डले समग्र राजनीतिमाथि नै वितृष्णाको स्तर बढेको मात्र छैन, राजनीतिक आदर्श र विश्वास नै भताभुङ्ग अवस्थामा पुगेको छ ।
अब, समाजमा व्याप्त नकारात्मकता, निराशा र सार्वजनिक विश्वास विघटनका कारणहरूको उत्खनन गरेर मात्र सार्वजनिक विश्वासको पुनर्गठन गर्न सकिन्छ । यसरी सार्वजनिक विश्वास विघटन हुनुका मुख्य कारणहरूमा विचलित र स्खलित नेतृत्व र राजानीति, वैदेशिक हस्तक्षेप र लाचार सरकार, अस्थिर संसदीय प्रणाली, विचार ऐजेण्डाहिन गणितीय सरकारी गठजोड, चरम भ्रष्टाचार, वेथिति, राज्यको भ्रष्टीकरणको तीब्रता, न्युन उत्पादकत्व, चर्को बेरोजगारी, श्रम र उत्पादनसँग नजोडिएको चुसाहा राजनीतिक प्रशासनिक संयन्त्र, योग्यतम् प्रणालीको विघटन, शिक्षा स्वास्थ्यको लथालिङ्ग अवस्थाले गर्दा नागरिक जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएपछि नेपाली समाजमा विश्वासको तह यति कमजोर हुन पुगेको हो ।
अब प्रश्न छ, गुमेको विश्वासलाई कसरी फर्काउने, विघटन भएको विश्वासलाई पुनर्गठन कसरी गर्ने ? यो नेपाली राजनीतिका अगाडी खडा भएको सर्वाधिक चुनौतिपूर्ण विषय हो । कसैकसैले आजभोलि, सच्चिने र रुपान्तरण हुने कुरा पनि गर्ने गर्छन । तर, नेपाली समाजमा यस्तो कुरा पत्याउने वातावरण समेत भत्किसकेको अवस्था छ । समाज नै विघटन र संघटनको चौबाटोमा उभिएको बेला, पुनर्गठनको उज्यालो विकल्पले मात्र समाजमा उत्साह र उर्जा प्रवाह हुन सक्छ ? नागरिकको सबै तहले अब नयाँ विकल्पको व्यग्र प्रतिक्षा गरेको अवस्था छ । पुरानो मरिसकेको तर नयाँ जन्मि नसकेर प्रसव पीडा बेहोरिरहेको समाजलाई
सितलता, उर्जा र उत्साह भर्ने नयाँ विकल्प चाहिएको हुन्छ । स्वार्थी गठजोडको गणितीय हिसाबमा बन्धक बनेको प्रणाली भत्काउँदै समाज र जनतासँग जोडिने नेता र नीतिले मात्र विश्वासको पुनर्गठन गर्नसक्छ । आजको विज्ञान प्रविधिको युगमा नागरिक चेतना र आकांक्षा दुईटै अत्याधिक बढेको छ । यस्तो समाजमा बासि तर्क, बहस, भाषण, खुराफात र दाबिको कुनै औचित्य छैन । त्यसैले, राजनीतिमा सिद्धान्तनिष्ठ आदर्श आचरण र व्यवहार, स्थिर राजनीतिक प्रणाली, आर्थिक क्षेत्रमा उत्पादन, रोजगारी र समृद्धिमा समानता, प्रशासनिक, सुरक्षा, न्यायिक, राजनीतिक–सामाजिक क्षेत्रमा योग्यतम् प्रणालीको निर्माण, समानता र सहकार्यमा आधारित वैदेशिक नीति लागु गर्न सक्ने योग्यतम्, सक्षम र सङ्कटको भार वहन गर्न सक्ने स्थिर व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, प्रशासनिक संयन्त्रको निर्माण र विकास गर्ने नयाँ अर्थराजनीतिक प्रणालीले मात्र अब, सार्वजनिक विश्वासको पुनर्गठन गर्न सक्छ ।
अब सच्चिने र रुपान्तरणको मात्र कुरा गरेर जनता अलमलाउने समय सकिएको छ । सार्वजनिक विश्वास पुनर्गठन गर्ने समय आएको छ । पुराना मान्यता र प्रणालीले समाजको आकांक्षा सम्बोधन गर्न नसकेपछि नयाँ मान्यता र प्रणाली निर्माण गदै जानुपर्छ । यहाँ त नागरिकहरू नयाँ विकल्पको प्रतिक्षामा छन् । तर, राजनीतिज्ञहरू गणितको पुरानो हिसाबकिताब गरेर नागरिक जीवनलाई बन्धक बनाइरहेका छन् । राजनीति अंक गणितको नियमले चल्दैन, समाज विज्ञानको गतिशील नियमले चल्छ । सामाजिक गतिशीलताको नियमले नेपाली विशेषताको समाजवादी प्रणाली खोजिसकेको छ । अझै, कसैकसैले फेरि भनिरहेका छन्, चुनावी मिसन चौरासी । बहुमत मात्र होइन दुईतिहाइ आए पनि यो प्रणालीले देश र जनताले बेहोरिरहेको सङ्कटको भार वहन गर्नै सक्दैन भन्ने कुरा नेपालमा अहिलेसम्म बनेका कुनै पनि सरकारहरू ५ वर्ष चल्न नसकेका तथ्यहरूबाट स्पष्ट हुन्छ । जस्तो, २०१५ सालमा काङ्ग्रेसले प्राप्त गरेको दुईतिहाइको बहुमतको सरकार, २०४८ सालको काङ्ग्रेसकै बहुमतको सरकार, ६४ सालको माओवादीको बहुमत नजिकको सरकार, २०७४ सालको नेकपाको नामबाट बनेको बहुमतको सरकार यी सबै सरकार पूरा अवधि त टिकेनन् टिकेनन्, बरु सरकारकै बारेमा मतभेद भएर पार्टी नै विभाजित भए । स्थिरता कायम गर्न असफल सावित भए । त्यसैले, जनमतलाई गणितमा बदलेर सत्ताको रस चुस्दै बस्ने संसदीय खेल खेलेर, नागरिक आकांक्षा र आवश्यकता अवरुद्ध गरिरहने मुर्खतापूर्ण उपक्रमहरू अब दोह¥याउनु हुँदैन ।
नेपाली समाजले यतिबेला आफ्ना दुःख कमगर्ने राजनीतिक नायक र शक्ति खोजेको छ । यस्तो समयमा समाजमा सबैले पत्याउने, विश्वास गर्ने, नीति, आचरण व्यवहारप्रति दृढ आस्था, पत्यार, श्रद्धा र आड–भरोसा कायम गर्नसक्ने राजनीतिक–सामाजिक शक्ति र नेतृत्वले मात्र सार्वजनिक विश्वासको पुनर्गठन गर्नसक्छ । यस्तो शक्तिको निर्माण र विकास गर्ने युगान्तकारी प्रक्रियामा समाजवादी मोर्चाको गठन हुन पुगेको छ । मोर्चाले समाजका सबै तहको, राजनीतिक सार्वजनिक स्वीकारोक्तिको दायरा फराकिलो बनाउँदै लगेकोले, विश्वास र लोकप्रियताको ग्राफ उच्च विन्दुमा पुग्ने संभावना बलियो हुँदै गएको छ । अहिले, मोर्चाको गठनले समाजका विभिन्न तहमा नयाँ आशा र विश्वास सिञ्चित गरेको छ । नेपाली समाजमा सार्वजनिक विश्वास पुनर्गठन गर्दै समग्र नागरिक जीवनमा नयाँ उत्साह र उर्जा भर्नु नेपाली राजनीतिको अहिलेको मुख्य जिम्मेवारी हो । नेपालीजनमा मौलाइरहेको मौन विद्रोह सङ्गठित विद्रोहमा रुपान्तरित नहुँदै, सार्वजनिक विश्वास पुनर्गठन गर्ने अभियानमा सामेल नहुने हो भने, सङ्गठित विद्रोहको मुस्लोमा भस्म हुने संम्भावनाबाट, गणितीय राजनीतिमा लिप्त ठूला–साना, नयाँ–पुराना राजनीतिज्ञ कसैलाई, कसैले बचाउन सक्नेछैन ।
१७ चैत्र २०८० ।
स्राेत: जनपत्रिका मासिक ११ अङ्क