२१ जेष्ठ २०८२, बुधबार

जातीय मुक्ति र सी जातिको प्रश्न

0

               सुदर्शन सी

 

 

माक्र्सवादका संस्थापक कार्ल माक्र्सले मानव जातिको इतिहासलाई लामो समय अध्ययन गरेपछि एउटा निचोड निकाले–आजसम्मको मानव जातिको इतिहास वर्गसंघर्षको इतिहास हो (Marx, 1848) । नेपालमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले आजसम्मको इतिहास त्यसमा मुख्यतः भारत वर्षको इतिहास जातीय संघर्षको इतिहास हो भनेर संश्लेषण गरे (विप्लव, २०७९) ।
कमरेड विप्लवकाअनुसार आजसम्मको चार हजार वर्षको इतिहास त्यो मुख्यतः भारत वर्ष, त्यसमा नेपाललगायत दक्षिण एशियालाई इंगित गरिएको हो । खासगरी भारत र नेपाललगायत सिंगो दक्षिण एशियाको इतिहास जातीय संघर्षको इतिहास हो, त्यसभित्र वर्गसंघर्ष अनिबार्य जोडिन्छ । बाँकी ८ हजार वर्षको इतिहास माक्र्सले भनेजस्तैं वर्गसंघर्षको इतिहास हो ।
मानव जातिले आफ्नो लामो इतिहास निकैं ठूल्ठूला अजङ्गका संघर्षका पहाडहरु छिचोलेर आज यो पृथ्वीको एक्लो शासकको रुपमा राज गरिरहेको छ । त्यो कसरी संभव भयो ? मान्छेको इतिहास के थियो ? भविष्यमा मान्छे कहाँ पुग्दैछ ? मानव जातिको मुक्ति कसरी हुन्छ ? सी जाति के हो ? यसबारे यो कार्यपत्रमा छोटोमा चर्चा गरिने छ ।
मानवजाति र इतिहास
ब्रहमाण्डभित्रको पृथ्वी, पृथ्वीपछिको मानव समाज तीव्र गतिमा विकास भइरहेको छ । ६० लाख वर्षको मान्छेको इतिहासमा मुख्यतः विकसित मान्छेको इतिहास ७० हजार वर्षको हो । त्यो मानव जातिको इतिहास वेगवान गतिमा अघि बढिरहेको छ ।
आजका विश्व चर्चित लेखक युवाल नोहा हरारीले सेपियन्स (सन् २०१४) र होमो दिओस् (सन् २०१७) पुस्तकमा मानव समुदाय ६० लाख वर्ष अघि चिपाञ्जीबाट विकसित भएर अब कहिल्यैं नमर्ने जातिको रुपमा विकास हुन खोजिरहेको बताएका छन् । हरारीको होमो दिओस्मा मान्छे यस्तो जाति बन्न खोज्दैछ कि उन्मुक्त, अमर र विश्व ब्रहमाण्डको एक्लो राज गर्ने जाति । त्यो संभव पनि देखिदैंछ ।
पृथ्वीमा पहिलो एक कोषीय जीव, बहुकोषीय जीव, स्तनधारी प्राणीदेखि मनुष्य जाति एप्सहुँदैं मानव जातिले चिपाञ्जीबाट होमो सेपियन्स बन्न निकैं लामो समय र ठूल्ठूला संघर्षका चरणहरु पारेर आउनु प¥यो । त्यही संघर्षबाट विकसित आजको आधुनिक मान्छे बन्न पुगेको हो ।
विगब्याङ (महाविस्फोट)पछि विश्व ब्रहमाण्डको उत्पति १३ अर्ब वर्षअघि, पृथ्वीको उत्पति ४ अर्ब ६० करोड वर्षअघि भएको थियो । त्यसपछि पृथ्वीमा पहिलो एक कोषीय जीवको उत्पति ३ अर्ब ८० करोड वर्षअघि, बहुकोषीय जीवको उत्पति २ अर्ब १० करोड वर्षअघि, स्तनधारी प्राणीको ६ करोड ३० लाख वर्षअघि भएको थियो (The Origin and Evolution of Cells) । त्यसैगरी मानव जातिको एप्सको विकास २ करोड वर्षअघि, मानवजाति चिपाञ्जीबाट छुटिट्एर अलग भएको ६० लाख वर्षअघि र आधुनिक मानवजातिसँग मिल्ने प्राचीन मानव जातिहरु होमो जातका मानिस २० लाख वर्षअघि, अझ थप विकसित आधुनिक मानव जातिको विकास ७० हजार वर्षदेखि १० हजार वर्ष पार गरेर पृथ्वीमा विकसित हुन पुगेको पछिल्ला इतिहासविद र मानवशास्त्रीहरुको निचोड छ ।
होमो प्रजातिको विश्वभर फैलावट
५ लाख वर्षपछि हाम्रो प्राचीन मान्छेहरु अफ्रिकाबाट युरोपतिर निस्के, जहाँ नियण्डरथल र अन्य मानव जातिको विकास भयो । नियण्डरथल त्यतिबेलाको शक्तिशाली मानव थियो, जसले पृथ्वीमा तीन लाख वर्षसम्म राज ग¥यो । तीन लाख वर्षअघि उसले आगोको आविष्कार ग¥यो (Harari, Sapians.libid, P. 303, 2014) ।
आज हामीले आफुलाई मानव भनेर बुझ्ने प्रजाति होमो सेपिन्यस हो । भनिन्छ ३ लाख वर्ष पहिलेसम्म यो पृथ्वीमा ९ प्रजातिका मान्छेहरु अस्तित्वमा थिए । जसमा होमो नियन्डरथल, होमो डेनिसेमा, होमो इरेक्टस, होमो रोडेसियन्सिस, होमो नलेडी, होमो लुजोनेसिस, होमो फ्लोरोसियन्सिस तथा चीनका गुफाहरुमा बस्ने रहस्यमयी राता मानव र होमो सेपियन्स थिए (Nick,To Be Nine Species of Human, Nov.2019) ।
अरु बाँकी मानव प्रजाति कसरी विलुप्त भए ? एक अध्ययनले भन्छ– ती बाँकी प्रजातिहरु समय परिवेशअनुसार हिँड्न सकेनन् वा जान सकेनन् । अनि अर्को अध्ययनले भन्छ– सबैं प्रजातिको विनाशक स्वंय होमो सेपियन्स हो भनेर । यो प्रजातिले परिस्थितिको आंकलन गरी संभावित परिदृश्य बारे सोच्न सक्ने, रणनीति बनाउन, फेर्न र अरुलाई छक्काउनका साथैं आफुहरुबीच समुहमा काम गर्न सक्ने खुबीले होमो सेपियन्स यो पृथ्वीमा अब्बल साबित भयो । समाजशास्त्री र मानवशास्त्रीहरुका अनुसार होमो सेपियन्सले खुंखार जनावरलाई मात्र होइन कि अरु मानव प्रजातिलाई पनि परास्त गरेर पृथ्वीको एक्लो विजेता बन्यो ।
होमो सेपियन्स (आधुनिक मान्छे) यसरी शक्तिशाली हुनुका कारण युवाल नोहा हरारीले तीन निष्कर्ष निकालेका छन् । पहिलो संज्ञानात्मक क्रान्ति (७० हजार वर्षअघि), दोस्रो कृषि क्रान्ति (१० हजार वर्षअघि) र तेस्रो वैज्ञानिक क्रान्ति (६ सय वर्षअघि) । ७० हजार वर्षअघि मान्छेले संज्ञानात्मक क्रान्ति अर्थात् सोचविचार गर्न सक्ने खुबीको विकास ग¥यो । यही क्षमताका कारण होमो सेपिन्यसलाई जीवशास्त्रीहरुले बुद्धिमान मानिसको संज्ञा दिए ।
बौद्धिक विकास भएको २५ हजार वर्षपछि होमो सेपियन्सहरु अफ्रिकाबाट अस्ट्रेलिया पुगे, त्यहाँ पुग्दा थुप्रै वनस्पतिको लोप भयो । त्यसको पाँच हजार वर्षअघि नैं यूरोपमा नियन्डरथलको वंश लोप भइसकेको थियो । १६ हजार वर्षअघि सेपियन्सहरु अमेरिका पुगे र त्यहाँ पनि वनस्पतिहरु लोप भए । १२ हजार वर्षअघि होमो फ्लोरोसियन्सिस प्रजातिका मान्छे लोप भए । त्यसपछि होमो सेपियन्स पृथ्वीको एक्लो प्रजाति बन्यो (Harari, Ibid……) ।
१२ हजार वर्षपछि मुलतः १० हजार वर्षअघि होमो सेपियन्सले घुमन्ते शिकारीको जीवनबाट थाकेर विस्तारैं जंगल फाँडेर खेती गर्ने काइदा सिक्यो । अनि गँहु, मकैं, दाल र थुप्रै वनस्पतिलाई घरेलुकरण गरेर व्यवस्थित जीवनको आरम्भ गर्न थाल्यो । यसलाई मानवशास्त्रीहरुले मान्छे कृषि युगमा प्रवेश गरेको मान्दछन् (Charles, 2011) । मान्छे कृषि युगमा प्रवेश गरेसँगैं वर्ग र जातिको विभाजन अझ तीव्रतामा भएको देखापर्छ ।
जाति (Race) को परिभाषा
शारीरिक बनावट, आकार प्रकार, गुण–स्वाभाव र रंगका आधारमा छुट्टाइएको मानव जातिको विभिन्न समुहलाई जाति (Race) भनिन्छ । भी.डी जोतोपभले मानव समुदायलाई मुलतः तीन ठूला जाति (Race) हरुमा बाँडेका छन् । ती हुन् : ककेशियन (सेतो वर्ण), मंगोलोइड (पहिलो वर्ण) र निग्रोइड (कालो वर्ण) ।
जोहान फ्रेडरिक ब्लूमेनबाकले सन् १७७५ मा लेखेको ‘द नेचुरल भेराइटिज अफ मेनकाइन्ड’ मा पाँच प्रमुख जातिमा विभाजन गरेका छन् । ककेसॉइड जाति, मंगोलोइड जाति, इथियोपियाली जाति (पछि नेग्रोइड), अमेरिकी भारतीय जाति र मलायन जाति । तर, उनले ती जातिबीच कुनैं पदानुक्रम नरहने बताएका छन् Race (human categorization) । त्यसैगरी डकवर्थले सात मुख्य जातिहरु तथा डेनिकरले सत्र समुह र त्यसमा उनन्तीस जातिहरुमा वर्गीकरण गरेका छन् ।
यसरी हेर्दा जाति (Race) भनेको प्राकृतिक रुपमैं छुटिट्एको मानिसहरुको समुह हो । किनभने प्रत्येक एउटा जाति अर्को जातीय समुहभन्दा शारीरिक बनावट, आकार–प्रकार, रुप–रंग आदिमा फरक छ । यसर्थ आर्य जाति (Race) हो तर ब्राहमण, क्षेत्रीय, वैश्य र शुद्र अलग जातिहरु होइनन्, बरु एउटैं आर्य जाति (Race) का विभिन्न उपजातिहरु हुन् ।
पदार्थको उत्पति र विनाश हुने गुणसँग मिल्ने तथा सबैं लिंगमा नबाँडिने र जसको अर्थ धेरैं लाग्छ, त्यसलाई जाति भनिन्छ । यो जातिको बृहत्तर परिभाषा हो । जातिको यो परिभाषाअनुसार त मनुष्य मात्र एक जाति हो । गौतम न्यायसूत्रमा भनिएको छ : जसको एउटैं किसिमको प्रजनन क्रिया हुन्छ, त्यही जाति हो । अतः मनुष्यमा गाई, घोडाआदिजस्तैं कुनैं जातिभेद छैन । उपरोक्त परिभाषाहरुलाई हेर्दा मनुष्य मात्र एउटा जाति हो भन्ने बृहत सोच पाइन्छ ।
राष्ट्र (जाति) र राज्यको परिभाषा
राष्ट्र (Nation) के हो ? राज्य (state) भनेको के हो ? देश (country) के हो ? अनि बहुराष्ट्रिय राज्य (Multi National State) भनेको के हो ? यसबारे थोरैं स्पष्टता आवश्यक छ ।
राष्ट्र (Nation) भनेको कुनैं देश होइन यो त मानिसहरुको समुह हो । अनि राष्ट्र भनेको राज्य पनि होइन । राज्य (country) भनेको एउटा देशभित्र शासन गर्न बनाइएको राजनीतिक र प्रशासनिक अनि सैन्य संरचना हो । राष्ट्र भनेको त्यो राज्यभित्र बस्ने मानिसहरुको समुह हो । नेपाललगायत सबैतिर राष्ट्रलाई एउटा देश भनेर बुझ्ने गरिन्छ, यसमा कतै भ्रमवस या कतैं सुझबुझका साथ विषयान्तर गरिएको देखिन्छ । देश भनेको त अंग्रेजीमा कन्ट्री (Country) हो (Country, Nation, State and Government)।
राष्ट्र (Nation) शव्दको उत्पति ल्याटिन भाषाको नेसियो (Natio) बाट भएको हो, जसको अर्थ हुन्छ Birth (जन्म) । राष्ट्रको अर्थ मानव समुदाय वा सांस्कृतिक तथा जातीय इकाई हो, जसको साझा भाषा, साझा संस्कृति, साझा इतिहास, साझा आर्थिक जीवन पद्धति र साझा मनोविज्ञानका साथैं साझा भूगोल पनि हुन्छ तर ऊसँग सार्वभौमसत्ता, सरकार, सेना, प्रहरी, आदि हुँदैनन् । अनि राज्य भनेको विशेषतः एउटा राजनीतिक र भूराजनीतिक इकाई हो । त्यसैगरी देश भनेको मूलतः भूगोल हो, जहाँ मानवसमुदाय वा जनता त हुन्छन् नैं जनताका साथैं सार्वभौंमसत्ता (Sovereignty), राज्यसत्ता, सरकार, सेना, प्रहरी, अड्डा अदालत आदि हुन्छन् ।
अंग्रेजी शव्द Nation लाई नेपालीमा ‘जाति’ भनेर बुझ्नुपर्छ, किनकि राष्ट्रका जेजति तत्व र विशेषताहरु हुन्छन्, ती सबैं नेपालका जातिहरुमा पाइन्छ । चाहे त्यो मगर होस् या गुरुङ, चाँहे त्यो राई होस् या लिम्बु, तामाङ होस् या नेवार, थारु होस् या मधेशी, चाँहे बाहुन–क्षेत्री नैं किन नहुन्, संख्या धेरैं थोरैं होला तर साझा भाषा, साझा संस्कृति, साझा जीवन पद्धति, साझा मनोविज्ञान, साझा भगोल र साझा राजनीतिक आकांक्षा आदि प्रत्येक जातिमा पाइन्छ । शुरु शुरुमा अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नेहरुले Nation को अर्थ राज्य वा देश लेखिदिए र फलतः त्यही स्थापित हुँदै गयो र अन्योलता त्यहीबाट शुरु भयो (सुरेश आलेमगर, २०८१) ।
नेपालमा तीन खालका मुख्य समुदायहरु छन् : पहिलो राष्ट्र (जाति)हरु, दोस्रो राष्ट्र (जाति) बन्न नसकेका राष्ट्रियता (जाति)हरु अनि तेस्रो अल्पसंख्यक/सीमान्तकृत जातिहरु । नेपालमा राष्ट्र बनेका समुदायहरु मुलतः गुरुङ, मगर, नेवार, तामाङ, लिम्बु, किरात (राई), थारु र आर्य/खसहरु रहेका छन् । जसको मौलिक भाषा छ, संस्कृति छ, पराम्परागत भूमिथलो छ । आफ्नैं मनोविज्ञान पनि छ । अनि राष्ट्रियता (नेशनालिटिज) भन्नाले नेसनउन्मुखहरु हुन् । राष्ट्र बन्न नसकेको, जो भाषिक रुपले छुट्टैं जाति बन्न नसकेको वा कसैको भूगोल बन्न नसकेको भनेर बुझिन्छ । अनि तेस्रो भनेको अल्पसंख्यक र सीमान्तकृत समुदाय । अनि नेपाल स्वभाविक रुपले बहुराष्ट्रिय देश हो । मगरात, तमुवान, नेवा, ताम्सालिङ, किरात, लिम्बुबान, थारुवान, आर्य–खस लगायत नेपाल झण्डैं दर्जनको हारहारीमा नेसन (राष्ट्र)सहित बहुचरित्र बोकेका बहुराष्ट्रिय राज्य हो भनेर भन्न हिच्किाउनु हुँदैन ।
के हो जनजाति/आदिवासी ?
जनजाति यस्ता मान्छेहरुको समुह हो, जसको कुनै निश्चित भू-भाग (सामान्यतया जंगल वा पहाड)मा बस्ने गर्दछन् । जसको एक संस्कृति हुन्छ, जो आज पनि आर्थिक दृष्टिबाट धेरैं पछि परेका छन् । अनि आदिवासीलाई अंग्रेजीमा Indigenous people भन्ने गरिन्छ । विश्वमा धेरैले इन्डिजिनियस पिपुल प्रयोग गरेका छन् । अस्ट्रेलियामा आदिवासीलाई एबरोजिनल पिपुल भनिन्छ । अमेरिकाले फस्ट नेसन वा नेटिभ अमेरिकन भन्छ । इन्डियाले ट्राइबल पिपुल भन्छ । अहिले सबैले प्रयोग गर्ने आदिवासीलाई इन्डिजिनियस पिपुल हो । कविला भन्नाले शुरुका बासिन्दा नहुन सक्छ । आदिवासी भन्नाले शुरुको बासिन्दा हो । आदिवासीलाई कतैं First Settler (पहिलो बासिन्दा) पनि भन्ने गरिन्छ Indigenous People….) ।
विश्वको सन्दर्भमा आदिवासी त धेरै नहुन सक्छन् । जस्तो कि स्पेनिशहरु त्यहाँका आदिवासी हुन् तर उनीहरु पिछडिएको नभएकोले उनीहरुलाई विश्वको आदिवासी समुदायभित्र राखिदैन । इंग्ल्याण्डमा इंग्ल्याण्ड आदिवासी हुन्, त्यसैगरी स्कटल्याण्डमा स्कटिशहरु आदिवासी हुन् तर तिनीहरुलाई पनि विश्वको आदिवासी आन्दोलनमा समावेश गरिदैन । उनीहरु फस्ट सेटलर अर्थात् आदिवासीमा परे पनि उत्पीडनमा छैनन् । उनीहरु राज्यसत्ताबाट विमुख भएका छैनन्, उनीहरुको भाषा–संस्कृतिको उन्मुलन भएको पनि छैन ।
नेपालमा कुल जनसंख्याको ३७.२ प्रतिशत आदिवासी र जनजाति रहेकोमा नेवारसहित ६० जनजातिहरु छन् । नेपालमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ आएपछि त्यही ऐनअनुसार ६० वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् (आदिवासी जनजाति आयोग २०७६/२०७७) । यसैगरी आदिवासीले निम्न चरित्रलाई आधार बनाए :
क) जसको आफ्नो अलग्गैं सामुहिक साँस्कृतिक पहिचान छ ।
ख) जसको आफ्नो भाषा, धर्म, परम्परागत रितिरिवाज र संस्कृति छ ।
ग) जसको आफ्नो लिखित वा अलिखित इतिहास छ ।
घ) जसको परम्परागत सामाजिक संरचना समनातामा आधारित छ ।
ङ) जसको आधुनिक नेपालको राजनीति र शासन व्यवस्थामा निर्णायक भूमिका छैन ।
च) जुन समुदायभित्र हामी हाबी छ ।
छ) जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ र
ज) जो चार वर्णको हिन्दु वर्णश्रम व्यवस्थाभित्र पर्दैन र जो आफुलाई जनजाति भनी दाबी गर्छन् (कुमार योञ्जन तामाङ, २०७०) ।
केही विद्धानहरुले जनजातिको परिभाषा निम्न प्रकारले दिएका छन् । ती हुन् :गिलिन एवं गिलिन (Gillion & Gillion) का अनुसार स्थानीय आदिवासीहरुको कुनैं पनि यस्तो संग्रह (समुह)लाई जनजाति भनिन्छ, जो एक सामान्य क्षेत्रमा बसोबास गर्छन्, एक सामान्य भाषा बोल्छन् अनि सामान्य संस्कृतिअनुसार व्यवहार गर्छन् (What is a Tribe?, 2023) ।
मजुमदार (Majumdar) ले जनजातिको परिभाषा यसरी दिएका छन् : एक जनजाति परिवार अथवा परिवारको समुह हो, जसको एक सामान्य नाम हुन्छ । जसको सदस्य एक भूभागमा बस्ने गर्दछ, एक भाषा बोल्छ अनि विवाह, पेशा वा व्यवसायलाई निषेध गर्दछ । साथैं उनीहरु एकआपसमा आदानप्रदान एवं दायित्वको व्यवस्था सुनिश्चित हुन्छ (Name of The Paper: Tribes in India) ।
जातको अर्थ एवं परिभाषा
जात अंग्रेजी शव्द कास्ट (Cast) को हिन्दी रुपान्तरण हो । यसको पहिलो प्रयोग सन् १५६३ मा ग्रेसिया डी ओर्ट (Gracia De Orta) ले गरेका थिए (S. Nelsonmandela, Dr. G. Balasubramania Raja., 2019)।  उनकाअनुसार जसले आफ्नो पैतृक व्यवसायलाई परिवर्तन गर्दैन । अनि यसअनुसार जुत्ता बनाउनेवाला मान्छे एक प्रकारकाको जात हो । अब्बे डुबायसले ‘कास्ट’ शव्द यूरोपमा कुनैं कुल (वंश) र वर्ग व्यक्त गर्न प्रयोग गरिएको बताउने गरेका छन् (Bhawan Singh Chalaune, 2022) । ए.आर.वाडिया (A.R Wadia) को मत छ कि ‘कास्ट’ शव्द ल्याटिन भाषाको ‘कास्टस’ (Castus) बाट ल्याइएको शव्द हो, जसको अर्थ विशुद्ध प्रजाति वा नश्ल हुन्छ (Caste system in India,Wikipedia) । कसैले जात शव्दको उत्पति ल्याटिन भाषाको शव्द कास्ट (Cast) लाई मान्ने गर्छन्, जसको अर्थ प्रजातीय तत्व, नश्ल अथवा पैतृक गुणबाट पूर्ण हुन्छ ।
केही विद्धानहरुद्धारा जात (काष्ट)बारे निम्न परिभाषाहरु रहेका छन् :
मकाइबर एवं पेज (Maciver & Page)का अनुसार जब व्यक्तिको स्थिति पूर्णतः पूर्व निश्चित हुन्छ अर्थात् जब व्यक्ति आफ्नो स्थितिमा कुनैं पनि तरिकाको परिवर्तनको आशा लिएर उत्पन्न हुँदैन, तब वर्ग जातको रुपमा स्पष्ट हुन्छ (The Power Of Logic, 2009, 2005, 2002, 1999) ।
मजुमदार एवं मदन (Majumdar & Madan)का अनुसार जात एक बन्द वर्ग हो । दत्त (Dutta)का अनुसार एक जातिको सदस्य जात बाहिर विवाह गर्न मान्दैन । अन्य जातिका मान्छेसँग खाना खान र पानी पिउने सम्वन्धमा हरेक तरहबाट कठोर नियन्त्रण हुन्छ । अनेक जातिको कुनैं निश्चित व्यवसाय हुन्छ । कूले (Cooley)का अनुसार जब कुनैं पनि वर्ग पूर्णतः वंशानुक्रमणमा आधारित हुन्छ, तिनीहरुलाई जात भनेर चिन्ने गरिन्छ ।
जात व्यवस्था संसारमा ८ हजार वर्षअगाडिदेखि शुरु भएको मानिन्छ । भारतमा जात व्यवस्था इशापूर्वक १५०० मा शुरु भएको देखिन्छ भने नेपालमा सन् ६०० तिर शुरु भएको मानिन्छ । (hofer, 1979) ।
नेपालको सन्दर्भमा भारतीय भूमिमा हिन्दु ब्रहमाण शासक मनुले जातको राजनीतिलाई विकसित गरे । यता नेपालमा जयस्थिति मल्ल, राम शाह र पृथ्वीनारायण शाहहुँदैं जंगबहादुर राणाले त वि.स. १९१० तिर मुलुकी ऐनमार्फत् कठोर कानुन नैं बनाउन पुगे । मनुकालमा निर्मित मनु स्मृतिले शुद्रलाई सम्पति जोड्न बन्देज गर्यो । जयस्थिति मल्लले लेख्न लगाएको समाज सुधारक कानुननले चार जात छत्तीस वर्णभित्र रहेका शुद्र जातिहरुले पक्की घर बनाउन नपाउने, शुद्र महिलाहरुले सुनका गहना लगाउन रोक लगाएदेखि नेपालमा जात व्यवस्थाले ठूलो विकराल रुप लियो (Rule of Law and Nepal, 2024) ।
जातीय मुक्तिको बाटो
उत्पीडित राष्ट्र (जाति)को प्रश्न अन्ततः वर्गीय प्रश्न हो र त्यो प्रश्नको हल राष्ट्रको आत्मनिर्णयको अधिकारबाट हल गर्न सकिन्छ (लेनिन, 1916) ।
राष्ट्र न नश्ल (Race) हो न यो जाति (Tribe) नैं हो । बरु राष्ट्र पुँजीवादी विकासको क्रममा विभिन्न जातिहरुको समागमबाट निर्माण भएको समुदाय हो (Stalin, 1913) । माक्र्स र एंगेल्सका अनुसार राष्ट्र (जाति) को निर्माण पुँजीवादको विकाससँगैं भएको हो (Anderson, 2022) । पछिल्लो एक अध्ययनका अनुसार सन् १९४० को दशकमा विश्वमा ७० देश मात्र थिए, अहिले त्यो देश बन्ने संख्या २ सय बढी पुगिसक्यो । भन्ने गरिन्छ कि पुँजीवादले झन् राष्ट्रहरु जन्माउने काम मात्र ग¥यो ।
माक्र्सवाद सम्पूर्ण मानव जातिको मुक्तिको सिद्धान्त हो । माक्र्सवादले हमेशा उत्पीडित मानव जातिको मुक्तिको प्रश्नमा आफुलाई उभ्याइरह्यो । ‘आयरल्याड एन्ड आइरिस क्वेसन’ पुस्तकमा माक्र्स र एंगेल्सले बेलायतको उत्पीडनमा रहेको आइरिस समुदाय (जाति)को पक्षमा सधैं आवाज उठाइ राखे (माक्र्स, 1867) । यूरोपका विभिन्न उत्पीडित समुदायको पक्षमा निरन्तर वकालत गरिरहे । माक्र्सवादको अन्तिम लक्ष्य– साम्यवाद हो । अर्थात् सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगीय उत्पीडनको अन्त्यका लागि राज्यको विलोप गर्नु कम्युनिस्टहरुको अन्तिम लक्ष्य हो । यसरी नैं वर्ग र जातिको अन्त्य हुनेछ । लेनिनले ‘राज्य र क्रान्ति’ नामक पुस्तकमा यसबारे सविस्तार चर्चा गरेका छन् ।
वास्तवमा आदिवासी/जनजाति पहिचान र जातीय मुद्धाहरु माक्र्सवादी सवाल नैं हुुन् । माओले जातीय (राष्ट्रिय) सवाललाई अन्तिम विश्लेषणमा वर्गीय समस्या नै भन्नु भएको थियो । माओले चीनका अल्पसंख्यक जनजातिले हान अन्धजातिवादको जातीय उत्पीडन भोगेको देखे । त्यसपछि माओले ‘पार्टीमा हान अन्धजातिवादको आलोचना गर’ र अल्पसंख्यक जनजातिहरुको उचित सम्मान गर अनि उनीहरुलाई स्वशासनको अधिकार देउ’ भन्ने नीति जारी गरे (माओ, 1963) । त्यही नीतिअनुसार चीनमा आज बलियो राष्ट्र र देश बन्न पुगेको छ ।
नेपालमा जातीय मुक्तिको बाटो
नेपालको कम्युनिस्ट आन्दोलनमा जातीय उत्पीडनको सवालहरुलाई स्पष्ट ढंगले दस्तावेजीकरण गर्ने काम तत्कालीन नेकपा (माओवादी) को चितवन राष्ट्रिय सम्मेलन (वि.स.२०५१) ले ‘जातीय नीति १४ बुँदे’ प्रस्ताव पारित ग¥यो (नेकपा दस्तावेज, २०७०) । जुन दस्तावेजमा उत्पीडित जाति, जनजाति, दलित समुदाय, पिछडिएको तराईवासी आदिको वास्तविक प्रतिनिधित्व हुने जनताको संयुक्त जनवादी गणतन्त्रात्मक राज्यसत्ताको स्थापना गरिने उल्लेख गरेको छ । साथैं हिन्दु उच्च जातिलाई भाषा, धर्म र संस्कृति आदि हरेक क्षेत्रमा दिदैं आइरहेको विशेषाधिकारको अन्त्य गरी सबैं उत्पीडित जातिहरुको बीचमा मुक्ति, समानता, सदभाव र भातृत्वको सम्वन्धको विकास गरिनुपर्ने उल्लेख गरिएको छ (नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा २०७८) ।
जाति, लिंग, भाषा र क्षेत्रीयताका आधारमा हुने विभेद र हिंशाको अन्त्य अनि उत्पीडित समुदायलाई विशेषाधिकारजस्ता क्रान्तिकारी कार्यक्रमले जनयुद्धमा ठूलो संख्यामा उत्पीडित जाति खासगरी जनजाति, दलित, महिला लगायतको ठूलो सहभागिता र योगदान रह्यो । जनयुद्धपछि माओवादी शान्तिप्रक्रियामा आएपछि उत्पीडित वर्गीय, जातीय, क्षेत्रीय मुद्दाहरु केही समय शिथिल र अलपत्र बने ।
माओवादी आन्दोलनको नेतृत्व प्रचण्डले जनयुद्धकालीन मुद्दाहरु छोडेपछि त्यो मुद्दा अहिले कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले निरन्तर बोकिरहेको छ । नेपाल कम्युनिस्ट पार्टीले अहिले नेपालको उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको समस्याको समाधान दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनापछि हुने किटान गरेको छ ।
नेकपाका महासचिव विप्लव सीले समाजवादका लागि चार मित्र वर्ग, चार मित्र शक्ति र पाँच मित्र समुदायसँग मिलेर अघि बढ्ने नीति लिएका छन् (विप्लव, २०८१) । नेकपाको पछिल्लो नीतिअनुसार चार मित्र वर्ग भन्नाले मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई निक्र्योल गरेको छ । त्यस्तैं चार मित्र शक्ति भन्नाले कम्युनिस्ट शक्ति, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त शक्तिसँग मिलेर जाने भनेको छ । त्यसैगरी पाँच मित्र समुदायभित्र जनजाति, खस–आर्य, दलित, मधेशी/मुश्लिम र महिला समुदाय रहेका छन् ।
अबको समाजवाद वा वैज्ञानिक समाजवादभित्र क्रान्तिपछि चार वर्ग, चार मित्र शक्ति र पाँच मित्र समुदायलाई राज्यसत्ताका विभिन्न अंगमा समान ढंगले अधिकार प्रत्याजित गरिनुपर्ने छ । यसो गरेर मात्र नेपाली समाजको पाङ्ग्रो अघि बढ्न सक्ने छ ।
सी जातिको प्रश्नबारे
सी जाति भन्नाले कम्युनिस्ट जाति हो, त्यसलाई अर्को भाषामा साम्यवादी जाति भनिन्छ । अंग्रेजीमा C भनिएको हो र C को पूरा रुप Communist हो । त्यही अंग्रेजीको छोटो रुप C हो र नेपालीमा सी भनिएको छ । जस्तो कि कमरेड विप्लव सी, कमरेड प्रकाण्ड सीदेखि विभिन्न नामबाट पार्टीमा संवोधन गर्न थालिएको छ । आजकाल यो सी थरबाट माओवादी केन्द्रलगायत विभिन्न पार्टीमा पनि नामाकरण गर्न थालिएको छ । नेकपाले अहिले यो नामाकरण केन्द्रीय समितिदेखि तल्ला कमिटीसम्म पनि गर्न थालेको छ ।
सी जातिको अवधारणा नेपालमा संभवतः विश्व सन्दभमैं सर्वप्रथम नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको नयाँ प्रस्ताव हो । २०७९ मा कपिलवस्तुको शिवगढीमा नेकपाको नवौं महाधिवेशनमा महासचिव कमरेड विप्लवद्धारा अगाडि सारिएको प्रस्ताव थियो (विप्लव सी, २०७९) । त्यसलाई हलले उल्लासमय वातावरणमा पारित ग¥यो ।
नेकपाले सी जातिको अवधारणा अघि सारेपछि यसले सबैतिर नयाँ तरंग सिर्जना ग¥यो । देश–विदेशबाट यसबारे सकारात्मक र केही सवालहरु उठेपनि यसले बढी सकारात्मक उर्जा प्राप्त गरेको छ । तर सत्य के हो भने संसारलाई बदल्नुछ भने शुरु आफैंबाट गर्न आवश्यक हुन्छ । नेकपा र त्यसको मुख्य नेतृत्व कमरेड विप्लव सी द्वारा सोभियत सत्ताको निर्माण र विघटन (सन् १९१७–१९९०) र माओको सांस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) पछि अगाडि सारिएको नितान्त नयाँ प्रस्ताव हो ।
सी जाति एउटा नयाँ संश्लेषण हो । माक्र्स–एगेल्सले समाजका जातिहरूको जातीय विलोपीकरणको कुरा गर्नुभयो । पछिल्लो समयमा कम्युनिस्ट नेताहरूले पनि यही कुरा दोहो¥याउँदै आए तर बदल्ने कुरामा नयाँ संश्लेषणको अभाव रहँदै आयो । तर नेपाल कम्युनिस्ट पार्टीले कमरेड विप्लवको नेतृत्वमा त्यसलाई व्यवहारमा अनुवाद गर्ने कदमको रुपमा सी जातिको प्रस्ताव अगाडि बढायो (सन्तोष सी, २०८१) ।
सी जातिको कुरा गर्दा केही पहिचानवादीहरुले सी जातिको प्रस्तावक नेकपाले जातीय मोर्चाहरुको पहिचान नैं खाइदिने वा समाप्त पारिदिने भनेर अभिव्यक्ति दिने गरेको पाइन्छ । यो पनि सत्य होइन, बरु यथार्थता के हो भने सबैं जातिहरुको पहिचानलाई स्थापित गर्दै थप वैज्ञानिक संस्कृतिको विकासमा जोड दिने नीति नेकपाको छ । सी जातिमा सबैंको जातीय पहिचान, संस्कृति र भाषा सबैंलाई सम्बद्र्धन गरेर अघि बढ्ने नेकपाले स्पष्टोक्ति दिइसकेको छ ।
सी जातिको अवधारणासँगैं नेकपाले अहिले सी संस्कृति, सी श्रम संस्कृति, सी आर्थिक संरचनाको अवधारणा पनि विकास गरेर अघि बढेको छ । सी जाति अन्तरगत जन्म, विवाह, मृत्यु संस्कार–संस्कृति र चाड–पर्वहरुबारे नेकपाका यस्ता छन् केही प्रारम्भिक प्रयोग र संस्कृतिका प्रारुपहरु :
(क) सी जातिले शिशु जन्मिदा खुशियालीमा बधाई दिने कार्यक्रम गर्ने, ६ महिनामा सुस्वास्थ्य र शुभकामना प्रदान कार्यक्रम गर्नुपर्दछ ।
(ख) सी जातिमा विवाह गर्दा परिवार, इष्ट–मित्र र पार्टी पँक्ति भेला हुने, वर–वधुले एक–अर्कालाई माला लगाई दिने, जीवनभर सुख–दुखमा एक–अर्कालाई साथ दिने प्रतिबद्धता व्यक्त गर्ने, उपस्थित सबैले वर–वधुलाई अविरावरण सहित शुभकामना दिने र खुशियाली मनाउने ।
(ग) सी जातिका आफन्तको मृत्यु हुँदा पहिलो दिन शोक सभा आयोजना गर्ने, दोश्रो दिन त्रि–रोपन(फूल, फल, जडीबुटी रोपाई) गर्ने, तेश्रो दिन सहयोग वितरण कार्यक्रम गर्ने, चौथो दिन अक्षयकोष खडा गर्ने र पाँचौं दिन श्रद्धान्जली कार्यक्रम गर्ने गर्नुपर्दछ । सी जातिका सबै मृतक आफन्तहरुको सम्झनामा असोज २५ गते देशभरी नै विभिन्न रचनात्मक कार्यक्रम गरेर स्मृति सभा आयोजना गर्नु पर्दछ ।
(घ) सी जातिले पर्वको रुपम फागुन १ गते जनयुद्ध दिवस(फागुन १४–२१ शहिद सप्ताह), फागुन २४ गते(८ मार्च) अन्तराष्टिय श्रमिक महिला दिवस, बैशाख १८ गते मे दिवस, जेठ १ गते विद्यार्थी दिवस, जेठ ७ गते वेपत्ता योद्धा स्मृति दिवस, असोज २६ देखि २९ गतेसम्म भ्रमण विदा दिनेजस्ता विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउनु पर्दछ (रामलाल सी, २०७९) ।
सी जातिले ल्याएका तरंगहरु
नेकपाले सी अवधारणालाई व्यवहारमा प्रयोग गर्न थालेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंको एक सर्वदलीय कार्यक्रममा ‘धेरै जातिहरुको आवश्यकता छैन र बरु एउटै जाति बनाउनुपर्छ भन्दै विप्लवले भनेको सी जाति ठीक छ’ भनेर खुलेआम बोलेका थिए (उपेन्द्र यादव, २०८०) ।
यादवको भनाई थियो– ‘गौतम बुद्धले कुनै बेला मानिसको एउटै जाति हुनुपर्छ भनेर भनेका थिए, तर अहिले विप्लवले त्यसलाई व्यवहार लागू गरे, जुन त्यो सही छ ।’ उपेन्द्रको यस भनाईले पनि बजारमा ठूलो तरंग ल्यायो । यसबारे केही बुद्धिजीविहरुले पनि सकारात्मक बहस छेडेका थिए । २०७९ को चैत्रमा श्रमिक समुदाय मोर्चाद्वारा काठमाडौंमा आयोजित एक अन्तक्रियामा बुद्धिजीवि डा.निर्मल विश्वकर्माले सी जातिको अवधारणा एशिया खासगरी दक्षिण एशियामा डा.अम्बेडकरपछि विप्लवको नयाँ प्रस्ताव भन्दै स्वागत गरेका थिए । डा.विश्वकर्माले सी जातिको अवधारणालाई जातिवादी व्यवस्थाका विरुद्ध नवप्रवर्तन र नयाँ प्रयोग भनेका थिए (डा.विश्वकर्मा, २०८०) ।
नेकपाले अगाडि सारेको सी जातिको अवधारणाले वास्तवमा मानव जातिलाई एउटै धागोमा जोडेर लान सक्छ भन्ने अर्को एउटा गतिलो उदाहरण पेश गरेको छ । जस्तो कि अफ्रिकी मुलुक रुवान्डामा ९० को दशकमा लामो समय जातीय द्वन्द्व चर्केर लाखौं मान्छेको ज्यान गयो । त्यस जातीय द्वन्द्वमा एक रिपोर्टअनुसार तीन महिनाको बीचमा झण्डैं १० लाख मान्छेहरुको ज्यान गयो । हुतु र तुत्सी जातिबीच भएको जातीय द्वन्द्वले त्यहाँ भयानक रक्तपात निम्त्यायो (Rwanda genocide, 2019) । पछि विद्रोहीहरुले सत्ता हातमा ल्याएपछि त्यहाँ नामको पछाडि कुनैंपनि जातिको नाम नलेख्ने बरु रुवाण्डेली जाति मात्र लेख्ने भनेर संविधानमैं व्यवस्था गरियो । आज रुवान्डामा कुनैं पनि जातिको जात वा थर लेख्यो भने कानुनी कार्वाही गर्ने नीति सरकारले संविधानमैं प्रष्ट रुपले उल्लेख गरेको छ (Dr Etienne Mutabazi, Rwanda’s Legal System and Legal Materials) ।
यसरी हेर्दा सी जातिको अवधारणाले सबैं वर्ग, जाति, क्षेत्र र लिंगीय समुदायलाई अलग अलग जाति वा समुदायमा होइन बरु जोडेर एकीकृत जाति वा समुदाय निर्माण गर्ने बृहत्तर लक्ष्य बोकेको छ ।
र, अन्त्यमा :
वास्तवमा २० औं शताव्दीमा कम्युनिस्ट सत्ताको अभ्यासमा भएका सफलता वा असफलताबाट पाठ सिकेर २१ औं शताव्दीमा विद्यमान पुँजीवादको संकटलाई समाजवादमा ढालेर अघि बढ्न पनि शुरुदेखि समाजवादका सामाजिक र सांस्कृतिक विशेषताको रुपमा सी जातिको अवधारणाले मानवजातिलाई एउटैं जातिमा जोडेर लान सकिन्छ भन्ने महान् ध्येयका साथ अगाडि ल्याइएको प्रस्ताव हो–सी जाति ।
सी जाति भनेको एउटा सामुहिक जाति, साम्य जाति, साझा अर्थात् एउटै (Common) जाति निर्माण गर्ने नेकपाको वैज्ञानिक अवधारणाअनुरुप अघि सारिएको दृष्टिकोण हो । साम्यवादी अर्थात् एउटै जाति निर्माण गर्ने यो मामिला नेपाल र नेकपाको मात्र नभई अन्तराष्ट्रिय कम्युनिस्ट पार्टी र सबैं अभियानकर्मीहरुको सामुहिक मामिला पनि हो । जसले विश्व मानव जातिलाई नयाँ सभ्यतातिर लैजाने छ ।
जसरी मानव जातिको इतिहासमा न पहिले जाति थियो, न वर्ग थियो न त अरु । यी सबैं मान्छेले नै अनाधिकृत र अप्राकृतिक ढंगले सिर्जना गरेका स्वरुपहरु हुन् । केही शासकहरुले मानव जातिलाई विभिन्न जाति र समुदायमा विभक्त गरे भने आजका २१ औं शताव्दीका सचेत र अग्रगामी मान्छेको काँधमा ती विभक्त जाति/समुदायलाई जोडेर एकीकृत जाति वा एउटै समुदाय निर्माण गर्ने गह्रौ जिम्मेवारी आएको छ ।
त्यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी र महासचिव कमरेड विप्लव सीद्धारा सी जातिको अवधारणा अगाडि सारिएको हो । यो बहसमा सबै पक्षहरु खासगरी विभिन्न राजनीतिक दल, बुद्धिजीवि र विज्ञहरुको गहन छलफल आवश्यक छ ।
(समाजवादी मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिद्धारा देशका विभिन्न स्थानमा आयोजित ‘जातीय मुक्ति र सी जातिको प्रश्न’ विषयक अन्तक्रियामा मोर्चाका संयोजक सुदर्शन सीद्वारा तयार पारिएको संक्षिप्त अवधारणापत्र ।)

              २०८२ वैशाख १८                               

सन्दर्भ सामाग्री ………….
– Karl Marx, Manifesto of the Communist Party, Chapter I-Bourgeois and Proletarians.https://www.marxists.org/archive/marx/works/1848/communist-manifesto/ch01.htm
– नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा, नेपालद्धारा ०७९ को चैत्र महिनामा आयोजित अन्तक्रियामा नेकपा महासचिव विप्लवद्धारा पार्टीको धारणा राख्ने क्रममा दिइएको अभिव्यक्ति ।
– Sapiens: A Brief History Of Humankind. McClelland & Stewart, a division of Random House of Canada Limited, a Penguin Random House Company.
– Noah Harari, Yuval. Homo Deus: A Brief History of Tomorrow.
– The Origin and Evolution of Cells, https://www.ncbi.nlm.nih.gov/books/NBK9841/
– Harari, Yuval Noah, Sapins : A Brief History of Mankind, p. 303, 2014.
– Longrich, Nick. There Used: To Be Nine Species of Human, What Happened to Them?, National Post, 23, November 2019).
-Harari, Ibid, 2014.
– Reed Charles, Origins of Agriculture, 2011).
-Early taxonomic models, https://en.wikipedia.org/wiki/Race (human)categorization)
– (आलेमगर, सुरेश । वर्गसंघर्ष र जातीय मुक्ति, प्रकाशक : मगर पव्लिकेसन फाउन्डेसन, काठमाडौं म.न.पा.१४, बल्खु, काठमाडौं ) ।
– Country, Nation, State and Government,https://study.com/academy/lesson/the-difference-between-countries-nations-states-and-governments.html
– (आदिवासी जनजाति आयोगको प्रतिवेदन, आर्थिक वर्ष, २०७६/२०७७), आदिवासी जनजाति आयोग, श्रीमल, पुल्चोक, ललितपुर ।
https://www.sciencedirect.com/topics/agricultural-and-biological-sciences/indigenous-people
– योञ्जन तामाङ, कुमार, २०७०) । नेपालमा को हुन् आदिवासी ?

-What is a Tribe?, Tribe Concept, Characteristics and Examples, https://study.com/academy/lesson/what-is-a-tribe-definition-examples.html
-Department of Social Work Indira Gandhi National Tribal University
-Regional Campus Manipur, Name of The Paper: Tribes in India.
-Rise And Growth Of The Caste System In Tamilnadu An Overview, 2019. https://bibliomed.org/?mno=102777
-Chalaune, Bhawan Singh. Evolution of Caste System: How are Nepali Dalits Left Behind in Education?.https://www.researchgate.net/publication/371690255_Evolution_of_Caste_System_How_are_Nepali_Dalits_Left_Behind_in_Education
-Caste system in India, https://en.wikipedia.org/wiki/Caste_system_in_India
-The Power Of Logic 2009, 2005, 2002, 1999_,https://home.iitk.ac.in/~avrs/PH142/Books/Frances_Howard -Snyder,_Daniel_Howard.Snyder,_Ryan_Wasserman_The_Power_of_Logic_4th_Edition____2009.pdf
-Major Races of the World, https://anthroholic.com/major-races-of-the-world?https://www.onlinekhabar.com/2013/09
Rule of Law and Nepal, https://ideas.hriti.org/2024/06/03/rule-of-law-and-nepal.
-Lenin, V.I. The Socialist Revolution and the Right of Nations to Self-Determination, https://www.marxists.org/archive/lenin/works/1916/jan/x01.htm
-Stalin, J.V. Marxism and the National Question, https://www.marxists.org/reference/archive/stalin/works/1913/03a.htm
-Anderson, Kevin B. Revisiting Marx on Race, Capitalism, and Revolution,https://monthlyreview.org/2022/03/01/revisiting-marx-on-race-capitalism-and-revolution/
-Marx-Engles ‘Ireland and the Irish Question’, https://www.marxists.org/archive/marx/works/subject/ireland/ireland.pdf
-Tse-tung, Mao. The Racial Question Is A Class Question, August 9, 1963
https://www.marxists.org/reference/archive/mao/selected-works/volume-9/mswv9_06.htm
-नेकपा. २०७० (२००६) । नेपाल कम्युनिस्ट पार्टी दस्ताबेज संग्रह भाग-१, उही ।
https://www.bampanththeleft.com/2023/02/15/3507/
-विप्लव सी, नेत्रविक्रम । २८ औं जनयुद्ध दिवसको अवसरमा नेकपा महासचिवको हैंसियतमा विप्लवद्धारा जारी गरिएको प्रेस विज्ञेप्तीमा व्यक्त विचार । https://janapatrika.com/archives/6907
– नेत्र विक्रम विप्लव सीद्धारा २०७९ को नवौं महाधिवेशनमा प्रस्तुत प्रस्ताव ।
– विषम सी, सन्तोष । ऐतिहासिक महत्वको निर्णय : सी जाति । ९ आश्विन २०८१ । https://janapatrika.com/archives/31779
– (रामलाल सीद्वारा २०७९ को चैत्रमा श्रमिक समुदाय मोर्चाद्वारा काठमाडौंमा आयोजित ‘सी जातिको अवधारणा’ विषयक अन्तक्रियामा प्रस्तुत कार्यपत्र) ।
-२०८० सालतिर समाजवादी मोर्चाको चार दलीय बैंठकमा उपेन्द्र यादवले नेकपा र महासचिव विप्लवद्धारा अगाडि सारिएको सी जातिको अवधारणाको खुलेर प्रंशसा गरेका थिए ।
– २०७९ को चैत्रमा श्रमिक समुदाय मोर्चाद्धारा काठमाडौंमा आयोजित ‘सी जातिको अवधारणा’ विषयक अन्तक्रियामा डा. निर्मल विश्वकर्माले सी जातिको प्रश्नबारे निकैं उत्साहित भएर आफ्नो धारणा राखेका थिए) ।
– Rwanda genocide: 100 days of slaughter, 4 April 2019, https://www.bbc.com/news/world-africa-26875506
– Rwanda’s Legal System and Legal Materials, —https://www.nyulawglobal.org/globalex/rwanda1.html


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।