३ आश्विन २०८१, बिहीबार

राजनैतिक दलका युवा संगठन र युवा संगठन नेपालको कार्यभार

0

           दिनेश सी

 

खासमा नेपालका कम्युनिस्ट पार्टी भित्रका युवा संगठनहरु अहिले सबै पार्टीहरुमा छन् । जस्तै एमाले, माओवादी, एकीकृत समाजवादी सरकार र सदनभित्र, सरकार र सदन बाहिर रहेका पार्टीहरुमा अनिवार्य युवा संगठनहरु प्रत्येक पार्टीले परिचालन गर्दै आएका छन् । एकातिर सबै पार्टीहरुलाई युवा संगठनको खाँचो पर्दै आएको छ भने अर्कोतिर तिनै पार्टी सरकारमा बसेर हजारौ युवाहरुलाई योजनाबद्ध विदेश पलायन गरिरहेका छन् । यो जस्तो लज्जास्पद सरकारको रवैया अरु के हुन सक्छ ?  नेपाली युवाहरुले सरकारका नौटंकी हेरेर बस्नु पर्ने बाध्यता छ भने विप्रेषण भित्रिएको आनन्दमा रमाउनु परिरहेको छ । देशमा युवाहरुलाई निरास र भविष्य अन्धकार बनाइएको छ भने महिनौ पिच्छे सरकार फेरबदलले सरकारबाट केही पाउने  नागरिकहरुका आशा र अपेक्षा मर्दै गएका छन् । देशको दक्ष, अदक्ष र अर्धदक्ष युवा शक्तिको श्रमशक्ति सबै विदेशी शासकहरुले सदुपयोग गर्दै आफुलाई विकसित तुल्याएका छन् ।

नेपालका संसदीय नेताहरुले युवा पलायन रोक्न  सामान्य तहका योजनाहरुलाई पनि आशा लाग्दो रुपमा प्रस्तुत गर्न सकिरहेका छैनन् । आर्थिक बर्ष ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण नेपालमा भित्रिएको छ ।  विप्रेषण आप्रवाहमा १६.५  प्रतिशतले वृद्धि  हो, जहाँ भएपनि देशको अर्थतन्त्र तिनै श्रमिक युवाहरुले धानिरहेका छन् । लाखौ युवाहरु परदेशमा जिविकोपार्जनका लागि दिनरात जोखिमपूर्ण काम गर्न बाध्य छन् । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा पुगेका १० हजार ८ सय श्रमिक युवाहरुले विभिन्न कारणले ज्यान गुमाएका छन् । वार्षिक एक हजार र दैनिक चार जनाले ज्यान गुमाउने गरेको सरकारी तथ्यांकमा छ । यस्ता दुखान्त घटनाहरुले सिंगो देशको मुटु पिरोलिरहेको छ ।  नेपालका शासकहरु विदेशीको इशारामा चल्ने र देशलाई बर्बादीतिर पार्न माहिर देखिन्छन् यो हामी युवाहरुका लागि विडम्वना हो ।

राजनैतिक दलका युवा संगठनहरुको कार्य के ?

युवा भनेका नयाँ-नयाँ खोज र अनुसन्धान कर्ता हुन् ती समाजवादी हुन् या पुजीवादी ? आफ्नो र आउने पिढीको भविष्य सुनिश्चित गर्न सक्ने तागत राख्दछन् । २१ औं शताब्दीका सोच ज्ञान विज्ञान र प्रविधिमय आजका युवाहरु नयाँ सभ्यताको खोजमा व्यस्त रहेका छन् । देशलाई स्वाधीन बनाउन, देशलाई आत्मनिर्भर बनाउन, देशलाई विकसित तुल्याउन र देशलाई साम्राज्यवादीहरुले हस्तक्षेप गर्दा देश र जनताको रक्षक भइ उभिनु पर्ने आजको आवश्यकता हो ।

देशमा अहिले विदेशिहरुको चलखेल व्यापक बढेको छ हाम्रो राष्ट्रियता जोखिममा छ भने दैनिक उपभोग्य वस्तु महंगीएर आकाशिएको  छ, वैदेशिक ऋण  प्रत्येक नेपालीको टाउकोमा बजारीएको छ, बेरुजु छ, भ्रष्टाचारले देश चपेटामा परेको छ, सामाजिक असुरक्षा बढ्दो छ, सामाजिक मान्यता र विश्वास घट्दो छ । हरेक राजनैतिक दलका नेताहरु कुन देशको दलाल हुने प्रतिस्पर्धा चलिरहेको छ । नागरिकले के चाहेका छन् भन्ने भन्दा पनि राजनैतिक पूर्वाग्रहले गर्दा देश र नागरिकलाई घाटा भएको महसुस नेताहरुले गर्न सकिरहेका छैनन् ।

उल्लेखित समस्या के हाम्रा देशका होइनन् ? यदि हुन् भने राजनैतिक पूर्वाग्रह नराखी सबै राजनैतिक दलका युवाहरु कार्यगत एकता गरि समस्याका विरुद्ध किन नलड्ने ? हाम्रा विचार सिद्धान्त फरक होलान् तर  देशका समस्याहरु एउटै हुन् ।  प्रयाप्त  छलफल गरि एकरुपतामा एउटा संघर्ष जरुरी देखिएको छ । पहिलो राष्ट्रिय स्वाधिनताको पक्षमा छलफल गरौँ, दोश्रो भ्रष्टाचारका विरुद्ध छलफल गरौँ, तेश्रो महंगी कालोबजारी, चौथो सरकारमा हुदा राष्ट्रघाती र जनघाती समझौता हुने विरुद्ध खबरदरी गर्ने लगायतका विषयमा छलफल गरौँ र नागरिकलाई जागरण बनाउँदै असफल दलाल संसदीय व्यवस्थाको ठाउमा नेपाली विशेषताको समाजवाद स्थापना गर्ने दिशामा अघि बढौँ । के हामी यी कार्य गर्ने हिम्मत  गर्न सक्छौँ त ? हामी युवाहरुले सक्नै पर्दछ । मन्द रहेको युवा आन्दोलनलाई एकताबद्ध र आम युवाहरुलाई आशाको दियो बनाउन सक्ने के राजनैतिक दलका युवा या कम्युनिस्ट युवाको क्रान्तिकारी दायित्वबाेध हुन सक्ला ? प्रश्न हामी सामु जबरजस्त  तेर्सिएको छ  । 

युवा संगठन नेपालको दायित्व के ?
संगठन स्थापनाकालदेखि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुँदै नेपालमा नेपाली विशेषताको समाजवाद/वैज्ञानिक समाजवाद र साम्यवाद स्थापित गर्न निरन्तर क्रान्तिमा आरोह अवरोह पार गर्दै अघि बढी रहेको नेकपाको सहायक संगठन हो । संगठनको काँधमा नयाँ जिम्मेवारी छ त्यो जिम्मेवारी पूरा गर्न संगठन लागि परिरहेको छ । संगठन राष्ट्रिय स्वाधिनताको लडाईमा निरन्तर आवाज र सडकमा लड्दै आएको छ । भ्रष्टाचारका विरुद्ध निर्ममका साथ भिडिरहेको छ भने वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दलालहरुका विरुद्ध लडाई र संघर्ष गरिरहेको सर्वत्र जानकारी छ । अहिले युवा संगठन नेपालको मुख्य दायित्व भनेको नेपाल देशलाई स्वाधिन बनाउन संघर्षलाई अगाडि बढाउनु दलाल पुजीवादी सत्तालाई उल्टाउदै त्यसको ठाउँमा नेपाली विशेषताको समाजवाद/वैज्ञानिक समाजवाद-साम्यवादको लक्ष्यमा पुग्न एकीकृत जनक्रान्तिको कार्यदिशामा चट्टान झै अडिग हुँदै क्रान्तिको राँको बाल्नु हो । संगठनलाई आत्मनिर्भर बनाउन उत्पादनका कामहरु परिणाममुखी बनाउदै आम युवाहरुलाई उत्पादनको काममा सरिक गर्दै आफ्नै देशमा पसिना बगाउदै बाच्न र भविष्य  सुनिश्चित गर्न सकिन्छ भन्ने सन्देश मात्र होइन व्यवहारिक पृष्टि गर्न सकिन्छ । त्यो युवा संगठन नेपालको दायित्व हो  । सम्पूर्ण पार्टी भित्रका युवा  शक्तिमाझँ एउटा नयाँ बहस र संकल्पको खाँचो अपरिहार्य बन्दै गएको छ । के त्यो महसुस गर्न सक्लान् त ? राजनैतिक दलका युवा संगठनहरुले ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।